विराटनगरमा पूरानै मूल्यमा ग्यास बिक्री
 
              
            किशोर बुढाथोकी

विराटनगर, २१ साउन । मूल्य घटेको लामो समय सम्मपनि विराटनगरका डिलरहरुले पूरानै मूल्यमा ग्यास विक्री गरिरहेको पाइएको छ । नेपाल आयल निगम र ग्यास उद्योगहरुले सरकारले तोकेको नयाँ मूल्यमा ग्यास विक्री गर्नका लागि दिएको निर्देशन अवज्ञा गर्दै डिलरहरुले पूरानै मूल्यमा ग्यास विक्री गरेर उपभोक्तामाथि ठगी गरिरहेका हुन् ।
सम्बन्धीत निकायले बजार नुगमन नगर्दा र ग्यासको अवस्थाका बारेमा जानकारी राख्दा उपभोक्ता ठगीने क्रम बढेको छ । सरकारले ग्यासको मूल्यमा प्रति शिलिन्डर ३५ रुपैयाँ घटाएको छ । यस अघि एक हजार चार सय ५० रुपैयाँमा ग्यास विक्री गर्दै आएका डिलरहरुले सरकारले तोके अनुरुप एक हजार चार सय १५ रुपैयाँमा ग्यास विक्री गर्नु पर्ने भएपनि उनीहरुले पूरानै मूल्यमा ग्यास विक्री गरिरहेका छन् ।
डिलरले मनोमानी रुपमा ग्यासको मूल्य कायम गर्दा उपभोक्ता सरकारले तोकेको भन्दा प्रति शिलिन्डर ग्यासमा ३५ रुपैयाँ बढी तिर्न बाध्य रहेको उपभोक्ताबादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले बताउनु भयो । विराटनगर १५ का सन्जय ठाकुरले स्थानीय साई ट्रेडर्समा आज एक हजार चार सय ५० रुपैयाँ तिरेर ग्यास खरिद गरिएको बताउनु भयो । उहाँले डिलर सचालक सन्तोश रायमाझीमाथि कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिनु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले ग्यास विक्रीका नाममा उपभोक्तामाथि ठगी गर्ने डिलरलाई कारवाही हुने बताउनु भयो । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भुवन रेग्मीले ग्यास विक्री पूरानो मूल्यमा गर्न नपाइने बताउनु भयो । ‘हामीले सरकारले तोकेको मूल्यमा विक्री गर्न ग्यास कम्पनी र डिलरहरु सवैलाई निर्देशन दिइसकेका छौं,’ प्रमुख रेग्मीले भन्नु भयो, ‘डिलरले पहिलेनै ल्याएर स्टक गरिएको भन्दै उपभोक्तासंग बढी मूल्य लिन मिल्दैन ।’
 
                 
                       
                       
                      