सुरु भयो तीजको रमझम
 
              
            अन्नपूर्ण
 
 
काठमाडौं,४ भाद्र । तीज आउन एक महिना बाँकी छ। बजारमा तीजको रन्को सुरु भइसकेको छ। भूकम्पपछिको पहिलो ठूलो चाड तीज। त्यसैले यसपालि तीजलाई धेरैले भूकम्पको पीडा भुलेर रमाउने मौकाका रूपमा पनि लिएका छन्। अभिनेत्री कुञ्जना घिमिरे 'सुन्तु' लाई पनि तीज लागिसकेको छ। बिहीबार दिउँसो राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित १४ औं तीज महोत्सवमा उनी ।
महोत्सवको उद्घाटन गर्न उपस्थित भएका कुञ्जना र पूर्वमिस नेपाल माल्भिका सुब्बा छपक्कै तीज लागेजस्तै देखिएका थिए। कुञ्जना रातो सारी, शिरमा चन्द्रमा, गलामा जन्तरमा सजिएकी थिइन् भने माल्भिकाको आकर्षण रातो कुर्ता र निधारको रातो टीका थियो। दुई फरक प्रकृतिका नारीहरू, तीजलाई मनाउने दुवैको शैली फरक छ। कुञ्जना तीजमा व्रत बसेर सीतारामको लामो आयुको कामना गर्छिन्। माल्भिका दर खान्छिन् तर व्रत बस्दिनन् । पहिले त माल्भिकाले पनि तीजको व्रत बस्ने गरेकी थिइन्।
उनले भनिन्, ‘पहिले टीनएजमा थाहा नभएर व्रत बसें तर अहिले परिपक्व भएर व्रत बसेर श्रीमान्को आयु बढ्ने होइन भन्ने थाहा भयो त्यसैले बस्दिनँ।' तीजका गीत टेलिभिजनमा हेर्न रमाउने माल्भिकालाई तीजमा गीत गाउन नाच्न चाहिँ त्यति मन पर्दैन। महोत्सवमा उनी दसैं र तिहारका लागि सारी हेर्दै थिइन्। कुञ्जना भने उनको ठीक विपरीत प्रकृतिकी। अरू बेलामा सँगै हुने श्रीमान्सँग तीजको समय छुट्टिँदा उनीहरू एकअर्कालाई खुब मिस गर्छन्। त्यसैले 'मिसिङ मेसेज' खुब आदानप्रदान हुन्छन् यो समयमा।
तीजको दिनमा दिनभरि व्रत बसेर तुलसीको पूजा गरेपछि श्रीमान्लाई फोन गर्छिन् र उनको अनुमति पाएपछि मात्र खान्छिन्। तर श्रीमान्ले उनी भोको बसेको रुचाउँदैनन्। उनले भनिन्, 'उहाँले त व्रत नबस् भन्नुहुन्छ तर मेरो मन मान्दैन।' कुञ्जना यसपालिको तीजलाई भूकम्पपछिको 'रिफ्रेसमेन्ट' को रूपमा नेपालमै मनाउने योजनामा छिन्।
यतिबेला वल्र्ड ट्रेड सेन्टरको भुइँतल्ला राताम्मै छ। डाबर स्पेसल हेयर ओएलको प्रायोजनमा वुमन्स क्रिएसन सेन्टरले आयोजना गरेको महोत्सवमा सारी, कुर्ता सलवार, कुर्ती, पोते, गहना, चुरा, घरायसी सामग्रीलगायत अन्य शृंगारका सामग्री उपलब्ध छन्। आइतबारसम्म सञ्चालन हुने महोत्सवमा सयभन्दा बढी स्टल रहेको जानकारी वुमन्स क्रिएसन सेन्टरकी अध्यक्ष मिलु थापाले दिइन्।
 
                 
                       
                       
                      