भष्ट्राचारमा दोषी मालपोतका सुब्बा जेल पुगे
 
              
            जगदीश रोकाया
बझाङ, ९ भदौ । भ्रष्टचारको मुद्दामा अदालतबाट दोषी ठहर कैलालीको टीकापुर मालोपत कार्यालयका एक नायव सुब्बालाई प्रहरीले पक्राउ गरेर जेल पठाएको छ । बझाङको चैनपुरस्थित पुख्र्यौली घर आएका बेला नायब सुब्बा मोहनबहादुर रसाइलीलाई बझाङ प्रहरीले प्रकाउ गरी बुधबार कारागार चलान गरेको हो  । भष्टचार मुद्दामा उनलाई विशेष अदालत काठमाडाैंले २०७१ फागुन २५ गते ४ महिना कैद सजाय सुनाएको थियो । सो फैसलाको जानकारी जिल्ला अदालत बझाङमा आएपछि  प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको हो ।
टीकापुर नगरपालिका–९ मा बस्दै आएका मोहन पुख्र्यौली घर चैनपुरमा आफन्त भेट्न आएका बेला प्रहरीको फन्दामा परेका हुन् ।‘अख्तियारले विषेश अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको रहेछ’, जिल्ला अदालतका निमित्त श्रेस्तेदार कक्कल बहादुर रावलले भने, ‘उनी चैनपुरमा आएको जानकारी पाएपछि प्रहरीले समातेर ४ महिनाको जेल चलान गरेको हो ।’
रावलका अनुसार उनीसहितका कर्मचारीले हिनामिना गरेकोे ७३ लाख रुपैयाँ अदालतले असुल गरेपनि सजाय भुक्तान गराउन बाँकी थियो ।अख्तियारले उनिमाथि २०७० सालमा विशेष अदालत काठमाडौंमा भ्रष्टचारको मुद्दा दर्ता गरेको थियो 
 
                 
                       
                       
                      