नुवाकोटमा पहिरोमा परी पाँंचजनाको मृत्यु
 
              
            नुवाकोट, ११ भदौ । नुवाकोटको गोस्र्याङको काप्रे र सामरी गाविसमा गएको पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् भने छ जना घाइते भएका छन् । सदरमुकाम विदुरबाट २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने काप्रे गाउँको वडा नं २ तामाङ बस्तिमा विहान करिब २ बजे आएको पहिरोले घर बगाउँदा उनिहरुको मृत्यु भएको हो ।
रातिदेखि अविरल रुपमा आएको वर्षाका कारण पहिरो खस्दा ३६ वर्षका सोमबहादुर तामाङ, उनकी श्रीमती ३५ वर्षकी सुकमाया, ३५ वर्षका फुर्कमाया तामाङ, ११ वर्षका केशव तामाङ, आठ वर्षीय पूर्ण तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई उद्धृत गर्दै सहकर्मी देवचन्द्र भट्टले जनाएका छन ।
पहिरोमा परी १७ वर्षका छिरिङ तामाङ, २१ वर्षकी माया तामाङ, अशोक तामाङ, १२ वर्षका मनमाया तामाङ, आठ वर्षकी सञ्जुमाया तामाङ र ३५ वर्षका सुन्दरमान तामाङ घाइते भएका छन । घटनाको जानकारी पाएपछि विदुरवाट सेना र प्रहरीको छुट्टाछुट्टै टोली त्यसतर्फ पठाइएको छ । सेनाको श्रीनाथ गण देवीघाटवाट सहसेनानी थमन गुरुङको नेतृत्वमा ३९ जना सैनिक टोली पठाइएको गणका प्रमुख सेनानी दीपेन्द्र गुरुङले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटवाट पनि प्रहरी नायव निरीक्षक लेखनाथ आचार्यको नेतृत्वमा टोली पठाइएको छ । तर, वाटो टाढा, दुर्गम पैदल जानु पर्ने भएकाले सुरक्षाकर्मी पुग्न अmझै दुई घण्टा लाग्ने जनाइएको छ । स्थानीयवासीले उद्धार जारी राखेका छन् ।
 
                 
                       
                       
                      