अवैध सम्बन्ध खुल्ने डरले हत्या
 
              
            अन्नपूर्ण

काठमाडौं, ११ भदौ । तीन वर्षदेखिको अवैध सम्बन्ध सार्वजनिक हुने डरले एक युवकले किशोरीको हत्या गरेका छन्। सिन्धुली महाकाली घर भई सर्लाही पत्थरकोटमा बस्दै आएका २७ वर्षीय अविनास थिङले पत्थरकोटकै १८ वर्षीया सोनिया श्रेष्ठको हत्या गरेका हुन्।
श्रेष्ठ सिन्धुली झोडामा हजुरबुबाको घरमा बस्दै आएकी थिइन् भने थिङ श्रेष्ठकै हजुरबुबाको घरमा ज्यामी काम गर्थे। बिहीबार बिहान गौशालास्थित गौशाला गेस्ट हाउसको कोठा नम्बर ११८ मा श्रेष्ठ मृत फेलापरेपछि प्रहरी वृत्त गौशलाले अनुसन्धान गरेको थियो।
घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर टेकुले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा परिसर प्रमुख एसएसपी उत्तम कार्कीले भने, 'अवैध सम्बन्ध बाहिर आउने डरले थिङले श्रेष्ठको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। थिङले पनि हत्या स्वीकार गरेका छन्।'
रुमालले घाँटी बेरेर श्रेष्ठको हत्या गरेको थिङले स्वीकार गरेका छन्। प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी सुरेन्द्रप्रसाद मैनालीका अनुसार उनीहरू भदौ ७ मा सिन्धुलीबाट रात्रीबसमा काठमाडौं आएका थिए।
काठमाडौं आएर स्वयम्भूमा बसेका उनीहरू केही दिन घुमघाम गरी बिहीबार घर फर्कने तयारीमा थिए। बुधबार राति श्रेष्ठले ‘हामी अब काठमाडौंमै लुकेर बस्ने, तिमी परिवार छाडिदेऊ' भनेपछि आफ्नो अवैध सम्बन्ध सार्वजनिक हुने डरले हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।
चुरोटको खोलभित्र डलर
काठमाडौं,११ भदौ । अवैध रूपमा विदेशी मुद्रा लुकाएर लैजान खोज्ने चिनियाँ नागरिक यी वाङलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले यीलाई बिहीबार सुरक्षा जाँचका क्रममा पक्राउ गरेको हो।विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थका अनुसार वाङबाट चुरोटको सुर्ती राख्ने ठाउँमा लुकाई ६० हजार अमेरिकी डलर र २० हजार ४८ चिनियाँ युआन तथा चप्पलको सोलभित्र लुकाएर लैजान लागेको १४ हजार अमेरिकी डलर, ७६ हजार युरो र ४८ हजार स्विस फ्रेंक बरामद गरिएको छ।
चाइना एयरको उडान नम्बर ४०८ बाट ल्हासा जान लागेकी वाङलाई प्रहरीले जाँच गर्दा चुरोटकै स्वरूपमा २० वटा बट्टाभित्र डलर लैजान लागेकी थिइन्।यसैबीच गौशाला प्रहरीले नक्कली अमेरिकी डलरसहित धादिङ केवलपुर घर भएर तिलगंगा बस्ने जितेन्द्र तामाङलाई पक्राउ गरेको छ। अमेरिकी डलर साट्न हिँडेको सूचनाका आधारमा प्रहरीले तिलगंगाबाट तामाङलाई ५० दरका सातवटा नक्कली डलर फेलापारेको हो।
 
                 
                       
                       
                      