ठाकूरको शव एक हप्तापछि आफन्तले बुझे
 
              
            फणि महत

रौतहट, १५ भदौ । आन्दोलनको क्रममा गौरमा सुरक्षाकर्मीको गोली लागि एक हप्ताअघि ज्यान गुमाएका राजकिशोर ठाकुरको शव मंंगलबार बिहान परिवारले बुझेका छन् । जिल्लाको मठिया गाबिस ६ का २४ वर्षिय राजकिशोर ठाकुरको मृत्यु भएपछि एक हप्ता देखि जिल्ला अस्पतालमा राखिएको थियो ।मृतक ठाकुरलाई शहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको माँग राख्दै परिवार र सयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले एकसाता सम्म ठाकुरको शव बुझ्न मानेका थिएनन ।
स्थानीय प्रशासनले मृतक ठाकुरलाई शहिद घोषणाका लागि प्रक्रिया सुरु गरेपछि छोराको शव बुझेको मृतकका बुवा महेन्द्र ठाकुरले बताए ।जिल्ला सुरक्षा समितिको बैठकले मृतक ठाकुरलाई शहिद घोषणाका लागि कागजी प्रक्रिया पुरा गरी गृह मन्त्रालयमा पत्राचार गरेपछि आफन्तले शव बुझेको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेल जानकारी दिए ।
घरबाट औषधी गर्नका लागी सदरमुकाम गौर गएका ठाकुरको मृत्यूको खवरले पुरै गाउ शोकमा डुवेको थियो ।हेटौडामा सात बर्षदेखि कपाल काट्ने सैलुन संचालन गर्दै आएका २४ बर्षिय ठाकुर सैलुनको समान किन्न र सुत्केरी पत्नी र छोरा भेट्न घर आएका थिए । घर आएका ठाकुरको दाहिने पाखुरा दुखेकाले उपचारको लागि गाउकै एकजना साथी लिएर घटनाको दिन गौर गएका थिए ।
आमाबाबुसगै बस्दै आएका मृतक ठाकुरको १८ बर्षिया पत्नी अंशुदेवी ठाकुर र डेढ महिने छोरा छन् । खाना खाएर औषधी गर्न दुइ घण्टा हिडेर उनी गौर पुगेका थिए । गौर बजार छिर्ने नाका कविर चौकमा प्रहरी र आन्दोलनकारी बिच झडप भएको ठाउमा ठाकुर लाइ प्रहरीको गोली लागेको थियो ।
 
                 
                       
                       
                      