छिट्टै नाकाबन्दी हटाउन भारतसँंग ओलीको आग्रह
 
              
            काठमाडौं, १५ असोज । एमाले अध्यक्ष तथा प्रधानमन्त्री पदका दाबेदार केपी शर्मा ओलीले भारत सरकारसँग 'अघोषित नाकाबन्दी' तत्काल हटाउन आग्रह गरेका छन्। 'केही व्यक्तिको कथित असन्तोष बढाइचढाई नाकाबन्दी गर्नुको औचित्य छैन, यसलाई भारतले हटाउनुपर्छ', बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, 'नाकाबन्दीबाट अस्पताल, शिक्षण संस्था, उद्योगव्यवसाय र सामान्य जीवन अस्तव्यस्त भइरहेको छ। यो सुखद संकेत होइन। दुई मुलुकबीच कुनै असमझदारी भए हटाउन सकिन्छ।'
जारी अभाव तथा परिस्थितिबारे ओलीले भारतीय गृहमन्त्रीसँग टेलिफोनवार्ता र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय समकक्षी सुष्मा स्वराजसँग न्युयोर्कमा वार्ता गरी नाकाबन्दी हटाउन आग्रह गरेका थिए। ओलीले भने, ‘म राम्रो नतिजा आउनेमा विश्वस्त छु।' ओलीले थपे, ‘तराई आन्दोलनमा जनसहभागिता छैन। दसगजा र भन्सारनाकामा बढी हिंसा र अभावको वातावरण सिर्जना गरी नेपाल र नेपालीविरुद्ध केही नेताहरूले षड्यन्त्र गर्नु स्वीकार्य छैन।'
एमाले महासचिव ईश्वर पोखरेलले उनको पार्टी छिमेकीहरूप्रति कुनै टीकाटिप्पणी गर्न इच्छुक नरहेको तर 'स्वाभिमानसाथ बस्न, बच्न र रोजेको राजनीतिक पद्धति अपनाउने स्वतन्त्रता तथा अधिकार समर्पण गर्न तयार नहुने' बताए। ओलीले यो संविधान उत्कृष्ट, सर्वमान्य लोकतान्त्रिक पद्धतिबाट र सदनको ९० प्रतिशतबाट अनुमोदित भएको दाबी दोहोर्याउनुका साथै नागरिकताबारे पनि यसमा उदार र सकारात्मक पक्ष रहेको बताए।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज र कांग्रेस अध्यक्ष सोनिया गान्धीको प्रसंग कोट्ट्याउँदै ओलीले भने, ‘छिमेकमा त्यहाँको सामाजिक, सांस्कृतिक मूल्य र पद्धतिका नाममा अहिलेको सरकारमा नेतृत्व तहमा रहेकाहरूबाटै केही वर्षअघि भएको विरोधको अभिव्यक्ति सार्वजनिक जानकारीको विषय हो।'
अंगीकृत नागरिकहरूले राष्ट्राध्यक्ष, प्रधानमन्त्री र संवैधानिक प्रमुखका पद लिन नपाउने व्यवस्थालाई अन्यथा लिन नहुने पनि ओलीले बताए। ओलीले सीमांकनबारे पनि तत्काल विरोधको औचित्य नभएको तर्क गरे। भारतले विगतमा नेपालमा भएका प्रजातान्त्रिक आन्दोलनहरूलाई साथ दिएकोमा स्वागत गर्दै ओलीले सोधे, ‘यसपल्ट कन्जुस्याइँ किन?'
'संसारले स्वागत गर्यो, बधाई दियो तर हाम्रो घनिष्ठ छिमेकीले बधाई दिनसमेत किन कन्जुस्याइँ गर्यो? त्यसले नेपाली जनतालाई खिन्न बनाएको छ', ओलीले भने।केही मान्छेहरूले आफ्नो नाजायज असन्तुष्टि र अवाञ्छित माग अघि सारेको आधारमा अघोषित नाकाबन्दी गरिनु दुःखद् भएको पनि उनले बताए।
 
                 
                       
                       
                      