Live Streaming

नक्सा नवीकरणमा विशेष छुट

काठमडौं,४ माघ । काठमाडौ महानगरपालिकाले नक्सा पास गरी एक वर्षभित्र घर निर्माण गर्न नसकेकाहरुका लागि नक्सा नवीकरणमा विशेष छुटको व्यवस्था गरेको छ । महानगरपालिकाले गत फागुन १ देखि पुस मसान्तसम्म भूकम्प र करिब पाँच महिनादेखि निरन्तर रुपमा भइरहेको नाकाबन्दीका कारण भवन निर्माण गर्न नसकेको भन्दै सो सहुलियत दिएको हो ।

नागरिकको सहजताका लागि नक्सा पास भएको एक वर्षसम्म पनि निर्माण गर्न नसकी दोस्रो पटक पास गर्नुपरेमा जम्मा लाग्ने रकमको ५ प्रतिशतमात्र लिएर नक्सा पास गरिने व्यवस्था गरेको महानगरपालिका नक्सा पास शहरी विकास विभाग प्रमुख अर्चना श्रेष्ठले जानकारी दिनुभयो । नियमअनुसार नक्सा पास गरेको एक वर्षभित्र कुनै पनि नागरिकले नक्साअनुरुपको भवन निर्माण गरिसक्नुपर्ने व्यवस्था छ ।

गत फागुनदेखि यही पुस मसान्तसम्ममा महानगरपालिकामा झन्डै दुई हजारको हाराहारीमा नक्सा पास भएको महानगरपालीकाले जनाएको छ । निर्माणका लागि पास भएका नक्साअनुसार ५० प्रतिशतले पनि निर्माणको काम गर्न सकेका छैनन् ।