Live Streaming

पर्साको ठोरीमा हात्तीले ६ वटा घर भत्कायो


काठमाडौं,५ माघ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले पर्साको ठोरी गाविसमा गएराति ६ वटा घर भत्काइदिएको छ । ठोरी–१ का गोपाल खनियाँ र लालकाजी गुरुङको घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ भने ठोरी–३ का बलराम शर्मा र जीतबहादुर विकको घर तथा भन्सारघरसमेत भत्काएर क्षति पुर्याएको पीडितले बताएका छन् ।

हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले ठोरीको जनजीवन त्रसित बनेको चितवन राष्ट्रिय निकुञ्ज निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो । हात्ती प्रायजसो दैनिक गाउँमा आउन थालेपछि गाउँले साँझ पर्ने बित्तिकैै घरबाट बाहिर निस्कन छाडेको स्थानीय पदमबहादुर कुँवरले बताउनुभयो ।

हात्तीलाई नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरालाई टोली पठाउन आग्रह गरिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । गत मंगलबार ठोरीमा हात्तीले ७० वर्षीय एक वृद्धको ज्यानसमेत लिएको थियो ।