Live Streaming

रंगेलीमा तनाव

कुमार लुईटेल

विराटनगर,६ माघ । मधेशी मोर्चाले आह्वान गरेको आम हड्तालका कारण मोरङको पुरानो सदरमुकाम रंगेलीको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । एमालेको भ्रातृसंगठन युवा संघले रंगेलीमा संविधान जागरण अभियान चलाउन भोली आमसभा गर्ने भएपछि मोर्चाले आकस्मिक रुपमा निर्णय गरी ६ र ७ गते आमहड्ताल घोषणा गरेको हो ।

बन्दका कारण रंगेली सडकमा यातायातका साधन चल्न सकेका छैनन् । पसलहरु बन्द छन् । युवा संघले नेपाल बैंक नजिकैको चौरमा र मधेशी मोर्चाले दुर्गा मन्दिर नजिकै सभा राखेका छन् । फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले कार्यक्रम गरेरै छाड्ने बताउनु भयो । युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले अरु दलको कार्यक्रम हस्तक्षेप गर्ने कुनै नीति नभएको तर आफूहरुको पूर्वघोषित कार्यक्रम नरोकिने जानकारी दिनुभयो ।

बिहान मोर्चाका कार्यकर्ताले प्रर्दशन गर्दै टायर बालेपछि बजार बन्द भएको छ । संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष  यादवले युवा संघलाई मोरङमा कार्यक्रम गर्न नदिने बताउनु भयो । प्रधानमन्त्री केपी ओली रंगेली आउने चर्चा भएसँगै मधेशी मोर्चाले विरोधका कार्यक्रम अघि सारेको हो ।

तर, प्रधानमन्त्री रंगेली आउने तय भई नसकेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनु भयो । झडप हुन नदिन रंगेलीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो ।