Live Streaming

​ एमाले नेताको घरमा तोडफोड

विराटनगर,७ माघ ।आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मोरङको रंगेलीस्थित एमालेका तीनजना नेताको घरमा गए राति आक्रमण गरेका छन् । रंगेली–५ स्थित नेताहरुको घरमा मोर्चाका कार्यकर्ताले एकैसाथ आक्रमण र ढुंगामुडा गरेका हुन् । एमाले रंगेली नगर इन्चार्ज दिनेश ठाकुर, ४ नम्बर क्षेत्रका क्षेत्रीय सह–इन्चार्ज सन्तोश साह र एमाले जिल्ला सदस्य मनोज अग्रवालको घरमा एकै पटक आक्रमण भएको प्रहरीले बताएको छ ।

मोर्चाका कार्यकर्ताले ठाकुरको घरमा पाहुनालाई बस्नका लागि बनाइएको टेन्ट भत्काएर प्लाष्टिकका कुर्सी तोडफोड गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अविचन्द्र रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार साह र अग्रवालको घरमा ढुंगामुढा गरेर क्षति पु¥याइएको छ ।

एमाले सम्बद्ध युवा संघ नेपालले तराई मधेस सम्बाद तथा जागरण अभियान अन्तर्गत बिहीबार रंगेलीमा सभा गर्ने तयारी गरेपछि मोर्चाले त्यस क्षेत्रमा आफ्नो आन्दोलन चर्काएको छ । त्यही विषयलाई लिएर हिँजो साँझ युवा संघका कार्यकर्तामाथि मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास समेत गरेका थिए । दुवै पक्षबीच दोहोरो झडपको स्थिती उत्पन्न भएपछि प्रहरीले रोकेको थियो ।

प्रहरीसंगको झडपमा चारजना मोर्चाका कार्यकर्ता समेत घाइते भएका छन् । युवा संघका कार्यकर्ताको प्रतिकारका कारण पछि हटेका मोर्चाका कार्यकर्ताले एमाले नेताको घरमा गएर राति आक्रमण गरेको युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले बताउनुभयो ।