Live Streaming

अन्नपूर्ण दिनभर : अर्थमन्त्रीको राजीनामादेखि कोभिडको नयाँ भेरियन्ट पुष्टिसम्म

चौतर्फी दबाबपछि अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा÷बजेट निर्माण गर्दा कुनै त्रुटि नगरेको दाबी÷छानविन गर्न संसदीय समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते गर्न निर्वाचन आयोगको सिफारिस चुनाव गर्न १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान ।

काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि पछिल्लो समय फेरि कोरोना संक्रमण बद्दै एकैदिन १ सय १३ जना संक्रमित थपिए ।

श्रीलंकाको आर्थिक संकट अझै १ बर्ष रहने प्रधानमन्त्री विक्रमासिंघेको भनाइ चीनबाट थप ऋण नलिन पाकिस्तानलाई मुद्रा कोषको सुझाव ।।

नेपाल र घरेलु टोली क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदै  क्यानडालाई हराउदै सुखद् अन्त्य गर्ने नेपालको लक्ष्य ।

अर्थमन्त्रीले दिए राजीनामा

बजेट निर्माण प्रक्रियामा अनियमितता गरेको आरोपपछि चौतर्फी दबाबमा पर्नु भएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो कुरा राखिसकेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।

अनाधिकृत व्यक्तिलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादित बन्नु भएको थियो । आफूमाथि लगाइएको सबै आरोपहरुलाई अस्वीकार गर्दै उहाँले छानविनका लागि गठन गरिएको संसदीय समितिलाई पूर्ण सहयोग गर्ने बताउनुभयो ।

राजीनामा घोषणा गर्नु अघि प्रतिपक्षी एमालेमाथि आक्रोश पोख्दै शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताउनु भयो । उहाँले संसद विघटन दुईपटक गरेको तथा केपी ओली सरकारको पालामा तत्कालीन मन्त्री र अर्थमन्त्रीले गरेको आलोचित कामसमेत उल्लेख गर्नुभयो ।

आफूले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ ? भन्दै उहाँले प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले बोल्दा आदेश र फर्मान जारी गरेको बताउनुभयो । एउटा सैनिक नेतृत्वले जस्तो आफूलाई दोषी करार गरिएकोमा उहाँले त्यसको आलोचना गर्नुभयो ।

शर्माले बजेट निर्माण प्रक्रियामा कुनै गल्ती नगरेको र जनतामा भ्रम सिर्जना गरिएको आरोप लगाउनुभयो । आफूले बजेट निर्माण गर्दा कुनै त्रुटि नगरेको दाबी गर्दै छानविन गर्न समितिलाई आह्वान गर्नुभयोअर्थमन्त्री शर्माले सीसीटीभी फुटेजमा पनि आफ्नो बचाउ गर्नुभयो । सीसीटीभी कुन क्षमताको छ, कहिले जडान भएको भन्ने प्राविधिक जानकारी मन्त्रीलाई नहुने उहाँको जिकिर थियो ।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो । एमालेका तर्फबाट बोल्दै योगेश भट्टराईले जनसुकै उपायबाट भए पनि राजीनामा गराउनुपर्ने बताउनु भएको थियो ।

भट्टराईले अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दायरा हेरफेर गरेको, सीसीटीभी फुटेज मेटाएको लगायत कुराहरु आएकाले पदमै आसीन रहँदा सूचनाहरु मेटाउनसक्ने भन्दै राजीनामा पहिलो विकल्प भएको बताउनु भएको थियो ।


शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबाट प्राप्त संसदीय छानबिन समितिका ११ जनाको नाम प्रस्ताव गर्गै समिति गठन भएको जानकारी दिनुभएको थियो । संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहेका छन् । एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहनुभएको छ ।

यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहने जनाइएको छ । यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा रहनुभएको छ । अर्थमन्त्रीले अनधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गरेको खबर सञ्चार माध्यम र संसदमा समेत उठेकोले यसबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सभामुख सापकोटाले बताउनुभयो । 

यस्तै, नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणको विषयमा उठेको प्रश्नमा मन्त्री शर्माको पार्टीले जवाफ दिनुपर्ने बताउनुभएको छ । संसद भवनमा पत्रकारसँग बोल्दै आज नेता खनालले सो विषयमा नेकपा माओवादी केन्द्रले जवाफ दिनुपर्ने बताउनुभएको हो । उहाँले सम्बन्धित व्यक्तिले पनि अभिलम्ब जवाफ दिनुपर्नेमा जोड दिदै यस्ता सवालहरूमा हेलचेक्रयाँई गर्न नहुने बताउनुभयो । नेता खनाललेसो घटना सत्य भए गम्भीर रुपमा लिनु पर्ने समेत बताउनुभयो । 

निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादीको तर्फबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने बताउनुभएको छ । जनार्दश शर्माले अर्थ मन्त्रालयबाट राजीनामा दिएपछि माओवादी वा कांग्रेसले अर्को नेतालाई अर्थ मन्त्रालयमा पठाउन सक्ने अपेक्षा गरिएका बेला नेता पुनले यस्तो प्रतिक्रिया दिनुभएको हो । आज संसद् बैठकपछि संसद भवनबाहिर प्रतिक्रिया दिँदै नेता पुनले छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्रीको रुपमा जाने पनि पुनको भनाइ छ । 

अर्थमन्त्री शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको पुनको भनाइ थियो । यद्यपि प्रश्न उठेपछि शर्माले राजीनामा दिनु अनिवार्य भएको उहाँले बताउनसभयो । यस्तै प्रमुख प्रतिपक्षी दलका नेताहरूले पुष्टि भए झैँ गरी शर्मालाई कारबाही गर्नुपर्ने भन्दै माग गरेकोमा पुनले आपत्ति जनाउनुभयो । 

गणपूरक नपुगेपछि संसद स्थगित, घण्टी बजाउँदा पनि आएनन् सांसद

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले औषधि तेस्रो संशोधन विधेयक–२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुग्ने भन्दै प्रश्न उठाए ।  त्यसपछि सभामुख सापकोटाले उपस्थित सांसदको गणना गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयलाई आदेश दिए । त्यति गर्दा पनि गणपूरक संख्या नपुगेपछि संसद स्थगित गरिएको हो । 

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ। २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ सांसद उपस्थित हुनुपर्छ ।  तर बैठकमा ६५ जनामात्रै उपस्थित भएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नु भएको हो ।   

प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आयोगले माग्यो १० अर्ब

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १० अर्ब बजेट मागेको छ । आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति तोक्न परामर्श दिँदै निर्वाचनका लागि करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालको बजार मूल्यअनुसार चुनाव सम्पन्न गराउन करिब १० अर्ब खर्च लाग्ने अनुमान पेस गरिएको जानकारी दिनुभयो । यसअघि ०७४ को प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न ७ अर्ब ८० करोड खर्च भएको थियो । 

आयोगले हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा वृद्धि भएका कारण खर्च बढ्ने जनाएको छ । आयोगका पदाधिकारीले आज बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका थिए । आयोगले मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्न सुझाव दिएको छ । 

जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति जुटेको छ : महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का सांसद एवं पूर्वमन्त्री राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरूलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे ।नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ ।

हवाई भाडा बढ्यो, धनगढी पुग्न अधिकतम १७,०२५ रुपैयाँ 

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ भाडा बढेको छ । भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । यस रुटमा १७० रुपैयाँ बढेको छ । 

सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।

भाषा र सञ्चारको क्षेत्रमा सरकारले चासो दिएन : भाषा आयोग अध्यक्ष

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी नरहेको दाबी गर्नुभएको छ । आज आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सञ्चारमाध्यमहरूलाई आवश्यक मानक दिन नसक्दा कतिपय स्थानमा भने त्रुटि भइरहेको उल्लेख गर्नुभयो । उहाँले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षक अंग्रेजीमा राख्नुको औचित्य नरहेको पनि बताउनुभयो । 

अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यकभन्दा बढी स्थान दिइराखिएको भनाइ राख्नुभयो । उहाँले सरकारले भाषा र सञ्चारलाई सम्मान गर्न नसकेको आरोप पनि लगाउनुभयो । 

काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि, संक्रमित पनि बढे

काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट नेपालमा यसअघि धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या पनि बढेका छन् ।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा ११३ जनामा संक्रमण पुष्टि भएको छ । आज देशभर दुई हजार ७ सय २४ नमुनाको कोरोना परीक्षण गर्दा थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो । यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन भने २० जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या चार सय ७१ पुगेको मन्त्रालयले जनाएको छ । 

जलवायु परिवर्तन २४औं रिपोर्ट : पशु बधशाला ब्यबस्थित छैनन्, मासुको असर कस्तो ?

नेपालमा टोलैपिच्छे दिनँहुजसो मासु काट्ने गरिन्छ । तर देशका अधिकाशं स्थानमा पशु बधशाला छैन । भएका बधशालासमेत व्यवस्थित नहुदाँ झिँगा भन्केको, फोहोर पानीले धोएको मासु खान उपभोक्ता बाध्य छन् । तथापि, मासु पसलको अनुगमन हुदैँन । तर यस्ता मासुको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सक बताउँछन् । एक रिपोर्ट ः
 
नेपाल–भारत झुलाघाट नाका खुल्यो

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका आज अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सीमातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि हिँजो साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो । पुल मर्मतपछि नाकामा आवातजावत समेत सुचारु भएको छ । यसअघि पुलको लक भाँच्चिएको सूचना प्राप्त भएपछि दुबै देशका सुरक्षानिकायले हिँजो दिउँसो पुल अवलोकन तथा निरीक्षण गरेपछि मर्मत गर्ने सहमति भएको थियो । 

महाकालीमा तुइनबाट खसेर किशोर बेपत्ता
दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताउनुभयो । बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन् । गत वर्ष दार्चुलाकै सीमा क्षेत्रस्थित महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए । 

पहिरोमा पुरिएर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते हुनुभएको छ । घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो ।
 
इदको अवसरमा आइतबार सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा आगामी आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार आइतबार सार्वजनिक बिदा दिइएको बताएको छ ।  यो पर्वको अवसरमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

आर्थिक खबर

शेयर बजार १३ अङ्कले बढ्यो, २ अर्ब १७ करोड रुपैयाँको कारोबार

लगातार दुई दिनसम्म घटेको शेयर बजार आज भने सामान्य रुपले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३३ अङ्कले बढेर २ हजार ४३ दशमलव ९२ विन्दुमा पुगेको छ । आज बैंक, निर्जीवन बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २८ वटा कम्पनीका ६२ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १७ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । 

सबैभन्दा धेरै गुर्खाज फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर साढे ११ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो । आज सीवाईसी नेपाल लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयर भने तीन प्रतिशतले घटेको छ ।

यस्तै, धितोपत्र बोर्डको सञ्चालक समितिले हरेक वर्ष सेयर ब्रोकर कम्पनी थप्न सकिने गरी धितोपत्र व्यवसायी नियमावलीको संशोधन मस्यौदा स्वीकृत गरेर अर्थ मन्त्रालय पठाएको छ  । संशोधित मस्यौदा मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेसँगै लागू हुनेछ । 

यो स्वीकृत भएपछि अब हरेक वर्ष साउनमा ब्रोकर कम्पनी थप्न आवेदन दिन सकिने र आएको आवेदन स्वतः प्रक्रियाका लागि अगाडि बढ्ने धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले जानकारी दिनुभयो । धितोपत्र बोर्डले यसपटकदेखि ब्रोकरका लागि आवेदन लिँदा परीक्षा समेत लिन नपर्ने व्यवस्था गरेको छ । हालसम्म परीक्षा लिएर मात्रै ब्रोकर छनोट गरिँदै आएको छ । 

 विदेशका खबर

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छः प्रधानमन्त्री विक्रमासिंघे

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा  आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिनुभएको हो । सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौंसम्म चलेको मुद्रास्फीति र लामो विद्युत कटौती झेलिरहेका छन् ।

कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उहाँले बताउनुुभयो । श्रीलंकाले टाट पल्टिएको देशको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको जानकारी दिनुभएको छ । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन । अहिले श्रीलंकामा पेट्रोलको चरम संकट छ । 

चीनबाट थप ऋण नलिन पाकिस्तानलाई मुद्रा कोषको सुझाव

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई चीनबाट थप ऋण नलिन सुझाव दिएको छ । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) परियोजनाका निम्ति सात अर्ब ९० करोड पाकिस्तानी रूपैयाँ ऋण लिने इस्लामावादको योजनामा पुनर्विचार गर्न कोषले सुझाएको हो ।

बाह्य ऋणबाट पाकिस्तानको अर्थतन्त्रलाई दिगोरूपमा सञ्चालन गर्न नहुने भन्दै कोषले इस्लामावादलाई संरचनागत सुधार गर्न तथा चिनियाँ सहयोग र ऊर्जा सम्झौताबारे पुनः वार्ता गर्न सुझाव दिएको फाइनान्सियल पोष्टले जनाएको छ । 

पाकिस्तानले आफ्नो देशमा चिनियाँद्वारा सञ्चालित स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई रू तीन खर्ब ५० अर्ब बिजुली बक्यौता बुझाउन बाँकी छ ।

चीनले सिपिइसीअन्तर्गतका परियोजनाका सम्झौताका शर्तहरू परिमार्जन गर्न अस्वीकार गरेका विवरणहरू सार्वजनिक भएपछि मुद्रा कोषले थप ऋण नलिन पाकिस्तानलाई सुझाएको हो । विगतदेखि नै पाकिस्तानको अर्थतन्त्र शिथिल भएको छ भने व्यापार असन्तुलन पनि बढेको छ । मुद्रास्फीति पनि दैनिक रूपमा चुलिदै गएको छ । 

नेपाल र क्यानडाबीचको दोस्रो खेल आज

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । पहिलो एकदिवसीय भने निरन्तरको वर्षाका कारण रद्द भएको थियो । नेपाल आज क्यानडालाई हराएर सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ । क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ । 

वश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ । सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटोगोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।

लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए । सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै विश्वका कयौँ ठूला लिग खेलिसकेका छन् ।