Live Streaming

पानीको कामना गर्दै गंगा माईको रथ जात्रा सम्पन्न

पशुपतिनाथ मन्दिर परिसरमा बुधबार गंगा माईको रथ जात्रा सम्पन्न भएको छ । गंगा माईलाई रथमा राखी पशुपतिस्थित वज्रघरबाट गौशाला, जयवागेश्वरी, ताम्रेश्वर महादेव हुँदै पुन पशुपति वज्रघर पुर्‍याउने प्रचलन रहेको छ  । 

आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपति नाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथ यात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

  
यो जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरुज्युको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ । गङ्गामाई जात्राको प्रतीकका रुपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायकोसमेत उपासना स्थल हो । 

गङ्गामाई जात्राको शुरूवात जङ्गबहादुर राणाको ३४ ओटा श्रीमती मध्ये एउटी श्रीमती गंगा महारानीले शुरूवात गरेकोले   यसको नाम गङ्गामाई रहन पुगेको र जात्रा पश्चात् गंगामाईको मूर्ति पशुपति नाथ भित्रै राखेर पुजा अर्चना गर्ने परम्परा रहेको बागमती प्रदेश सभा सदस्य तथा संस्कृतविद् नरोत्तम वैद्यले जानकारी दिनुभयो । 

नेवारी  संस्कृतिमा जात्रा पश्चात् भोज गर्ने प्रचलन रहता पनि त्रिशूल जात्रा र  गंगामाई जात्रामा भने, भोज गर्ने प्रचलन नरहेको वैद्यले जानकारी दिनुभयो । 

गांगामाई जात्राको सञ्चालन तथा व्यवस्थापन गुठि संस्थान पशुपति गोस्वराले गर्दै आइरहेको छ । यस जात्राको मुल पुजारीका रूपमा नारायण पौडेलको पूर्खादेखी उहाँहरूले नै यथोक्त विधिद्वारा पुजा अर्चना गर्दै आइरहनु भएको छ ।
     
भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देव मार्गमा परिक्रमा गराइन्छ ।