Live Streaming

प्रतिनिधि सभाको बैठक आज दिउँसा २ बजे बस्दै

गणपुरक संख्या अपुग भएपछि हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बस्ने आजको बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदन छलफल हुदैछ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । चार वर्षअघि संसदमा दर्ता भएको विधेयकमा संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको थियो । 

तर, दलहरुबीच केही प्रावधानमा सहमति नभएपछि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । विधेयकमा भएको केही प्रावधान सच्याएर फेरि संसदमा पेश गर्ने सरकारको तयारी छ । यस्तै आजको बैठकमा सभामुख अग्नि सापकोटाले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

सो विधेयक हिजै निर्णायार्थ प्रस्तुत गरिएपनि गणपुरक संख्या अपुग भएपछि बैठक नै स्थगित गरिएको थियो । प्रस्ताव पारित गर्न संविधानको धारा ९४ अनुसार एक चौथाई अर्थात् ६९ सदस्य उपस्थित हुनुपर्नेमा हिजोको बैठकमा जम्मा ६७ सदस्य मात्र उपस्थित रहेका थिए ।

यसैगरी आजको बैठकमा प्रधानमन्त्री देउवाले “मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । यस्तै खानेपानी मन्त्री उमाकान्त चौधरीले “विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको खानेपानी तथा सरसफाइ विधेयक, छलफलका लागि पेश गर्ने तयारी भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । 

यस्त,ै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक छलफल र पारितका लागि पेश गर्ने कार्यसुची समेत रहेको सचिवालयले जनाएको छ ।