Live Streaming

माओवादी केन्द्रले गठन गर्यो ४१ सदस्यीय स्थायी समिति

नेकपा माओवादी केन्द्रको तीन दिन बसेको केन्द्रीय समिति बैठकले पनि पदाधिकारी टुंग्याउन सकेको छैन । आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । 

बैठकमा सम्बोधन गर्दै दाहालले पदाधिकारी चयन गर्नका लागि आफूलाई २–४ दिन समय माग्नुभएको छ । माओवादीको केन्द्रीय समिति बैठकमा छिट्टै पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । सोही अनुसार प्रचण्डले दुई दिनसम्म नेताहरुसँग आन्तरिक छलफल पनि गर्नुुभयो तर सहमति नजुटिसकेकाले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको हो । 

तर आजको बैठकले नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति गठन गरि पारित गरेको छ ।  काठमाडौंको प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको हो । माओवादीले आजै १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरेको छ । स्थायी समितिमा नेकपाकालका १५ जना समेटिएका छन् । बाँकी सदस्य भने पछि थपिने बताइएको छ । 

त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो सदस्यको सूची केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेपछि विवाद भएको थियो । केही केन्द्रीय सदस्यहरूले आफू कुन आधारमा नपरेको र पोलिटब्युरो सदस्यहरू छनोटको आधार के हो भनेर प्रश्न गरेका थिए । 
कतिपय पर्नै पर्ने व्यक्तिहरू पनि छुटेको केन्द्रीय सदस्यहरूको गुनासो थियो ।

त्यस्तै, कर्णालीलगायतका क्षेत्रबाट पोलिटब्युरोमा कसरी चयन गरिएको हो भन्ने प्रश्न उठेपछि अध्यक्ष दाहालले बैठक १ घण्टाका लागि स्थगित गर्नुभएको थियो ।