Live Streaming

प्रतिनिधि सभाको आजको बैठकमा नागरिकता विधेयक फिर्ता हुदै 

प्रतिनिधि सभाको आजको बैठकमा नागरिकता विधेयक फिर्ता लिने सम्बन्धी प्रस्ताव पेश हुने भएको छ । लामो समयदेखि संसदमा विचाराधिन विधेयकका केही प्रावधान सच्याउनु पर्ने भन्दै विधेयक फिर्ता लिने तयारी भएको छ । 

दिउँसो २ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खांणले “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकबाटै विधेयक फिर्ता लिने कार्यसुची रहेपनि अन्तिम समयमा हटाइएको थियो  । चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदको राज्य व्यवस्था समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको थियो ।

तर दलहरुबीच केही प्रावधानमा सहमति नभएपछि मन्त्रिपरिषद्को मंगलबारको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयक केही प्रावधान सच्याएर पुनः ल्याउने सरकारको तयारी छ । 

यस्तै आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पारितका लागि पेश गर्ने कार्यसुची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । 

यसैगरी बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” पेश गर्ने कार्यसुची पनि रहेको संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । 

सो विधेयक हिजो बसेको समितिको बैठकले पारित गरेको थियो । विधेयकमा उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत रहने व्यवस्था छ ।