Live Streaming

दश लाख डोज खोप खेर जाँदै 

सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरस विरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद सकिदैछ । 

सरकारले कोभ्याक्स सुविधा मार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोप मध्येको १० लाख भन्दा बढी खोप म्याद गुज्रिएर खेर जान लागेको हो । 

ती खोपको अवधि अब करिब १५ दिन भएपनि खोप अभियान सुस्त भएकाले धेरैजसो खोप प्रयोगमा नआउने आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ । धेरैले पहिलो र दोस्रो चरणको खोप लगाएको र बुस्टरमा कोभिशिल्ड भन्दा अन्य खोप नै रोजाइमा रहेकाले यसको खपत हुन नसकेको हो । 

हाल अधिकांश मानिसले बुस्टर डोजका रुपमा फाइजर खोप लगाइरहेका छन् । विभागको तथ्यांक अनुसार मोडेर्नाको पनि ६७ हजार खोप खेर गएको छ । धेरै स्थानीय तहबाट खोपको विवरण आउन बाँकी रहेकाले खेर गएको मोडेर्ना खोपको संख्या अझै बढ्न सक्ने बताइएको छ ।