Live Streaming

अन्नपूर्ण दिनभर : विदेश विभाग प्रमुख लिउको दाैडाहादेखी राष्ट्रपतिको अवस्था अझै ‘अज्ञात’ सम्म

अन्नपूर्ण हेडलाइन 

चार दिने नेपाल भ्रमणमा रहनु भएका चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ राजनीतिक भेटवार्तामा सक्रिय÷प्रधानमन्त्री देउवासँग बालुवाटारमा शिष्टाचार भेट ।

    
भोलि सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सरकारको काम, कारबाहीबारे समीक्षा गर्र्न कोइराला पक्षको एजेन्डा तय÷कांग्रेसमा करिब एक दर्जन भातृ र शुभेच्छुक संस्था थप्ने तयारी ÷ सभापतिसँग छलफलका लागि बालुवाटारमा । 

गण्डकीमा मुख्यमन्त्रीले आफ्ना बुवासहित व्यक्तिका नाममा ट्रष्टलाई करोडौं बजेट पारेपछि कांग्रेस नेताहरूकै विरोध÷बजेटबारे अर्थमन्त्री बरालले जवाफ दिएपछि प्रदेशसभामा बजेटमाथिको छलफल सुरु ।

शान्ति कायम राख्न श्रीलङ्काका सेना प्रमुखको आग्रह÷राष्ट्रपतिको अवस्था अझै ‘अज्ञात’ ।

‘ए’ डिभिजन क्लब एनआरटी र थाइल्याण्डको चोनबुरी क्लबबिचको दोस्रो मैत्रीपूर्ण खेल जारी ÷नेपालमा हुुने साफ च्याम्पियनसिपमा पाकिस्तानको महिला टोली सहभागी हुने ।    
 

अन्नपूर्ण खबर 

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुग्नु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ राजनीतिक भेटवार्तामा सक्रिय हुनु भएको छ । उहाँले आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहान मात्रै नेपाल आइपुग्नु भएको लिउले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवाबाट गर्नु भएको हो । प्रधानमन्त्रीसँगको भेटवार्ता पछि अहिले उहाँले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने गर्नु भएको छ । विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको हो । 

कांग्रेसमा करिब एक दर्जन भातृरशुभेच्छुक संस्था थप्ने तयारी 

सत्तारूढ दल नेपाली कांग्रेसमा भातृ तथा शुभेच्छुक संस्था बन्न चाहेकाहरूको विधानका विषयमा छलफल भएको छ । आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टीको भातृ तथा शुभेच्छुक संस्था बन्न चाहेकाहरूको विधानको विषयमा छलफल भएको सहमहामन्त्री सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भातृ तथा शुभेच्छुक संस्था बन्न चाहेकाहरूको विधानमाथि छलफल भएको र भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सो प्रस्ताव केन्द्रीय समितिमा राखिने तथा केन्द्रीय समितिको निर्णयबाट मान्यता दिइने दिइनेछ । प्रवक्ता प्रकाशशरण महतका अनुसार करिब एक दर्जन संख्यामा भातृरशुभेच्छुक संस्था थप्ने प्रस्ताव गर्ने पदाधिकारी बैठकले निर्णय गरेको छ । 

यस्तै, नेपाली कांग्रेसका पदाधिकारीहरु पार्टी कार्यालयमा बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवासहितको बालुवाटारमा बस्ने बैठकले भोलिको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामाथि छलफल गर्ने जनाइएको छ । केन्द्रीय कार्यसमिति बैठक भोलि दिउँसो १ बजेका लागि सानेपामा बोलाइएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले भोलिको बैठकमा स्थानीय तह निर्वाचन परिणामबारे केन्द्रीय सदस्यहरुले धारणा राख्ने र ती धारणाको आधारमा आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा पार्टीले टुंगो लगाउने जानकारी दिनुभयो ।
 
केन्द्रीय समितिमा कडा रुपमा प्रस्तुत हुने कोइराला पक्षको तयारी

सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भोलि सुरु हुने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सरकारको काम, कारबाहीबारे समीक्षा गर्ने एजेन्डा तय गरेको छ । आज काठमाडौंस्थित विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारमाथी भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समीक्षा केन्द्रिय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । 

स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुनेगरी गठबन्धनलाई वृहत्त बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताउनुभयो । बैठकमा कोइराला पक्षले पार्टीको भ्रातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ ।

बैठकमा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ । पार्टीको विधानअनुसार विभागहरूसमेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।  

गण्डकीमा आफ्ना बुवासहित व्यक्तिका नामका ट्रष्टलाई करोडौं बजेट

नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार बजेटको विषयलाई लिएर आलोचित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै अभिभावकको नाममा रहेको ट्रष्ट र पार्क बनाउन करोडौँ बजेट विनियोजन गरेपछि अन्य दल मात्रै होइन कांग्रेस नेताहरुलेनै सरकारको आलोचना गरेका छन् ।

प्रदेश सरकारले असार १ मा ल्याएको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा विनियोजन गरिएका योजनाबारे भने कांग्रेसकै शीर्ष नेताहरूले विरोध गरेका हुन् । गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड बजेट विनियोजन गरेको छ । यस्ता योजना ल्याउनेमा मुख्यमन्त्री पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन् । 

मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो । यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गर्नुभएको छ । उहाँका बुवा आमाका नाममा खोलिएको ‘पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’ लाई अर्को शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्री श्रेष्ठले दुई वटा शीर्षकमा गरी आमा बुबाका नाममा १ करोड विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ । 

अहिले गण्डकीका योजनालाई लिएर मुख्यमन्त्रीलगायतको आलोचना भइरहेको छ । कांग्रेसका उपसभापति धनराज गुरूङले नेताका नाममा खुलेका ट्रष्टलाई राज्यकोषबाट बजेट हाल्न नहुने बताउनुभएको छ ।  राज्यकोषको बजेट नेताका नाममा खोलिएका संस्थामा राख्ने प्रवृत्ति बढ्दै गएको उनले बताउनुभयो । यस्तै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको प्राथमिकता हेर्दा संघीयताको धज्जी उडाउने काम भएको टिप्पणी गर्नुभयो । 

छुट्टै बैठक बोलाएपछि उपेन्द्रले बाबुरामलाई लगाए अराजकको ट्याग !

जनता समाजवादी पार्टी (जसपा) को विभाजन निश्चित भएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक बोलाएपछि फुटको सुनिश्चित भएको हो । जसपाबाट अलग हुने तयारीमा रहेको बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ भने, अध्यक्ष  उपेन्द्रले वीरगञ्जमा असार २९ र ३० बैठक बोलाउनुुभएको छ । बैठकमा पार्टीको आन्तरिक विषय, चुनावी समीक्षा र आगामी योजनाबारे छलफल हुने बाबुरामनिकट नेता विश्वदीप पाण्डेले बताउनुुभयो । अध्यक्षद्वयबीच पार्टीबाट अलग हुने सहमति बनिसकेपछि पनि उपेन्द्र पक्षले काठमाडौंमा बोलाएको बैठक आधिकारिक नभएको भन्दै सर्कुलर जारी गरेको छ । 

विभाजनको मुखमा रहेको बेलामा पार्टीमा बहुमत पुर्याउन यही बैठकले निर्धारण गर्ने नेताहरुको बुझाइ छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै बाबुराम पक्षको बैठकमा नजान आग्रह गर्नुभएको छ । विज्ञप्तिमा ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी सामाजिक सञ्जाललगायत केही संचार माध्यमबाट भ्रम फैलाइरहेको भनिएको छ । 

बाजुरा बुढीगंगा नगरको मेयर–उपमेयर दुवैमा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुुख दुुबै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी हुनुुभएको हो । बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी हुुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले ३ हजार ७७४ मत पाउनुुभयो । त्यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७२७ मत पाएर बीजयी हुुँदा प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत पाउनुुभयो । गत बिहीबार निर्वाचन सम्पन्न भएको बाजुराको बुुढीगंगा गनरपालिकामा १३ हजार ६५९ मतदाता रहेकोमा ९ हजार १२८ मत खसेको थियो । 

१० वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा कांग्रेसले जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यस्तै, वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ । ३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो ।

मधेश प्रदेशको बजेट सर्वसम्मतिले पारित

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो । प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गर्नुभएको आर्थिक विधेयक २०७९ र कर तथा गैर कर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि हिजो प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । 

बजेटको छलफलमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री साहले सदनमा जवाफ दिनुभएपछि बजेट पास गरिएको हो । गत असार १ गते अर्थमन्त्री साहले आर्थिक वर्ष ०७९÷०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट पेस गर्नुभएको थियो । बजेट पारित भएसँगै प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
  
आज भेटिए १२१ जना कोभिड संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा १ सय २१ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ४५ जनामा गरिएको परीक्षणमा १ सय २१ जना संक्रमण देखिएको हो । यस्तै आज ३१ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयको विवरण अनुसार हाल देशभर ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । सात जना संक्रमितको आइसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्ला दिनहरुमा देशमा कोभिड संक्रमितको संख्या उकालो लाग्दै गएको छ । हिँजो पनि १०२ जना संक्रमित भेटिएका थिए । 

बस मर्मत गर्ने क्रममा किचेर एक जनाको मृत्यु

बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो । बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीमा एसपीको ३६ दरबन्दी रिक्त, बलिया आकांक्षी ५६ जना

नेपाल प्रहरीमा प्रहरी उपरीक्षक एसपीको ३६ दरबन्दी रिक्त भएको छ । हिँजो ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको थियो । सिफारिस भएका ३२ जनाले बढुवा पाएपछि ३६ जना एसपीको दरबन्दी रिक्त हुनेछ । ती दरबन्दीमा बढुवा हुन चाहने बलिया आकांक्षीहरुको संख्या ५६ रहेको छ । २०५८ सालमा सेवा सुरु गरेर बढुवा हुन बाँकी रहेका डीएसपीको संख्या २४ जना रहेको छ । असार मसान्तसम्म बढुवा गरिसक्नुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयले धमाधम बढुवा सिफारिस निकालिरहेको छ । 

मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै 

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद, आज देशभर हर्षोल्लासका साथ मनाइएको छ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२औँ महिना अर्थात् दिल हिज्जाको १०औँ दिन यो पर्व मनाउने गरिन्छ ।

आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । आज काठमाडौको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायतमा भीड लागेको छ । बकर ईदलाई बलिदानीको पर्वका रुपमा पनि लिने गरिन्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । 

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइएको छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।

हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी (हरिबोधनी) एकादशीका दिन जागा हुनुहुने धार्मिक विश्वास रहदै आएको छ । हरिशयनी एकादशीका अवसरमा आज फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानीलकण्ठस्थित बूढानीलकण्ठको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

टेकुमा प्लाष्टिकले छोपियो फोहोर
 
काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवाणु राखेर प्लाष्टिकले छोपेको छ । वर्षाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसक्दा फोहोर थुप्रीएपछि टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको फोहोरमा जीवाणुु राखेर फोहोरलाई प्लास्टीकले छोपिएको हो ।

फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा  दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको महानगरले जनाएको छ । यसरी जीवाणु राखेर फोहोर छोप्दा यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ । अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । 

चैनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–३ का २५ वर्षीय दीपक न्यौपाने रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । न्यौपाने वरुण हाइड्रोपावरको प्लान अपरेटर रहनुभएको थियो । प्रहरी निरीक्षक बस्नेतका अनुसार न्यौपानेलाई आज दिउँसो साढे ४ बजे ३३ केभी प्रसारण लाइनको पालेमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर हो । करेन्ट लागेर घाइते भएका न्यौपानेको गतराति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

आर्थिक खबर

२५ दिनमा ५२ अर्ब विकास खर्च, हिजो मात्र १५ अर्ब

असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८÷०७९ मा समेत दोहोरिएको छ । आर्थिक वर्ष २०७८÷७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । प्रायः शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो । जेठ ३१ मा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च २५ दिनमा २ सय २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । जुन कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत रहेको छ । 

यस्तै, पछिल्लो २५ दिनमा विकास खर्च मात्र ५२ अर्ब रुपैयाँ भएको छ । कुल ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्चमध्ये १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ । जुन  ५०.११ प्रतिशत रहेको छ । 

यस्तै, सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हिजो सम्म १० खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसैबिच, महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आजदेखि बन्द रहने जनाएको थियो ।

बीमा कम्पनीलाई पूँजी बृद्धिको चटारो

आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा जीवन र निर्जीवन बीमा कम्पनीको मर्जर चर्चा पनि चुलिएको छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीलाई पुँजी वृद्धिका लागि निर्देशन दिएपछि बीमा कम्पनी मर्जरको प्रयासमा लागेका हुन् । समितिले गत चैत १० गते सर्कुलर जारी गरेर पुँजी वृद्धिको निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार २०८० सालको असार भित्र जीवन बीमा कम्पनीले न्यूनतम पाँच अर्ब रुपियाँ र निर्जीवन बीमा कम्पनीले न्यूनतम साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी पु¥याउनु पनेछ । समितिको निर्देशन अनुसार बीमा कम्पनीले पुँजी वृद्धिको योजना समेत पेस गरिसकेका छन् । धेरै कम्पनी तोकिएको चुक्ता पुँजी पु¥याउने तर्फ लागेका छन् भने केही कम्पनीले साधारण सभाबाटै मर्जरमा जाने निर्णय गरेका छन् । केही कम्पनीले विशेष साधारणसभा बोलाएर पनि मर्जरका लागि अख्तियारी प्रदान गरेका छन् । 

 
विदेशका खबर

शान्ति कायम राख्न श्रीलङ्काका सेना प्रमुखको आग्रह, राष्ट्रपतिको अवस्था अझै ‘अज्ञात’

आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ । आर्थिक मन्दी चर्किएपछि सत्ताबिरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे कहाँ हुनुहुन्छ भन्ने अझै खुलेको छैन । हिजो हजारौँ प्रदर्शनकारीले राष्ट्रपति निवास घेर्नुअघि नै सेनाले उहाँलाई निवासबाट सुरक्षित स्थानमा लगेका थिए । उहाँ सुरक्षाकर्मीका गाडीको स्कर्टिङ मा विमानस्थल पुगेको र विमानमा बन्दोबस्तीका सामान राखेको देखिएको खबरमा उल्लेख छ । 

राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ मा राजीनामा दिने जानकारी दिएको श्रीलंकाका संचार माध्यमले जनाएका छन् । यसैबीच, प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरुले नोट गनिरहेको देख्न सकिन्छ । 

यसैबिच, श्रीलङ्काका सेना प्रमुख शवेन्द्र सिल्भाले शान्ति कायम राख्न आग्रह गर्नुभएको छ । हजारौँ प्रदर्शनकारीले हिजो राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए भने प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा आगो लगाएका थिए । हिजोको घटनापछि आज श्रीलङ्काको राजधानी कोलम्बो शान्त देखिएको छ तर हिँसा भड्किन सक्ने त्रास कायमै रहेको छ ।  सेना प्रमुख सिल्भाले छिटै सबै कुराको समाधान निस्कने आसा गर्दै समस्या बढाउने नभइ कम गर्नेतर्फ सोच्न प्रदर्शनकारीलाई आग्रह गर्नुभएको एन.डी.टी.भीले जनाएको छ । यस्तै प्रमुख विपक्षी दल समागी जन बालवेगया (एसजेबी) ले पनि नागरिकलाई शान्त रहन अपिल गरेको छ । 

काकुल जापानमा माथिल्लो सदनका लागि मतदान

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि आघात, शोकाकुल र डरबाट मुक्त भइनसकेका मतदाताले बिना उत्साह जापानको माथिल्लो सदनको निर्वाचनमा मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री आबेको चुनावी प्रचारका क्रममा गोली हानेर हत्या भएको घटनाको छायामा भएको मतदानबाट नेता आबेको सत्तारुढ दल विजययात्रातर्फ अग्रसर भएको देखिएको छ । पश्चिमी जापानको प्रहरीले आबेका आरोपित हत्यारालाई थप अनुसन्धानको लागि स्थानीय अभियोजनकर्ताको कार्यालयमा पठाएको छ । 

क्षेत्रीय प्रहरी अधिकारीले सुरक्षा त्रुटिका कारण आक्रमणकारी गोली प्रहार गर्न सफल भएको स्वीकार गरेका छन् । आबेलाई गत शुक्रबार नारामा गोली हानेका तेत्सुया यामागामीले नेता आबेको राजनीतिक दृष्टिकोणसँग आफ्नो विमति नरहेको तर आबे संलग्न सङ्गठनको अफवाहका कारण घटना भएको अभियोजन अधिकारीलाई बताएका छन् । 


 खेल खबर

एनआरटीले चोनबुरीसँग खेल्दै 

थाइल्याण्ड भ्रमणमा रहेको नेपालको ’ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटी र थाईल्याण्डको शीर्ष डिभिजनको क्लब चोनबुरीबिचको दोस्रो मैत्रीपूर्ण खेल जारी छ । एनआरटीले यसअघि बिहीबार तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग खेलेको थियो । सो खेलमा एनआरटी ५–२ गोल अन्तरले पराजित भएको थियो । प्रि–सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले बुधबार थोनबुरी एफसीसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।

प्रतिबन्ध फुकुवासँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्ने

पाकिस्तान फुटबल फेडेरेसन (पी.एफ.एफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो । पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ । साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले महिला साफ च्याम्पियनसिप खेल्नेछन् । 

महिला साफ च्याम्पियनसिप आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुनेछ । तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासङ्घ (पी.एफ.एफ) लाई सन् २०२१ अप्रिल ५ मा फिफाले निलम्बन गरेको थियो । गएको जुलाई १ मा फिफाले पाकिस्तानमाथि लगाएको निलम्बन फुकुवा गरेपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलेको छ ।