Live Streaming

अन्नपूर्ण दिनभर : प्रतिनिधि सभाबाट कारागार विधेयक पारितदेखि सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने तयारीसम्म


 

प्रतिनिधिसभाबाट कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित कैदीबन्दीले बिहे र प्रजनन अधिकार पाउने÷कारागार सुधार गर्न विशेष किसिमको योग्यता भएका प्रशासक चाहिने मानवअधिकारकर्मीको भनाइ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तोक्न ढिलाइ भएकोप्रति एमाले सांसदको आपत्ति÷संसदमा सरकारको जवाफ माग । 

पर्यटन मन्त्रालयद्धारा पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक÷सन २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु÷३४७ जनामा संक्रमण पुुष्टी÷सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो ।

फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु ÷यमनमा भारी वर्षापछि आएको बाढीमा परी ८ जनाको ज्यान गयो ।


र, भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय सिरिज आज हुँदै । श्रृंखला जोगाउन वेस्ट इन्डिजलाई जित्नै पर्ने दबाब ।

अन्नपूर्ण खबर 
प्रतिनिधि सभाबाट कारागार विधेयक पारित 

प्रतिनिसभाबाट कारागारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिसभामा हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या अर्थात् ६९ सांसद पनि उपस्थित नहुँदा बैठक १५ मिनेटका लागि रोकिएको थियो ।  कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा ६९ सांसद उपस्थित हुनैपर्ने संवैधानिक व्यवस्था रहेकोमा यसअघि ६७ सांसद मात्रै उपस्थित थिए ।

त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गर्दा ४ सांसद थपिएर ७१ सांसद पुगेका थिए । गणपूरक संख्या उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाउनुुभएको थियो । सांसद फर्किएपछि प्रतिनिधिसिभाबाट कारागारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राख्नुुभएको थियो ।

२०७६ मंसिर २९ मा संसदमा दर्ता भएको यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहने लगायतका विषय समेटिएको छ । विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सिफारिस गर्न सक्नेछ ।

खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार्यक्रममा काम गर्न लगाउन सकिने, स्वयंसेवकको रुपमा काम लगाउन सकिने लगायतका प्रावधान समेटिएका छन् । काम लगाउँदा कैदीबन्दीलाई सरकारले तोकेको न्युनतम तलब दिनुपर्ने लगायतका व्यवस्था विधेयकमा समेटिएको छ ।

यसैगरी कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणको सम्बन्धमा विशेष व्यवस्था राखिएको छ । उपचारका लागि गर्भवती बन्दी कारागार बाहिर बस्न चाहे सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागार फर्किन पाउनेगरी कारागार प्रशासनले अनुमति दिनुपर्नेछ । विधेयकको दफा २३ मा रहेको प्रजनन अधिकार सम्बन्धी व्यवस्थाले कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिने प्रावधान समेटिएको छ । 

यसैबीच, सरकारले संसदबाट पारित गरेको कारागार विधेयकलाई मानवअधिकारकर्मीले स्वागत गरेका छन् । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै मानव अधिकार संस्था इन्सेक नेपालका पूर्व अध्यक्ष,१ नम्बर प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष  सुबोधराज प्याकुरेलले खुला कारागार र प्रचनन् अधिकारको विषय लामो समयदेखि उठ्दै आएकोमा अहिले विधेयक मार्फत सम्बोधन हुनु सुखद भएको बताउनुभयो ।

उहाँले विधेयक पारित भएपछि ऐनको रुपमा आएर कार्यान्वयनमा जान समय लाग्ने भएकाले अहिले नै त्यसको प्रभाव कैन्दीबन्दीमा नपर्ने बताउनुभयो । साथै, उहाँले कारागार प्रशासन चलाउन विशेष किसिमको योग्यता भएका प्रशासकहरु आवश्यक पर्ने भएकाले उक्त व्यवस्था नगरिएसम्म कारागारको अवस्था सुधार नहुने जिकिर गर्नुभयो । 
     
सरकारप्रति एमालेको आशंका : गठबन्धन टिकाउन चुनाव नगर्ने मनशाय त होइन?
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्न ढिलाइ गरेकोप्रति प्रश्न उठाएको छ ।  आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद लालबाबु पण्डितले निर्वाचनको मिति तोक्न ढिलाइ भएकोप्रति सरकारसँग जवाफ माग गर्नुभएको छ  ।

त्यस्तै, प्रतिनिधिसभामा धारणा राख्दै एमालेकै सांसद भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ योजना’ अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरेमा गोर्खा भर्ती सन्धि खारेज गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुुभएको छ । सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन भनेर सरकारसँग जवाफ माग गर्नुभएको छ । 

भारतीय गोर्खा सैनिकमा भर्ना हुन तयार रहेका नेपाली युवालाई सो योजनाबारे सरकारले यथार्थ जानकारी दिनुपर्ने रावलको भनाइ थियो । उहाँले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले सो विषयमा सदनलाई जानकारी दिनुपर्ने बताउनुुभयो । भारतले यसैसालबाट सेनामा ४ वर्ष मात्रै काम गर्न पाउने योजना अगाडि सारेको छ ।    
 
 नारायणकाजी श्रेष्ठको आह्वान– वामपन्थी शक्तिबीच सकेसम्म एकता 
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका वामपन्थी पार्टीहरूले एकले अर्कालाई सिध्याउन र तमासा हेर्न तल्लिन रहेको टिप्पणी गर्नुभएको छ । यो बाटोबाट कम्युनिष्ट तथा वामपन्थी आन्दोलन विसर्जनको दिशामा जाने उनले चेतावनी दिनुुभयो । राजधानीमा आज आयोजित एक अन्तरक्रियामा बोल्दै श्रेष्ठले वामपन्थी शक्तिबीच एकताका लागि आह्वान गर्दै एकता सम्भव नभए कम्तीमा चुनावी तालमेल गर्नुपर्ने भनाई राख्नुुभयो । 

व्याख्यात्मक टिप्पणीले ठूलो ढाडस दियो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस मिलेर झण्डै एमसीसी यथास्थितिमा पारित गरेको टिप्पणी गर्नुभएको छ । आफूहरुले व्याख्यात्मक टिप्पणीको अस्त्र अघि सारेर देशको खड्को टारेको उहाँको दाबी छ ।

आज आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थितिका विषयक अन्तरक्रियामा बोल्दै नेपालले कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएका बेला नेपालमा एमसीसी भित्र्याइएको बताउनुुभयो ।

नेपालले कम्युनिष्ट भनिएको एमाले र दक्षिण तथा पश्चिमी शक्तिको प्रभावमा रहेको नेपाली कांग्रेस मिलेर झण्डै यथास्थितिमा एमसीसी पारित गर्न लागेको तर, आफुुहरुले व्याख्यात्मक टिप्पणीबिना पारित गर्नु हुँदैन भनेर अडान लिएको बताउनुुभयो । 

त्यस्तै, एक अर्को कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने विषयमा अमेरिकालाई तत्काल चिठ्ठी पठाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गर्नुुभएको छ । पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र आफूले प्रधानमन्त्री देउवालाई तत्कालै पत्र लेख्न भनेको बताउनुुभयो । 

ओली सरकारले ल्याएको प्रावधानसहित नागरिकता विधेयक पारित गरियो : पुन
प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकलाई प्रमुख प्रतिपक्षी एमालेले चुनावी एजेन्डा बनाउन खोजेको भन्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले आपत्ति जनाउनुुुभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशमा रहेका व्यवस्था राखेर विधेयक पारित गर्दा पनि एमालेले चुनावी एजेन्डा बनाउन खोजेको पुनको भनाई छ ।

माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैठकमा आइतबार नेता पुनले नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको आरोप पनि लगाउनुुभयो । ओली नेतृत्वको सरकारले २०७५ सालमा संसद्मा पेस गरेको विधेयक तथा २०७८ जेठ ९ गते ल्याएको अध्यादेशका प्रावधान राखेर आएको विधेयक शुक्रबार प्रतिनिधिसभाले पारित गरेको पुनको भनाइ थियो । 

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आज पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै सो पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।  मन्त्रालयबाट पर्यटन क्षेत्रको विकास र सुधारको लागि सुझाव पेस गर्न विगतमा गठित कार्यदल र समितिको प्रतिवेदनलाई आधार मानेर कार्ययोजना तयार पारिएको मन्त्री श्रेष्ठले बताउनुुभयो ।

कार्ययोजना अनुुसार प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुुभयो । उहाँले ७३ बुँदे कार्ययोजनामा नेपालमा पर्यटकको थप आकर्षणका लागि मन्त्रालयले पर्यटन नीति २०६५, हवाई नीति २०६३, पर्यटन ऐन, २०३५ र पर्वतारोहण २०५९ लगायतका कानूनहरूलाई समसामयिक संशोधन गर्ने जानकारी दिनुुभयो । उहाँले यो कार्ययोजनाले नेपालको पर्यटनलाई विश्वसामु चिनाउन र पर्यटकिय स्थलको रुपमा विकास गर्न मद्दत पुुग्ने विश्वास व्यक्त गर्नुभयो । 

त्यस्त,ै गैरआवासीय ‘नेपाली संघमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियानलाई पनि निरन्तरता दिइएको छ । विमानस्थलमा रहेको मनी एक्सचेन्ज काउन्टर २४ सै घण्टा सञ्चालन हुने र सबैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउने हवाई कम्पनी तथा ट्राभल एजेन्सीलगायतले कर छुट पाउने भएका छन् ।

यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षमा जम्माजम्मी २ लाख पनि पर्यटक भित्रिन सकेन । तर, खर्च भने ७० करोड माथि भएको बताइएको छ । 


२४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ३४७ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण देखिएको छ । २ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन् । आजा ९५ जना संक्रमण मुक्त भएका छन् ।  सोही अवधिमा ७८ हजार २२८ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ ।


रुख ढलेर बस र स्कुटर किच्दा सल्लाघारीमा ३ को मृत्यु

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको हो । घटनामा १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुुभयो । मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको छ । 
 
 
कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा ९ जना पक्राउ
रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट  रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ  गरेको छ । ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा संचालक ९ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुुभयो ।

प्रहरीले सेन्टरमा कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भनी ठगी गर्ने कार्यरत करिब १ सय ५० जनालाई कार्यालयभित्रै निगरानीमा राखेको छ । कार्यालय सिल गरी उनीहरुमाथि सोधपुछ थालेको केसीले बताउनुुभयो ।

तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
 
कालिज फार्ममा चितुवा पस्यो, स्थानीयले ढुंगा हानेर घाइते बनाए
दोलखाको सदरमुकाम चरीकोट नजिकैको कालिज फार्ममा चितुवा पसेर ५ सयभन्दा बढी कालिज मारेको छ । भीमेश्वर नगरपालिका– ७ मा रहेको दूधपोखरी वाइल्ड लाइफ एग्रो विथ रिसोर्टमा शनिबार राति पसेको चितुवाले ५ सयभन्दा बढी कालिज मारेको हो । फार्ममा पसेको चितुवालाई दिउँसोसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन ।  

आरज बिहान फार्ममा काम गर्ने मजदुरले कालिज मरेको देखेपछि के भयो भनेर पस्दा चितुवाले आक्रमण प्रयास गरेको थियो । रातभर चितुवाले ५ सयभन्दा बढी कालिज मारिसकेको सञ्चालक मिङगुर शेर्पाले बताउनुुभयो । फार्ममा पसेको चितुवा स्थानीयले लखेट्ने प्रयास गरे पनि सबैतिर तारजाली लगाएका कारण चितुवाले स्थानीयलाई नै आक्रणमको प्रयास गरेको छ । स्थानीयहरूले भने नियन्त्रणमा लिन नसकेपछि चितुवालाई ढुंगामुढा गरेर घाइते बनाएका छन् । चितुवाले आक्रमण गर्न सक्ने भन्दै फार्म नजिकै जान रोक लगाइएको छ । 


उपत्यकामा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गरिने
नेपाल पर्यटन बोर्डले काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक पुरातात्विक शहरहरुमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने भएको छ । आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना, २०७९ जारी गर्दै पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो ।

काठमाडौं उपत्यका भित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्ने अवधारणा अनुरुप काठमाडौं,पाटन,भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गरिने पर्यटन मन्त्रालयले जनाएको छ । यस्तो योजना नेपाल सरकार, स्थानीय तह र नेपाल पुलिससँगको समेत सहयोगमा दुई महिनाभित्र शुभारम्भ गरि सकिने मन्त्रालयले जनाएको छ ।


आर्थिक खबर
मौद्रिक नीतिपछिको सेयर बजारमा उत्साह 
मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारमा उत्साह देखिएको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारको परिसूचक नेप्से, सबै उपसमूहहरु र कारोबार रकम समेत उल्लेख्य बढेको छ । नेप्से परिसूचक ६१.०५ अंक बढेको छ । सो अंकको वृद्धिपछि २ हजार ७८ अंकमा कायम भएको छ । कुल २ अर्ब ७३ करोडको कारोबार भएको छ ।

यसअघि शुक्रबार १ अर्ब ४४ करोडको मात्रै कारोबार भएको थियो । शुक्रबार घोषित मौद्रिक नीतिले सेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको सेयर ऋणमा जोखिमभार १५० बाट घटाएर १ सय कायम गरेको छ ।
 
रसुवा–टिमुरे सुख्खा बन्दरगाहको निर्माणको काम रोकियो
चिनियाँ पक्षले रसुवागढीमा निर्माणाधीन रसुवा–टिमुुरे सुख्खा बन्दरगाहको निर्माण कार्य रोकेको छ । ३० महिनामा सक्ने गरी सन् २०१९ अक्टोबरमा सुरू भएको निर्माणको काम चिनियाँ पक्षले नेपाललाई खबरै नगरी रोकेको हो ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाललाई जानकारी नै नदिइ चिनियाँ पक्षले काम रोकेको बताउनुभयो । सबै चिनियाँ स्वदेश फर्किएपछि हाल आयोजनास्थलमा २ जना मात्रै कामदार रहेको इन्टर मोडललाई जानकारी आएको उहाँले बताउनुभयो ।

सुख्खा बन्दरगाहको निर्माणको काम गरिरहेको तिब्बत फुलि कन्स्ट्रक्सनले नेपाली पक्षलाई जानकारी नै नदिइ कामदार स्वदेश फर्काएको हो । ३० महिनामा आयोजनाको निर्माण सक्नेगरी सन् २०१९ मा निर्माण सुरू भएको थियो । तोकिएको समयमा निर्माण नसकिएपछि थप १ वर्षको म्याद थपिएको छ । तर, थपिएको समयमा समेत आयोजनाको निर्माण सकिने छाँटकाँट देखिँदैन ।

विदेशका खबर
फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आज भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको  छ ।  एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला सो घटना भएको हो ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।  प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ ।

सो घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ ।   फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ ।  फिलिपिन्समा बन्दुक राख्न पाउँने बारे खुकुलो नियम भए पनि विद्यालय र विश्वविद्यालयमा गोली चल्ने घटना  भने  कमै हुने गरेका छन् ।  तर चुनावका समयमा राजनीतिकर्मीहरू माथि भने यस्ता हत्याका घटनाहरू  हुने गर्दछन् ।

यमनमा भारी वर्षाका कारण ८ जनाको मृत्यु
यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढिमा परी  विगत २४ घण्टामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण घर भत्किँदा दुई बालिकाको ज्यान गएको थियो भने धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको  छ । जारी गृहयुद्धका बीच भारी वर्षा र बाढीले  थप क्षति पु¥याएको  तथा सफा खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधारलाई भत्काएकाले वर्षायाममा महामारी फैलिने  सक्ने भन्दै स्थानीयवासी चिन्तित देखिएका छन् । 

खेल खबर
भारत र वेस्ट इन्डिजबीच भिडन्त 

भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार आज बेलुकी सवा ७ बजे वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा वेस्ट इन्डिज ३ रनले पराजित भएको थियो । श्रृङ्खला जोगाउन वेस्ट इन्डिजलाई आजको खेल जित्नुपर्ने दबाब छ । तेस्रो तथा अन्तिम एक दिवसीय खेल बुधवार हुनेछ । यो श्रृङ्खलामा भारतको कप्तानी शिखर धवनले गरेका छन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई आराम दिइएको छ । वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी–२० र एक दिवसीय श्रृङ्खला जितेको थियो ।