Live Streaming

अन्नपूर्ण दिनभर : अर्थमन्त्री शर्माको पर्नुनियुक्तिदेखी नागरिकता विधेयक प्रमाणितसम्म

पर्नुनियुक्ति पाएका अर्थमन्त्री शर्माद्धारा पदभार ग्रहण÷अर्थमन्त्रीमा शर्माको पुनरागमन कुनै आश्चर्य नभएको एमालेको प्रतिक्रिया ।

बजेट प्रकरणमा छानबिन समितिको प्रतिवेदन लागू नगर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन÷पर्याप्त छानविन नगरी दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप ।

सभामुख सापकोटाद्धारा नागरिकता विधेयक प्रमाणित राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउने ।

बिजुली उत्पादन नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने उर्जामन्त्री भुसालको चेतावनी २० वर्षपछि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ ।

युक्रेनको माइकोलेभ सहरमा रुसद्धारा सबैभन्दा ठूलो बमबारीसहित आक्रमण युक्रेनका धनाढ्य व्यापारी भाडाटुस्र्कीको मृत्यु ।
 
र, साफ यू–२० च्याम्पियन्सिपमा नेपाल र भारतबीचको खेल जारी÷श्रीलंकासंग बराबरी खेलेको माल्दिभ्स समुह चरणबाटै बाहिरियो ।

अन्नपुर्ण खबर 

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण 

अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आज अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गर्नुभएको हो ।

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपति भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा तानिनुभएको थियो । 

सो प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उहाँले राजीनामा दिनुभएको थियो । सो प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष सहितको प्रतिवेदन संसदमा पेस गरेको थियो । संसदीय समितिले आरोप पुष्टी नभएको निष्कर्षसहित शर्मालाई सफाई दिएपछि शर्माले पुनर्नियुक्ति पाउनुभएको हो । 

यसैबीच, अर्थमन्त्रीमा जनार्दन शर्माको पुनरागमन कुनै आश्चर्य र अनौठो नभएको एमालेले प्रतिक्रिया जनाएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै एमालेका प्रमुख सचेत विशाल भट्टराईले सत्तारुढ गठबन्धनले अहिलेसम्म राम्रो मान्छे छान्न नसकेको बताउँदै अर्थमन्त्रीमा शर्मा फेरि दोहोरिनु कुनै आश्चर्य नभएको बताउनुभयो ।

बिचौलिया, दलाल, भ्रष्टाचारी, जति सक्दो राष्ट्रलाई दोहन गरेर कमाउने मान्छेलाई नै यो गठबन्धन सरकारले निरन्तर छनोट गरिरहेको भट्टराईले आरोप लगाउनुभयो । 

छानबिन समितिको प्रतिवेदन लागू नगर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन

उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सन्दर्भमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गरेको छ । उपभोक्ता मन्चले समितिको प्रतिवेदन लागू हुँदा मुलुकलाई अपुरणीय क्षति हुने भन्दै सो प्रतिवेदन कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले संविधानको धारा ४६ र १३३ को उपधारा २ र ३ को व्यवस्थाबमोजिम समितिको प्रतिवेदन कार्यान्वयन नगराउन अन्तरिम आदेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन बुझाएको जानकारी दिनुभयो ।

मञ्चले सार्वजनिक हक र सरोकारको विषय भए पनि संसदीय विशेष समितिले कानुनबमोजिम प्रमाण संकलन र न्यायिक जाँचबुझ नगरी दोषीलाई उन्मुक्ति दिने नियतले प्रमाणमा छेडछाड गरी प्रतिवेदन पेस गरेको भन्दै प्रतिवेदन कार्यान्वयन नगराउन अदालतसमक्ष निवेदन गरेको हो ।

अध्यक्ष बानियाँले अमुक व्यक्ति समूहले जस्तोसुकै कानुन उल्लंघन गरे पनि कुनै कानुनी कारबाही हुँदैन भन्ने सन्देश जाने गरी प्रतिवेदन पेस भएको बताउनुभयो ।  

सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गर्नुभएको छ । सभामुख सापकोटाले संघीय संसद्बाट पारित भएको नागरिकता विधेयक आज प्रमाणित गर्नुभएको हो । साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट ’नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।

अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सो विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुलेको छ ।

संविधान जारी भएपछि त्यसअनुसार नागरिकता कानुन संशोधन नभएका कारण नागरिकता पाउन वञ्चितहरुले अब नागरिकता पाउने भएका छन् । वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध जनाएको थियो ।

बिजुली उत्पादन नगर्ने कम्पनीको लाइसेन्स खारेज गरिनेः ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिएर बिजुली उत्पादन नगर्ने कम्पनीको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्ने बताउनुभएको छ । आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

लाइसेन्स लिने, पीपीए गर्ने तर निर्माणमा नगइ खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने तयारी गरेको उहाँको भनाइ छ । मन्त्री भुसालले पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पुर्याउने र आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको बताउँदै स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको प्रष्ट पार्नुभयो ।  

त्यस्तै, सोही कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । उहाँले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण लाइनको जोखिम र शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो ।

निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने बरु प्रशारण लाइनको लागत कम गर्नुपर्ने भनाई राख्नुभयो ।  उहाँले विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत प्राधिकरणले करिव १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने जानकारी पनि दिनुभयो । उहाँका अनुसार गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत निर्यात गरेको थियो ।

निर्देशक घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताउनुभयो । उहाँले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमता विद्युत दिएको दाबी गर्दै उद्योगहरुमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो । 

पार्टीका विभाग प्रमुखलाई ओलीको निर्देशन : जनतालाई केन्द्रमा राखेर काम गर्नू

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिनुभएको हो ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न ३३ विभागका प्रमुख, उपप्रमुख र सचिवहरु सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।   

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विरोधमा धर्ना

सरकारले संघीय संसद्मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै त्यसविरुद्ध द्वन्द्व पीडितहरूले धर्ना दिएका छन् ।

आज काठमाडौंस्थित माइतीघर मण्डलमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले नेपाल सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका हुन् ।

दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य नभएको भन्दै द्वन्द्विपीडितहरूले विधेयकमा भएका त्रुटिपूर्ण प्रावधानहरू खारेज गर्न माग गर्दै धर्ना दिएका हुन् । केही समयअघि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरेको थियो । 


चिनी मिलको समस्या समाधान गर्न सरकारलाई समितिको निर्देशन


संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।  

सम्बन्धित मजदुर, ऊखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो । 

यसैबीच प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले थारु बस्तीमा धर्म प्रचार र धार्मिक हस्तक्षेप भएको विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले थारु बस्तीमा विभिन्न अध्ययनका बहानामा धर्म प्रचार भइरहेको र गलत नियत राखेर धार्मिक हस्तक्षेप गरेको विषयमा तत्कालै अध्ययन अनुसन्धान गर्न निर्देशन दिएको हो ।

थारु जातिको उत्थानको नाममा क्रियाशील केही गैरसरकारी संस्थाले थारु जातिको धर्म परितर्वन गर्ने उद्देश्यले धार्मिक प्रचार गरेको, धार्मिक रूपमा समुदायलाई विभाजित गरेको, थारु भाषा तथा लिपी संहिताकृत गर्ने नाममा बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको गुनासो आएकाले संवेदनशील भएर अध्ययन अनुसन्धान गर्न समितिले निर्देशन दिएको हो ।  

२४ घण्टामा ६ सय २० जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ४६ जनाको नमुना परीक्षण गर्दा ६ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १०.६ प्रतिशत हो ।

यस्तै, थप दुई सय ९७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार पाँच सय ६७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २५ हजार चार सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

प्रहरीका १३ एसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उदयपुरमा ज्ञानेन्द्र फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पन्डित पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयले तीन दिनअघि मात्र २४ जना एसपीको सरुवा गरेको थियो । काठमाडौं उपत्यका शसस्त्र प्रहरी गण नम्बर २ मा सरुवा भएका घिमिरेको तीन दिनमै काज सरुवा भएर इलाम प्रहरी प्रमुख भएका हुन् ।

सडकमै सुतेर सुकुम्बासीको प्रदर्शन

चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ । चुरे दोहन बन्द गर, छानबिन प्रतिवेदन सार्वजनिक गर, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउ लगाएका माग राखेर उनीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासीहरु जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । 

निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको राजूदत नियुक्त

ब्राजिलका लागि नेपालको आवासीय राजदूत निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि राजदूत नियुक्त गर्नुभएको हो ।  

काफ्लेलाई यसअघि नै मन्त्रिपरिषद्ले सिफारिस गरेर संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाइएको थियो । अग्रिमो आएपछि उहाँलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नुभएको हो । उहाँ यसअघि परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो । 

५४ अंक बढ्यो नेप्से

साताको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्से ५४. ५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१९५ अंकमा पुगेको छ । आज कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ ।

फाइनान्स उपसमूह ३२ अंक घट्यो भने अरु सबै उपसमुह बढेका छन् । बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंक बढे । त्यस्तै, कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रहेको छ । १० कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ । 

रुसी आक्रमणमा युक्रेनी धनाढ्य व्यवसायीको मृत्यु

रुसी आक्रमणमा एक जना युक्रेनी धनाढ्य व्यवसायीको मृत्यु भएको छ । आज बिहान माइकोलेभ सहरमा रुसी आक्रमणमा परी युक्रेनी धनाढ्य व्यवसायी ओलेक्सी भादातुर्स्की र उनकी पत्नी राइसाको मृत्यु भएको युक्रेनी सञ्चारमाध्यमले जनाएका छन् । ७४ वर्षीय ओलेक्सी अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिकसमेत हुन् ।

उनी ’हिरो अफ यु्क्रेन’ अवार्डबाट सम्मानित समेत भएका थिए । ’हिरो अफ युक्रेन’ युक्रेनी राष्ट्रपतिद्वारा प्रदान गरिने उच्च राष्ट्रिय उपाधि हो । माइकोलेभका मेयरका अनुसार सहरमा सबैभन्दा ठूलो बमबारी भएको हो । सहरका प्रमुख होटेल, स्पोर्ट्स कम्प्लेक्स, विद्यालय र नागरिकका घरहरू आक्रमणमा ध्वस्त भएको बीबीसीले जनाएको छ ।

सो क्षेत्रका नेता भिटाली किमका अनुसार व्यवसायी ओलेक्सीले माइकोलेभका लागि थुप्रै योगदान गरेका छन् । निबुलोनले अन्न निर्यातका लागि युक्रेनमा थुप्रै संरचना निर्माण गरेको छ । युक्रेनी मिडिया द किभ इन्डिपेन्डेन्टका अनुसार सन् २०२१ सम्मको तथ्यांकअनुसार ओलेक्सीको कुल सम्पत्ति ४ सय मिलियन डलर (करिब ५० अर्ब नेपाली रुपैयाँ) रहेको छ ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । त्यसयता १५ हजार युद्ध अपराधका घटना भएका युक्रेनी अधिकारीको दाबी छ ।

साफ यू–२० : माल्दिभ्स पनि समूह चरणबाटै बाहिरियो

साफ यू–२० च्याम्पियन्सिपमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । नेपालले भारतविरुद्धको खेलमा जित हासिल गरे फाइनलमा प्रवेश गर्नेछ । भारत पनि फाइनल पुग्ने सम्भावना बलियो पार्न जितको खोजीमा छ । भारतले २ खेल खेल्दा ३ अंक जोडेको छ । नेपाल २ खेलमा ६ अंकसाथ दोस्रो र बंगलादेश ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ । अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यसअघि आज भएको च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेलमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको हो । माल्दिभ्सले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो ।

श्रीलंका तीन हारसँगै यसअघि नै बाहिरिएको थियो । समूहका शीर्ष दुई टोली फाइनलमा पुग्ने प्रावधानअनुसार अन्तिम खेलअघि माल्दिभ्सले एक अंक मात्र जोड्न सक्यो । माल्दिभ्स ३ खेलमा १ अंक जोड्दै चौथो स्थानमा तथा श्रीलंका ४ खेलमा १ अंकसहित पुछारमा छ । माल्दिभ्सले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।