Live Streaming

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउनेदेखी दिनप्रतिदिन बढ्दै कोभिड संक्रमणसम्म

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत÷भोलिको मन्त्रीपरिषद् बैठकले निर्णय गर्न सक्ने प्रतिनिधिसभाको कार्यकालबारे पनि छलफल ।

सप्तकोशीमा पानीको बहाव उच्च÷कटान नरोकिँदा बस्तीहरु थप जोखिममा सप्तरीको दुई पालिकामासमेत हाईअलर्ट जारी÷बाढीमा फसेका दुई हजार जनाको उद्धार ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै पीसीआर परीक्षण भएकामध्ये अधिकांशको रिपोर्ट पोजेटिभ जनशक्ति अभावमा देशभरका अस्पतालमा उपचार सकस ।

भारतबाट घटेर आएपनि नेपाल आयल निगमले पेट्रालियम पदार्थको मूल्य नघटाउने आईओसीको बक्यौता २३ अर्ब रूपैयाँ बुझाउन बाँकी÷अँझै मासिक १ अर्ब २७ करोड घाटा ।

अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध ताइवानको साथ नछाड्ने सभामुख पेलोसीको प्रतिबद्धता ।। 

र, आर्थिक समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई÷आईसीसीको टी–२० वरियतामा दीपेन्द्रको सुधार ।

अन्नपूर्ण खबर 

४ मंसिरमा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । छलफलमा नेताहरु मंसीर ४ मा दुबै निर्वाचन गर्न सहमत भएका हुन् ।

अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा हुनुहुन्छ । यस्तै नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुने सम्भावना समेत रहेको बुझिएको छ ।

सप्तकोशीको उच्च बहावसँगै कटान तीव्र

अविरल वर्षासँगैको बाढीले सप्तकोशीको बहाव उच्च बनेको छ । यससँगै सप्तकोशीले कटान गर्न थालेको छ । कटान नरोकिँदा बस्तीहरु थप जोखिममा पर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । उदयपुरको बेलका नगरपालिका १ स्थित डुम्रीबोटे क्षेत्रमा निरन्तर नदीले कटान गरिरहेको छ ।

बेलका र बहारक्षेत्रमा गरी बाढीले करिब २० हजार स्थानीय जोखिममा परिसकेका छन् । सप्तकोसीको धार परिर्वतन भएर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि विस्थापित २ हजार ५ सय परिवारको उद्धार गरिँदै छ । अहिलेसम्म करिब २ हजार परिवारको उद्धार गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 

उहाँले साँझसम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिने बताउनुभएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । सप्तकोशीको पानीले चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको बताएका छन् ।

बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ श्रीलंका टापुको चारैतिरबाट सप्तकोशीको पानीले घेरिएको तर त्यहाँका सर्वसाधारणले अहिले नै उद्धार जरुरी नरहेको बताएका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । आफूहरु खतराको अवस्था बुझ्न श्रीलंका टापु जान लागेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभएको छ । 

यसैबीच उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेमा सप्तकोशी नदी कटान भएपछि सप्तरीको दुई पालिकामासमेत हाईअलर्ट जारी गरिएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको बताउनुभयो । उहाँका अनुसार सप्तकोशी नदीको छेउछाउमा रहेको बस्तीहरुतर्फ ईलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको छ । सप्तकोशी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना रहेको छ । 

यस्तै, कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको मेयर ललन गुप्ताले जानकारी दिनुभयो । उहाँले यी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको बताउनुभयो । बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोशी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह गर्नुभएको छ ।

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेकोले पूरै बस्ती जोखिममा परेपछि स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिनुुभयो । ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
  
विमानबाट समातिएका व्यक्ति चोरीको सुन किन्ने आरोपित

भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीका सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ । चोरी सुन किनेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजााच गरेको थियो । सबै यात्रु ओरालेर प्ररहीले सुरक्षा जााच गरेको थियो । सो विमानमा चढिसकेका लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० बजे मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो । प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे हृवाट्सएपमा सूचना आएको थियो । प्रहरीले लामिछानलाई नियन्त्रणमा लिएपछि उनीसाग रहेका एक आफन्तले पनि मुम्बई नजाने बताएका थिए । निर्धारितभन्दा २ घण्टा ढिला गरी विमान मुम्बइका लागि उडेको थियो ।

झापा–३ बाट चुनाव लड्ने लिङ्देनको उद्घोष 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाटै चुनाव उठ्ने बताउनुभएको छ । सरकारले आगामी मङ्सिरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन गर्ने बताइरहँदा राप्रपाका अध्यक्ष लिङ्देनले झापा ३ मा बाहेक अन्य विकल्प नरहेको प्रस्टाउनुभएको हो । 

बिर्तामोडमा आज दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यसपटक पनि गठबन्धन गरेर निर्वाचनमा जाने संकेत गर्नुभएको छ । लिङ्देनले  २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रसँग चुनावी तालमेल गरी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो ।

विचारको आधारमा गठबन्धन नबने पनि त्यसमा विचारको आवरण रहने उहाँको भनाइ छ । झापा ३ बाट नेपाली कांग्रेसका नेता सिटौला र एमालेबाट दुर्गाप्रसाद  प्रसाईँ चुनाव लड्ने तयारी गरिरहनुभएको छ । 

ताइवानलाई चीनबाट अलग बनाउने अभिव्यक्ति निन्दनीय : नेमकिपा 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ । नेपकिपाले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणा विपरीत हुने जनाएको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले आज विज्ञप्ति जारी गर्दै  अमेरिका स्वयंले विगतमा ‘एक चीन नीति’लाई स्वीकार गरे र अहिले ‘चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग’ बनाउने अभिव्यक्ति दिनु गलत भएको जनाउनुभएको हो । 

यस्तो साम्राज्यवादी आक्रामक नीतिको नेमकिपाले निन्दा गर्ने उल्लेख छ । यो कार्य विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरीत भएको पनि पार्टीले जनाएको छ । अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको छ । चीन घेर्ने नीतिअन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, काण्ड, अउकस आदि नीति र संगठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खलबल्याउने कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शीत युद्ध’ को अभ्यास गर्ने कार्य गर्दै आएको नेमकिपाको आरोप छ ।

एकैदिन थप ९१५ जनामा कोरोना संक्रमण

देशभर आज थप ९१५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा ९१५ जनामा कोरोना देखिएको हो। सो अवधिमा ३०१ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ रहेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ५५९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । आज कोराना संक्रमित मृतकको संख्या शून्य रहेको छ । 

यसैबीच पछिल्ले समय दैनिक रुपमा कोरोनाभाईस संक्रमितको संख्या बढ्दै गइरहे पनि जनशक्ति अभावमा देशभरका अस्पतालमा उपचारमा सकस भएको छ । सरकारले  कोरोनामा खटिएका करारका कर्मचारीको म्याद नथप्दा भेन्टिलेटर, आइसीयू र जनरल वार्ड संचालनमा अप्ठ्यारो भएको हो । 

कोरोना  उपचारको केन्द्र मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत करारका कर्मचारीको म्याद नथपिदा उपचारमा समस्या भएको छ ।  नेपालमा पहिलो कोरोना संक्रमितको उपचार भएको र कोरोना डेडिकेटेड टेकु अस्पतालमा कोरोना उपचारमा खटिएका करार कर्मचारीको म्याद नथपिँदा उपचारमा असहज भएको हो ।

टेकु अस्पतालमा हाल दुईजना संक्रमितको आइसीयूमा र  ४ जना जनरल वार्डमा उपचाररत छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार कोरोनाकालमा खटिएका ६८ जनाको करार नथपिँदा पूर्णकालीन भर्ना लिन सकिएको छैन । 

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो । भारतबाट भाउ घटेर आएपनि तत्काल मूल्य समायोजन नगर्ने निर्णय भएको छ,’ निगम स्रोतले रातोपाटीलाई भन्यो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।  

तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ । भारतीय आयल कर्पोरेसनबाट पछिल्लो दुई पटक मूल्यसूची घटेर आएको छ । यसमध्ये यही अगस्ट १ तारिखमा समेत पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । उक्त मितिमा पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेलमा १२.४५ रुपैयाँ घटेर आएको थियो । 

अघिल्लो पटक १५ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर मूल्य घट्न थालेसँगै पेट्रोलियम पदार्थको मूल्य समेत घट्न थालेको हो । तर, निगमले मूल्य समायोजन गरेको छैन । निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गरेको छ ।भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने स्वचालित प्रणाली लागू हुँदै आएको छ ।

राष्ट्रपतिले गरिन् मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणीकरण गर्नुभएको हो । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ । विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

एमालेसँग तत्काल एकता भइहाल्ने स्थिति छैन :  बामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेसँग तत्काल एकता भइहाल्ने स्थिति नरहे पनि निर्वाचनपछि कम्युनिष्ट पार्टीहरूसँग एकता हुने बताउनुभएको छ । संघ र प्रदेशको निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँतिने गौतमले दाबी गर्नुभएको हो । आज रुपन्देहीमा पत्रकारसँग कुराकानी गर्दै नेकपा विभाजन नहुँदै र विभाजनपछि आफू कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको उहानको दाबी छ । नेता गौतमले यसकै लागि एकता राष्ट्रिय अभियान गठन गरेर अगाडि बढिरहेको पनि बताउनुभयो । 

वाम एकताका लागि नेकपा एस र माओवादीसँग वार्ता भइरहेको बताउँदै उहाँले एमाले अध्यक्ष ओलीले पनि नेकपा एससँग पार्टी एकता हुनसक्ने र माओवादीसँग कार्यगत एकता हुनसक्ने गरी छलफल भएको बताएको बताउनुभयो । नेता गौतमले कम्युनिष्ट पार्टी भन्ने तर सधैँभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने हुनाले बाम एकताको आवश्यकता बढेको तर्क गर्नुभएको छ ।

प्रहरी समायोजनमा मधेश प्रदेशले संघीय सरकारविरुद्व आन्दोलन गर्ने

प्रहरी समायोजनमा संघीय सरकारले सहयोग नगरेको भन्दै मधेश सरकारलेसंघीय सरकारविरुद्व आन्दोलन गर्ने भएको छ।मधेश प्रदेश  सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी  साउन २२ गते नेपाल सरकारका प्रनितिधि प्रदेश प्रमुख मार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र मांग सम्बोधन नभए आठौं दिन अर्थात श्रावणको २९ गतेदेखि सडक आन्दोलन थाल्ने बताउनुुभयो । 

२२ गते मधेश प्रदेश मन्त्रिपरिषदका सम्पूर्ण सदस्य र सांसदसहित सामूहिक रुपमा प्रदेश प्रहरी समायोजनका लागि ज्ञापनपत्र दिएर नेपाल सरकारलाई सात दिनको समयसीमा दिने मन्त्री साहले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुुभएको हो । मन्त्री साहले आफूहरुको आन्दोलनमा अन्य छ प्रदेशको समेत साथ रहेको कुरा जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दाबी गर्नुुभयो ।  मन्त्री साह प्रदेश प्रहरी समायोजन र सिडिओ प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरूको आन्दोलन प्रदेश र संघीय क्षेत्रसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने चेतावनी दिनुुभयो । 

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन

संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । आज दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् ।राप्रपाले यी माग राख्दै गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन गरेको हो ।

प्रतिबन्धित लागुऔषधसहित २२ जना पक्राउ

प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले २०७९ असार ३२ देखि साउन १८ गते आजसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौँका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४ सय ५९ ग्राम हेरोइन, ‘डायलेक्स डिसी’ एक हजार १ सय ८० बोतल, नाइट्राभेट ट्याब्लेट एक हजार २ सय ६० थान र प्रोक्सिभन क्याप्सुल १ सय ५० थान बरामद गरिएको छ । बरामद गरिएको लागुऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको जानकारी प्रहरीले दिएको छ ।  सो लागु औषध तरकारीको बोरामा लुकाएर सर्लाहीबाट ल्याएको अनुसन्धानबाट खुलेको छ ।

थप ९ नाकामा आयातित फलफूल र तरकारीको विषादी परीक्षण सुरु 

नेपालका सबै भन्सार नाकाबाट आयातित फलफूल र तरकारीमा विषादी परीक्षण सुरु भएको छ । आर्थिक वर्षको पहिलो महिनादेखि थप ९ वटा कार्यालयमार्फत विषादी परीक्षण थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । यसअघि ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ९ ठाउँमा थपिएको विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुख्खा बन्दरगाह, सुख्खा बन्दरगाह सिर्सियमा यस्तो सुविधा थपिएको उहाँले बताउनुभयो । विषादी परिक्षण थप भएका नाकाका लागि आवश्यक पर्ने मेसिन र किट गत आर्थिक वर्षमै खरिद गरिएको र यसवर्षबाट कार्यान्वयन सुरु भएको विभागले जनाएको छ । ती नाकामा आरबीपीआर विधिमार्फत अर्गानो फोस्फेट र कार्बामेट समूहको विषादीको परीक्षण हुनेछ । सो विधिबाट तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्ने विभागले जनाएको छ । 

आर्थिक खबर

शेयर बजार आज ६ अङ्कभन्दा धेरैले घट्यो

हिजो सामान्य घटेको शेयर बजार आज ६ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.७१ अङ्कले घटेर २ हजार १ सय ८६.७७ विन्दुमा झरेको छ । आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता शेयर चार अर्ब दुई करोड रुपैयाँमा कारोबार भएको छ । 

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज स्ट्यान्डर्ड चार्टेड बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

विदेशका खबर

अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध

चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेका चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति विरोध व्यक्त गरेको छ । चीनले राजदूतमार्फत आधिकारिक रूपमा विरोध व्यक्त गरेको हो । चिनियाँ उपविदेशमन्त्री से फेङले पेलोसी भ्रमणको प्रकृति खराब भएको र चीन मौन नबस्ने भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । चीनले पलोसीको भ्रमणविरुद्ध यसअघि पनि बारम्बार चेतावनी दिँदै आएको छ । 

यसैबिच, अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति ताइवान पुग्नुभएकी उहाँले ताइवानी नेताहरूसँग आज भएको भेटमा उहाँले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताउनुभयो । 

राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गर्नुभयो । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उहाँ उच्च अमेरिकी अधिकारी हुनुहुन्छ । स्वशासित टापु ताइवानमाथि चीनले दाबी गर्दै आएको छ । 

हिजो चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको थियो । अमेरिकाले पनि ताइवानको सीमा क्षेत्रमा युद्धपोत परिचालन गरेको थियो ।

खेल खबर

आईसीसी वरीयता स् टी–२० मा दीपेन्द्रको सुधार, आसिफ खस्किए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० आईको ब्याटिङ वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रले १ स्थान सुधार गरेका हुन् । दीपेन्द्र नयाँ वरीयताको ४३औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ४४औं स्थानमा रहेका थिए । यता, ब्याटिङतर्फ नै नेपालका कुशल भुर्तेल ४०औं स्थानमा यथावत् रहेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ९७औं स्थानमा पुगेका छन् । 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१औं र अभिनाश बोहरा ९२औं स्थानमा यथावत् रहेका छन् । ओडीआईको अलराउन्डरतर्फ दीपेन्द्र नवौं स्थानमा यथावत् रहेका छन् । बलिङतर्फ सन्दीप ३४औं स्थानमा यथावत् रहँदा तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको वरीयता १–१ स्थान खस्किएको छ । सोमपाल यसअघि ९१औं स्थानमा भने करण ९३औं स्थानमा रहेका थिए । ब्याटिङतर्फ् रोहितकुमार पौडेल ८०औं स्थानमा यथावत् रहँदा आसिफ शेख एक स्थान तल झर्दै ९७औं स्थानमा पुगेका छन् । 

नेपाली यू–२० फुटबल टोली भोलि स्वदेश फर्कने

यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोली भोलि अपरान्ह ४ बजे नेपाल आईपुग्ने जनाएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । 

आर्थिक समस्याको कारण प्रशिक्षक नियुक्तिमा ढिलाई

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई हुने भएको छ ।नेपाल क्रिकेट संघ(क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएपनि आर्थिक समस्याको कारण ढिलाई हुने भएको हो ।नेपालको सम्भावित केन्या भ्रमण अघि नै नयाँ प्रशिक्षक नियुक्ति गर्ने तयारीमा क्यान लागेपनि आर्थिक र प्रशिक्षकको उपलब्धतामा छलफल भईरहेकाले समय पनि लाग्न सक्ने क्यानले बताएको छ  ।

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले गत साता राजीनामा दिएपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको थियो ।तर, अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) सँगको परामर्शमा यस अघि वैकल्पिकमा रहेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न सुझाव दिएपछि क्यानले त्यहिँ अनुसार प्रक्रिया अगाडी बढाएको छ ।