Live Streaming

अन्नपुर्ण दिनभर : 'महाअभियोगको प्रस्ताव बहुमतले स्वीकृत, आजदेखि दल दर्ता सुरु'

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो / दलीय भागबण्डा रहेसम्म महाअभियोग चलिरहने सत्तारुढ दल कांग्रेस सांसद सिंहको भनाइ ।

निर्वाचन प्रयोजनका लागि आजबाट राजनितिक दल दर्ता सुरु / संघ र प्रदेशसभा निर्वाचनमा भाग लिन छुट्टा छुट्टै निवेदन पेश गर्नुपर्ने । 

केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने मधेस सरकारको चेतावनी / प्रहरी हस्तान्तरण गर्न एक साताको अल्टिमेटम ।

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रर्दशन हिंसात्मक बन्दै / मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीहरुको अडान

र, इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुने साविक विजेता म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडसँग प्रतिस्पर्धा गर्दै । 

अन्नपुर्ण खबर 

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित समितिमा सो प्रस्ताव पठाएको हो ।

आजको बैठकको छलफलमा सहभागी हुँदै सांसद अमरेशकुमार सिंहले नेपालमा मात्रै नभएर विश्वका अरु विभिन्न देशमा पनि महाअभियोगको प्रयोग भइरहेको भन्दै न्यायपालिकासँगै कार्यपालिका र समग्र क्षेत्रमा रहेका विकृति हटाउन आवश्यक रहेको बताउनुभयो ।  

सांसद प्रमिला राईले न्यायपालिकामा ढिलासुस्ती र पहुँचका आधारमा न्याय भएकाले अनियमितता हटाउन र सबैको पहुँच स्थापित गराउन संविधानको भावनाअनुरूप स्वतन्त्र र समावेशी न्यायालय आवश्यक रहेको औँल्याउनुभयो ।

सांसद छक्कबहादुर लामाले सत्तापक्ष र विपक्षका लागि सत्य फरक–फरक हुँदा बिचौलिया र चलखेल गर्नेहरू जन्मेर जनताले दुःख पाउने हुँदा व्यवस्थापिकाको सुशासन कायम गराउन लाग्नुपर्ने बताउनुभयो ।

सांसद मीना सुब्बाले न्यायको तराजु बोक्ने व्यक्तिले श्रीमती टुक्रा–टुक्रा काट्नेलाई उन्मुक्ति दिने, भवनमा भ्रष्टाचार गर्ने र बिचौलिया राखेकाले प्रस्ताव सबै मिलेर पास गर्न अनुरोध गर्नुभयो । 

सांसद सरलाकुमारी यादवले पदीय मर्यादाविपरीत काम गरेकाले कार्यक्षमता कमी भएको र इमान्दारीपूर्वक काम नगरेकाले महाअभियोग प्रस्ताव दर्ता भएको उल्लेख गर्नुभयो ।

सांसद मीनेन्द्रप्रसाद रिजालले महाअभियोगको विषयले संसद्माथि पनि प्रश्न उठेको र जनतालाई उत्तर दिनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्नेछ । 

यसैबीच, नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले दलीय भागबण्डामा संवैधानिक निकायमा नियुक्ति चलिरहे महाभियोगको आवश्यकता बढीरहने बताउनु भएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै उहाँले दलीय भागबण्डा चलिरहेसम्म महाभियोगको आवश्यकता परिरहने र औचित्य समाप्त हुने बताउनुभयो । उहाँले यसै कारण सबै निकायमा भ्रष्टाचार बढेको पनि बताउनुभयो । संवैधानिक निकायमा दलीय भागबण्डाअनुसार हुने नियुक्तिको प्रक्रिया नै गलत रहेको उहाँले बताउनुभयो । 

नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले लामो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग अगाडि नबढाएकोमा आपत्ति जनाउनुभएको छ । त्यस्तो अभ्यासले नकरात्मक सन्देश जाने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने पनि बताउनुुभएको छ । नियमित सरकारले जस्तो संसदलाई बिजनेस दिने विषय अनुचित भएको उहाँको भनाई छ ।

त्यस्तै, ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मामाथि बनाइएको संसदीय छानबिन समितिको प्रतिवेदन अपुरो भएको दाबी गर्नुभएको छ । समितिका सदस्यसमेत रहेका ज्ञवालीले अनुसन्धानको अंग पूरा नभई बहुमतको आधारमा प्रतिवेदन बनाएको आरोप लगाउनुुभएको छ । सांसद घनश्याम खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्र जबरासँग मतियार भएकाहरुलाई पनि छलफलमा ल्याउनुपर्ने माग गर्नुभएको छ ।

आजदेखि दल दर्ता सुरु

आगामी मंसिर ४ का लागि तय संघ र प्रदेश सभा निर्वाचनका लागि आजबाट राजनितिक दल दर्ता सुरु भएको छ । सरकारले निर्वाचनको मिति घोषणा  गरेपछि  आयोगले निर्वाचन तयारी तथा व्यवस्थापन अन्तर्गत दलका लागि दर्ता आह्वान गरेको हो । आगामी साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक  लेखा परीक्षण प्रतिवेदनपेस गरेको मिति र दलको केन्द्रीय स्तरर प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ। राजनितिक दलले निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ । 

केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने मधेस सरकारको चेतावनी

मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीसँग माग गर्नुुभएको छ । मन्त्री साहले प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै निर्वाचनअगावै अर्थात् एक हप्ताभित्र प्रहरी हस्तान्तरण गर्न माग गर्नुुभएको हो । 

तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।केहि दिनअगाडि मन्त्री साहले मधेस भवनमा पत्रकार सम्मेलन गरी संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनु भएको थियो । आन्दोलन गर्नुअघि उहाँले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएर चेतावनी दिनुुभएको छ । यसअघि साउन ६ मा पनि मधेस सरकारले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रहरी समायोजन गर्न माग गरेको थियो ।

सिके राउतले राखे उपेन्द्र र महन्थसँग सहकार्यको प्रस्ताव

जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सहकार्यको प्रस्ताव गर्नुभएको छ ।  मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि सहकार्यको प्रस्ताव गर्नुभएको हो ।

अध्यक्ष राउतले उपेन्द्र यादवको क्षेत्रबाट सप्तरी २ बाट लड्ने तयारी गर्नुभएको छ । साउन १९ गते बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पनि अधिकांश सहभागीले अन्य दलसँग गठबन्धन, सहकार्य र समझदारीको लागि पहल गर्नुपर्ने धारणा राखेको राउतको सचिवालयले जनाएको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १४ दशमलव ५९ प्रतिशत रहेको छ । सोही अवधिमा चार सय ३३ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । 

अहिले नेपालमा पाँच हजार ६ सय ५९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 
यसैबीच, पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै भोलिदेखि बिहीबारसम्म गाउँपालिकाका सबै विद्यालयमा विदा दिएको जनाएको छ । 

नेवि संघको प्रदर्शन 

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए ।नेविसंघ नेताहरु विकल राई, श्यामराज ओझा, बिनोद राज जोशी, सेरेन जोशी, दिनेश भट्ट, उपासना अधिकारी, सिर्जना स्नेही लगायत पक्राउ परेका हुन् ।
 
त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्यो नेविसंघले

त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ । नेविसंघले ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्रध्यापकको अन्तर्वार्ता रोकिएको थियो । नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिनुभयो । 

सेवा आयोगले २०७७÷०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेदेखि सुरू गर्ने तालिका थियो । तर तालाबन्दीले अन्तर्वार्ता रोकिएको छ । नेविसंघले गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकहरूको अन्तर्वार्ता रोक्न माग गर्दै तालाबन्दी गरेको थियो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।लोकमार्गको निसीखोला गाउँपालिका वडा नम्बर ४ स्थित कालाखेतमा भीषण पहिरो खस्दा यातायातका साधानहरु ठप्प भएका छन् । पहिरोका कारण गएरातिदेखि सडक अवरुद्ध भएको निसीखोला गाउँपालिका ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनु भयो । 

अहिले पहिरो पन्छाएर सडक सुचारु गर्ने पहल भएपनि पहिरो ठूलो भएकाले केही समय लाग्ने अध्यक्ष पौडेलको भनाई छ।सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौैका लागि छुटेको सवारी साधनहरु अलपत्र परेका छन् भने निसीखोलादेखि पोखरा, काठमाडौँ, बागलुङ लगायतका स्थानमा पुग्ने गाडीहरु झिवाखोलामा रोकिएका छन् ।

नेप्से परिसूचकको उकालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक १० दशमलव २७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १० अङ्कले उकालो लागेर चार सय ९ दशमलव ५५ मा पुगेको छ । कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच सय २१ कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । कारोबारपछि बजार पूँजीकरण ३० खर्ब ३० अर्ब ५५ करोड ४६ लाख छ हजार छ सय ७५ बराबर रहेको छ । 

विदेशका खबर

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रर्दशन हिंसात्मक बन्दै गएको छ । पेट्रोल र डिजेलमा भारी मात्रामा मूल्यवृद्धि गरिएको भन्दै राजधानी ढाका लगायत अन्य शहरहरूमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । हजारौंको संख्यामा सडकमा उत्रेका प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा टायर बाल्नुका साथै सार्वजनिक सम्पत्तीमा समेत आगजनी गरेपछि प्रहरीले धरपकड गरेको हो । प्रदर्शनकारीहरूले मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । बंगलादेश सरकारले गत शुक्रबार पेट्रोलमा ५१ प्रतिशत र डिजलको मूल्य ४२ प्रतिशतले वृद्धि गरेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पाकिस्तानमा आसन्न उपनिर्वाचनमा सबै क्षेत्रमा एक्लै उम्मेद्वारी दिने इमरान खानको घोषणा

पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा सबै नौ वटा क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सो पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि पाकिस्तानमा रिक्त नौ वटा स्थानमा उपनिर्वाचन हुँदैछ । 

आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको जनाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।

खेल खबर

आज तीन खेल हुदै 

इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुँदैछन् । साविक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आज हुनेछ । सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ । नेपाली समय अनुसार आज राति सवा नौ बजे सुरु हुने खेलमा सिटीले घरेलु मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ ।

आज दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । यस्तै, म्यानचेस्टर युनाईटेडले ब्राइटनसँग खेल्नेछ । ओल्ड ट्राफोर्डममा हुने खेल साँझ पौन सात बजे सुरु हुनेछ ।त्यस्तै अर्को खेलमा लेस्टरले ब्रेन्टफोर्डको सामना गर्नेछ । दुई टोलीबीचको खेल साँझ पौने सात बजे सुरु हुनेछ ।