Live Streaming

अन्नपूर्ण दिनभर : 'नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, देशभर थप ९३४ जनामा कोरोना संक्रमण'


सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला चयन चुनावी तालमेलका लागि गठबन्धनमा बलियो उपस्थिति खोज्दै कांग्रेस लोसपा पनि ५ दलीय गठबन्धनमा सामेल हुने तयारीमा । 

नागरिकतामा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्न गृह मन्त्रालयको निर्देशन यसअघि नै जारी भएकालाई सच्याउन दिइने ।

मलेसियाले दुई सातासम्म नयाँ कामदारको आवेदन नलिने मागपत्र प्रमाणीकरण भइसकेका कामदार भने सहज रूपमा जान पाउने ।

नेपालमा कोरोना संक्रमण निरन्तर उकालो लाग्दै आज एकैदिन ९३४ जनामासंक्रमण पुष्टी थप १ जनाको मृत्यु ।

ताइवान नजिकैका क्षेत्रहरुमा चिनियाँ सेनाको सैन्य अभ्यास जारीलाइभ फायर सैन्य अभ्यास समाप्त भएको घोषणालगत्तै ठूला हतियारसहितको नयाँ अभ्यास शुरु ।

र, नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय मनोज प्रभाकर नियुक्त सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडीको सूचीमा ।

सिटौलालाई सिट बाँडफाँड कार्यदलको संयोजकको जिम्मा

सत्तारुढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मा दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेस पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।  

कार्कीका अनुसार कार्यदलको अर्को बैठक यही साउन २६ गते अपरान्ह ४ बजे बोलाइएको छ । आजको बैठकमा सबै दलका नेताहरुले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणाहरु प्रस्तुत गरेका थिए । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढने विषयमा छलफल भइरहेको बताइएको छ । 

यबसैबीच आजको गठबन्धन कार्यदलको बैठक बस्नुअघि नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक बसेको थियो । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँटको विषयमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोेलाउनुभएको थियो । बैठकमा सहभागी नेतहरुले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वभाविक चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा सहभागी नेताहरूले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक, वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने बताएका हुन् । 

आगामी चुनावमा मधेसमा पनि सत्तारुढ गठबन्धन नै बलियो देखिने भएको छ । जनता समाजवादी पार्टी सत्तारुढ गठबन्धनमै आवद्ध भएका बेला लोकतान्त्रिक समाजवादी पार्टीले पनि गठबन्धनतर्फ नै जाने संकेत गरेको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै लोसपा नेता केशव झाले अहिलेको सरकारले आफूहरुका मागलाई सम्बोधन गरिरहेकाले सहकार्य हुनसक्ने बताउनुभयो । नागरिकता विधेयक पारित भइसकेको र कार्यकर्ताहरुमाथि लागेका केही मुद्दा पनि फिर्ता लिने तयारी भएको बताउँदै नेता झाले सम्मानजनक सिट बाँडफाँड भए पाँच दलीय गठबन्धनमै सामेल हुने बताउनुभयो । 

नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, भएकालाई सच्याउन दिइने

सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पु¥याएर सच्याउन दिन पनि भनेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो निर्देशन दिनुभएको हो । 

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि त्यसको विरोध हुँदै आएको थियो । त्यसपछि गृहले अबदेखि त्यस्तो हुन नदिने बताएको हो । 

मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । आज प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो । समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउनुभयो । 

सडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई समितिले निर्देशन दिएको छ । देशका मुख्य सडकहरुमा बाढी पहिरोका कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि समितिले निर्देशन दिएको छ । यसैबीच समिति बैठकमा उठेको प्रश्नको जवाफमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको दाबी गर्नुभयो । उहाँले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको स्पष्ट पार्नुभयो ।

यस्तै, मन्त्री राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभयो । उहाँले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिनु भएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताउनुभयो । 

त्यस्तै बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताउनुभयो । उहाँले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको उल्लेख गर्नुभयो । त्यस्तै नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरुले डोजर आतंक मच्चाएको कारण सडकमा ठूलो समस्या भोगेको बताउनुभयो । बैठकमा अधिकांश सांसदहरुले विकास निर्माणको काममा तीनै तहले समन्वय गरेर काम नभएको बताएका छन् ।

थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ६२ पीसीआर परीक्षणमा ४९८ र २ हजार ४ सय ८९ एन्टिजेन परिक्षणमा ४३६ जनामा संक्रमण पुष्टि भएको हो । 

आज घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । 

कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द

यसैबीच समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएका छन् । समुदायस्तरमै व्यापक रूपमा कोरोनाको संक्रमण फैलिएपछि एक साताका लागि २ निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताउनुभयो । 

गाउँपालिका क्षेत्रभित्रका अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षा शाखाको सिफारिसमा गाउँपालिकाले विद्यालय बन्द गराएको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमले बताउनुभयो । विद्यालय बन्द भएपछि २३ विद्यालयका करिब २ हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् ।

रामकुमारी झाँक्रीका कुरा

निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले बनाएको योजनाअनुसार काम गर्न नपाएको बताउनु भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै झाँक्रीले गत आर्थिक वर्ष २०७८÷७९ को अन्तिमसम्म काम गर्न पाएको भए मन्त्रालयको ८० प्रतिशतसम्म काम सक्ने दाबी गर्नुभयो । 

८ महिना २० दिन मन्त्रालय बस्नु भएकीझाँक्रीले सम्हालेको मन्त्रालयको कार्यप्रगति गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा धेरै देखिएको छ । तर, यो कार्य प्रगतिलाई आर्थिक वर्षको अन्तिमसम्म राम्रोसँग काम गर्न पाएको भए ८० प्रतिशतभन्दा माथि पुर्याउने गरी काम गर्ने योजना बनाएको उहाँले दाबी गर्नुभयो ।

मलेसियाद्वारा दुई हप्ताका लागि कामदारको आवेदन लिन बन्द

नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियाले दुई साताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न रोकेको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो । मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन–१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकाले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको समाचारमा जनाइएको छ । 

यो अवधीमा मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् । शुन्य लागत र कोरोना महामारीका कारण दुई वर्ष लामो समयसम्म रोकिएको मलेसियाको रोजगारी केही समय अघि मात्रै खुलेको हो । मलेसियाले नेपालबाट ठूलो संख्यामा नेपाली कामदार लैजाने गरेको छ ।  

अर्थले असमान रूपमा बढाएको तलबमान लागू नहुने

अर्थमन्त्रालयले असमानरूपमा बढाएको तलबमान लागू नहुने भएको छ । मन्त्रिपरिषद्मा निर्णयका लागि पठाउने तयारी भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले अहिले त्यसको कार्यान्वयनलाई थाती राख्ने बताउनुभएको हो । मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा तलब ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेको थियो । 

चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ।अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउने तयारी भएको थियो ।

बढाइएको तलबमानअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् । तर सरकारबाटै यसरी कर्मचारीभित्रै विभेदपूर्ण तरिकाले तलबमान गरिएपनि असन्तुष्टि सुरु भएको छ ।

यसअघि असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । आज अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । 
 
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको छ 

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको बताउनुभएको छ । आज राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरूको कार्यकाल समाप्त भएको बताउनुभएको हो । उहाँले कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रहसमेत गर्नुभयो । 

यस्तैनेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापा ’पार्वती’ले निर्वाचनसम्बन्धी कानून संशोधन गर्न माग गर्नुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रावलले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो ।

तीन सय वटा अक्सिजेनेटर मेसिन आइपुग्यो

नेपालमा अभाव भइरहेको मुटुको शल्यक्रियाका समयमा अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन आइपुगेको छ।नेपालमा मुटु रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरू ल्याउँदै आएको म्याक्स मेडिटेक सिस्टमले तीन सय वटा मेसिन ल्याएको हो। सो मेसिनहरु मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका लागि आएको बताइएको छ ।  

आर्थिक खबर

१७ अंक ओर्लियो सेयर बजार

कारोबाराको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से १७.६७ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २१०६ अंकमा झरेको छ । दिनभर कुल २ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो । 

बैंकिङ ६, विकास बैंक ५३, फाइनान्स २४, होटल तथा पर्यटन ४६, जलविद्युत् २६, जीवन बीमा १०१, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ३६, अन्य ३८ र ब्यापार उपसमूह ११ अंक घटेका छन्। उत्पादन उपसमूह भने ५ अंक बढेको छ । कुल ५० कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रह्यो ।

दुई कम्पनीहरु गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बड्दा युनिलिभरको मूल्य ५.५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।

एक सातामा बैंकहरूबाट बाहिरियो ४ अर्ब निक्षेप 

एक सातामा वाणिज्य बैंकहरूबाट ४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन १३ देखि २० गतेसम्मको अवधिमा ४ अर्ब निक्षेप घटेको हो । साउन १३ गते कुल ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २० गते ४४ खर्ब ४६ अर्बमा झरेको छ ।

साउनको २० दिनमा भने बैंकहरुको निक्षेप झण्डै १ खर्ब घटेको छ । असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । 

पछिल्लो एक सातामा कर्जा प्रवाह २ अर्ब बढेको छ । साउन १३ गतेसम्म कुल ४१ खर्ब ६४ अर्ब कर्जा प्रवाह भएकोमा २० गतेसम्म ४१ खर्ब ६६ अर्ब पुगेको छ । यद्यपि साउनको २० दिनमा भने कर्जा प्रवाह ९ अर्ब घटेको छ । असार मसान्तसम्म कुल कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब थियो ।

विदेशका खबर

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

चिनियाँ सेनाले ताइवान नजिकै ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी रहेको चिनियाँ सेनाले जनाएको हो । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका  करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले  यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ ।

यसअघि आइतबार १ सय भन्दा बढी लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास समाप्त भएको घोषणा गरेको थियो । लाइभ फायर सैन्य अभ्यास समाप्त भएको घोषणालगत्तै चिनियाँ सेनाले ठूलो मात्रामा नयाँ सैन्य अभ्यास शुरु गरेको हो । यो सँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरूले विभिन्न किसिमका युद्धकलाको अभ्यास गरिरहेका छन् । 

केही विमानहरूले चीन र ताइवान बीचको सीमा रेखा जस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन् । चीनले ताइवानलाई  विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने कुराको विरोध गरिरहेको छ । तर सभामुख  पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ । 

यसै बीच संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जापानलगायत धेरै देशले चीनले गरेको ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन्। उनीहरूले ताइवानमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धता समेत दोहो¥याएका छन ्।

भिडन्तका क्रममा इजरायलमा ५१ को मृत्यु भएको दाबी

इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको दाबी गरिएको छ । पछिल्लो तीन दिनमा भएको भिडन्तमा परी ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले नै ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो । 

कुल मृतक मध्ये २४ जना विद्रोही पक्षका लडाकू रहेका छन भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन् ।सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ । घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ ।

गाजा क्षेत्रमा इस्लामिक जिहाद समूहले लामो समयदेखि विद्रोह गर्दै आएको छ । उनीहरुको विद्रोहका कारण बेला बेलामा दुई पक्षका बीचमा भिडन्त हुने गरेको छ । पछिल्लो तिन दिनमा भएको भिडन्तलाई अति क्षतिपूर्ण घटनाको रुपमा लिइएको छ । 

दुवै पक्षले यसलाई नराम्रो घटनाका रुपमा महसुस गरेकाले अहिले दुवै पक्षले युद्ध विराम घोषणा गरेका छन् । आज मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् ।

खेल खबर

सन्दीप इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडीको सूचीमा परेका छन् ।ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो ।ईमिरेट्स क्रिकेट बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको छ ।प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ । 

६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ भने, हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडी अनिवार्य राख्नुपर्ने छ । प्लेईङ–११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ(क्यान) ले आज मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए ।यसअघि नेपालका पुबुदु दासानायकले बीचमै छोडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो ।