Live Streaming

अन्नपूर्ण दिनभर  : 'आमनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाइने, चुनौतीपूर्ण बन्दै फोहोर व्यवस्थापन'

आगामी निर्वाचनलाई निष्पक्ष र विश्वसनिय रुपमा सम्पन्न गर्ने निर्वाचन आयोगको प्रतिवद्धता \ गत स्थानीय निर्वाचनमा अशिक्षित जनताको तुलनामा शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त ।

प्रत्यक्ष निर्वाचनमा महिलालाई निर्वाचन क्षेत्र छुट्याउन महिला सांसदहरुको माग \ २०३० भित्र संघीय संसदमा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने सरकारको लक्ष्य ।

गठबन्धनमा सामेल हुने विषयमा नेसपाका अध्यक्षद्वय भट्टराई र यादवद्धारा  प्रधानमन्त्री देउवासँग छलफल अरूसँग सल्लाह गरेर खबर गर्ने देउवाको आश्वासन ।

दुई महिनादेखि काठमाडौंका सडकमा फोहोर थुप्रिएपनि अझै सहज व्यवस्थापन हुन सकेन \ समस्या समाधान गर्न नदिन स्वार्थ समूहकौ चलखेल भएको मेयर शाहको आरोप \ सांसद रामवीर मानन्धर भन्नुहुन्छः काठमाडौँको फोहोर काठमाडौंमै व्यवस्थापन गर्न सकिन्छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टी \ थप २ जनाको मृत्यु \ सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुग्यो ।

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा \ पुन उनकै नेतृत्वमा सरकार बन्ने सम्भावना \ कांग्रेस र अन्य विपक्षी दलहरुले समर्थन गर्ने संकेत ।

र, केन्यासँग हुने टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा \ पूर्वकप्तान ज्ञानेन्द्र मल्लको पुनरागमन । 

अन्नपूर्ण खबर 

    आमनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाइनेछ 

निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढंगबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगद्वारा आज आयोजित स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा आयोगले निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरूपमा निर्वाचन सफल बनाउने दृढता व्यक्त गरेको हो । 

आयोगले गत स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त गर्दै त्यसतर्फ जिम्मेवार आमसञ्चार माध्यमको ध्यान जानुपर्नेमा जोड दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयावधि कम भएकाले गत स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको स्पष्ट गर्दै यसअघिका राम्रा पक्षलाई समेत समेटेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरल, सहज र मितव्ययी ढंगबाट सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाद्वारा संसदीय समितिमा हेरफेर

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरूको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुभएको हो । सो प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो । हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बूढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन् ।

आगामी चुनावमा जनसंख्याको आधारमा उम्मेदवार उठाउन माग

आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको समावेशी प्रतिनिधित्वको व्यवस्था गर्न सांसदहरुले माग उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांस महिला सांसदले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने आवाज उठाएका हुन् । 

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकका मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्नपनि तयार र सक्षम रहेको भन्दै प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिलाले उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानूनमा नै बाध्यकारी बनाउनुपर्ने माग गर्नुभयो । सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको बताउनुभयो । त्यस्तै उहाँले आगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचनमा उठाएर विजयी सुनिश्चित गर्नुपर्ने पनि माग गर्नुभयो । 

त्यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको गुनासो गर्नुभयो । उहाँले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाउनुभयो । उनले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्रत्यक्ष निर्वाचनतर्फ संघ र प्रदेशमा ५०÷५० प्रतिशत महिला उम्मेदवारी दिन जरुरी रहेको बताउनुभयो । 

त्यस्तै एमालेकै सांसद बिन्दा पाण्डेले महिलाको प्रतिनिधित्वबारे जरुरी सार्वजनिक महत्वको विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद पाण्डेले संविधानमा व्यवस्था भएको महिला सहभागिता बारेको व्यवस्था कार्यान्वयनको क्रममा रहेपनि स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा महिला नै उठाउनुपर्ने भन्ने गलत सन्देश गएको बताउनुभयो । उहाँले संसदीय निर्वाचनमा समानुपातिक निर्वाचनको बन्द सूची महिलाका लागि भन्ने धारणा विकास भएको बताउँदै प्रत्यक्ष सिटमा महिला उम्मेदवारी दिन दलहरुले कञ्जुस्याई गरेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन माग गर्नुभएको छ । उहाँले महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा छुट्याएर जानुपर्ने र त्यसको कति संख्या छुट्याउने भन्ने कुरामा छलफल हुन आवश्यक रहेको बताउनुभयो । 

त्यस्तै काँग्रेस सांसद डिला पन्त संग्रौलाले अगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट उठाउनुपर्नेमा जोड दिँदै समानुपातिक प्रणालीमा बसेर महिला कमजोर हुनु परेको उल्लेख गर्नुभयो । 

त्यस्तै, सांसद अमृता थापाले पनि प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ । यी दुवै माग सम्बोधन गर्न प्रचलित निर्वाचन सम्बन्धी कानुनहरु संशोधन गर्नुपर्ने उहाँको माग छ ।

प्रत्यक्षमा पुरुष मात्रै र समानुपातिकमा महिला मात्रै जस्तो हुन गएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु परेको उहाँको भनाई रहेको छ । अन्यथा निर्वाचन प्रणालीबारे गलत मानसिकता बस्न जान सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले सो योजना अनुसार सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो । आज प्रतिनिधि सभामा बोल्दै मन्त्री शर्माले प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले यस्तो बताउनुभएको हो । 

नेपालको संविधानले एकात्मक संरचनामा रहेको राज्य प्रणालीलाई संघीय लोकतान्त्रिक संरचनामा बदल्दै जाँदा समावेशी र समानुपातिक सहभागिता गराउने बाचा गरेको उल्लेख गर्दै मन्त्री बन्दीले यसका लागि राजनीतिक इच्छा शक्तिको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । सरकारले सबैलाई समावेशी सहभागिताको विषयमा सचेत गराउने कार्य गरिरहेको उहाँको भनाइ छ । यस्तै मन्त्री शर्माले कानूनमा निर्वाचन सँग सम्बन्धि देखिएका वाधाहरु पुनरावलोक गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । 

गठबन्धनमा हाम्रो पनि हक लाग्छ  : बाबुराम

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईबीच गठबन्धनमा सामेल हुनेबारे छलफल भएको छ । आज अपरान्ह भएको भेटवार्तामा भट्टराईको नयाँ पार्टीलाई गठबन्धनमा सहभागी गराउन आफू पनि सकारात्मक भएको देउवाले बताउनुभएको छ । आफैंले बनाएको गठबन्धन छाड्ने चाहना बाबुराम भने हुनुुहुन्न । अर्का अध्यक्ष महिन्द्र राय यादवसहित बालुवाटार पुगेका भट्टराईले चुनावी गठबन्धनकै बारेमा छलफल गरेको नेसपाका नेता विश्वदीप पाण्डेले बताउनुभएको छ । उहाँहरुबीचको कुराकानी सकारात्मक भएको र केही दिनपछि फेरि छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको हो । 

आर्थिक वर्ष २०७९ \ ८० को बजेटमा ‘संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिने र निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप नगरिने भनिएको थियो ।मन्त्रालयका संगठन विकास महाशाखाका संगठन विकास महाशाखा प्रमुख अधिकारीका अनुसार दरबन्दी कटौतीको कार्य सम्पादनका लागि ‘प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग’ गठन हुनेछ । मन्त्रीपरिषद्को निर्णयले उक्त आयोग गठन गर्नेछ । 
फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै 

फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै 

दुई महिनादेखि काठमाडौँको सडकमा फोहोर थुप्रिए पनि अझै सहज व्यवस्थापन हुन सकेको छैन । लामो समयदेखि सडकमा फोहोरको डंगुर थुप्रिदा चुनौतीपूर्ण बन्दै गएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहोर देखिन थालेको हो। जसका कारण नागरिकलाई आवतजावत गर्न समेत समस्या भएको छ ।  

विशेष गरी काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहोरको डंगुर थुप्रिदा जनस्वास्थ्यमै गम्भीर असर गर्ने देखिएको छ। यता काठमाडौं महानगरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसक्दा मुख्य चोकमा फोहोर थुप्रिन थालेको जनाएको छ ।

यही साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नु पर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो। एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन स्वार्थ समूहको चलखेल भएको आरोप लगाउनुभएको छ । आज सामाजिक संजालमार्फत मेयर शाहले फोहोर व्यवस्थापनको लागि प्रयास भइरहेको बेला फोहोर बोकेका गाडीहरुमा तोडफोड हुनुले चलखेल भइरहेको भन्ने उल्लेख गर्नुभएको हो । गए राति फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनहरुको तोडफोड भएपछि मेयर शाहले यस्तो प्रतिक्रिया जनाउनु भएको हो । 

फोहोर व्यवस्थापनप्रति आफूहरु सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल भइरहेको अवस्थामा यसलाई व्यवस्थापन गर्नको लागि नयाँ–नयाँ प्रयास भइरहेको सन्दर्भमा तोडफोडजन्य गतिविधि हुनुले चलखेल देखिएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । 

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने बालेनको भनाई छ । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले भने काठमाडौंमै फोरोर व्यवस्थाप नगर्न सकिने बताउनुभएको छ । 

फोहोर व्यवस्थापनका बिषयमा काम गर्दै आउन भएका माधन्धरले रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफद डे मा कुराकानी गर्दै प्रसोधन मेसिनमार्फत काठमाडौंमै फोहोर व्यवस्थापनगर्न सकिने विकल्प दिनुभएको हो । तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पनि मेसिनकाबारेमा आफूले जानकारी गराएको तर खासै सुनुवाई नभएको बताउनुभयो । प्रतिनिधिसभामा छट्टुै फोहोर व्यवस्थापन सम्बन्धि संसदीय समिति बनाउन र त्यसको नेतृत्व गर्न आफू तयार रहेको पनि मानन्धरले बताउनुभयो ।
  
एकै दिन थपिए १ हजार ९० संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९० जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो । २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४२ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् । २४ घण्टामा ४३८ संक्रमणमुक्त भएका छन् । सोही अवधीमा २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।

नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर

नर्भिक अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन सोमबार थियो । 

२४ घण्टे अल्टिमेटम दिएपनि तत्काल अल्टिमेटमअनुसार संरचना भत्काउने निर्णयबाट महानगर पछि हटेको हो । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडि बढ्ने सहमति गर्नुभएको छ । उहाँले प्राविधिहरुले दिएको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । मेयर शाहले फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताउनुभयो । 

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताउँदै अझै अस्पतालसँग सम्झौताअनुसार ८ वर्ष बाँकी रहेको भनाई राख्नुभयो । नर्भिक अस्पतालले आफूले कानुनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

अमित श्रेष्ठको मुद्दामा ४८ करोड बिगो मागदाबी, थुनछेक बहस हुँदै

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएको छ । मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो । डिजिटल फोरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार मूल्य बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । श्रेष्ठले शङ्कास्पद रूपमा ४८ करोड आर्जन गरेको देखिएको भन्दै सरकारी वकिल कार्यालयले सो रकम बिगो कायम गरेर सजाय हुन मागदाबी लिएको छ ।

काठमाडौंमा आदिवासी जनजातिको सांस्कृतिक र्याली

नेपालका आदिवासी जनजातिहरुले आज २८ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा प्रज्ञा भवन कमलादीमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी छन् ।

औपचारिक कार्यक्रमअघि मध्याह्न महासंघ सम्बद्ध तामाङ, मगर, नेवार, गुरुङ, थारु, राई, लिम्बु, शेर्पालगायत जातीय संघ संस्थाले भृकुटीमण्डपबाट सांस्कृतिक ¥याली निकालेका थिए । हरेक वर्ष अंग्रेजी पात्रोअनुसार अगस्ट ९ तारिख विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।

स्मार्ट लाइसेन्स प्रदेशमै छापिने, संघ सरकारले मेसिन दिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न दिन तयार भएको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकमा स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले मेसिन उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयहरुबाट नै लाइसेन्स छपाइ गर्ने निर्णय भएको हो । 

यस्तै ट्रायल पास भएकै दिनमा परीक्षणकालीन लाइसेन्स जारी गर्न प्रदेशका यायातमन्त्रीहरु सहमत भएका छन् । मन्त्री राईले यसअघि नै स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एक–एक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताउनुभएको थियो । 

उहाँले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने पनि बताउनुभएको छ ।

त्यस्तै सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक (परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो । अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ । 

सप्तरीमा डुबेर २ जनाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको ज्यान गएको छ । विष्णुपुर गाउँपालिका कट्टिस्थित मुसहरीमा रहेको सार्वजनिक पोखरीमा कमलको फूल टिप्ने क्रममा ३५ वर्षीय शिव शंकर सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हिजो दिउँसो पोखरीमा फूल टिप्न गएका सदाको आज दिउँसो प्रहरीले शव फेला पारेको हो । 
यस्तै छिन्नमस्ता गाउँपालिका–४ लालापटीस्थित पोखरीमा २ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । आफन्तकहाँ पाहुना आएका झापा घैलाडुवाका संजय पण्डितको २ वर्षीय छोरा दिप पोखरीमा खेल्ने क्रममा घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

आर्थिक खबर

शेयर बजार 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.६८ अङ्कले ओरालो लागेर ३ सय ९७.४३ मा कायम भएको छ ।सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय २२ वटा कम्पनीको ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज गणपति लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरै तथा घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रो, न्यादी हाइड्रो, मध्य भोटेकोसी जलविद्युत र राष्ट्र उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रो पावरको शेयर झन्डै १० र गुराँस लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

विदेशका खबर

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा   

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिनुभएको छ ।  मुख्यमन्त्री नितिश कुमारले आज राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिनुभएको हो । राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएको बीबीसी जनाएको छ ।राजीनामापछि उहाँले पार्टीका सबै विधायक र सांसदहरू (नेसनल डेमोक्रेटिक एलायन्स) गठबन्धनबाट अलग हुन चाहेको बताउनुभएको छ ।  

गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसँग मतभेद बढेपछि जनता दल युनाइटेडले आज बिधायक र सांसदहरूको बैठक बोलाएको थियो । सो बैठकले एनडीए गठबन्धन छाड्ने निर्णय गरेको र सो निर्णयलाई आत्मसाथ गर्दै आफूले राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभएको छ । 

राजीनामा दिए पनि नितिश कुमारले राष्ट्रिय जनता दल (आरजेडी)को समर्थनमा नयाँ सरकार बनाउने अनुमान गरिएको छ । कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमारकै नेतृत्वमा सरकार बनाउन समर्थन दिने संकेत गरेका छन् ।राज्यपाललाई राजीनामा बुझाएलगत्तै नितिश कुमार पूर्व मुख्यमन्त्री राबडी देवीको घर पुग्नुभएको छ । भेटमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

खेल खबर

केन्यासँग खेल्न नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँग हुने टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टोलीमा पुनरागमन गरेका छन् । 

युवा विकेटकिपर अर्जुन साउद भने पहिलो पटक टोलीमा परेका छन् । टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमेद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीको रुपमा जितेन्द्र मुखिया, भिम सार्की, प्रतिष जिसी र हरिशंकर शाह रहेका छन् । 

नेपालले भदौ ९ गतेदेखि २० गतेसम्म केन्याको भ्रमण गर्दैछ । नेपालले केन्यासँग पाँच टी–२० र ३ एकदिवसीय सिरिज खेल्नेछ । टी–२० अन्तर्गत नेपालले पहिलो खेलमा अगस्ट २५मा खेल्नेछ भने दोस्रो खेल अगस्ट २६, तेस्रो २८, चौथो २९ र पाँचौं ३० तारिखमा खेल्नेछ । त्यस्तै एक दिवसीयअन्तर्गत पहिलो खेलमा सेप्टेम्बर २, दोस्रो ३ र तेस्रो ५ तारिखमा खेल्नेछ ।

एन्फा कार्यसमितिमा नयाँ एजेन्डा थप

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकका लागि ४ नयाँ एजेन्डा थप गरिएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २६ गते बस्ने कार्यसमितिको बैठकमा यसअघि तय एजेन्डामा ४ एजेन्डा थप गरिएको हो । 

एन्फाका केन्द्रीय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो ।थप गरिएको एजेन्डा पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धि एजेन्डा थप गरिएको हो ।एन्फाको कार्यसमिति बैठकका लागि यस अघि नै १८ एजेन्डा तय भईसकेको छ  ।

कार्यसमिति बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान १० बजेबाट सुरु हुनेछ ।यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।