Live Streaming

अन्नपूर्ण दिनभर : 'महान्यायाधिवक्तालाई निलम्बन गर्न माग, मंसिर ३ सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने'

आगामी निर्वाचनका लागि दलहरूको तयारी तीव्र÷जनतामाझ गरेका पहिलेका वाचाको समीक्षा नगरी पुरानै एजेण्डा लिएर जाने संकेत÷विज्ञ भन्छन्  दलहरू सत्तामै लिप्त हुँदा सुशासन हरायो ।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाइ गर्न नहुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ / आफ्नो जापान भ्रमण सफल रहेको टिप्पणी ।

बझाङको बुंगल नगरपालिका–९ मा एकै परिवारका तीन जना मृत फेला / भारतबाट फर्किएका श्रीमान प्रहरी नियन्त्रणमा ।

नेप्से परिसूचकको ओरालो यात्रा कायमै / आज ६ अंकको गिरावटसँगै कारोबार रकम पनि १ अर्बमा झ¥यो ।

युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा १२ जनाको मृत्यु / क्राइमियाको स्वतन्त्रतापछि मात्रै रुस–युक्रेन युद्ध समाप्त हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ ।

र, एन्फाका केही व्यक्तिले आफ्नोबारे अफवाह फैलाइरहेको मुख्य प्रशिक्षक अलमुताइरीको आरोप÷सम्झौता पालना नगरे एएफसी गुहार्ने चेतावनी ।

दलहरुले आश्वासनको समीक्षा किन गरेनन छ ?
 
सरकारले मंसिर ४ गते एकै चरणमा हुनेगरि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । योसँगै राजनीतिक दलहरु आफ्नो पल्ला भारी पार्न र राजनीतिक अङ्कगणित मिलाउन गठबन्धनदेखि चुनावी तालमेलसम्मको तयारी तीव्र पारेका छन् ।

५ वर्षअघि सुशासन र स्थायित्वको नारा दिएका राजनीतिक दलहरूले यसपालि पनि तीनै एजेण्डाहरू दोहो¥याउने संकेत गरेका छन् । ५ बर्ष अघिका आश्वासन कति पूरा भए भन्नेबारेमा समीक्षा गर्न कुनैपनि राजनीतिक दल तयार छैनन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेर चुनाव लड्दा दुई तिहाइ मत प्राप्त गरे । तर पदलोलुपताका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन वर्ष लगत्तै फुटेपछि सरकार ढल्यो । 

सुशासन र संघीयता कार्यान्वयन चुनावी एजेण्डा बनाएपनि त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्नुभयो । 

त्यसपछि प्रतिगामी प्रवृत्तिका विरुद्ध तथा संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको भनिएको पाँच दलीय गठबन्धन पनि जनताका मुद्दा भन्दा भाग मिलाउनका लागि ६–६ महिनामा मन्त्री हेरफेर तथा प्रदेशमा समेत मन्त्रीको संख्या बढाउने काम गर्नमै केन्द्रित भएको छ ।

५ वर्षअघि राजनीतिक दलहरूले राजनीतिक स्थिरता, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, संघीयता कार्यान्वयन, जनअपेक्षा सम्बोधन, रोजगारी लगायतका कैयौँ एजेण्डाहरू प्रस्तुत गरेपनि कुनै एजेण्डाले पनि पुर्णता पाएका छैनन् । 

झन स्वार्थपूर्ति गर्न संविधानमाथि प्रहार, भ्रष्टाचारमा बढोत्तरी तथा जनतालाई महङ्गीको मारमा राखेर फेरी तीनै एजेण्डा दोहो¥याउँदै दलहरु जनताको घरदैलोमा जाने तयारीमा जुटेका छन् । 
यता राजनीतिक विश्लेषक डा. सुरेन्द्र भण्डारीले पनि पदलोलुपताकै कारण अस्थिरता बढ्दै गएको बताउनुभएको छ । 

निर्वाचनमा ठुलो मात्रामा पैंसाको चलखेल हुन थालेको र जनताका एजेण्डाले प्राथमिकता नपाउने क्रम बढ्दै गएको बताउदै उहाँले यसप्रति सबै सचेत बन्नुपर्ने धारणा राख्नुभयो । भण्डारीले यो ५ बर्षमा दलहरू जनतासँग जानुपर्नेमा भन्दा जोड घटाउमै केन्द्रित रहदा सु–शासनको प्रत्याभुति हुन नसकेको बताउनुभयो । प्रस्तुत छ भण्डारीसँग गरिएको संक्षिप्त कुराकानी... 

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न, ढिला नहुनुपथ्र्यो : प्रचण्ड

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताउनु भएको छ । उहाँले विधेयक राष्ट्रपतिले रोक्न नहुने पक्षमा आफू रहेको बताउनु भएको हो । जापान भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो । 

संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नु भएको छैन । साउन १५ गते राष्ट्रपति कार्यालय पुगेको विधेयक ११ दिन हुँदासम्म पनि प्रमाणीकरण भएको छैन । विधेयक प्रमाणीकरण नभएकोबारे दाहालले जापानमा पनि टिप्पणी गर्नु भएको थियो । 

संविधानको धारा ११३ मा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ । राष्ट्रपति भण्डारीले भने नागरिकता विधेयकबारे विचार गरिरहेको बताइएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्न र प्रमाणीकरण गर्न भनेर राष्ट्रपतिकहाँ विभिन्न व्यक्ति र समूहले भेट गरिरहेको अवस्थामा सत्तारुढ दलका प्रमुख नेताको यस्तो प्रतिक्रिया आएको हो ।

जबराविरुद्धको महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गर्नुभएको छ । साउन २२ मा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । 

तर, हालसम्म सिफारिस समितिले काम सुरु गरेको छैन । यही बेला सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर यस्तो आग्रह गर्नुभएको हो ।

सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले महाअभियोगको सिफारिस समितिको सहजीकरण बैठक राख्नुभएको हो ।सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए ।

संघीय संसद सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति थियो । महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह हुनुहुन्छ । तर, समितिको पहिलो बैठक बस्ने मिति तय भएको छैन ।

महान्यायाधिवक्तालाई निलम्बन गर्न माग

नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन खोजेका लम्बोदर न्यौपाने र महान्यायाधिवक्ता खम्बबहादुर खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरेर उच्च अदालतले ठगी हैन बेरुजु भनेको मुद्दालाई प्रभावित गर्न खोजेको आरोप लगाउनुभएको हो । उहाँले खम्बबहादुर खाती विभिन्न हिसाबले विवादित ब्यक्ति रहेको दावी गर्नुभयो । 

मंसिर ३ सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन्।निर्वाचन आयोगले मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो। मंसिर ४ गते मतदान हुँदैछ। २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन् ।

आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरिसकेको छ। अयोगले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स, तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरेको छ। नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ । 

थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ६ सय १४ पीसीआर परीक्षणमा ४ सय ९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ भने चार सय १४ जना कोरोना सङ्क्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा पाँच हजार आठ सय ८५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।  स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

लामो समयदेखि  रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा. सन्जयकुमार ठाकुरले पाउनुभएको छ भने डा. ठाकुरको ठाउँमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रिता जोशीलाई तानिएको छ । स्वास्थ्य सेवा विभागमा कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडालाई सरुवा गरिएको छ भने केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालयमा ल्याइएको छ ।  

यस्तै, हेटौंडाको राष्ट्रिय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको निर्देशकमा डा. विश्वबन्धु बगालेलाई पठाइएको छ । यसअघि औषधि व्यवस्था विभागका महानिर्देशकको जिम्मेवारी समेत सम्हालिसक्नुभएका र मन्त्रालयमा फाजिलमा रहनुभएका नारायण ढकाललाई प्रदेश नं. १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा काजमा खटाइएको छ । 
 
एकै परिवारका तीन जना मृत फेला

बझाङमा एकै परिवारका ३ जना मृत भेटिएका छन् । जिल्लाको बुंगल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन् । मंगलबार राती भागेका उनीहरु बुधबार बिहान घर नजिकैको मकै बारीमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ  । 

मृत्यु हुनेमा २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा रहेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।  मंगलबार गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएको प्रहरीको भनाइ छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको छ । मृत भेटिएकी महिलाका श्रीमान पुष्करले आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन् ।

विद्युत् सट भएर आगलागी, साढे चार करोड क्षति

काठमाडौंको बालाजुमा आज दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्र्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताउनुभयो । आगो स्थानीय र दमकलको सहायतामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 रिजालका अनुसार क्षतिको पूर्ण विवरण आउँन बाँकी भए पनि करिब साढे चार करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो । कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् । वरिपरि घरहरु भएपनि आगोले कुनै क्षति नगरेको प्रहरीले जनाएको छ ।
 
विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस्  हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिनुभयो । विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठन पाठनकार्य प्रभावित भएको प्रधानाध्यापक बागको भनाइ छ ।

छात्रामा देखिएको यो समस्याको बारेमा  स्वास्थ्यकर्मी पनि सोधेको उहाँले बताउनुभयो । छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । 

आर्थिक खबर

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो । आज नेप्से ५.९१ अंकले घटेर २ हजार ५६.८८ विन्दुमा अडिएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबार तुलनामा घटेको छ ।  

आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो । सो दिन कूल २ अर्ब ८१ करोड बराबरको सेयर कारोबार भयो। त्यसअघि सोमबार २ अर्ब ८५को सेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने दुईको मात्रै बढ्यो । 

बैकिंङ, ट्रेडिङ,होटल्स एन्ड टुरिजम डेभलपमेन्ट बैंक, हाइड्रोपावर,फाइनान्स, नन लाइफ इन्स्योरेन्स, अदर्श, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्डको सूचक नकारात्मक देखिएको हो । ११ समूहको सूचक घट्दा मनु एन्ड प्रो र इन्भेस्टमेन्ट समूहको क्रमश ०.५ र ०.६९ प्रतिशतले बढ्यो ।

यसदिन हिमालयन हाइड्रो पावरको सेयर ९.९७ प्रतिशतले बढ्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.९९ प्रतिशतले घट्यो । आज २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँमा खरिदबिक्री भयो। नागरिक लगानी कोष १० करोड बढिको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो । 

विदेशका खबर

ताइवान आसपास जारी सैन्य अभ्यास सकिएको चीनको घोषणा

चिनियाँ जनमुक्ति सेनाले विवादित टापु क्षेत्र ताइवान वरिपरि पाँच दिनदेखि जारी सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । आज छोटो वक्तव्य निकाल्दै चिनियाँ जनमुक्ति सेनाका पूर्वी क्षेत्रीय कमाण्डका प्रवक्ता शि यीले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा संयुक्त सैन्य अभियान सकिएको बताउनुभएको हो । 

यद्यपी उहाँले कमाण्डले ताइवान स्थितिमा हुने परिवर्तनको अनुगमन जारी राख्ने बताउँदै प्रवक्ता यीले युद्धको नियमित तयारी अभ्यास पनि जारी राख्ने उल्लेख गर्नुभएको छ । उहाँले सैन्य अभ्यासले सेनाको एकीकृत संयुक्त युद्ध क्षमताको प्रभावकारी परीक्षण गरेको बताउनुभएको छ । 

यसअघि हिजो चीनको जल सेनाले पछिल्लो चार दिनदेखि ताइवानको आसपास जारी सैन्य अभ्यासलाई निरन्तरता दिने घोषणा गरेको थियो । तर आज अचानक चिनियाँ सेनाले सो सैन्य अभ्यास सकिएको घोषणा गरेको हो । 

युक्रेन युद्धः क्राइमियाको रुसी सैन्य अखडामा विस्फोट

युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् । जापोरिज्जिया  युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर हो । दुई देशले  एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् । रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विस्फोटको घटना  सार्वजनिक भएको हो । त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।  क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग भएपनि सन् २०१४ मा एक जनमत संग्रहपछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्ने गरिएको छ ।

खेल खबर

म विरुद्ध गलत प्रचार भयो : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूविरुद्ध गलत प्रचार भइरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने बताउनुभएको छ । उहाँले सम्झौता पालना नभए फिफा र एएफसीमा जाने बताउनुभएको हो ।  

हिजो विज्ञप्ति निकालेर उहाँले आफूविरुद्ध झुटा समाचार फैलाइरहेको आरोप लगाउनुभयो । उहाँले नेपालको बलियो राष्ट्रिय टोली निर्माणको लागि पूर्ण प्रयास गरेको पनि दाबी गर्नुभएको हो । अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उहाँलाई स्पष्टीकरण माग गर्दै पत्र लेखेको थियो । 

तर, छुट्टीमा रहेका अलमुताइरीले एन्फाले पठाएको पत्रको जवाफ नदिएको भन्ने समाचारहरु प्रकाशित भएको थियो । प्रशिक्षक अलमुताइरीले एन्फाले स्पष्टीकरण सोधेको पत्र आफूले आज प्राप्त गरेको र वकिलसँग सल्लाह गरेर जवाफ दिने उल्लेख गर्नुभएको छ ।

एन्फा कार्यसमितिको बैठक बिहीबार बस्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि बस्दैछ । यसअघि समेत दुई पटक बोलाइएको बैठक बस्न सकेको थिएन । साउन २ गते बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ हुनुभएपछि स्थगित गरिएको थियो । यस्तै, साउन ५ गते बालाइएको बैठक एजेण्डामा प्रवेशै नगरी स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ । असार ६ गते भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा निर्वाचित हुनुभएका थियो । 

तर निर्वाचन लगत्तै आफ्नै सहर्की असन्तुष्ट हुँदा नेम्वाङ विवादित बन्दै आउनुभएको छ । निर्वाचनमा सहयोग गर्नुभएका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाण्डेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज अफ्ठ्यारोमा पर्नुभएको छ । 

पाण्डेबाट बढी दबाब खेप्दै आउनुभएका नेम्वाङले थापा समूहलाई बेवास्ता गर्दै आउनुभएको छ । पाण्डे एन्फा राजनीतिमा हावी हुनुभएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाण्डेको बर्खास्तीको माग गरेको छ । जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख पाण्डेको बर्खास्ती माग गरेका छन् । भोलिको बैठकमा २२ एजेन्डा गरिएको छ ।