Live Streaming

अन्नपूर्ण टप टेन : आज साउन महिनाको अन्तिम सोमबार, कर्मचारीहरुले थाले दोस्रो चरणको आन्दोलन 


कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने आश्वासन दिनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज ललितपुरमा आयोजित बधाई /शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भएकाले ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गर्नुभयो । 

देशको विकासका लागि सम्पूर्ण तागत लगाउने बेला आएको छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि नेपालको विकासको स्वरूप आफ्नै प्रकारको हुनुपर्ने बताउनुभयो । 

नागरिकता विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभएको थापाको भनाइ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताउनुभएको छ । आजदेखि सुरू भएको कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पुगेका थापाले संवाददाताहरूसँग कुरा गर्दै कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यसमा आक्रोश व्यक्त गर्नु जरूरी नरहेको बताउनुभएको हो । 

बन्चरेडाँडामा फोहोर विसर्जन अन्त्य गर्नुपर्ने भन्दै सत्तारुढ दलको आन्दोलन

बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न गएका गाडी सत्तारुढ दलका कार्यकर्ताले धुनिबेंसी–१ मा अवरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका हुन् । 

प्रहरी समायोजनको माग गर्दै दोस्रो दिन पनि मधेशका मन्त्रीको धर्ना

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले आज पनि धर्नालाई निरन्तरता दिएका छन् । आजको धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलको सहभागिता रहेको थियो । 

आज साउन महिनाको अन्तिम सोमबार, व्रत पूरा गरिँदै

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

कर्मचारीहरुले थाले दोस्रो चरणको आन्दोलन 

निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । निजामती कर्मचारीहरुको संयुक्त ट्रेड युनियन सन्जाल आन्दोलन परिचालन समितिको नामबाट संघर्षरत कर्मचारीहरुले आज ‘पे कमिसन’ (तलब आयोग) मा आफ्ना प्रतिनिधि पनि समावेश गराउन माग गर्दै सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् । 

नाफामा अब्बल सरकारी कम्पनी : विद्युत् प्राधिकरण, टेलिकम र राष्ट्रिय वाणिज्य बैंक 

कतिपय सरकारी कम्पनीहरु टाट पल्टिएर उठ्नै नसक्ने अवस्थामा रहेका बेला केही कम्पनीहरुले भने उत्साहजनक नाफा कमाइरहेका छन् । एक वर्षअघिसम्म राम्रो नाफा कमाएको आयल निगम अहिले घाटामा गएको छ भने केही वर्षअघिसम्म घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले अहिले सबैभन्दा धेरै नाफा कमाएको छ । धेरै नाफा कमाउने दोस्रो सरकारी कम्पनी नेपाल टेलिकम बनेको छ । टेलिकमपछि सबैभन्दा धेरै नाफा कमाएको तेस्रो सरकारी राष्ट्रिय वाणिज्य बैंक रहेको छ 

भिषण वर्षामा परी सुडानमा ५२ जनाको मृत्यु

सुडानमा भिषण वर्षापछि आएको बाढीमा परी ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुने

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आगामी बिहीबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् ।