Live Streaming

अन्नपूर्ण दिनभर : बैठकमा नबस्ने सांसदहरूलाई सभामुखको ध्यानाकर्षण, राष्ट्रपतिको संदेशबारे संसदलाई भोलि जानकारी गराइने

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि गठित गठबन्धन कार्यदलको बैठक जारी÷कार्य दललाई साउन अन्तिम सातासम्म सिट बाँडफाँड टुंगो लगाउने समय ।

विधेयक पास गर्ने बेला संसदमा गणपूरक संख्या नपुग्ने गरेकोमा सभामुख सापकोटाको असन्तुष्टि÷नागरिकता विधेयक फिर्तासहित आएको राष्ट्रपतिको सन्देशबारे संसदलाई भोलि जानकारी गराइने ।

आगामी निर्वाचनमा न्यायसंगत ढंगले टिकट वितरण हुने प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको आश्वासन÷ढुक्क भएर चुनाव प्रचारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन ।

स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरी बन्चरेडाँडामा फाहोर विसर्जन÷फोहोर फाल्न नदिने भनेर विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध प्रहरीमा उजुरी ।

अमेरिकी प्रतिनिधिमण्डल ताइवान पुगेसँगै चीन थप रुष्ट÷सैन्य अभ्यासको चेतावनी÷चिनियाँ वायु सेनाका लडाकु विमान आज फेरि ताइवानी आकाशमा प्रवेश ।

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगल किशोर राई नियुक्त÷गोलकिपर प्रशिक्षकको जिम्मा विनोद डंगोललाई  ।

अन्नपूर्ण खबर 

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा सुरु

आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल हुँदै छ । आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो । 

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला रहनुभएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।

बैठकमा नबस्ने सांसदहरूलाई सभामुखको ध्यानाकर्षण

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेला गणपूरक संख्या नपुग्ने गरेकोमा असन्तुष्टि जनाउनुभएको छ । आज संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने क्रम बढेको छ । यसरी सांसदहरू बैठक छाडेर बाहिरिँदा कतिपय महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि गणपूरक संख्या नपुग्ने गरेको छ । आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरुको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।

सभामुखले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताउनुभयो । 

राष्ट्रपतिको संदेशबारे संसदलाई भोलि जानकारी गराइने

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश प्रतिनिधिसभालाई भोली जानकारी गराइने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको भोलीको प्रतिनिधिसभा बैठकको संभावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता भएको विधेयेक सम्बन्धी पत्रबारेको जानकारी गराउने उल्लेख छ । राष्ट्रपति भण्डारीले आफूकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै हिजो प्रतिनिधि सभामै फिर्ता पठाउनुभएको थियो । 

आज राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको छ ।

कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने आश्वासन दिनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज ललितपुरमा आयोजित बधाई÷शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भएकाले ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गर्नुभयो । 

आगामी निर्वाचनमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको बताउनुभयो । आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको सभापति देउवाले उल्लेख गर्नुभयो । गठबन्धनका बाबजुद पनि आफूहरू पराजित भएको भन्दै देउवाले जनताले गाउँ–गाउँमा सिंहदरबार आयो भने पनि हामीले केही पाएनौं भन्न थालेको बताउनुभयो । 

त्यस्तै कांग्रेसका उपसभापति धनराज गुरुङले अभिमुखीकरण सुशासनका लागि भएको बताउनुभयो । व्यवस्थाप्रति पात्र बदलिए पनि प्रवृत्ति बदलिएन भन्ने जनगुनासो रहेको उहाँको भनाई थियो । कार्यक्रममा देशभरबाट समन्वय समितिका ३४ प्रमुख‚ २३ उपप्रमुख‚ १४१ नगरप्रमुख, ११० नगर उपप्रमुख‚ १८८ गाउँपालिका अध्यक्ष र १९ जना गाउँपालिका उपाध्यक्ष सहभागी भएका छन् ।

नागरिकता विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताउनुभएको छ । आजदेखि सुरू भएको कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पुगेका थापाले संवाददाताहरूसँग कुरा गर्दै कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यसमा आक्रोश व्यक्त गर्नु जरूरी नरहेको बताउनुभएको हो । 

राष्ट्रपति भण्डारीले आइतबार नागरिकतासम्बन्धी विधेयक संसदमा फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिको सो कदमबारे राजनीतिक दलका नेताहरूले पक्ष–विपक्षमा प्रतिक्रियाहरू दिइरहेका छन् । नागरिकता विधेयक फिर्ता भएपछि राष्टपति भण्डारीको राजीनामाको माग भएको छ ।

आज सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति भण्डारीको राजीनामा मागेको हो । संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले पुनः संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ । विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको विषयलाई एमालेले स्वागत र विरोध केही पनि नगरेको बताउनुभएको छ । 

उहाँले संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको भन्दै त्यसमा एमालेले कुनै टिप्पणी गरिहाल्नुपर्ने अवस्था नभएको बताउनुभयो ।प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले पार्टीले आगामी निर्वाचनका लागि तयारी पूरा गरिसकेकाले आगामी निर्वाचनमा एक्लै अगाडि बढ्ने पनि बताउनुभयो ।

उहाँले एमालेले जनप्रीय कामहरु गरेकाले आगामी संघ र प्रदेशको निर्वाचनबाट फेरि एमालेको सरकार बन्ने दावी समेत गर्नुभयो । आउने निर्वाचन आफूहरुका लागि चुनौती रहेपनि मुद्दा मिल्न सक्ने दलसँग संवाद भइरहेको र नभए एमाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको बताउनुभयो ।

 नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भएको छ । इलाममा आज सन्चारकर्मीसँग कुरा गर्दै खनालले अन्य विधेयक नागरिकता विधेयकमा बहुमत प्रापत हुदैमा पास गर्न नमिल्ने तर्क गर्नुभयो ।

नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नुपर्ने भन्दै उहाँले नेपाल जस्तो मुलुक जनसांख्यिक अतिक्रमणबाट जोगिनु पर्ने आवश्यक रहेको जिकिर गर्नुभयो । 

उहाँले राष्ट्रपतिले नागरिकता विधेयक किन संसदमा फर्काएको भन्ने बारेमा आफूले अध्ययन नगरे पनि दिर्घकालीन सोच राखेर यस्तो विषयमा अघि बढ्नुपर्ने बताउनु भयो । फरक प्रसंगमा खनालले ५ दलीय गठबन्धन कायम रहने बताउँदै इलाम १ बाट पुनः प्रतिनिधिसभाका लागि चुनाव लड्ने संकेत गर्नुभयो ।

उपचारपछि आफूमा नयाँ जोश र जाँगर आएको बताउँदै अबको समय पनि सक्रिय राजनीतिमा व्यतित गर्ने उहाँको भनाइ थियो । वाम गठबन्धनको सधैं सम्भावना रहेपनि यो पटक एकता गर्ने पक्षमा कुनै पनि प्रमुख वाम दलका नेताहरु नरहेको खनालको दाबी रहेको छ । 

ओली निवास पुगेर त्रिपाठीले गरे चुनावी तालमेलको प्रस्ताव

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रीपाठीबीच भेटवार्ता भएको छ । त्रिपाठीले आज बालकोट पुगेर चुनावी तालमेलका लागि ओलीलाई प्रस्ताव गर्नुभएको छ । यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि सूर्य चुनाव चिन्हबाट लडेर विजयी हुनुभएका त्रिपाठीले गठबन्धन गरेर जान आग्रह गर्नुभएको हो । उहाँले अध्यक्ष ओलीसँग समसमायिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो  ।

प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन

काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो । नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

आज  बिहान सत्तारुढ कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध गरिएकोान दिउँसो अवरोध हटाइएको छ । 

बन्चरे डाँडाको नजिकै पुगेका ६२ वटा टिपरलाई उनीहरूले फोहोर विसर्जन गर्न दिएपनि त्यहीँ रोकेर राखेका थिए । सोक्रममा फोहोर बोकेका करिब सय वटा टिपरहरू बाटोमै राकिएका थिए । प्रहरी परिचालन गरेपछि आन्दोलनकारीहरू सडकबाट भागेका हुन् । 

यसैबीच बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ । धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

उनीहरु ३ जना विरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेको÷गर्न लगाएको भन्दै ट्रक धनीहरुले उजुरी दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।  

निर्वाचन आयोगले दाहाललाई सोध्यो 

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिबारे सूचना मागेको छ । पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको अभिव्यक्ति दिएको भन्दै सूचना उपलब्ध गराउन पत्र पठाएको हो । निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीको नामबाट साउन १० गते माओवादी पार्टी कार्यालयलाई पत्र पठाइएको थियो ।

कार्यालयले पत्र बुझ्न नमानेपछि साउन ११ गते हुलाकमार्फत पुनः पत्र पठाइएको आयोगले जनाएको छ । आयोगले तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा खर्चविवरण नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिएको पनि पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष दाहालले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवस कार्यक्रममा ’एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गरेर जितेको’ देखिएको बताउनुभएको थियो । 

धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उहाँको भनाइ थियो । स्थानीय तहको गत चुनावमा गाउँपालिका अध्यक्षका उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोगले तोकेको थियो । 

देशको विकासका लागि सम्पूर्ण तागत लगाउने बेला आएको छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि नेपालको विकासको स्वरूप आफ्नै प्रकारको हुनुपर्ने बताउनुभयो ।

नेपाली मोडलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भूगोल, संस्कृति र जातीय बनावटअनुकूल नेपाली स्वरूपको विकास गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्न लगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो । आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्नुपर्ने पनि उहाँको भनाइ छ । 

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए शुभकामना

भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज ट्विट गर्दै मोदीलाई शुभकामना दिनुभएको हो । भारत सरकारले आज अगस्ट १५ मा ७५औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १८५८ देखि भारतमा शासन गरेको बेलायत १९४७ मा मात्रै फिर्ता भएको हो । त्यससँगै भारत स्वतन्त्र भएको थियो । 

त्यसयता भारत सरकारले हरेक वर्ष अगस्ट १५ लाई स्वतन्त्रता दिवस मनाउँदै आएको छ । यस पटक देश स्वतन्त्र भएको ७५औं वर्षको उपलक्ष्यमा भारतले ’आजादीका अमृत महोत्सव’ भनेर विशेष कार्यक्रम गर्दै आएको छ । यही कार्यक्रमअन्तर्गत भारतभर ’हर घर तिरंगा’ अभियान पनि सञ्चालन भएको छ ।

प्रहरी समायोजनको माग गर्दै दोस्रो दिन पनि मधेशका मन्त्रीको धर्ना

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले आज पनि धर्नालाई निरन्तरता दिएका छन् ।

आजको धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलको सहभागिता रहेको छ । उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । उनीहरुले आन्दोलन अन्तर्गत हिजोदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम तय गरेका छन् ।
 
ललितपुरको सानेपामा बस पल्टियो, ८ जना घाइते

ललितपुरको सानेपामा बस पल्टिँदा ८ जना घाइते भएका छन् । एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

बस दुर्घटना हुँदा नवलपरासी कावासोती नगरपालिका–२ घर भइ काठमाडौं कलंकी बस्ने २५ वर्षीया सुगम थापा, कीर्तिपुर नगरपालिका–८ घर भएका ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी धरान नगरपालिका–२० घर भइ कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई, दोलखा घर भइ कीर्तिपुर बस्ने वर्ष ३० वर्षीया सबिना खड्का घाइते भएका छन् । यस्तै, ललितपुर महानगरपालिका–१४ नखिपोट घर भएका ३० वर्षीय उद्देश्य वाग्ले, सिन्धुपाल्चोक घर भइ ललितपुर धोवीघाट बस्ने ५९ वर्षीय जीतबहादुर पोखरेल, रामेछाप घर भइ भक्तपुर सुर्यबिनायक बस्ने ४५ वर्षीय खड्ग बहादुर थापा र काठमाडौं कलंकी घर भएका ६७ वर्षीय खिल बहादुर भण्डारी घाइते भएका छन् ।

उनीहरु सबैको स्टार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिनुभयो । 

थप १० हजार बोरा मल पाउने सहमतिपछि वीरगञ्जले छाडिदियो ४ ट्रक मल

वीरगञ्ज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । वीरगञ्ज महानगरपालिकाले हिजो कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो ।

आज वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच ४ बुँदे सहमति भएको छ । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७ सय ७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ ।

यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगञ्जलाई उपलब्ध गराउने सहमति पनि भएको छ । सो सहमतिपछि वीरगञ्ज महानगरपालिकाले आफूले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ । 

८ सय ८८ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ३७ कोरोना परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ५५ पीसीआर परीक्षणमा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणमा ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् । 

हाल देशभर ५ हजार ३ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ५ सय भन्दा बढी सकृय संक्रमित रहेको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने २ सय भन्दा बढी संक्रमित रहेको जिल्ला कैलाली रहेको छ । शुन्य संक्रमित रहेका जिल्ला मनाङ, कालिकोट, हुम्ला र डोल्पा रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ५० हजार ६४ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज साउन महिनाको अन्तिम सोमबार, व्रत पूरा गरिँदै

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।

आर्थिक खबर

शेयर बजार आज उच्च

लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५.८२ अङ्कले बढेर दुई हजार ६५.८९ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । 

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय १५ वटा कम्पनीको ६० लाख २६ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि रिडी हाइड्रोको शेयर भने १० प्रतिशतले घटेको छ ।

क्रिप्टोकरेन्सी र नेटवर्किङ गैरकानुनी, कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानुनी रहेको बताएको छ । आज केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको जनाएको छ । केन्द्रीय बैंकले यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको भन्दै यस्तो कारोबार गैरकानुनी रहेको जनाएको छ ।

बैंकहरुले ब्याजदर घटाउने

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाउने भएका छन् । मौद्रिक नीतिको व्यवस्था दुई किसिमको कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर कायम हुने भएपछि बैंकहरुले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर समेत परिमार्जन गर्ने भएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले संस्थागत निक्षेपको ब्याजदर दुई प्रतिशतले घटाउने निर्णय गरेको हो ।  योसँगै भदौ महिनाका लागि संस्थागत निक्षेपमा बैंकहरुले ९.०३ प्रतिशत मात्र ब्याजदर प्रदान गर्नेछ । 

यसअघि संस्थागत र व्यक्तिगत दुबैमा एउटै ब्याजदर प्रदान गरिरहेका बैंकहरुले निक्षेपमा नै ११.०३ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका थिए । यद्यपि, व्यक्तिगत निक्षेपमा भने सोही ११.०३ प्रतिशतकै ब्याजदर कायम हुने संघले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । 

विदेशका खबर

अमेरिकी प्रतिनिधिमण्डल ताइवान पुगेसँगै चीन थप रुष्ट, सैन्य अभ्यासको चेतावनी

अमेरिकी प्रतिनिधिमण्डलले ताइवानका राष्ट्रपतिसँग भेट गरेपछि चीन थप रुष्ट बनेको छ । चीनले ताइवानमा थप सैन्य अभ्यास गर्ने चेतावनी दिएको छ । उता ताइवानका राष्ट्रपति साइ इङवेनले चीनको धम्कीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको हो । 

पेलोसीको भ्रमणपछि चीनले ताइवानको खाडीमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । त्यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले ताइवान भ्रमणमा गएको हो । प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति श्रृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका विषयमा छलफल गर्ने बताइएको छ ।

यसैबीच, चिनियाँ वायु सेनाका लडाकु विमानहरू आज फेरि ताइवानी आकाशमा प्रवेश गरेका छन् । अमेरिकी सांसदहरूको टोली ताइवान पुगेलगत्तै चिनियाँ लडाकु विमानले ताइवानको आकाशमा उडान गरेका हुन् ।

पूर्वी जेरुसेलममा इजरायली प्रहरीले प्यालेस्टिनीको हत्या

इजरायली सुरक्षाबलले सोमबार बिहान पूर्वी जेरुसेलममा अवस्थित  एक घरमा छापा मार्ने क्रममा आफ्ना अधिकारीहरूलाई छुरा प्रहार गर्ने एक प्यालेस्टिनी व्यक्तिलाई मारेको बताएको छ  । हाम्रा लडाकूहरूलाई छुरा प्रहार गर्ने एक संदिग्ध व्यक्तिलाई पुलिसले गोली प्रहार गरेको छ ।  मारिएका ती व्यक्ति २१ बर्षीय मोहम्मद अल–शाहम, पहिचान भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जानकारी दिएको छ ।

ती व्यक्तिको इजरायली सैन्य अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेरुसेलम सीमा प्रहरीले काफ्र अकाब गाउँमा हतियारहरू खोजीका क्रममा छापा मारेको थियो । यो इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलमको हिस्सा हो । मारिएका व्यक्तिका बुबा, इब्राहिम अल–शाहमले छोराको टाउकोमा गोली हानेको बताउनुभएको छ । उनको मृत्युको घोषणा गर्नुअघि ४० मिनेटको लागि भुइँमा रगत बगाएर छोडेका बुबा इब्राहिमले दाबी गरेका छन् । प्रहरीले घरमा हतियार फेला पारेको हो वा होइन यस विषय केही जानकारी नभएको जनाइएको छ ।
 
 खेल खबर

युगल सहायक प्रशिक्षक र विनोद गोलरक्षक प्रशिक्षक नियुक्त 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ । दशरथ रंगशालामा असोज ११ गते हुने बंगलादेशबीच मैत्रीपूर्ण खेलका लागि राईलाई सहायक र डंगोललाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

राईले गत वर्षको लिगमा हिमालयन शेर्पा क्लबलाई प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर समेत रहनुभएका राईको प्रशिक्षणमा धनगढी एफसी गत वर्ष नेपाल सुपर लिग (एनएसएल)को फाइनल पुगेको थियो । 

मनाङ मस्र्याङ्दी क्लबका पूर्व गोलकिपर डंगोलले भने लिगमा मनाङकै गोलकिपर प्रशिक्षक रहनुभएको थियो । राष्ट्रिय टोलीको प्रशिक्षणको औपचारिक मिति भने तय हुन बाँकी रहेको प्रवक्ता शाहले बताउनुभयो । एन्फाको साउन २६ गते बसेको केन्द्रिय समितिको दोस्रो बैठकले प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

नेपाल बाहिर रहनुभएका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई अनुरोध गरेपनि एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो ।
 
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहिबारदेखि सुरु हुने

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहिबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् ।कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट र अनन्त तामाङ लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा अटाएका छैनन् ।नेपालले आगामी असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।