Live Streaming

अन्नपूर्ण टप टेन : कांग्रेस नेता गिरीको अन्तेष्टी, कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्म स्थगित

कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्म स्थगित

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनपछि कांग्रेसले सोक प्रस्ताव पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले गिरीको निधनमा दुःख जनाउँदै शोक प्रस्ताव पारित गरेको छ । दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले आजदेखि ३ दिनसम्म केन्द्रीय र मातहतका सबै कार्यालयहरूमा पार्टी झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । 


प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित
 
प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य एवम् प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालयले जनाएको छ । आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । 

थप १११ मेगावाट बिजुली निर्यातको प्रस्ताव, साउनमा निर्यातबाट २ अर्ब आम्दानी

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात गरिसकेको जनाएको छ । 

तोकिएको समयसम्म अस्पतालमा नबस्नेलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । कोसी अस्पतालमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई शल्यक्र्रिया कक्षसहित ४० शय्याको वार्डको आज उद्घाटन गर्दै उहाँले सरकारले तोकेको समयसम्म चिकित्सकले अस्पतालमा बसी बिरामी उपचार गर्नुपर्नेमा जोड दिनुभयो । 

एमाले सरकारमा आएर नागरिकता विधेयक सच्याउँछ : भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्बाट बलपूर्वक पारित गरेको नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताउनुुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाउनुुभयो । 

चुनावमा मनोनयन दर्ता गर्नुअघि सांसद नरहेको सुनिश्चित हुनुुपर्छ : थपलिय

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको हो । उहाँले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिनुभयो । 

काठमाडौंबाट अर्को सहकारी बेपत्ता, विभाग बेखबर

गौतमश्री सहकारीका संचालक भागेको घटना सेलाउन नपाउँदै काठमाडौंको अर्को एक सहकारी ६ महिनादेखि संचालक फरार भएको खुलेको छ । बौद्ध टुसालमा रहेको अक्षता बचत तथा ऋण सहकारी बन्द गरेर ६ महिनादेखि सञ्चालक सम्पर्कविहीन भएको ग्राहरुले बताएका छन् । 

महोत्तरीबाट एक मिटरब्याजी पक्राउ 

महोत्तरीमा एक जना मिटरब्याजी आरोपीतिलाई प्रहरीले पक्राउ गरेको छ । सीतापुर भंगाहा नगरपालिका–५ बस्ने अनिरूद्र साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुुभयो । उनलाई प्रहरीले गएराति घरबाट पक्राउ गरेको हो।उनीविरूद्ध १० जनाले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।  

तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउनराष्ट्रिय व्यवसायी महासंघको आग्रह

नेपाल राष्ट्रिय व्यवसायी महासंघले तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउन सरकारलाई आग्रह गरेको छ । आज महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक पहल गरेर तत्काल नाका खुल्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको हो । 

दशैं–तिहारका लागि भन्सार छुटमा ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी

सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ ।पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।