Live Streaming

 अन्नपूर्ण टप टेन : मतदाता नामावली अद्यावधिक सुरु, हेटौँडाका अवैध संरचनामा डोजर चलाइने


राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभाको समितिमा पेश

राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आजको  राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ । 

राष्ट्रपतिको भूमिका हिजो पनि ठीक थियो, आज पनि ठीक छ : भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सही भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले राष्ट्रपतिको भूमिका उपयुक्त रहेको दाबी गर्नुभएको हो । उहाँले विगतमा रामवरण यादव राष्ट्रपति हुँदा राष्ट्रपतिका अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू नै अहिले राष्ट्रपतिको सक्रियता अनावश्यक भनेर टिप्पणी गरिरहेका आरोप लगाउनुभएको छ । 

एमालेले बनायो चुनाव परिचालन केन्द्रीय कमिटीको सचिवालय 

नेकपा एमालेले मंसिरमा हुने आमनिर्वाचनका लागि ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोगका पदाधिकारीहरू, विभागका सचिव, जनसंगठनको अध्यक्ष र महासचिव सदस्य रहेका छन् । 
 
त्रिविमा उपकुलपतिको पत्रकार सम्मेलन चलिरहँदा नेविसंघ र अनेरास्ववियुबीच झडप

त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गरिरहेका बेला स्मृति भवनबाहिर नेविसंघले विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनका क्रममा विवाद हुँदा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको हो । 

शिक्षामन्त्रीलाई नेविसंघको कडा ध्यानाकर्षण 

नेपाल विद्यार्थी संघले २९ बुँदे माग राखेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पौडेललाई विद्यार्थीका समस्याबारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । 
 
काठमाडौं महानगरले भत्कायो भोटाहिटीको अण्डरपासमाथि बनाइएका अवैध संरचना 

काठमाडौं महानगरपालिकाले रत्नपार्कअगाडिको अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काएको छ । आज महानगर प्रहरीले भोटाहिटी र रत्नपार्क जोड्ने अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काएको हो । सब वेभित्रका सातवटा बाहेक सबै सटर अवैध भएको पाइएकाले ती सबै संरचना हटाउन थालिएको महानगर प्रहरी प्रमुख राजु पाण्डे जानकारी दिनुभयो । 
 
हेटौँडाका अवैध संरचनामा डोजर चलाइने

हेटौँडा उपमहानगरपालिकामा पनि अवैध संरचनामा डोजर चलाइने भएको छ । उपमहानगरले कानुन विपरीत बनेका संरचना हटाउने तयारी गरेको हो । नक्सा पास नगरी बनाइएका संरचना र पार्किङका लागि पास भएका स्थानमा सञ्चालित व्यवसाय हटाउन उपमहानगरले ३५ दिने सूचना जारी गर्ने तयारी गरेको छ । हेटौँडाकी मेयर मिनाकुमारी लामाले ३५ दिने सूचना जारी गर्न निर्देशन दिनुभएको छ । 

नेपालको विद्युत् उत्पादन क्षमता २,२६९ मेगावाट

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गर्नुभएको छ । मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल गरेको जानकारी दिनुभयो । गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट पुगेको उहाँको भनाई छ । 

मतदाता नामावली अद्यावधिक सुरु 

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आगामी मंसिर ४ का लागि तय प्रतिनिधि र प्रदेश सभा निर्वाचन कार्यक्रम अन्तरगत आयोगले आजदेखि नामावली अद्यावधिक गर्न लागेको हो । यसैबीच समानुपातिक निर्वाचन प्रणालीतर्फ दल मनोनयनको आज अन्तिम दिन रहेको छ । 
 
एक महिला मृत फेला

काठमाडौंको शङ्खरापुर नगरपालिकामा एक महिला मृत फेला परेकी छन् । शंङ्खरापुर नगरपालिका वडा नम्बर–१ स्थित नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया बिमला तामाङ (मगर) मृत फेला परेकी हुन् । उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । महिलाको मृत्यु प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।