Live Streaming

अन्नपूर्ण खबर : त्रिविविरूद्ध नेविसंघको आन्दोलन घोषणा, जन्मसिद्धका सन्तानलाई नागरिकता किन नदिएको ?

 


नेपाल बारद्वारा निलम्बित प्रधानन्यायाधीस जबराविरुद्धको प्रमाण महाअभियोग सिफारिस समितिमा पेश महाभियोग पुष्टि हुने प्रमाण रहेको दाबी ।  

नागरिकता विधेयकमाथि दफवार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाइयो जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बनेको भनेर सत्ता गठबन्धनबाट भ्रम फैलाउने प्रयास भएको अध्यक्ष ओलीको आरोप ।

माओवादी र एकीकृत समाजवादीले एकता अवधारणा ल्याउने कांग्रेसले शक्तिको मुल्यांकन नगरे एमाले बाहेकको वाम गठबन्धन गर्ने प्रचण्डको चेतावनी ।

त्रिभुवन विश्वविद्यालयमा भएको बेथितिविरुद्ध नेविसंघद्वारा थप आन्दोलनको घोषणा नेविसंघले आतंक सिर्जना गरेको उपकुलपतिको आरोप उपकुलपतिले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने विद्यार्थी नेताको भनाइ ।

अफगानिस्तानमा तालिवान सरकारद्वारा एक लाख ५० हजारसैन्य कर्मचारी रहेको राष्ट्रिय सेना गठन÷काबुलमा एक वर्षपछि चलचित्र प्रदर्शन सुरू महिला कलाकारको भूमिका बन्द ।

केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ४ विकेटले विजयी साफ यू–१७ च्याम्पियनसिप फुटबलका लागि नेपालको टोली घोषणा ।

अन्नपूर्ण खबर 

महाभियोग सिफारिस समितिलाई नेपाल बारले उपलब्ध गरायो प्रमाण 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएका आरोप पुष्टि गर्ने गरी नेपाल बार एसोसिएसनले आज ३५ बुँदे प्रमाण संसदको महाभियोग सिफारिस समितिमा पठाएको छ ।

महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएसँगै निलम्बमा परेका राणामाथिको आरोपबारे अहिले संसदको महाभियोग सिफारिस समितिले अध्ययन गरिरहेको छ । सो समितिले आरोप पुष्टि हुने प्रमाण मागेपछि बारले ३५ बुँदामा प्रमाण पेस गरेको हो । बारले आरोप पुष्टि हुने समाचारका लिंकहरू पनि पठाएको छ ।

विभिन्न मुद्दामा घुस लेनदेनका लागि भएका कुराको अडियो टेपदेखि रञ्जन कोइराला मुद्दासमेत लाई प्रमाण मान्न भनिएको छ । महाभियोग प्रस्ताव दर्ता हुनुअघि बारको अगुवाइमा राणाविरुद्ध आन्दोलनसमेत भएको थियो ।
 
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभाको समितिमा पठाइने

राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आजको  राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।  

ओलीको प्रश्न– ’जन्मसिद्धका सन्तानलाई नागरिकता किन नदिएको ?’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । तर यस्तो भ्रमको खण्डन गर्न पनि उहाँले सदस्यहरूलाई निर्देशन दिनुभयो ।

एमाले अध्यक्ष ओलीले सरकारलाई लक्षित गर्दै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भनेर प्रश्न गर्नुभएको थियो । नेकपा एमालेले जनताका हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको पनि उहाँको दाबी थियो ।  

निर्वाचनअघि प्रहरी र सशस्त्रका कर्मचारीलाई राजीनामा दिन रोक

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का कर्मचारीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्ना स्वेच्छिक राजीनामा दिन रोक लगाइएको छ ।

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाइएको दुवै सुरक्षा निकायले जनाएका छन् । अहिले कार्यरत जनशक्तिबाट मात्रै चुनावी सुरक्षा व्यवस्थापन गर्न संख्या अपुग हुने भन्दै प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरेको छ ।  

माओवादी र एकीकृत समाजवादीले एकता अवधारणा ल्याउने

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा ल्याउने भएका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुको बैठकले साझा अवधारणा ल्याउने विषयमा सहमति गरेका हुन् ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले दुवै दलको प्राथमिकतामा चुनावको तयारी रहेकाले एकताको विषयमा अपेक्षाकृतरुपमा अघि बढ्न नसकेको बताउनुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादीले एकताका लागि संयोजन समिति बनाउने निर्णय गरे पनि त्यसको औपचारिकरुपमा घोषणा गरेका छैनन् ।

कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : दाहाल 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताउनुभएको छ ।

कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने भनिरहेका बेला दाहालले त्यस्तो परिस्थितिमा वामपन्थी दलहरूको गठबन्धन बन्ने बताउनुभएकोे हो ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताउनुभएको थियो । कांग्रेसभित्र विभिन्न विचार आइरहेको कुरा उल्लेख गर्दै दाहालले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे पनि सोच्नुपर्ने बताएको केन्द्रीय सदस्य अनिल शर्माले जानकारी दिनुभयो ।

माओवादीमा प्रत्येक जिल्लाको एउटा निर्वाचन क्षेत्र नछोड्न सुझाव

नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताले प्रत्येक जिल्लाका कम्तीमा एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नछोड्न नेतृत्वलाई सुझाव दिएको छ । आज वागमती प्रदेश समितिको बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले यस्तो सुझाव दिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिनुभयो ।

बैठकमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका जिल्ला इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । पौडेलका अनुसार काठमाडौं उपत्यका बाहेकका सबै जिल्लाहरुले प्रतिनिधिसभामा कम्तीमा एउटा क्षेत्र मागेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाट भने ठोस दाबी नआएको पौडेलले बताउनुभयो । 

एमालेले बनायो चुनाव परिचालन केन्द्रीय कमिटीको सचिवालय 

नेकपा एमालेले मंसिरमा हुने आमनिर्वाचनका लागि ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोगका पदाधिकारीहरू, विभागका सचिव, जनसंगठनको अध्यक्ष र महासचिव सदस्य रहेका छन् । परिचालन समिति अन्तर्गत सचिवालयमा केन्द्रीय पदाधिकारी, निर्वाचन विभाग, कानुन विभाग र प्रचार विभागका उपप्रमुख र सचिव तथा केन्द्रीय कार्यालयका सचिव सदस्य रहने सचिवालय गठन गरेको प्रचार विगभाका सचिव गगन विष्टले जानकारी दिनुभयो । 

सर्वोच्चको आदेश : राप्रपा नेपाललाई ‘तीर’ चुनाव चिह्न दिने निर्णय रोक्नू

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई ’तीर’ चुनाव चिह्न प्रदान नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा अल्पकालीन आदेश जारी गरेको हो । आयोगले गत असार २७ गते राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय गरेको थियो । आयोगको सो निर्णय विरुद्ध अध्यक्ष थापा सर्वोच्च पुगेका पुग्नुभएको थियो । सर्वोच्चले अन्तरिम आदेशका लागि निर्वाचन आयोग र राप्रपा नेपाललाई भदौ १४ गते छलफलमा बोलाउन पनि आदेश जारी गरेको छ ।

त्रिविविरूद्ध नेविसंघको आन्दोलन घोषणा, पदाधिकारीलाई बर्खास्त गर्न माग

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा भएका बेथितीविरूद्ध थप आन्दोलन गर्ने घोषणा गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि प्रदर्शनपछि आज दिउँसो आयोजित कोणसभामा बोल्दै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आन्दोलन थप चर्काउने घोषणा गर्नुभएको हो ।

आजै बिहान पत्रकार सम्मेलन गर्दै त्रिविले विद्यार्थीले अनावश्यक राजनीति गर्दा समस्या भइरहेको बताएको थियो भने त्रिवि परिसरमा सुरक्षा व्यवस्था गरिदिन गृह मन्त्रालयसँग आग्रह गरेको थियो । त्रिविले तोडफोड र आक्रमणमा उत्रने विद्यार्थीलाई रेष्टिकेट गर्ने चेतावनी पनि दिएको छ ।

नेविसंघले गत असारदेखि त्रिविका लेखा शाखासहित विभिन्न निकायमा तालाबन्दी गर्दा शिक्षक तथा कर्मचारीले पारिश्रमिक पनि पाएका छैनन् । त्रिविले पत्रकार सम्मेलन गरिरहँदा नेविसंघले हुबहु प्रश्नपत्रबारे छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझाउन माग गर्दै प्रदर्शन गरिरहेको थियो ।

सोही बेला अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान भएको थियो । त्यसको केही समयपछि नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पासहितले प्रदर्शन र कोणसभा गरेका हुन्।नेविसंघले त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटासहित पदाधिकारीले राजीनामा दिनुपर्ने माग पनि गरेको छ । 

त्रिविले भन्यो– हुबहु प्रश्नपत्र निकाल्नेलाई कारबाही गरियो

त्रिभुवन विश्वविद्यालयले भने हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको भएपनि नाम सार्वजनिक गर्न नमिल्ने बताएको छ । आजको पत्रकार सम्मेलनमा उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताउनुभयो । नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविको भनाइ छ। विगतमा दुई जना शिक्षकको हत्या भएको पनि त्रिविले बताएको छ ।

 
त्रिवि नेविसंघका सभापति गणेश भण्डारीले उपकुलपतिकै पूर्वाग्रहीपूर्ण व्यवहारका कारण विश्वविद्यालयमा असहज परिस्थिति उत्पन्न भएको दाबी गर्नु भएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ डे मा कुराकानी गर्दै उहाँले उपकुलपति धर्मकान्त बाँस्कोटाको राजीनामा नै आफूहरुको मुख्य माग रहेको बताउनुभयो । 

बन्दका कार्यक्रम स्थगित गरी वार्तामा आउन विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयको आग्रह

आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन शिक्षा मन्त्रालयले नेपाल विद्यालय कर्मचारी परिषदलाई आग्रह गरेको छ । परिषदले गत साउन २३ मा सेवा सुविधा वृद्धिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । तर माग पूरा नभएछि उनीहरू चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।

आजदेखि उनीहरूले विद्यालय बन्द गरेपछि मन्त्रालयले आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेको छ । नेपाल शिक्षक महासंघमार्फत् छलफल तथा वार्तामा सहभागी हुन र हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रम स्थगित गर्न परिषदलाई मन्त्रालयले आज आग्रह गरेको हो ।

विद्यालय बन्दका कार्यक्रम स्थगित गरी पठनपाठनको व्यवस्था गर्ने वातावरण सिर्जना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । विद्यालय कर्मचारीहरूले शिक्षक सरह सेवा सुविधालगायतको माग गरेका छन् । 

सरकारलाई डा. केसीको चेतावनी– ‘माग पूरा नभए भदौ २७ गतेदेखि सत्याग्रह’
 

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूले राखेका माग पूरा नभए भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरे पनि सरकारी पक्षले दुई हप्ताको समय मागेपछि उहाँले सत्याग्रह स्थगित गर्नुभएको हो । डा. केसीले सरकारलाई विभिन्न ६ बुँदे माग बुझाउँदै सत्याग्रहको कार्यक्रम दुई साता पछि सार्नुभएको छ । माग पूरा नभए भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।  

आर्थिक खबर
२ हजारभन्दा तल झ¥यो सेयर बजार 

सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । साताको पहिलो दिन आइतबार नेप्से ३३.३६ अंक घटेर १९८९ अंकमा कायम भएको हो । कुल २ अर्ब ५ करोडको कारोबार भयो । कारोबार खुलेदेखि नै नेप्से निरन्तरजसो ओरालो लाग्यो ।बैंकिङ १०, विकास बैंक ९४, फाइनान्स ६४, होटल तथा पर्यटन ७१, जलविद्युत् ८१, जीवन बीमा ११४, उत्पादन ६३, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा १६५, अन्य १२ र व्यापार उपसमूह ५० अंक घटे । १८२ कम्पनीको मूल्य घट्दा ५ को बढ्यो भने एउटा स्थिर रह्यो । राधि विद्युत्को मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा अरुणकाबेली, शिवम् सिमेन्ट, अपी पावर, हिमालयन डिस्टिलरी र रिडी पावर क्रमशः अगाडि रहे ।

विदेशका खबर

भारतको नोएडामा ३२ तले अनधिकृत भवन ९ सकेन्डमै भत्काइयो

राजधानी नयाँ दिल्लीसँगै जोडिएको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावरलाई आज प्रशासनले ध्वस्त पारेको छ । १ सय ३ मिटर उचाइ भएका ३२ तलाका दुई अग्ला भवनलाई आधुनिक प्रवधिको प्रयोग गरेर ९ सकेन्डमै पूर्ण रुपमा भत्काइएको छ ।

सो भवन नयाँ प्रविधिबाट सजिलै भत्काउँदाको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उत्तर प्रदेशमा पर्ने नोएडाको ९३ सेक्टरमा सुपरटेक कम्पनीले१० तलाको १४ वटा टावर बनाउने अनमुति पाएको थियो । सुपरटेकले अनुमति विपरीत ४० तलाको बनाउन थालेको र ३२ तलाको निर्माण भइसकेको थियो ।

उक्त भवनाम रहेका ६ सय ३३ फ्लैट बिक्री भइसकेको थियो । बहुतले भवनको निर्माणमा ७० करोड खर्च भएको थियो ।भवनलाई ध्वस्त बनाउन १७ करोड ५५ लाख खर्च गरिएको छ । उक्त खर्च अवैध रुपमा भवन बनाएको सुपर टेक कम्पनीबाटै असुल गरिनेछ ।

भवनलाई भत्काउनुअघि आधा किलोमिटरको क्षेत्रलाई खाली गराइएको थियो । वरपरका भवनलाई नोक्सान हुन नदिन सतर्कता अपनाइएको थियो । ट्विन टावरलाई भत्काउन ‘इम्प्लोजन’ प्रविधिको प्रयोग गरिएको हो । भवन ध्वस्त पारेपछि ८० हजार टनको धुलोको पहाड बनेको आकलन गरिएको छ । त्यसलाई सफाइ गर्न ३ महिना लाग्ने बताइएको छ ।

तालिवान शासनद्वारा राष्ट्रिय सेना गठन

तालिवानद्वारा सञ्चालित प्रशासनले एक लाख ५० हजार जना सैन्य कर्मचारी भएको राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार राष्ट्रिय सेनाको सङ्ख्या अझ बढ्न सक्नेछ ।  राष्ट्रिय सेनामा हाल एक लाख ५० हजार कर्मचारी रहेका र त्यसमा अझ वृद्धि हुनसक्ने कार्यवाहक रक्षामन्त्री मौलावी मोहम्मद याकुव मुजाहिदलाई उद्धृत गर्दै बख्तरले जनाएको छ ।

रक्षा मन्त्रालयको प्राविधिक टोलीले बितेको एक वर्षमा बिग्रेका ६० वटा हेलिकप्टर मर्मतसम्भार गरेको छ । गत वर्षको अगष्टमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएपछि त्यहाँको सरकारलाई सत्ताच्युत गरेर तालिवान समूह सत्तामा आएको हो । अमेरिकी नेतृत्वको सुरक्षा फौज अफगानिस्तानमा सक्रिय रहँदा एक लाख ५० हजार जनाको राष्ट्रिय सेनासहित तीन लाख ५० हजार सम्मिलित सुदृढ सुरक्षा बलले देशमा शान्ति सुव्यवस्था कायम गरेको थियो । 

अफगानिस्तानमा एक वर्षको अन्तरालपछि चलचित्र प्रदर्शन सुरू

अफगानिस्तानको राजधानी काबुलमा गत अगस्टमा तालिबानले सत्ता सम्हालेपछि बन्द रहेका सिनेमा हलमा चलचित्र प्रदर्शन सुरू भएका छन् । एक वर्षको अन्तरालपछि देशका सिनेमा हलहरू चलचित्र प्रदर्शनका लागि तयार भए पनि महिला कलाकारको भूमिका भने निकै सीमित रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

एक वर्षपछि बन्द रहेका अफगानी सिनेमा हलहरु पुनः सञ्चालनमा आएकोमा धेरैले खुशी व्यक्त गरिरहेका छन् भने कतिपयले यस प्रक्रियामा महिला अधिकारको हनन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । खामा प्रेसका अनुसार ३७ वटा फिल्म र डकुमेन्ट्री प्रदर्शनका लागि लाइनमा छन् । तर महिला कलाकारको सहभागितालाई निकै कम गरिएको छ । हालै निर्माण भएको एउटा चलचित्रमा एक मात्र महिला अभिनेत्री अतिफा मोहम्मदीले भूमिका निभाउनुभएको छ । 

 खेल खबर

केन्यामाथि नेपालको जित

केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा ग¥यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।  उनी प्लेयर अफ दि म्याच चुनिए ।

यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । आरिफ शेख ४ रनमा अविजित रहँदा करण केसी सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले २÷२ विकेट लिए ।  इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहदै ७३ रन बनाए भने करिम ५५ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १÷१ विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।

यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी खेल भोलि हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । 

साफ यू–१७ च्याम्पियनसिप फुटबलका लागि नेपालको टोली घोषणा
 

श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले २४ सदस्यीय टोलीको घोषणा गरेको छ। आज यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको घोषणा गरेका हुन्।

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा भुटानको सामना गर्नेछ। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा भारत र भुटान रहेको छ। नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ। यस्तै, दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।

समूह ‘ए’मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल सेप्टेम्बर १४ मा हुनेछ ।