Live Streaming

अन्नपूर्ण टप टेन : अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा, अमेरिकामा विद्यार्थीको ऋण मिनाहा 


प्रत्यक्षमै १५० सीट जित्न सकिने घनश्याम भुषालको प्रस्ताव

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको जारी तीनै तहका कमिटी बैठकमा वाम एकताको पक्षमा आफ्नो बेग्लै प्रस्ताव पेस गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उहाँले भदौ ७ गतेकै स्थायी कमिटी बैठकमा चार पेज लामो ‘फरक मत’ पेस गर्नुभएको थियो । यद्यपी उहाँको सो प्रस्ताव औपचारिक रूपमा सार्वजनिक भएको छैन । आजको पोलिटब्युरो बैठकमा पनि भुसालले आफ्नो मत प्रस्तुत गर्नुभएको छ । 
 
विचार मिल्नेसंग एकता गारौँ : झलनाथ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिष्ट समूहहरूसँग एकताको प्रक्रियालाई अगाडि बढाउनु पर्ने प्रस्ताव गर्नुभएको छ । आज नेकपा एस पुनर्गठन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विचार मिल्ने कम्युनिष्ट समूहहरूसँग एकताको प्रक्रियालाई अघि बढाउनु पर्ने बताउनुभउको हो । 

इलामबाट झलनाथ खनाल र सञ्जीव राईको नाम सिफारिस

नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम–१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ । इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप–महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।
 
शंखमूल बेसमेन्टमा सञ्चालनमा रहेको बर्गर हाउस हटाउन निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिनुभएको छ । महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिनुभएको हो । 

कीर्तिपुरमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

उता कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर–१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो । 

राष्ट्रपतिलाई स्वविवेकीय अधिकार संविधानले दिएको छैन : बाबुराम

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  नागरिकता विधेयकको विषयलाई लिएर सुरक्षा अधिकारीहरूसँग छलफल गरेपछि संविधानविपरीत कार्य गरेको बताउनुभएको हो । 
 
समाजवादी पार्टीले थप्यो सहअध्यक्षसहित ९८ केन्द्रीय सदस्य

नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनीत गरेको छ । बैठकले चौधरीलाई सहअध्यक्ष र ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो । बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गर्दै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई तोकेको छ । 

अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा 

अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा गरेको छ । अर्थ सचिब कृष्णहरी पुस्करले सचिवस्तरीय निर्णय गर्दै ५८ उपसचिवकोे सरुवा गर्नुभएको हो । सरुवा सूची अनुसार सबैभन्दा धेरै २७ जना विभिन्न करदाता कार्यालयमा कार्यरत प्रमुख कर अधिकृत फेरिएका छन् भने ९ जना विभिन्न भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत फेरिएका छन् । त्यो बाहेक संघीय अर्थ मन्त्रालय, मन्त्रालय मातहतका समिति तथा प्रदेश अर्थ मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा भएको हो ।

अमेरिकामा विद्यार्थीको ऋण मिनाहा 

अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यार्थीहरुको १० हजार डलरसम्मको ऋण मिनाह गर्ने घोषणा गर्नुभएको छ ।संघीय सरकारबाट पेल ग्रान्ट अन्तर्गत ऋण लिएका विद्यार्थीहरुले यो सुविधान पाउने छन् । तर, परिवारको वार्षिक आय एक लाख २५ हजार डलर भन्दा कम हुनेहरुले मात्रै यस्तो सुविधा पाउने पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ ।

साफ च्याम्पियनसिपको दुई हप्ता अघि नै भुटानी टिम नेपालमा

साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टोलिआज बिहान काठमाडौं आइपुगेको छ । भदौ२१ गतेदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टोलि झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप अगाडी नै नेपाल आइपुगेको हो । सन् २०१९ पछि कोभिड १९ का कारण निरन्तर हुन नसेकेको साफ फेरि नेपालमै हुन लागेको हो ।