Live Streaming

अन्नपूर्ण दिनभर : सत्ता गठबन्धनमा राजनीति तरंगित, प्रतिनिधिसभा चुनावमा ८७ दल सहभागी हुने

सिट बाँडफाँटबारे गठबन्धनको कार्यदल बैठकमा दलहरूको आ–आफ्नै दाबी÷१०० सिट नघट्ने कांग्रेसको अडान÷ माओवादीले माग्यो ६० सिट ।

राष्ट्रपतिको राजीनामा कार्डले सत्ता गठबन्धनको राजनीति तरंगित पछिल्ला गतिविधिबारे शिर्ष नेताहरु आक्रामक संविधानविद् अधिकारी भन्नुहुुन्छ : राजीनामा दिएपनि उपराष्ट्रपतिबाट विधेयक प्रमाणिकरण गराउन सकिन्छ ।

समानुपातिक सांसदलाई सोही पदमा नदोहो.याउन एमाले पोलिटब्युरो बैठकमा सुझाव केन्द्रिय कमिटी बैठकका लागि ११ एजेन्डा तय÷वाममोर्चा बनाए प्रत्यक्षमै १५० सीट जित्न सकिने घनश्याम भुषालको दावी । 

नेपाल र भारतमा विवादित अग्निपथ कार्यक्रमलाई निरन्तरता दिने भारतको प्रष्टीकरण सहजीकरण गर्न भारतले पठाएको पत्रको जवाफ नेपालले अँझै पठाएन  अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक कोरम नपुगि स्थगित ।

पाकिस्तानका पुर्व प्रधानमन्त्री खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश पूर्वप्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै जापानका प्रहरी प्रमुखद्वारा राजीनामाको घोषणा । 

घरेलु टोली केन्याविरुद्धको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको सहज जित केन्या ५ विकेटले पराजित ।

अन्नपूर्ण खबर 

गठबन्धनमा सिट बाँडफाँड 

सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमार्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । 

यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । यद्यपि दलहरुबीच यसबारे थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइनेछ । यस्तै आजको बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ ।

त्यसका लागि भोलि पुनः बैठक बसेर ड्राफ्ट तय गरिने पुरीको भनाइ छ ।  कार्यदलको बैठकमा नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ । 

सत्ता गठबन्धनको राजनीति तरंगित

राष्ट्रपति विद्यादेवि भण्डारीको राजीनामा कार्डले सत्ता गठबन्धनको राजनीति तरंगित बनेको छ । सिट बाँडफाँटबारे छलफल गर्न हिजो बसेको शीर्ष नेताहरुको बैठकमा नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदममा धेरैको चासो देखिएको बुझिएको छ ।

सत्ता गठबन्धन भित्र राष्ट्रपतिको सम्भावित कदमलाई चाँसोमा मात्रै सिमित राखिएन, आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा त राष्ट्रपतिका पछिल्ला कदमहरुबारेसंशय नै प्रकट भएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक फेरि पारित भएर गएमा त्यसलाई स्वीकृत नगरी राजीनामा दिने सम्भावनाका बारेमा समेत नेताहरूबीच छलफल भएको बताइएएको छ । राष्ट्रपतिको भूमिकाप्रति प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव बढी आक्रामक बन्नुभएको छ ।

 सत्ता गठबनधनको बैठकपछि आयोजित पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसेनापतिहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले भोज खुवाएकोमा गठबन्धन बैठकले गम्भीर रूपमा लिएको बताउनुभएको छ ।


राष्ट्रपतिले के गर्न खोजेकी हुन् ? भोलि अनिष्ट हुने त होइन ?भनेर बालुवाटारमा छलफल भएको र आफुहरुले निगरानी गरिरहेको बताउनुभयो । 


राजीनामाको चर्चाले गठबनधनको राजनीति तरंगित भइरहदा नागरिकता विधेयकमा अबको बाटो बिषयमा राष्ट्रपतिको छलफलमा उपस्थित हुनुभएका संविधानविद् डा. विपीन अधिकारीले भने केही सदस्यहरुले राजीनामाबारे जिज्ञासा राख्दा राष्ट्रपतिले कुनै जवाफ नदिएको बताउनुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै अधिकारीले आफुले बुझेअनुसार राष्ट्रपति राजीनामा दिने मुडमा नभएको बताउनुभयो । राष्ट्रपतिकहाँ पुगिसकेको विधेयक निश्क्रिय नहुने बताउदै अधिकारीले यदि राष्ट्रपतिले राजीनामा दिएकै अवस्थामा पनि उप–राष्ट्रपतिकहाँ विधेयक पठाएर प्रमाणिकरण गराउने बाटो खुला रहेको बताउनुभयो । 


कानुनमन्त्रीलाई राष्ट्रपतिको प्रश्न 

राष्ट्रपति विद्यदेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई संक्रमणकालीन न्यायसम्बनिध विधेयकबारे प्रश्न गर्नुभएको छ । आज राष्ट्रपति कार्यलय शीतल निवासमा भेट्न पुग्नुभएका मन्त्री कोइरालालाई अहिले पीडितहरुले राखेका सरोकारबारे जिज्ञासा राख्नुभएको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक पीडितलाई न्याय दिने सुनिश्चितता गर्छ कि गर्दैन भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।  महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित राष्ट्रपति कार्यालय पुग्नुभएका मन्त्री कोइरालाले विधेयकका बारेमा उठेका विषयबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्नुभएको थियो । मन्त्री कोइरालाका अनुसार सरोकारवालाहरुले उठाएका कुराहरुमा सरकार सकारात्मक रहेको छ । 
 
एमाले पोलिटब्युरो बैठक सकियो

नेकपा एमालेले पोलिटब्युरो बैठकमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सांसद रहेकाहरूलाई सोही पदमा दोहोयाउन नहुने नेताहरुले सुझाव दिएका छन् । बैठकमा अधिकांश सदस्यले समानुपातिकको अवसर एकपटकभन्दा बढी दिन नहुने राय राखेका हुन् ।आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोहोयाउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताएका थिए । 

त्यस्तै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउन नहुने धा।णा आएको पनिपोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय निर्वाचनमा अन्य दलबाट उम्मेदवार बनेर पराजित भएका र अहिले एमालेमा प्रवेश गरेकालाई समेत टिकट दिनेबारेमा पार्टीले मापदण्ड बनाउनुपर्ने बैठकमा कुरा उठेको छ ।

राष्ट्रियसभा सदस्यलाई राजीनामा गरेर प्रतिनिधिसभा वा प्रदेशसभा चुनावमा उम्मेदवार बनाउने कुरामा समेत एमालेभित्र असहमति देखिएको छ । स्थानीय चुनावमा कम संख्या जितेका कारण राष्ट्रियसभामा गठबन्धनसँग लडेर जित्ने सम्भावना कम भएकाले अहिले भएका सांसदलाई त्यहिँ राख्नुपर्ने कुरा उठेको छ ।

पोलिटब्युरोले शुक्रबारबाट सुरू हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा पारित गरेको छ । चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा छ । 

आजको बैठकम ओलीले राजनीति प्रतिवेदनका बारेमा जानकारी दिँदै नेताहरुका सुझाव माग्नुभएको थियो । ओलीले गत चुनावमा ठूलो धाँधली भएर केही संख्यात्मकरुपमा एमाले पछि परे पपुलर मत एमालेकै बलियो रहेको बैठकमा बताउनुभयो । उहाँले चुनाव हार्नुमा सत्ता गठबन्धन उसको धाँधलीमात्रै नभएर पार्टी भित्रको आन्तरिक गतिविधि पनि कारक रहेको उल्लेख गर्नुभएको थियो । शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनौैट मापदण्ड पारित गर्नेछ । 

प्रत्यक्षमै १५० सीट जित्न सकिने घनश्याम भुषालको प्रस्ताव

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको जारी तीनै तहका कमिटी बैठकमा वाम एकताको पक्षमा आफ्नो बेग्लै प्रस्ताव पेस गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उहाँले भदौ ७ गतेकै स्थायी कमिटी बैठकमा चार पेज लामो ‘फरक मत’ पेस गर्नुभएको थियो ।

यद्यपी उहाँको सो प्रस्ताव औपचारिक रूपमा सार्वजनिक भएको छैन । आजको पोलिटब्युरो बैठकमा पनि भुसालले आफ्नो मत प्रस्तुत गर्नुभएको छ । भुसालले नेकपा एमालेले वामपन्थी एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने भन्दै माओवादी वा नेकपा एसबाट त्यो सम्भव नहुने तर्क गर्नुभएको छ । 


आफूले वैचारिक सैद्धान्तिक कुरा राख्दा विवादमा तान्ने,अनुशासन आयोगको कारवाहीको हल्ला चलाउने र आरोपित गर्ने काम भइरहेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले वाम एकता नगर्ने हो भने आसन्न निर्वाचन एमाले र कम्युनिष्ट आन्दोलनका लागि क्षति हुने र कांग्रेसले कम्युनिष्टको मत लिएर कुशासन चलाउने बताउदै उहाँले कम्युनिष्ट मिल्ने हो भने अहिले पनि १६५ मध्ये १५० सीट जित्न सकिने दाबी गर्नुभयो । 

अग्निपथ कार्यक्रमअन्तर्गत नै गोर्खा भर्तीलाई निरन्तरता दिन्छौं : भारत

भारतले मुलुकभित्र र नेपालमा पनि विवादित अग्निपथ कार्यक्रमलाई निरन्तरता दिने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले आज भारतीय सेनामा अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने जनाएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेको बताउनुभयो ।

 परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले ३१ जेठमा पत्र पठाए पनि नेपाल सरकार अहिलेसम्म लिखित जवाफ पठाएको छैन । नेपालले जवाफ नदिएसँगै आज र अगामी भदौ १६ गते हुने भनिएको गोर्खा भर्तीको प्रक्रिया हालका लागि स्थगित भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले जुन २०२२ मा अग्निपथ योजना सार्वजनिक गर्नुभएको थियो  । 

जसमा  जसमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । भर्ती भएकालाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइनेछ र चौथो वर्ष बढेर ६ लाख ९२ हजार पुग्ने छ । चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर सकिनेछ । यसरी घर फर्किँदा उनीहरुले ११ लाख ७ हजार भारु उपदान पाउनेछन् । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र भविष्य विग्रिने भन्दै अग्निपथ योजनाको भारतमै विरोध भइरहेको छ ।


अग्निपथबारे छलफल गर्न बैठक नै बसेन 

अग्निपथबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाएपनि मन्त्री उपस्थित हुनुभएन । २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित थिए । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको समिति सभापति पबित्रा निरौला खरेलले बताउनुभयो । 

प्रतिनिधिसभा चुनावमा ८७ दल सहभागी हुने

आगामी प्रतिनिधिसभा चुनावमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो ।त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ ।

त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा चुनावमा लागि ७९ वटा निर्वाचन चिह्न रहेको छ । त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् । त्यसपछि वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ ४ वटा रहेको आयोगले जनाएको छ । प्रतिनिधि र प्रदेशसभा चुनाव आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ ।

सुकुम्बासीले जलाए मधेसका मुख्यमन्त्रीको पुत्ला, जनकपुर तनावग्रस्त 
 

मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे अभियानी तथा सुकुम्बासीहरुसँग प्रहरीको झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्बासीहरु मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला जलाउनमा प्रहरीले अवरोध गर्दा झडप भएको बताइएको छ ।

पुत्ला दहन कार्यक्रममा ठूलो संख्यामा दलित तथा सुकुम्बासी महिलाहरु सहभागी भएका थिए । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दीको प्रयाससमेत गरेका थिए । 

सो क्रममा सयौं महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुख्यमन्त्रीको पुत्ला दहन तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने जस्ता विरोधको कार्यक्रम चुरे तथा वन जंगल संरक्षण अभियानले राखेको थियो ।

अभियानका संयोजक सुनिल यादवका अनुसार प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर १५० जनालाई पक्राउ गरेको बताउनुभयो । सिरहाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता लिनुपर्ने, सक्कली सुकुम्बासीलाई अविलम्ब जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुम्बासीले वनको जग्गा वितरण गर्ने कार्य रोक्नुपर्ने लगायतका माग राखेर अभियान निरन्तर आन्दोलन गर्दै आएको छ ।

यसरी चल्यो अल्फाबिटा कम्प्लेक्समा डोजर
 

काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा बनाइएको अबैध संरचना हटाउने कार्यलाई तिव्रता दिएको छ । महानगरका मेयर बालेन शाहसहितको टोलीले आज बानेश्वर शंखमुल लगायतका क्षेत्रका विभिन्न संरचना हटाउन निर्देशन दिनुको साथै केही संरचना हटाएको छ । आज नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । 

नियमविपरीत बनाइएका संरचना हटाउन अग्रीम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले नहटाएपछि आज दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा डोजरले भत्काइदिएको हो । यसैबीच अल्फाबिटाच कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएपछि मेयर शाहले अन्य अवैध संरचना पनि भत्काइने चेतावनी दिनुभएको छ । सो कम्प्लेक्सको अवैध संरचना भत्काएको तस्वीरसहित सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उहाँले अवैध संरचना आफैँ भत्काउन चेतावनी भन्नुभएको छ । 

क्षतिपूर्ति माग्ने निर्णय
 

काठमाडौंमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघको आकस्मिक बैठक बसेको छ ।आज बसेको वाणिज्य संघ काठमाडौंको बैठकले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतंकित गरेको आरोप लगाउनभयो । व्यवसायीहरू बालेनलाई नै भेटेर क्षतिपूर्ति माग्ने निर्णय भएको उहाँको भनाइ छ । ३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको व्यवसायीको जिकिर छ ।

घाटामा गइरहेको रेलवे कम्पनीका महाप्रबन्धकको गुनासो– अर्थ मन्त्रालयले पैसा दिएन

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो गर्नुभएको छ । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय कम्पनी केआरसीएलसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले सम्झौताबमोजिमको रकम नदिएको गुनासो गथर्नुभएको हो ।

उहाँले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार रकम दिन मन्त्रालयले बेवास्ता गरेको बताउनुभयो । महाप्रबन्धक झाले मन्त्रालयले पूर्वमहाप्रबन्धकलाई पैसा दिने तर आफू आएपश्चात् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाउनुभयो । 

२४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, ४४४ संक्रमित
 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज देशभर ३ जनाको मृत्यु भएको हो । यस्तै ४ हजार ९५४ नमुना परीक्षण हुँदा ४४४ जना संक्रमित भएका छन् ।

१ हजार ९९६ पीसीआर परीक्षणमा २११ र २ हजार ९५८ एन्टीजेन परीक्षणमा २३३ जना संक्रमित फेला परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।२४ घण्टामा ३०७ जना निको भएका छन् । बिहीबारमसम्म सक्रिय संक्रमितको संख्या ४ हजार १९९ रहेको छ ।२४ घण्टामा ५ हजार ५९७ जनाले मात्रै खोप लगाएका छन् ।

१८ अंकले शेयरबजार घटे पनि अपर हेवाखोलाको शेयरमूल्य ९ प्रतिशतले वृद्धि
 

साताको कारोबारको पाचौँ दिन आज शेयरबजार मापक परिसूचक नेप्से ओरालो लागेको छ । आज बजार १८.३० अंकले घटेर २०३९.५४ बिन्दुमा झरेको छ । बजार घटेसँगै आज ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले घटेर ३९४.५१ बिन्दुमा अडिएको छ ।

आज कारोबारमा आएका २१९ वटा कम्पनीमध्ये १५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १६८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस दिन ३२ हजारपटकको शेयर कारोबारमा १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार रुपैयाँबराबरको ४२ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ । बजारमा गिरावट आएपनि आज अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सो कम्पनीको शेयरमूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३६४ रुपैयाँ कायम भएको छ । आज सर्वाधिक गुमाउनेमा मैलुङ खोला जलविद्युतका लगानीकर्ता रहेका छन् । आज समग्र बजारमा गिरावट आउँदा कारोबारमा आएका १३ वटै उपसमूहका सूचक राताम्मे देखिएका छन् । फाइनान्स र अन्य उपसमूहको सूचकमा २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी
 

सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ । साथै मूल्यवृद्धि रोक्न पनि केही हदसम्म सहयोग पुग्ने सरकारी पक्षको विश्वास छ । 


यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि ६ करोड ४० लाख रुपैयाँ बराबरको खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ । यसअघिकै निरन्तरता दसैँको घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी १, २ दिन अघि काठमाडौँ आइपुग्ने गरी खसी–बोकाको खरिद प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।

यस वर्ष पनि कम्पनीले २ हजार खसी–बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले कुल ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । तत्काल खसी–बोका तथा च्याङ्ग्राको खरिद गरिनेछैन, तर घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी खाद्यले तयारी थालेको छ । 

विदेशका खबर
इमरान खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश

 

पाकिस्तानको एउटा अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ । इस्लामाबादस्थित प्रतिआतंकवाद अदालत(एटीसी)ले खानलाई सेप्टेम्बर १ सम्मका जमानत दिएको हो । खानविरुद्ध गत हप्ता राजधानीमा आयोजित एक यालीमा महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

न्यायाधीश राजा जवाद अब्बास हसनको इजलासले १ लाख धरौटीमा जमानत दिएको हो।अन्तर्राष्ट्रिय मिडियाका अनुसार खानले गत शनिबार इस्लामाबादमा एक भाषणको क्रममा प्रहरी प्रमुख र एक महिला मजिस्ट्रेट विरुद्ध कारबाही गर्ने भनेपछि प्रहरीले उनीमाथि अुसन्धान सुरु गरेको हो ।खानलाई पक्राउ पर्न सक्ने आशंकामा समर्थकहरू शनिबार राति नै उनको घरबाहिर भेला भएका थिए । यदि उहाँलाई पक्राउ गरेमा राजधानी कब्जा गर्ने उनीहरूले चेतावनी दिएका थिए । साथै खान पक्राउ परेमा प्रधानमन्त्री शाहबाज शरीफले त्यसको परिणाम भोग्नुपर्ने भन्दै उनीहरूले चेतावनी दिएका थिए ।

जापानका प्रहरी प्रमुखले राजीनामा दिने
 

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गत महिना भएको हत्याको जिम्मेवारी लिन जापानको प्रहरी निकायका प्रमुखले बिहीबार राजीनामा दिने बताउनुभएको छ । जापानको प्रहरी (एनपीए) का आयुक्त जनरल इटारु नाकामुराले चुनावी अभियानका क्रममा सडकमा भाषण दिने क्रममा आबेको गोली लागेर मृत्यु भएको समयमा सुरक्षाको समीक्षा सार्वजनिक गरेपछि यस्तो घोषणा गर्नुभएको हो ।

नाकामुराले पत्रकार सम्मेलनमा बोल्दै एनपीएले यस्तो घटना दोहोरिन नदिन नयाँ प्रणालीअन्तर्गत नयाँ सुरक्षा आवश्यकतामा आधारित उपायहरू निरन्तर कार्यान्वयन गर्न आवश्यक छ भन्ने विश्वास गरेको बताउँदै राष्ट्रिय जनसुरक्षा आयोगलाई आफ्नो राजीनामा दिन लागेको बताउनुभयो । आबेको हत्यापछि गरिएको समीक्षाको नतिजाले पूर्व नेतालाई सुरक्षा दिन प्रहरी असफल भएको देखाएको छ । गत जुलाई ८ मा जापानको माथिल्लो सदनको चुनावअघि पश्चिमी शहर नारामा सम्बोधनका क्रममा आबेमाथि एक बन्दुकधारीले गोली हानी घाइते बताएका थिए । उहाँको उपचारका क्रममा पछि मृत्यु भएको थियो ।

खेल खबर
केन्यामाथि नेपालको सहज जित

घरेलु टोली केन्याविरुद्धको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सहज जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ३३ रन जोड्दै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे । ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए ।

 
आदील अन्सारी २ रनमा अविजित रहे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । अब नेपालले भोलि शुक्रबार दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ । त्यस्तै नेपालले तेस्रो टी–ट्वान्टी भदौ १२ गते, चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ  ।