Live Streaming

अन्नपूर्ण टप टेन : महाअभियोग सिफारिस समितिमा जबराको बयान, विश्वप्रकाश शर्मा झापा १ बाट उम्मेदवार बन्ने 

महाअभियोग सिफारिस समितिमा जबराको बयान 

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समिति र संसदलाई नै प्रश्न गर्नुभएको छ । आज बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो ।लामो जवाफ दिनुभएका जबराले प्रक्रियागत जवाफ दिनुभएको थियो । समितिका सदस्य मीन विश्वकर्माले जबरा घरिघरि समितिलाई नै प्रश्न गर्ने र संसदलाई नै प्रश्न गर्ने शैलीमा जानुभएको बताउनुभयो ।

नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाए : देश गुरुङ 

नेकपा माओवादी केन्द्रका महासचिव देवगुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको बताउनु भएको छ । नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु अहिले सलबलाएको उहाको भनाइ छ । लमजुङको मध्यनेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उदघाटन गर्दै गुरुङले मुलुक इष्ट इण्डिया कम्पनी र नेपालबीचको युद्धपछिकै ठुलो संकटमा रहेको बताउनु भएको हो ।

विश्वप्रकाश शर्मा झापा १ बाट उम्मेदवार बन्ने 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस हुनु भएको छ । मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो । आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनु भयो ।

अखिल क्रान्तिकारीले चुनाव लक्षित फोर्स गठन गर्ने

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने २२ भदौको कार्यक्रममा उक्त फोर्स गठन हुन लागेको हो ।चुनावी प्रयोजनका लागि संगठनका देशभरका कार्यकर्ताहरुमध्यबाट छानेर संगठित दस्ता बनाउन लागिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिनुभयो ।

राप्रपा नेपालले मेची महाकाली स्वाभिमान यात्रा गर्ने

राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।राप्रपा नेपालको आज बसेको सचिवालयको बैठकले गरेको निर्णय अनुसार मेचीको काकडभिट्टाबाट ३० भदौमा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर समापन हुनेछ ।बैठकले समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय पनि गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिनुभयो ।

मिटर व्याजीको विरोधमा किसानहरु हलो जुवा बोकेर निस्के सडकमा

मिटरब्याजबाट पीडित भएकाहरुलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो ।प्रदर्शनमा किसानहरु हलो जुवासहित सहभागी छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्ने बताएका छन् ।मिटर व्याजीका कारण घरबारबिहीन हुँदा पनि सरकारले आफूहरुलाई न्याय नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कर्मचारीलाई विभेद गरेको भन्दै गण्डकीका स्थानीय तह कर्मचारीरुष्ट

गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक लगाएर ट्रेड युनियनका सिमित कर्मचारीका स्वार्थमा आउन लागेको आरोप लगाएका छन् ।गण्डकीको प्रदेश सभा भदौ ८ गते रातिबाट नै अन्त्य भइसकेको छ । तर, प्रदेश सरकारले भने अध्यादेशबाट प्रदेश निजामती कर्मचारी सम्बन्धी कानून ल्याउने तयारी गरेको छ ।

आजदेखि सुदूरपश्चिममा गौरा पर्व सुरु

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर–घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी पनि भन्ने गरिन्छ । आज ब्रतालु महिलाले घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी ‘बिरुडा’ भिजाइ गौराको सुरुआत गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ ।

प्रतिवन्ध लगाएको वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।सरकारको सो निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्को निर्णय गर्दै आयात प्रतिवन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिवन्ध कायमै राख्ने निर्णय गरेको थियो ।

चीनले मुस्लिम र अल्पसंख्यकको मानव अधिकार उल्लंघन गरेको राष्ट्रसंघको आरोप

संयुक्त राष्ट्रसंघले चीनमाथि सिजियाङ प्रान्तमा रहेका उइघुर मुस्लिम समुदाय र अन्य अल्पसंख्यक समूहको मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएको छ । लामो समयदेखि चर्चामा रहेको एक रिपोर्ट सार्वजनिक गर्दै राष्ट्रसंघले यस्तो आरोप लगाएको हो । चीनले उक्त रिपोर्टलाई पश्चिमा मुलुकले आफूविरुद्ध देखाएको प्रहसनको संज्ञा दिएको छ । उक्त रिपोर्ट सार्वजनिक नगर्न चीनले दबाबसमेत दिँदै आएको बीबीसीले जनाएको छ ।रिपोर्टमा चीनले उइघुर मुस्लिम र अन्य अल्पसंख्यक समुदायमाथि गरेको ज्यादतीलाई लुकाउन यथासम्भव प्रयास गरेको दाबी गरिएको छ । अस्पष्ट राष्ट्रिय सुरक्षा कानूनको प्रयोग गरेर चीनले अल्पसंख्यकमाथि ज्यादती गरेको राष्ट्रसंघको आरोप छ ।