Live Streaming

अन्नपूर्ण खबर : नागरिकता विधेयक पारित गर्ने तयारी, उच्च अदालतका रजिष्ट्रार नै भ्रष्टाचार मुद्दामा  

सामूहिक हत्याका आरोपित अफ्ताब आलम रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस÷विश्लेषक सुरेन्द्र केसी भन्नुहुन्छः संसदीय व्यवस्थामा आपराधिक पृष्ठभूमीका उम्मेदवार स्वीकार्नु नौलो बिषय होइन । 

महाअभियोगको वैधानिक हैसियतमाथि नै निलम्बित प्रधानन्यायाधीश जबराको प्रश्न÷जबराले व्याख्यात्मक शैलीमा जवाफ दिएको सांसद विश्वकर्माको भनाइ ।

बुबा–आमालाई अलपत्र पार्ने सन्तानले सम्पत्तिमा दाबी गर्न नपाउने÷जेष्ठ नागरिकको जीवनयापनमा समस्या भएको देखिए स्थानीय तहले हस्तक्षेप गर्नसक्ने ।

काठमाडौँ उपत्यकासहित देशभर डेंगुका बिरामीको संख्या तीव्र रुपमा बढ्दै÷ अस्पतालमा बिरामीको चाप बढ्दा व्यवस्थापनमा समेत समस्या ।

चीनले मुस्लिम र अल्पसंख्यकको मानव अधिकार उल्लंघन गरेको राष्ट्रसंघको आरोप÷अल्पसंख्यकमाथि गरेको ज्यादतीलाई लुकाउन यथासम्भव प्रयास गरेको दाबी ।

साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ÷एसिया कप क्रिकेटमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै ।

                                                                              अन्नपूर्ण खबर 

जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस

जिउँदै मान्छेलाई इँटा भट्टामा हालेको आरोपमा र्पुपक्षका लागि थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिनुभयो । 

आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् । २०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो 

घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ । श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो ।

दुई साताअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत ललितपुरस्थित नख्खु कारागारमा मोहम्मद अफताब आलमलाई भेट्न पुग्नुभएको खुलेको छ । भेटका क्रममा आलमले कार्कीलाई आफू पनि आसन्न प्रतिनिधिसभा चुनाव लड्ने बताएका थिए । 

आलम मात्रै होइन जेलमै जेलजिवन बिताइरहेका प्रतिनिधिसभाका अर्का निलम्बित सांसद रेशम चौधरीलाई भेट्न आउने नेताको लर्को लाग्ने गरेको बुझिएको छ । डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न तीन साताअघि महन्थ ठाकुर पुग्नुभएको थियो भने केही दिन पहिले मात्रै नेकपा एमालेका मणि थापा पनि पुगेको स्रोतले बताएको छ । 

राजनीतिक दलहरुले समेत उम्मेदवारको छवि भन्दा पनि पार्टीमा प्रभाव र शिर्ष नेतृत्वसँगको पहुँचलाई हेर्ने गरेका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले संसदीय व्यवस्था भएका देशमा आपराधिक पृष्ठभूमीका उम्मेदवार स्वीकार्नु कुनै नौलो बिषय नभएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै डा. केसीले संसदीय व्यवस्था भएका देशहरुमा १५ देखि ३५ प्रतिशत सम्म सांसदहरु आपराधिक पृष्ठभूमीकै हुने गरेको समेत बताउनुभएको छ । 

महाअभियोग सिफारिस समितिमा बयान 

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समिति र संसदलाई नै प्रश्न गर्नुभएको छ । आज बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो । कांग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले समितिले सोधेको प्रश्नमा जबराले व्याख्यात्मक शैलीमा जवाफ दिएको बताउनु भएको छ ।

समितिले सोधेको प्रश्नमा धेरै भूमिका बाँधेर‚ धेरै प्रक्रियाबाट गएको र घरिघरि समिति र संसद्लाई नै प्रश्न गर्दै व्याख्यात्मक शैलीमा जबराले जवाफ दिएको सांसद् विश्वकर्माले बताउनुभयो ।

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको थियो। महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।

नागरिकता विधेयक पारित गर्ने तयारी

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता नागरिकता विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी गरिएको छ । विधायन व्यवस्थापन समितिले हिजो पारित गरेको उक्त संशोधित विधेयक अहिले बसिरहेको राष्ट्रियसभाको दोस्रो बैठकमा पेस गरी छलफल भइरहेको छ । नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन आज बसेको बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गर्नु भएको थियो ।

विधायन समितिले हिजो बहुमतले पारित गरेको उक्त विधेयकमा एमाले सांसदहरूले फरक मत राखेका थिए । संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाउनु भएको थियो ।

यसपछि बसेको प्रतिनिधिसभा बैठकले हुबहु विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको विधेयक विनासंशोधन पारित गरी राष्ट्रियसभामा पेस भएको हो ।

बुबा आमालाई अलपत्र पार्ने सन्तानले सम्पत्तिमा दाबी गर्न नपाउने

बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरुले जेष्ठ नागरिकको सम्पत्तिमा दाबी गर्न नपाउने भएका छन् । सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयनमा ल्याएको छ । यस ऐन अनुसार बुबा–आमा तथा जेष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह नगरिएका वा अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालन पोषणको व्यवस्था गर्नुपर्छ ।

त्यस अवस्थामा जेष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहको सरकारले उनीहरुको सम्पत्ति आफ्नो स्वामित्वमा लिनेछ । यो सम्पत्ति निज जेष्ठ नागरिकको हक र हितमा परिचालन गर्नुपर्नेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज राजपत्रमा प्रकाशित गरेसँगै यो ऐन कार्यान्वयनमा आएको हो । ऐन अनुसार कुनै पनि व्यक्तिले आफ्ना जेष्ठ नागरिकको पालना नगरेको सम्बन्धमा स्थानीय तहमा उजुरी परेमा स्थानीय तह मातहत रहने न्यायिक समितिले जेष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति निजको सट्टा पालना पोषण तथा हेरचाह गर्ने नातेदार र हकवालाको जिम्मा लगाउन समेत सक्ने गरी व्यवस्था बनेको छ ।

यसअघि जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा यस्तो प्रावधान थिएन । यस्तै, कुनै पनि जेष्ठ नागरिकको जीवनयापनमा समस्या भएको देखिएमा स्थानीय तहले सन्तान वा नजिकको हकवालाबाट मासिक रकम सम्बन्धित जेष्ठ नागरिकको खातामा पठाउन आदेश दिन सक्ने भएको छ ।

तर, तोकिए अनुसारको आम्दानी सन्तानको पनि नभएको पाइएमा भने जेष्ठ नागरिकको आधारभूत आवश्यकता अब स्थानीय तहले पुरा गरिदिनु पर्ने गरी कानून बनेको छ । यो प्रक्रिया जारी रहुन्जेल जेष्ठ नागरिकको हेरचाहका लागि स्थानीय तहले उनीहरुकै खातामा सन्तानबाट एकमुष्ट रकम समेत राख्न आदेश दिन सक्ने नयाँ ऐनमा उल्लेख छ ।

विश्वप्रकाश झापा १ बाट उठ्ने 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस हुनु भएको छ । मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो । आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनु भयो ।

शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित हुनु भएको थियो । २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी हुनु भएको थियो । नेकपा एमालेबाट यो क्षेत्रमा रवीन कोइराला दाबेदार हुनु हुन्छ । कोइरालाले २०७० को निर्वाचनमा शर्मालाई हराउनु भएको थियो । महामन्त्री शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट आफू चुनाव नउठ्ने बताउदै आउनु भएको थियो । तेस्रो प्रयासमा चुनाव जित्ने उहाँको दाबी छ । 

कांग्रेस उपसभापति खड्का सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।  क्षेत्रीय कार्य समिति क्षेत्र नं १ को आज छिञ्चुमा बसेको बैठकले प्रत्यक्षतर्फ खड्काको नाम एकल सिफारिस गरेको हो । क्षेत्रीय कार्यसमिति सचिव मोहन रानाले प्रतिनिधिसभाका साथै प्रदेशसभा समितिबाट सिफारिस भई आएका नाम बैठकले अनुमोदन गरी जिल्ला कार्य समितिमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । 

लौरो अभियानले सार्वजनिक ग¥यो प्रतिनिधिसभाका ९ उम्मेदवार

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । आज सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । जसअनुसार काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

 राप्रपा नेपालले मेची महाकाली स्वाभिमान यात्रा गर्ने

राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । राप्रपा नेपालको आज बसेको सचिवालयको बैठकले गरेको निर्णय अनुसार मेचीको काकडभिट्टाबाट ३० भदौमा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर समापन हुनेछ ।बैठकले समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय पनि गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिनुभयो । 

अखिल क्रान्तिकारीले चुनाव लक्षित फोर्स गठन गर्ने

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने २२ भदौको कार्यक्रममा उक्त फोर्स गठन हुन लागेको हो ।चुनावी प्रयोजनका लागि संगठनका देशभरका कार्यकर्ताहरुमध्यबाट छानेर संगठित दस्ता बनाउन लागिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिनुभयो । माओवादीले यसअघि वाईसीएललाई यस्तो दस्ताको रुपमा प्रयोग गर्दै आएको थियो । मंसिर ४ गते हुने आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा संगठनलाई देशभर परिचालन गर्ने पुनले जानकारी दिनुभयो । 

सम्पत्ति शुद्धीकरणमा पनि तानिए इच्छाराज तामाङ

सहकारी ठगीमा कारागार जीवन बिताइरहेका इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा तानिएका छन् । गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा इच्छाराज तामाङ र उनका परिवारका विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ४ अर्ब ४२ करोडभन्दा बढी गैरकानुनी तथा अकुत सम्पत्ति आर्जन गरेको भन्दै विभागले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तामाङसँग ३ अर्ब ३१ करोड र उनकी श्रीमती सिर्जना तामाङ शाक्यसँग १ अर्ब ३ करोड अकुत सम्पत्ति रहेको भन्दै मुद्दा दायर गरेको विभागले जनाएको छ । त्यस्तै छोरीहरू प्रतिक्षा तामाङविरुद्ध ६ करोड ६६ लाख र प्रतिशा तामाङविरुद्ध १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको विभागको दावी छ ।

 महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले तिर्यो कर

काठमाडौं महानगरको अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ । आज फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो । फनपार्कका म्यानेजर बोधराज कट्टेलले महानगरलाई आज मनोरञ्जन कर बुझाएको बताउनुभयो । काठमाडौं महानगरपालिकाले हिजो २४ घण्टे अल्टिमेटम दिएर पत्र काटेपछि फनपार्क सञ्चालकले महानगरलाई कर तिर्न बाँकी नरहेको जिकिर गरेका थिए ।

हिजो महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले फनपार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घण्टाभित्र बुझाउन ताकेता गर्नुभएको थियो । तोकिएको समयभित्र बक्यौता नतिरे फनपार्क ‘सिल’ गरिदिने चेतावनी पत्रमा दिइएको छ । फनपार्कले समाजकल्याण परिषदलाई मासिक ६ लाख १० हजार ५ सय रूपैयाँ भाडा तिर्ने गरेको छ । सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक फनपार्कले महानगरलाई कर तिरेको हो ।
 
आरक्षण हटाउनु संविधानको मर्म विपरीत : मधेशी आयोग

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आरक्षणको ग्यारेन्टी नेपालको संविधानले नै गरेकोले यसले हटाउनु संविधानको मर्म विपरीत हुने बताउनुभएको छ । मधेशी आयोगमा आयोजित ‘आरक्षण सम्बन्धी सरोकारवाला नागरिक समाजका अगुवाहरुसंग को अन्तरसंवाद कार्यक्रम’ मा बोल्दै अध्यक्ष डा.दत्तले सो कुरा बताउनुभएको हो । अध्यक्ष डा.दत्तले संविधानको पालना गर्नु हामी सबैको साझा कर्तव्य रहेको भन्दै संविधानमा उल्लेखित आरक्षण सम्बन्धी व्यवस्थाले विभिन्न समुदायका व्यक्तिहरुलाई देशको राजनीतिक एवं प्रशासनिक मुलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले आरक्षणलाई हटाउनुको कुनै औचित्य नरहेको बताउनुभयो । 

उच्च अदालतका रजिष्ट्रारलाई नै भ्रष्टाचारको मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनले नक्कली विल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । उनले बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन थालेको थियो ।
 
मिटर व्याजीको विरोधमा किसानहरु हलो जुवा बोकेर निस्के सडकमा

मिटरब्याजबाट पीडित भएकाहरुलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो ।प्रदर्शनमा किसानहरु हलो जुवासहित सहभागी छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्न् बताएका छन् ।मिटर व्याजीका कारण घरबार बिहीन हुँदा पनि सरकारले आफूहरुलाई न्याय नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सप्तऋषिको पूजा गरी आज ऋषि पञ्चमी मनाइँदै

सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाइएको छ । भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् ।यस पर्वमा व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक पूजा गर्ने र ब्राह्मणलाई दानदक्षिणा दिनुका साथै कर्कलाको तरकारी बनाई एकछाक खाने गर्छन् ।

सप्तर्षि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पवित्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने धार्मिक विश्वास छ ।ऋषिपञ्चमी पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ । आज काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।

आर्थिक खबर

भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो

भारतले पेट्रोलिय पदार्थको मूल्य बढाएर पठाएको छ । यसभन्दा अघि ३ पटक मूल्य घटेर आएकोमा यो पटक भने मूल्य बढेर आएको हो । यद्यपि मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन । भारतीय आयल कर्पोरेसनले आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आज पठाएको हो । भारतीय आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आयाल निगमलाई पठाउने गरेको छ । सेप्टेम्बर १ अर्थात आजबाट लागू हुने गरेर नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ मूल्य सूचीअनुसार डिजल प्रतिलिटर ६ रुपैयाँ १२ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा वृद्धि भएर आएको हो । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ । मूल्य वृद्धि भएर आएपछि निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँको घाटा रहेको छ भने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा रहेको छ । यसभन्दा पहिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा रहेको छ ।

नेप्से १.०८ अंकले घट्यो, १ अर्ब ३८ करोडको कारोबार

आज सेयर बजारमा कारोवार मापक नेप्से परिसुचक १.०८ अंकले घटेको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । आज कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ । यसबाहेकका उपसमूहका लगानीकर्ताले भने आज कमाउन सफल भए । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रो, माहुली लघुवित्त, सप्तकोशी विकास बैंकसहितका कम्पनीको मूल्य बढेको छ । राप्ती हाइड्रो सबैभन्दा बढी ४.३८ प्रतिशतले घटेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।

विदेशका खबर
चीनले मुस्लिम र अल्पसंख्यकको मानव अधिकार उल्लंघन गरेको राष्ट्रसंघको आरोप


संयुक्त राष्ट्रसंघले चीनमाथि सिजियाङ प्रान्तमा रहेका उइघुर मुस्लिम समुदाय र अन्य अल्पसंख्यक समूहको मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको छ । लामो समयदेखि चर्चामा रहेको एक रिपोर्ट सार्वजनिक गर्दै राष्ट्रसंघले यस्तो आरोप लगाएको हो ।चीनले उक्त रिपोर्टलाई पश्चिमा मुलुकले आफूविरुद्ध देखाएको प्रहसनको संज्ञा दिएको छ । उक्त रिपोर्ट सार्वजनिक नगर्न चीनले दबाबसमेत दिँदै आएको बीबीसीले जनाएको छ ।रिपोर्टमा चीनले उइघुर मुस्लिम र अन्य अल्पसंख्यक समुदायमाथि गरेको ज्यादतीलाई लुकाउन यथासम्भव प्रयास गरेको दाबी गरिएको छ । अस्पष्ट राष्ट्रिय सुरक्षा कानूनको प्रयोग गरेर चीनले अल्पसंख्यकमाथि ज्यादती गरेको राष्ट्रसंघको आरोप छ ।

मानव अधिकारसम्बन्धी राष्ट्रसङ्घको उच्चायुक्तको कार्यालयले तयार पारेको सो रिपोर्टले कैदीबन्दीहरुलाई लैङ्गिक तथा यौनिक हिंसा गरिएको, जबरजस्ती परिवार नियोजन गराइएकोलगायतका आरोप लगाएको छ । चीनको उक्त कदम अन्तर्राष्ट्रिय मानव अधिकारको विरुद्ध भएको कारण यथाशीघ्र आफ्नो स्वतन्त्रताबाट बञ्चित सबै व्यक्तिहरूलाई रिहा गर्न राष्ट्रसंघले चीनलाई सुझाव पनि दिएको छ ।राष्ट्रसंघले हाल चीनमा कति व्यक्तिहरुलाई हिरासतमा राखिएका छ भन्ने यकिन विवरण भने पेश गर्न सकेको छैन । दश लाखभन्दा बढी उइघुर मुस्लिम तथा अन्य अल्पसंख्यक समुदाय अहिले चीनको हिरासतमा रहेको अनुमान गरिएको छ ।

श्रीलंकालाई २.९ अर्ब डलर ऋण दिन आइएमएफ सहमत

आर्थिक संकटमा फसेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले २.९ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ।समाचार संस्था एएफपीका अनुसार अगस्ट २४ देखि श्रीलंका भ्रमणमा रहेका आइएमएफको टोली र श्रीलंकाका अधिकारीबीच श्रीलंकाली अर्थतन्त्रलाई उकास्नका लागि ४८ महिनासम्म सो ऋण दिने सहमति भएको हो । अब आइएमएफको कार्यकारी बोर्डले यो सहमतिलाई अनुमोदन गर्नुपर्नेछ। सो  ऋणअन्तर्गतको रकम श्रीलंकाले अर्थतन्त्र सुधारमा लगाउनु पर्नेछ ।

सन् १९४८ पछि सबैभन्दा ठूलो आर्थकि संकटसँग जुधिरहेको श्रीलंकाले आइएमएफबाट ३ अर्ब डलर ऋणको अपेक्षा गरेको थियो।आर्थिक संकटपछि श्रीलंकामा राजनीतिक संकट चुलिएको थियो। गत असारमा श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपति भवनमा कब्जा जमाएका थिए।देश छोडेर भागेका तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षे माल्दिभ्स, सिंगापुर हुँदै अहिले थाइल्यान्ड पुग्नुभएको छ ।विदेशी मुद्राको अभाव हुँदा श्रीलंकाले अन्तर्राष्ट्रिय ऋण तिर्न सकेको छैन भने दैनिक उपभोग्य वस्तुको आयात पनि रोकिएको छ।


खेल खबर
साफ यू–१७ खेल्ने टोलीको बिदाइ 

श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकज नेम्वाङ, राखेपका उपाध्यक्ष शिव कोइराला लगायत एन्फाका पदाधिकारीले बिदाइ गरे । नेपाली टोली भोलि श्रीलंका प्रस्थान गर्नेछ । प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन् । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

सुपर चारमा स्थान बनाउन बंगलादेश र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत आज बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय राती पौने ८ बजेसुरु हुनेछ ।

आजको खेलमा दुबै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन् । प्रतियोगितामा हालसम्म दुई टोलीले जित निकाल्न सकेका छैनन् । आजको खेलमा जित निकाल्ने टोली सुपर चारमा स्थान बनाउने छ । प्रतियोगिताको समूह ‘बी’ बाट अफगानिस्तानले सुपर चारमा स्थान बनाइसकेको छ ।यता समूह ‘ए’ बाट भारतले सुपर चारमा स्थान बनाइ सकेको छ ।