Live Streaming

अन्नपूर्ण टप टेन : देउवाकै गृहजिल्लामा गठबन्धनविरुद्ध काँग्रेसको निर्णय, सुदूरपश्चिममा गौरा पर्वको रौनक

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन अठवाली मनाइँदै

सुदूरपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व मध्यपश्चिमका केही जिल्लासहित भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ ।

सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । 

भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २४ जना घाइते

भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक आज बिहान ट्रकले ठक्कर दिएको थियो । गोवा जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्नेक्रममा पछाडीबाट ट्रकले ठक्कर दिएको हो । 

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । उहाँले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिनुभयो । आज सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो । 

भारत चीनबाट उच्चस्तरीय भ्रमण हुदै 

नेपालमा निर्वाचनको सम्मुखमा उत्तर र दक्षिणी छिमेकी राष्ट्रबाट उच्चस्तरीय भ्रमण हुदैछ । मुलकमा निर्वाचन चहलपहल बढेका बेला महत्वपूर्ण दुई छिमेकी मुलुकबाट हुन लागेको भ्रमणलाई चासोका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्रालयका अनुसार भारतीय सेनाध्यक्ष मनोज पाण्डे भोली नेपाल आउदै हुनुहन्छ भने आगामी भदौ २७ मा चीनीय जनकंग्रेसका अध्यक्ष ली झान्सु तीन दिने भ्रमणका लागि नेपाल आउनु हुने भएको छ । पछिल्लो ६ महिनामा चीनबाट तेस्रो भ्रमण हुन लागेको हो । 

विकास र समृद्धिको सन्देश दिने सङ्कल्प छ : प्रचण्ड 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनु भएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गरेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शिलान्यास गर्दै उहाँले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउनु भयो । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण सुरु गरिएकोहो । 
 
देउवाकै गृहजिल्लामा गठबन्धनविरुद्ध काँग्रेसको निर्णय

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा गठबनधन नहुने भएको छ । हिजो बसेको कांग्रेस डडेल्धुरा कार्यसमितिको बैठकले गठबन्धन गर्ने केन्द्रको निर्णयको स्वागत गर्दै सो निर्णय गरिएको सचिव हेमराज चटौतले जानकारी दिनुभयो । जिल्लामा आफुहरु एक्लै नै जित्न सक्षम रहेकाले निर्णय गरि प्रदेश र केन्द्रलाई पठाइएको तर प्रदेश समिति र केन्द्रीय समितिले जे निर्णय गर्छ त्यो नै बाध्यकारी हुने उहाँको भनाइ छ । 

कला निर्देशक उद्धव भट्टराईको निधन

कला निर्देशक एवं भेषभुषा प्रबन्धक उद्धव भट्टराई (जुङ्गे) को आज निधन भएको छ । बैतडीको पाटन नगरपालिका–१ को लदौली घर भएका ६६ वर्षका भट्टराईको उपचारका लागि बैतडीबाट काठमाडौं ल्याउँदै गर्दा चितवनमा बसमै मृत्यु भएको हो । परिवारका अनुसार उहाँ लामो समयदेखि दमको रोगबाट पीडित रहनुभएको थियो । कला निर्देशनसँगै फिल्ममा भेषभुषासमेत हेर्ने कुशल कलाकारसमेत रहेका उनी ४ दशकदेखि फिल्ममा सक्रिय हुनुहुन्थ्यो । 

मधेसका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा, जसपाबाट चुनाव लड्दै

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री लालबाबु राउतलाई आज राजीनामा बझाउनुभएको हो । झा जनता समाजवादी पार्टी जसपामा प्रवेश गर्ने र महोत्तरीको क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहनुभएको जनाइएको छ । 

विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त मेरियट होटेलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ ।यूएईबाट फ्लाई दुबईको विमानबाट हिँजो बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो ।