Live Streaming

अन्नपूर्ण दिनभर : सिट बाँडफाँट मिल्दैछ, चुनावपछि पनि कांग्रेसकै सरकार, अमेरिकामै बढ्न थाल्यो बेरोजगारी दर

भारतको उत्तर प्रदेशमा यात्रु बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु÷अन्य १४ जना घाइते ।

उदयपुर, सप्तरी र सुनसरीका बाढी प्रभावित १६ वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा आवश्यकता अनुसार सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्थालगायतलाई केही अवधिका लागि सरकारले बन्द गर्न सक्ने ।

आगामी निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ चुनाव पछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाको जिकिर ।

नेपालीहरुको महान चाड दशैँ नजिकिएसँगै बजारमा चहलपल बढ्यो÷अस्वाभाविक रुपमा आकासिएको बजार मूल्यका कारण उपभोक्ता चिन्तित ।

जर्मनीको निर्यातमा कमी आउँदा आर्थिक मन्दीको त्रास रूस–युक्रेन युुद्धका कारण मुद्रास्फीति बढ्दा निर्यातमा आधारित व्यवसाय कमजोर बन्दै अमेरिकामा बेरोजगारी दर बढ्यो ।

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य प्रस्तुत जवाफी ब्याटिङ गरिरहेको केन्याको मध्यम प्रदर्शन ।

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु, १४ जना घाइते


भारतको उत्तर प्रदेश बाराबंकीमा आज बिहान भएको सवारी दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको र एक मृतकको सनाखत हुनसकेको छैन । दुर्घटनामा परेका बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाकी ३५ वर्षीया रीताकुमारी थारू, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुँका ४० वर्षीय हरिशरणको अवस्था जटिल रहेकाले उनीहरूलाई लखनउस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।

सल्यान घुइयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनील थारू, १६ वर्षीय विजय थारू, १८ वर्षीय हरि योगी र सन्तोष पनि घाइते भएकाले उनीहरुलाई बाराबंकीस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेको जनाइएको छ । 
 
उदयपुर, सप्तरी र सुनसरीका बाढी प्रभावित १६ वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सप्तकोसी नदीमा आएको बाढीबाट प्रभावित तीन जिल्लाका १६ वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले गत साउन १७ मा सप्तकोसी नदीमा आएको भेल÷बाढीबाट प्रभावित उदयपुर, सुनसरी र सप्तरीका ४ वटा नगरपालिकाका १६ वडालाई २०७९ पुस मसान्तसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

विपद् संकटग्रस्त क्षेत्र घोषणाको सूचना गृहले हिजो राजपत्रमा प्रकाशित गरेको हो । विपद् संकटग्रस्त क्षेज्ञ घोषणासँगै यी स्थानबाट सरकारले आवश्यकता अनुसार सरकारी तथा गैरसरकारी कार्यालय, निजी संघसंस्था, शिक्षण संस्थालगायतलाई केही अवधिका लागि बन्द गर्न सक्नेछन् । त्यस्तै खोज÷उद्धार कार्यमा कुनैप्रतिकुल असर पर्ने गतिविधि हुन नदिने, यी क्षेत्रमा रहेका संघसंस्थाका कर्मचारीलाई काजमा खटाउन सकिने छ ।

साउन १७ मा सप्तकोसीको बाढी उदयपुर, सुनसरी र सप्तरीका गाउमा पसेपछि साउन १८ मा त्यहाँका स्थानीय विस्थापित भएका थिए । उदयपुर र सप्तरी सीमा क्षेत्र नजिकैको डुम्रिबोटबाट सप्तकोसी नदीको पश्चिमतर्फको तटबन्ध भत्काएर बाढी मानव बस्तीमा पसेको थियो । बाढीबाट सयौं घर डुबानमा परेका थिए । संकटग्रस्त क्षेज्ञ घोषणा गरिएका वडाका सयौं घर डुवानमा परेका थिए । 

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । उहाँले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिनुभयो ।

आज सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो । ओलीले प्रहरी प्रशासनलाई निर्वाचनमा धाधँली गर्ने खालका क्रियाकलापमा सारिक नहुन आग्रह समेत गर्नुभयो ।

उहाँले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मचाउने, धाधँली गर्ने खालका क्रियाकलापमा सरिक नहुन प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरुलाई आग्रह गर्नुभएको हो ।  

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताउनुभयो । 

विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको छ : अध्यक्ष ‘प्रचण्ड’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनु भएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गरेकोे वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शिलान्यास गर्दै उहाँले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

उहाँले हाल जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै आम रुपमा जनताले हेर्ने भनेको पार्टी, नेता र व्यक्ति भन्दा पनि विकास र समृद्धि भएको बताउनुुभयो । 

त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै उहाँले ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण सुरु गरिएको हो ।  

सिट बाँडफाँट मिल्दैछ, चुनावपछि पनि कांग्रेसकै सरकार : गगन

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको दाबी गर्नुुभएको हो । उहाँले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास व्यक्त गर्नुुभयो ।

गठबन्धन दलहरूबीच सिट बाँडफाँट टुंगिनेबित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने उहाँको भनाई छ । आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सबलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने बताउनुुभयो । स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टीभित्र सो इकाइको आवश्यकता रहेको पनि स्पष्ट पार्नुुभयो ।

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : पौडेल 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताउनुुभएको छ । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा आज वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताउनुुभयो । पौडेलले सिँगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताउनुुभयो ।

पौडेलले सुशासन भएमात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, संवर्द्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताउनुुभयो । पौडेलले युवा र पाको नेता दुवै मिलेर देश विकास गर्नुपर्ने बताउनुुभयो । युवाले राजनीतिमा आउनै हुन्न भन्ने होइन र पाकाले राजनीति गर्न हुँदैन भन्ने पनि नहुने उहाँको तर्क थियो ।

सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उहाँले आगामी दिनमा अझै सकारात्मक हुने उल्लेख गर्नुभयो । उहाँले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग आह्वान समेत गर्नुभएको छ । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको मन्त्री शर्माको भनाइ छ ।  

कांग्रेसलाई माधव नेपालको चेतावनी ः हैसियतभन्दा बढी सिट नखोज

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताउनुुभएको छ । आज बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका गर्नुुभयो ।

२०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुना अर्थात ७० सिटसम्म दिन सक्ने उहाँको भनाई छ । सहमतिको प्रयास जारी रहेको बताउँदै उहाँले सहमति नभए एक्लै उठ्ने आँट गर्नुपर्ने बताउनुुभयो ।

विप्लव र जनमुक्ति पार्टीका नेता कांग्रेस प्रवेश, बालुवाटारमा देउवाले गरे स्वागत

नेकपा (विप्लव) र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा (विप्लव) समूह र जनमुक्ति पार्टीका कञ्चनपुर जिल्लाका उच्च तहका नेताहरुले पार्टी परित्याग गरी आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष कार्यक्रममा सामूहिक रुपमा नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिई पार्टी प्रवेश गराउनुुभयो । नेपाली कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा (विप्लव) वैकल्पिक केन्द्रीय सदस्य रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, श्रमिक समुदाय नेपालका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का कञ्चनपुर अध्यक्ष कल्पना परियार, काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी, नेकपा नेता चन्द्र टमट्टा र काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका केन्द्रीय सचिव राघव परियारलगायत नेता कार्यकर्ता रहेका छन् । 

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखक, केन्द्रीय सदस्य एवम् सांसद प्रकाश स्नेही रसाइली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा लगायतका नेताहरुसमेत सहभागी थिए । 

२ जना संक्रमितको मृत्यु हुँदा २०० जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २०० जनामा कोरोना संक्रमण १९ पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ५३७ जनामा गरिएको परीक्षणमा २ सयजनामा संक्रमण पुष्टि भएको हो । आज ३३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । सोही अवधीमा २ जना संक्रमितको मृत्यु समेत भएको छ । मन्त्रालयको विवरण अनुसार हालदेशभर २ हजार ६४२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।

चार कम्पनी कालो सुचीमा 

ठेक्का सम्झौता गरेर पनि समयमै रासायनिक मल नल्याउने चार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामग्री कम्पनीले सिफारिस गरेको छ । सिल्क (जेभी), देश ट्रेडर्स, जेनट्रेड र सिल्क मार्केटलाई कालोसूचीमा राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषिले सिफारिस गरेको हो । आर्थिक वर्ष २०७८÷७९ का लागि यी चार कम्पनीले १ लाख ५ हजार टनको सम्झौता गरेका थिए ।

समयमै मल आयात नगरिदिँदा धान रोपाइँको मुखमा किसानले मल पाएका थिएनन् । आर्थिक वर्ष २०७८÷७९ का लागि १ लाख ९७ हजार ५ सय टनको ठेक्का सम्झौता भएको थियो, जसमध्ये सिल्क (जेभी) सँग पटकपटक गरेर ५० हजार टनको सम्झौता भएको थियो । पहिलो सम्झौता २०७८ मंसिर ८ मा प्रतिटन ९ सय ४८ डलरमा आयात गर्ने गरी भएको थियो ।

दोस्रो पटक कात्तिक ५ मा प्रतिटन ६ सय २१ डलरमा आयात गर्ने गरी २५ हजार टन मल आयातको सम्झौता भएको थियो ।प्रतिटन ६ सय ८९.९ डलरमा २०७८ जेठ २९ मा सम्झौता भए पनि आयात भएन । त्यसपछि कृषिले स्पष्टीकरण सोधेर धरौटी रकम २ करोड १९ लाख जफतसमेत गरेको छ । 

काठमाडौँमा गौरा पर्वको रौनक

सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् ।  धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ ।

आज गौरा पर्वको अन्तिम र महत्त्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ । अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्त्व छ । सोही सिलसिलामा सुदूरपश्चिमबाट काठमाडौँ आई बसोबास गर्ने सर्वसाधारणहरूले पनि गौरा पर्व मनाएका छन् । 
 
धनधान्यकी देवी महालक्ष्मीको आजदेखि विशेष आराधना गरिँदै

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमीअर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी बर्त आरम्भ गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिनअर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो बर्त गरिन्छ । यस वर्ष असोज १ गते शनिबारसम्म यो बर्त गरिन्छ । यो बर्तका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर बर्त पूरा गर्नुपर्ने नियम छ । 

प्रत्येक दिन हविष्य भोजनअर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी बर्त गरिन्छ । सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी बर्त गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो बर्त विशेष गरेर नारीले गर्ने गरेका छन् । यो बर्तले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

 आर्थिक खबर
 

दसैँको चहलपहल बढ्यो 

हिन्दूहरुको महान चाड दशैंको चहलपहल बजारमा बढ्न थालेपनि अस्वाभाविक रूपमा अकासिएको बजार मूल्य सुन्दा उपभोक्ता चिन्तित बनेका छन् । दसैँ सुरु हुन एक महिनाभन्दा कम समय बाँकी हुँदा उपभोक्ता पनि आवश्यक सामग्री जोहो गर्न बजार प्रवेश गर्न थालिसकेका छन् । दसैँका लागि निजी तथा सरकारी दुवै सेवाप्रदायकले पनि उपभोक्तालाई कसरी सहुलियत र सेवा दिन सकिन्छ भनेर तयारी सुरु गरिसकेको दाबी गरेका छन् । तर, उपभोक्ताहरुले भने बजारमा सरकारको उपस्थिति शून्यप्रायः हुँदा व्यापारीले वस्तुको मूल्यमा मनोमानी गरिरहेको गुनासो गरेका छन् । 

यस्तै दसैँमा हुने यातायात चापलाई दृष्टिगत गर्दै व्यवसायीले असोज पहिलो साताबाट टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुने गर्दछ । अग्रीम टिकट बुकिङका लागि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग छलफल भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताउनुभयो ।

यता अहिले सुगम गन्तव्यका उडानहरूमा फूलपातीपछिका लागि ५० देखि ६० प्रतिशत टिकट बुकिङ भइसकेको वायुसेवा सञचालकका प्रतिनिधिले बताएका छन् । यस्तै नेपाल राष्ट्र बैंकले भदौ २६ गतेबाट बजारमा नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले यसका लागि तयारी पूरा भएको बताउनभयो ।यस्तै दसैँ–तिहारमा सबैभन्दा बढी खपत हुने उपभोग्य वस्तुमा विशेष छुट दिन खाद्य तथा व्यापार कम्पनीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा कम्पनीले १ असोजदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।

साताभरमा ५२ अंकले घट्यो बजार, लगानीकर्ताले ७१ अर्ब गुमाए

निरन्तर ओरालो लागेको सेयरबजार यो साता पनि गिरावट देखिएको छ । साताभरमा सेयर बजार परिसूचक ५२ अंकले झरेको हो । साताभरको कारोबार पश्चात नेप्से परिसूचक २.५७ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार पश्चात २०२२.६२ मा रहेको परिसूचक यस साताको अन्तिम कारोबार पश्चात १९७०.६२ मा झरेको छ । निरन्तर ओरोलो लागेको सेयर बजारले यस साता पनि लगानीकर्तालाई निराश बनायो। यस साता ६ कारोबारमा ४ कारोबार दिन बजार ऋणात्मक रहँदा दुई दिन सकारात्मक रह्यो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेको छ । 

विदेशका खबर

जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको त्रास

जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको हिँजो प्रकाशित सरकारी तथ्यांकले देखाएको छ । संघीय तथ्यांक एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्यांकअनुसार जर्मनीले अगष्टमा १ खर्ब ३१ अर्ब ३० करोड युरो बराबरको सामान निर्यात गरेको छ। यो जूनको तुलनामा २.१ प्रतिशतले कम हो । यो सूचक गत वर्षको जुलाईको तुलनामा १४.३ प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन ५.४ अर्ब युरोमा सकारात्मक रहेको छ ।

मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असर पर्दा मुलुकको निर्यातमा आधारित व्यवसाय कमजोर बन्दै गएका छन् । जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको सँघारमा’ पर्नसक्ने चेतावनी दिएको थियो । युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रूसमा जर्मनीको निर्यात जुलाईमा १५.१ प्रतिशतले घटेर १ अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५.१ प्रतिशतले कम हो ।

जर्मनीको सबैभन्दा ठूलो निर्यात हुने मुलुक अमेरिकामा निर्यात १३.७ प्रतिशतले घटेर १२.३ अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ । जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको तथ्यांकले देखाएको छ ।

अमेरिकामै बढ्न थाल्यो बेरोजगारी दर

अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो । गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो संख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए ।

बेरोजगारहरूको संख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वाभाविक भनेको छ । तर अघिल्लो महिना तीन दशमलव पाँच प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेको थियो ।

अमेरिका ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै

अमेरिकाले ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ।डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ ।

मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ । 

खेल खबर

रोहितको कप्तानी पारीमा केन्यालाई २३१ रनको लक्ष्य 

कप्तान रोहित पौडेलको ७८ रनको मद्दतमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीमा जारी दोस्रो ’वान डे’मा टस जितेर पहिले पहिले ब्याटिङ गरेर नेपालले ४२ ओभर २ बलमा अल आउट हुँदै २ सय ३० रन बनाएको हो । केन्याको नैरोबीमा भएको खेलमा कप्तान रोहित पौडेलले ७८ रन, देव खनालले ३७, सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५ रन, बसिर अहमदल १७, आदिल आलमले १४ र करन केसीले ११ रन बनाएका थिए ।

नेपालले पहिलो विकेट अर्जुन साउदका रूपमा गुमाएको थियो । अर्जुन ५ रन बनाएर आउट हुँदा नेपालको १९ रन थियो । नेपालको ७५ रन हुँदा ज्ञानेन्द्र आउट भएका थिए । त्यसपछि प्रदीप ऐरी २ रन बनाएर आउट भए । नेपालका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितले नेपाली क्रिकेट टीमको नेतृत्व गरिरहेका छन् । तीन एकदिवसीय सिरिजमा नेपालले पहलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।