Live Streaming

 अन्नपूर्ण टप टेन : 'कांग्रेसले सय सिट नपाए विद्रोह, म लज्जित भएँ, आजबाट सांसद रहिन'

रञ्जन कोइरालाको मुद्दालाई आधार मानेर महाभियोग लगाइएको भए सहन्छु : जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्विकार गर्नुभएको छ । उहाँले नाबालक छोराहरुको पालन पोषणका लागि र पारिवारिक जीवनका लागि कैद घटाइएको र न्यायाधिसले आफनो विवेक प्रयोग गर्दा गल्ती भएको भन्दै गल्ती स्वीकार गर्नुभयो । जबराले यही फैसलाको आधारमा महाभियोग लगाइएको हो भने त्यसलाई आफूले सहने भन्दै आफूले गरेको त्यो गल्तीमाथि प्रायश्चित भएको पनि उल्लेख गर्नुभयो । 

 
कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन लचकता देखाइरहेका बेला कांग्रेसभित्रै शेखर कोइराला समूहले प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातवरण उत्पन्न हुने चेतावनी दिएको छ ।सय सिट दिन गठबन्धनका अन्य चार दल तयार नभएपछि देउवाले भने लचकता बढाइरहनुभएको छ । कांग्रेस नेता शेखर कोइरालाले भने सय सिटको अडानबाट पछि हट्न नहुने भन्दै त्यसो गरिए कांग्रेसका आकांक्षीहरुलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताउनुभएको छ । 

निजामती सेवा ऐन रुपान्तरण गरी ल्याउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । आज नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारी कार्यलयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । 
 
प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पास गर्ने तयारी

सरकारले प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक संसदमा फास्ट ट्र्याकमा अघि बढाउने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री बालृकष्ण खाण र कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पास गर्नुपर्ने बताउनुभएको छ । सरकारले यो विधेयक शुक्रबार मात्र संसद सचिवालयमा दर्ता गरेको थियो । 

घोषणापत्रका लागि एमालेले माग्यो सुझाव
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रमा समावेश गर्ने विषयबारे सुझाव माग गरेको छ । घोषणापत्र मस्यौदा कमिटीले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका लागि शनिबारसम्म सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । 
 
राजेन्द्र लिङदेनले संसदमा भने– म लज्जित भएँ, आजबाट सांसद रहिन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूले अब सांसदको भूमिका निभाउन नसक्ने घोषणा गर्नुभएको छ । आज संसद बैठकमा सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाको कार्यकाल ४ मंसिरपछि पनि लम्ब्याउने तयारी गरिएकोमा असन्तुष्टि जनाउँदै सो घोषणा गर्नुुभएको हो । लिङदेनले आज संसदमा आफ्नो अन्तिम उपस्थिति भएको भन्दै रोष्ट्रममा नै उभिएर बोल्ने इच्छा व्यक्त गरेपछि सभामुखले अनुमति दिनुुभएको थियो ।  


सरकारबाट रकम नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सो सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् । 
 
इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । 
 
असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

आगामी असोदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आगामी भदौको  २४ र ३१ शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताउनुभयो । आज बसेको नेप्से सञ्चालक समितिको बैठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको उहाँले बताउनुभयो । 
 
तोकेभन्दा थोरै दरमा नदीजन्य पदार्थको कर उठाउने जनप्रतिनिधि र कर्मचारीविरुद्ध मुद्दा

प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्ने बाग्लुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।