Live Streaming

अन्नपूर्ण दिनभर : चुनावपछि सडकमा जाने प्रचण्डको घोषणा, भारतीय स्थल सेनाका सेना प्रमुख नेपालमा

सिट बाँडफाँटको गाँठो फुकाउन सत्तारुढ गठबन्धनमाथि दबाब बढ्दै आज बसेको गठबन्धन कार्यदलको बैठक पनि बिना निष्कर्ष टुंगियो सिट बाँडफाँटको संख्या र निर्वाचन क्षेत्र एकैसाथ टुंगो लगाउने तयारी एकीकृत समाजवादीका उपमहासचिव खतिवडा भन्नुहुन्छः बार्गेनिङ चलिरहेको सत्य हो, तर गठबन्धन टुट्दैन । 

आगामी चुनावपछि अहिलेको शासन र चुनाव प्रणाली फेर्न सडकमा जाने माओवादी अध्यक्ष प्रचण्डको उद्घोष÷जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यकमा जोड । 

संसदको कार्यकाल बढाउन लागिएकोप्रति असन्तुुष्टी जनाउँदै राप्रपा अध्यक्ष लिङ्देनद्वारा राजीनामाको घोषणा÷चुनावपछि पनि प्रतिनिधि सभाको कार्यकाल राख्ने प्रस्तावमा एमालेको पनि आपत्ति÷कार्यकालसम्बन्धी नयाँ विधेयकको कानुनमन्त्री शर्माद्वारा बचाउ ।

सात दिनभित्र मनोरञ्जन कर बुझाउन क्यासिनोहरुलाई काठमाडौँ महानगरको अल्टिमेटम÷मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालित पसल पनि हटाइने ।

भारतको व्यापारिक घरना टाटा सन्सका पूर्व अध्यक्ष मिस्त्रीको सवारी दुर्घटनामा परी मृत्यु÷पूर्वी रुसमा ज्वालामुखी चढ्न गएका छ जनाको मृत्यु ६ जना अलपत्र ।

साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलिदेखि श्रीलंकामा सुरु हुँदै÷एसिया कप क्रिकेट अन्तर्गत सुपर चारका खेलमा अहिले भारत र पाकिस्तान भिड्दै ।


सिट बाँडफाँटमा सत्ता गठबन्धनलाई सकस

निर्वाचनको तयारीमा लाग्दै गर्दा सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई सिट बाँडफाँटको टुंगोमा पुग्न दबाब बढ्दै गएको छ । चुनौतीका चाङका बीच सत्तारुढ पाँच दलले सिट बाँडफाँट गर्दै चुनाव पछिसम्मै गठबन्धन गरेर जाने सहमति भने बारम्बार दोहा¥याउँदै आएका छन् । दबाबका बीच सिट बाँडफाँट टुुंगोमा पु¥याउन आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठित कार्यदल सहमतिको खाँका कोर्न क्रियाशील छ । कार्यदलका एक सदस्यका अनुसार अब भोलि र पर्सी कार्यदलको बैठकले सिट बाँडफाँटबारे गर्ने भएको छ । साथै बुधबार शीर्ष नेताहरुको बैठक फेरि बस्ने भएको छ । उक्त बैठकमा कार्यदलले आफ्नो निष्कर्ष सुनाउने बताइएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका विषयमा पनि छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । न्यायोचित, सम्मानजनक र सबैले जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रूप पाउने उहाँले बताउनु भएको छ । दुई दिन कार्यदलमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने कार्कीको भनाइ छ ।

तर, सत्तारुढ मुख्य दुई दल कांग्रेस र माओवादीले निर्वाचनपछि बन्ने सरकार निर्माणको अंक गणितलाई रणनीति बनाएर भाग खोज्दा सिट बाँडफाँटमा सकस परेको देखिएको छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक नै सरकार बनाउन सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ छ । 

यस्तै, आजै बिहानको बालुवाटार बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसलाई ७० सिटमा लड्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस ८२, अरु दल ८३ सिट बाँड्न प्रस्ताव गर्नुभएको छ । कांग्रेस सय सिटकै औपचारिक अडानमा रहे पनि देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेको बताइएको छ । यस्तै, आज बिहान देउवा र प्रचण्डबीच करिब एक घन्टा वान टु वान छलफल भएको छ । केही नेताका अनुसार देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने तथा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेशका मुख्यमन्त्रीसमेतका पदमा प्याकेजमै भागबन्डा मिलाउने प्रयास भइरहेको बुझिएको छ । 

यसैबीच, नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने २०७४ सालको निर्वाचनको परिणामको आधारलाई टेकेर सिट बाँडफाँट टुंग्याउनु पर्ने बताउनु भएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै उहाँले हचुवाको भरमा एकसय – ६० सिट मागेर नहुने भन्दै एउटा आधारलाई टेकेर निर्णयमा पुग्नु पर्ने बताउनुभयो । उहाँले दलहरुबीच आफ्नो पक्षमा बढी सिट पार्न बार्गेनिङ चलिरहेको सत्य भएको बताउँदै यसैका कारण गठबन्धन नटुट्ने दाबी गर्नुभयो । उहाँले सिट बाँडफाँटको विषय छिटोभन्दा छिटो टुंगोमा पु¥याउन दलहरुमाथि दबाब रहेको बताउनुभयो । उपमहासचिव खतिवडाले एक दुई दिनभित्रै सिट बाँडफाँटको विषय टुंगोमा पुग्ने पनि बताउनुभयो । 

कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन लचकता देखाइरहेका बेला कांग्रेसभित्रै शेखर कोइराला समूहले प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातावरण उत्पन्न हुने चेतावनी दिएको छ ।सय सिट दिन गठबन्धनका अन्य चार दल तयार नभएपछि देउवाले भने लचकता बढाइरहनुभएको छ । 

कांग्रेस नेता शेखर कोइरालाले भने सय सिटको अडानबाट पछि हट्न नहुने भन्दै त्यसो गरिए कांग्रेसका आकांक्षीहरुलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताउनुभएको छ । कांग्रेसमा विद्रोह आउने स्थितिले गठबन्धनलाई पनि लाभ नहुने भन्दै कोइरालाले आफ्नो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत सुनाएको बताउनुभएको छ । 

चुनावपछि सडकमा जाने प्रचण्डको घोषणा, सडकबाटै क्रमभंग गर्ने दाबी 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावपछि आफू अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गर्नुुभएको छ । माक्र्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेका शासन प्रणाली र चुनाव प्रणाली फेर्न सडकमा जानुको विकल्प नरहेको बताउनुुभएको हो । संसद् विघटन हुँदा सडकको घेराबन्दीकै कारणले पुनःस्थापना भएको दाबी उहाँको छ । समाजवाद मार्गचित्र तयार गर्नका लागि जनताको साथमा सडकमा जानुको विकल्प नभएको उहाँको भनाइ थियो।

प्रचण्डले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएका बताउनुभयो । यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पूँजीपति वर्गलाई नै अगाडि ल्याउने उहाँले बताउनुभयो । यसले थाहै नपाई पार्टीका नेतालाई पनि भ्रष्टीकरणमा जान बाध्य पार्ने उहाँले बताउनुभयो । उहाँले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताउनुभयो । 

राजेन्द्र लिङदेनले संसदमा भने म लज्जित भएँ, आजबाट सांसद रहिनँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफू अब सांसदको भूमिका निभाउन नसक्ने घोषणा गर्नुुभएको छ । आज संसद बैठकमा सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाको कार्यकाल मंसिर४गतेपछि पनि लम्ब्याउने तयारी गरिएकोमा असन्तुष्टि जनाउँदै सो घोषणा गर्नुुभएको हो  । आफ्नो सम्बोधनमा लिङदेनले निर्वाचन घोषणा भइसकेपछि संसद जीवित रहनु नहुने राप्रपाको मान्यता रहेको उल्लेख गर्नुुभयो । उहाँले भत्ता पकाउनका लागि मात्रै संसद आउँदिन भनेर पहिल्यैबाट आउन छोडेको पनि बताउनुुभयो ।

उहाँले नीतिगत कैयौँ कुराहरुमा आफुुलाई उपेक्षा गरेको अनुुभुती भएको समेत उल्लेख गर्नुुभयो । सभामुख अग्नी सापकोटाले संसदको विशेष समयमा लिङ्दनेलाई बोल्न ५ मिनेटको समय दिनुुभएको थियो । लिङदेनले आज संसदमा आफ्नो अन्तिम उपस्थिति भएको भन्दै रोष्ट्रममा नै उभिएर बोल्ने इच्छा व्यक्त गरेपछि सभामुखले पनि अनुमति दिनुुभएको थियो ।

चुनावपछि पनि प्रतिनिधि सभाको कार्यकाल राख्ने प्रस्तावमा एमालेको आपत्ति

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभाको कार्यकाल चुनावपछि समेत रहने गरी सरकारले ल्याएको विधेयकको विरोध गरेको छ । एमाले सांसद एवं पूर्व कानून मन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभाको उम्मेदवारी दर्तासँगै कार्यकाल समाप्त हुनुपर्ने गरि व्याख्या गरिनुपर्ने बताउनुुभयो । एमालेकै सांसद गोकुल बाँस्कोटाले पनि कोही मानिस सांसदको लोगो लगाएर निर्वाचनमा जाने कोही यत्तिकै जाने अवस्था बनाउन नहुने बताउनुुभयो । 

संसद्को कार्यकालसम्बन्धी अस्पष्ट र अराजकता हटाउन नयाँ विधेयक : कानुनमन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संसद्को कार्यकाल नवनिर्वाचित संसदको पहिलो बैठकसम्म रहने व्यवस्था अस्पष्ट हटाउन र अराजकता रोक्न भएको स्पष्ट पार्नुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संसद्को कार्यकालसम्बन्धी विधेयकको विषयमा बोल्दै अब निर्वाचित भएर आएपछि पहिलो बैठकसम्म रहने गरी गरेको व्यवस्थाको बचाउ गर्नुुभएको हो । उहाँले संविधानको धारा ८५ ले पनि संसद्को कार्यकाल ५ वर्ष रहने स्पष्ट व्यवस्था रहेको बताउनुुभयो । 

उहाँले चुनावका लागि तटस्थ सरकार निर्माण गर्ने व्यवस्था संविधानमा नभएको र तटस्थ सरकार निर्माणले राजनीतिक अस्थिरताको सन्देश जाने पनि दाबी गर्नुुभयो । सरकारले प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक संसदमा फास्ट ट्र्याकमा अघि बढाउने भएको छ ।कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकमा गृहमन्त्री बालृकष्ण खाण र कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पास गर्नुपर्ने बताउनुभएको हो । 

सरकारले यो विधेयक शुक्रबार मात्र संसद सचिवालयमा दर्ता गरेको थियो । यो विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसदको कार्यकाल रहने प्रस्ताव गरिएको छ ।सरकारले विधेयक परिपक्क हुन चाहिने ५ दिनलाई एक दिनमा झार्ने प्रस्ताव गरेको छ । यस्तै संशोधन हाल्ने समय ७२ घण्टालाई २४ घन्टामा झार्ने सरकारको प्रस्ताव छ । 

रञ्जन कोइरालाको मुद्दालाई आधार मानेर महाभियोग लगाइएको भए सहन्छु : जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्विकार गर्नुभएको छ । संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले गत बुधबारदेखि बयान लिइरहेको छ । तेस्रो दिनको बयानको क्रममा उहाँले आफ्नो गल्ती स्वीकार गर्नुभएको हो । 

उहाँले नाबालक छोराहरुको पालन पोषणका लागि र पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको र न्यायाधिसले आफनो विवेक प्रयोग गर्दा गल्ती भएको उल्लेख गर्दै सोही फैसलाको आधारमा महाभियोग लगाइएको भए सहने बताउनुुभयो । साथै आफ्नो गल्तीमाथि प्रायश्चित भएको पनि उल्लेख गर्नुभयो । डीआईजी कोइरालाले करिब ९ वर्षअघि पत्नी गीता ढकालको हत्या गरी टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए । 

यसैबीच  जबरासँगको आजको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले आज उहाँलाई पाँचवटा प्रश्न सोधेको थियो । उहाँलाई सोध्न ४३ वटा प्रश्न तयार पारिएको छ । आज करिब एक घण्टा उहाँको बयान लिइएको थियो । राणालाई बयानका लागि भदौ २५ मा बोलाइएको छ ।निर्वाचनको तयारीका लागि नेताहरू जिल्ला–जिल्लामा जानुपर्ने भएकोले बैठक केही दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । 

भारतीय स्थल सेनाका सेना प्रमुख नेपालमा

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुुग्नुुभएको छ । आज दिउँसो त्रिभुवन विमानस्थल आइपुगेको पाण्डेको टिमलाई स्वागत गर्न नेपाली सेनाका रथी श्री बालकृष्ण कार्की विमानस्थलको भिआइपी कक्षमै पुग्नुुभएको थियो । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डेपाँचदिने भ्रमणका लागि नेपाल आउनुुभएको हो । 

भ्रमणका क्रममा उहाँले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल गर्ने, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने तालिका छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुुहुने छ । यस्तै उहाँले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको सेनाले जनाएको छ।  नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ। 

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको पत्र

काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन क्यासिनोहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आज महानगरले पत्र लेख्दै कर बुझाउन निर्देशन दिएको हो । महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्व ऐन,२०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह वक्यौता कर असुलउपर गरिने पत्रमा उल्लेख छ । महानगरले म्यारिएट होटलको डेल्टीन क्यासिनो, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, ¥याडिसन होटलको क्यासिनो ¥याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बुझाउन भनेको हो । ती क्यासिनोहरुले पटक–पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरले जनाएको छ । 

यसैबीच काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ। इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ। मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन थालेको काठमाडौं महानगर नगर प्रहरी प्रमुख  राजुनाथ पाण्डेले जानकारी दिनुुभयो ।

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुुभयो । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

आर्थिक खबर

नेप्से परिसूचकमा सामान्य  अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ६८ अङ्कले उकालो लागेर एक हजार नौ सय ७७ दशमलब ३० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५७ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलब ७७ अङ्कमा पुगेको छ । कूल दुई सय २७ कम्पनीको २८ लाख ७६ हजार दुई सय ८८ कित्ता शेयर रु एक अर्ब सात करोड १६ लाख १५ हजार नौ सय २२  मूल्यमा खरिद बिक्री भए । 

यसैबीच, आगामी असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आगामी भदौ २४ र ३१ गते शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताउनुभयो । आज बसेको नेप्से सञ्चालक समितिको बैठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
 
 विदेशका खबर

टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सवारी दुर्घटनामा मृत्यु
भारतको चर्चित व्यापारिक घराना टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ । अहमदावादबाट मुम्बई जाँदै गरेको मिस्त्री चढेको मर्सिडिज कार पालघरमा आज दिउँसो दुर्घटना हुँदा उहाँको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँ चढेको कार स्थानीय समयअनुसार सवा ३ बजे दुर्घटना भएको जनाइएको छ । मिस्त्रीसंगै कारमा सवार अन्य दुई घाइतेलाई अहमदावाद लगिएको बताइएको छ । मिस्त्री सन् २०१२ देखि २०१६ सम्म टाटा समूहको अध्यक्ष रहनुुभएको थियो । उहाँको ५४ वर्षको उमेरमा निधन भएको छ । 

पूर्वी रुसमा ज्वालामुखी चढ्न गर्न गएका छ जनाको मृत्यु

पूर्वी रुसको कामचट्का प्रायद्विपमा रहेको युरेसिया क्षेत्रकै सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी आरोहण गर्ने क्रममा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् । खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ । आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिएको छ । सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
खेल खबर

साफ यू–१७ : नेपालको लक्ष्य मात्र उपाधि  

साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलिबाट श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेने छ । प्रतियोगिताका लागि नेपाली टोली कोलम्बो पुगिसकेको छ । प्रतियोगितामा नेपालको मुख्य लक्ष्य उपाधि जित्नु रहेको प्रतियोगिता अघि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताए । प्रतियोगिताका लागि तयारी राम्रो रहेकाले पनि नेपालले लक्ष्य पूरा गर्नेमा उर्जन विश्वस्त छन् । प्रशिक्षक उर्जनले सहभागी सबै टोलीको स्तर एकै भएको समेत बताए । नेपाली टिमका कप्तान प्रशान्त लक्ष्समले टिमको तयारी राम्रो भएको र भारतलाई बलियो टोलीको रुपमा लिएको बताए । 

प्रतियोगितामा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

आजबाट सुपर चारका खेल 


एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा अहिले भारत र पाकिस्तान खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा जारी खेलमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । 

प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै सुपर चारमा पुगेका हुन् । बङ्गलादेश र हङकङ समूह चरणबाटै बाहिरिएका थिए ।

 हिजो भएको सुपर चारको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई हराएर फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सुपर चारमा चार टोलीबीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ । मङ्गलवार भारत र श्रीलङ्का, बुधवार पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । हरेक टोलीले एक अर्काबीच खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।