Live Streaming

अन्नपूर्ण दिनभर : नागरिकता विधेयक पुन राष्ट्रपति कार्यालयमा,निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदानस्थल

नागरिकता विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपति  कार्यालयमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नगारिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो । 

प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका एक अधिकारीका अनुसार नागरिकता विधेयक प्रमाणिकरणका लागि आज राष्ट्रपति कार्यालय पठाइएको हो । आज साँझ साढे ५ बजे राष्ट्रपति कार्यालयमा विधेयक पठाइएको अधिकारीले जानकारी दिएका छन् । 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै संसद्मा फिर्ता गर्नु भएको थियो । राष्ट्रपति भण्डारीले आफूलाई प्राप्त विधेयक १४ दिन अध्ययन गरेर साउन २९ गते संसद्मा नै फिर्ता गर्नु भएको थियो । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पठाएको हो । संघीय संसद्बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए ।  

आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । 

कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको हो ।      

सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको छ । एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको छ ।

साथै २८ मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका मतदानस्थलको सङ्ख्या १० हजार आठ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको छ । 

संसदको म्याद थप्नेबारे निर्वाचन आयोगको आपत्ति

काठमाडौँ । निर्वाचन आयोगले संसदको कार्यकाल संशोधन गर्न विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसदको म्याद निर्वाचनपछिसम्म कायम हुनेगरी संसदमा विधेयक पेस भएको छ। सो विधेयक फास्ट ट्रयाकबाट पास गर्ने तयारी छ ।

आयोगले  आज विज्ञप्ति जारी गर्दै  निर्वाचन ऐन २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकालको सम्बन्धमा व्यवस्था गरी संघीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्ट नभएको र प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरक फरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएकाले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधिको अवधि गणना गर्नु व्यवहारिक नुहने देखिएकाले सोही आधारमा निर्वाचन आयोगले परामर्श दिइ नेपाल सरकारले मंसिर ४ मा निर्वाचन गर्न निर्वाचित मिति घोषणा गरेको हो । 

 त्यसैले कानुन संशोधन गर्नु आवश्यक देखिदैन,’विज्ञप्तिमा भनिएको छ।यस्तै निर्वाचनको मनोनयन गर्ने मितिभन्दा अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था गरेबाट निर्वाचनको लागि उम्मेदवार मनोनयन हुने दिनदेखि सभामुख तथा उपसभामुख  पदमा नहरने संवैधानिक व्यवस्था रहेको  छ ।

यसै सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेश सभाका अन्य सदस्यहरु सोही पदका लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गर्ने मितिपछिसम्म कायम रहनेगरी कानुन संशोधन गर्नु उपयुक्त नदेखिने आयोगले जनाएको छ । सभाको कार्यकालका सम्बन्धमा थप र पृथक व्यवस्था गरी निर्वाचन आयोगको सहभागिता वा परामर्शबिना विधेयकको मस्यौदा पेश भएकाले कार्यकाल सम्बन्धमा गरिने नयाँ व्यवस्थाबाट थप अन्यौलता उत्पन्न हुनुको साथै यसबाट निर्वाचनको स्वच्छता र निस्पक्षतामा समेत प्रश्न उठ्न सक्ने आयोगको ठहर छ ।

मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक

काठमाडौँ । पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम भोलिसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताउनुभयो । कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ ।

प्रचण्डको दाबी : बुधबारभित्र सिट बाँडफाँट टुंगिन्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुंगो लाग्ने बताउनु भएको छ । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुग्नु भएका प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउँदै पर्सी बुधबारसम्म टुंगो लाग्ने बताउनु भएको हो ।

अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको उल्लेख गर्दै उहाँले त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुंगो लगाउनमात्र बाँकी रहेको बताउनुभयो ।

उहाँले छिटोभन्दा छिटो सिट बाँडफाँट टुंगो लगाएर चुनावी तयारीमा जुट्न चाहेको उल्लेख गर्नुभयो । गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो ।

गगन थापाको नाम सर्लाही–४ बाट पनि प्रतिनिधिसभाका लागि सिफारिस

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.अमशेरकुमार सिंहलाई पाखा लगाउदै सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ । क्षेत्रीय भेलाले महामन्त्री थापाको नाम सर्वसम्मत रुपमा निर्णय गरी एकल सिफारिस गर्ने निर्णय गरेको हो ।

महामन्त्री थापाको नाम यसअघि कास्कीबाट पनि सिफारिस भएको थियो। थापाले भने आफूप्रति शुभेच्छा राखेकोमा धन्यवाद दिँदै काठमाडौं ४ बाटै चुनाव लड्ने बताउनुभएको थियो । सांसद डा. सिंहलाई भने निलम्बनको पत्र थमाउदै थापाको नाम सिफारिस गरिएको हो । जिल्ला अनुशासन समितिले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम ०७९ असार २ गते निलम्बन गरेको पत्रमा उल्लेख छ ।

जिल्ला अनुगमन समितिका संयोजक डा. सरोजकुमारले सिंहलाई निलम्बन गरेको पत्र पार्टीको मधेस प्रदेश कार्य समिति र अनुशासन समितिको नाममा काटिएको छ । पत्रमा डा. सिंहले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई स्थानीय तह निर्वाचनमा अन्तर्घात असहयोग गरेको आरोप लगाएको छ । यता सांसद सिंहले भने अवैधानिक कारबाहीका बारेमा आफूले कुनैपनि जवाफ नदिने बताउनुभएको छ ।

भारतीय सेनाध्यक्ष पाण्डेलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहनु भएका भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नु भएको हो ।

उहाँ नेपाली सेनाको महारथीको सम्मान पाउने १९ औँ भारतीय सेनाध्यक्ष हुनुहुन्छ । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नु भएको थियो । गत वर्ष प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनु भएको थियो ।

सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो। हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन् ।

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई करिब २२ करोडको सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ । १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।

भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ  ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग्री र इन्डियन हतियारको स्पेयर पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाध्यक्षले हस्तान्तरण गरेको सामग्री ६० प्रतिशत अनुदानमा प्राप्त भएको हो । ४० प्रतिशत रकम नेपाल सरकारले भारत सरकारलाई दिनुपर्छ । 

लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त हुनु भएको छ । आज अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा साधारण तारेखमा छाड्न आदेश दिएको उहाँले बताउनुभयो । लगत्तै उहाँलाई थुनामुक्त गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिनुभएको थियो । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उहाँलाई छाड्न भन्दै पर्यटनमन्त्रीले गृहमन्त्रीलाई भनेको बताएको थियो ।

शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो । तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो । गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको थियो । हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उहाँसँग भेट गरेर तस्वीर खिच्नु भएको थियो । यस विषयमा छानबिन गर्न प्रहरीले एसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । लामिछानेलाई गुरुङसँग भेटाइदिएको भन्दै प्रहरी निरीक्षक विकास तामाङको पनि जिम्मेवारी खोसिएको छ ।

आर्थिक खबर
सेयर बजार ओरालोतिर : ९० करोडको मात्रै कारोबार

काठमाडौँ । सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज नेप्से ४.२९ अंकले  घटेर १९७३ विन्दुमा झरेको हो। कारोबारको पहिलो दिन हिजोकाठमाडौँ । नेप्से ६.६८ अंकले बढेर १ हजार ९७७.३० विन्दुमा अडिएको थियो । हिजो २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन । कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो।सो कम्पनीको ९ करोड बढीको कारोबार भयो । कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने २ को मात्रै बढ्यो ।

बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस पक्का

काठमाडौँ । बेलायतमा कन्जरभेटिभ पार्टीका लागि भएको चुनावमा लिज ट्रसले ऋषि सुनकलाई पराजित गर्नुभएको छ । यो संगै ट्रसबेलायतको प्रधानमन्त्री बन्नुहुने भएको छ । अब ट्रसले भोलि महारानी एलिजाबेथ द्वितीयसँग नयाँ सरकार गठनको निम्तोका लागि भेट गर्नुहुने बीबीसीले जनाएको छ ।

मतपरिणामअनुसार लिज ट्रसले ८० हजार तीन सय २६ र ऋषि सुनकले ६० हजार तीन सय ९९ मत प्राप्त गर्नुभयो । विजयी भएपछि ट्रसले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताउनुभएको छ । उहाँले ब्रेक्जिट, कोरोनाविरुद्धको सशक्त लडाइँ र युक्रेनमा रुसको दमनविरुद्ध अडिग रहेकोमा प्रधानमन्त्री बोरिस जोनसनलाई पनि धन्यवाद दिनुभएको छ । 

बेलायतको कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका लागि कार्यकर्ताबाट नै नेतृत्व छान्ने गरेको छ । विभिन्न विवादमा मुछिएपछि चर्को आलोचनामा घेरिएका जोनसनले पद त्याग गर्ने घोषणा गर्नुभएको थियो । 

क्यानडामा छुरा प्रहार : १० को मृत्यु 

काठमाडौँ । क्यानडाको मध्य सास्काचेवान प्रान्तको दुई छुट्टा छुट्टै स्थानमा छुरा प्रहार हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनाको तस्बिर समेत सार्वजनिक गरेको छ ।३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसनको घटनामा संलग्नता रहेको आशंका गरिएपनि नियन्त्रणमा भने लिन सकिएको छैन । उनीहरुको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै कालो कार चढेर भागेका उनीहरूप्रति सचेत रहन सर्वसाधारणलाई प्रहरीले अपील समेत गरेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनापछि जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमण ‘भयानक र हृदयविदारक’ भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । 

 खेल खबर

केन्याविरुद्ध नेपालको क्लिन स्विप

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले जितेको हो । यससँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र बसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए । बसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए ।

ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए । केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै, लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए । नेपालका सोमपाल कामी र आदील अन्सारीले २÷२ विकेट लिए । बसिर अहमद र शाहब आलमले १÷१ विकेट लिए ।

सिरिज अन्तर्गत कै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।