Live Streaming

अन्नपूर्ण दिनभर : गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा, महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल विजयी 

केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो । 

सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या गणना गर्न लगाउनु हुँदा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो । त्यसअघि मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालकासम्बन्धी प्रावधानका सम्बन्धमा परेको संशोधन प्रस्ताव स्वीकार गर्नुभएको थियो ।  

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको  कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षले नै सो विधेयकका सम्बन्धमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । 

यसैबीच, नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने प्रस्तावबाट सरकार पछि हटेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गर्नुभएको हो ।

दफा १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गरी प्रतिनिधिसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने उल्लेख छ ।

चुनाव घोषणा भइसकेको अवस्थामा यो विधेयक ल्याएपछि सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै चर्को आलोचना भएको थियो । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले विधेयक फिर्ता लिन निर्देशन दिएका थिए ।

त्यसअनुसार कांग्रेस सांसदहरुले हालेको संशोधनलाई कानुनमन्त्रीले स्वीकार गर्नुभएको छ । त्यसअघि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुमन्त्री बन्दीले सरकारले पवित्र उद्देश्यका साथ विधेयक ल्याएको बताउनुभएको थियो । 

संसदको कार्यकाल कहिलेबाट सुरु हुन्छ र कहिले सकिन्छ भन्ने विषयमा अन्यौल भएपछि सरकारले विधेयक ल्याएको, तर संसद नै नभएको आफूले तलब भत्ता खान ल्यायो भनेर जसरी प्रचार भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार १ बजे बस्नेछ । 

सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रयास गरेपनि सांसदहरु भने प्रतिनिधिसभाप्रति गैर–जिम्मेवार बन्न थालेका छन् । पछिल्लो समय सरकारले महत्वपूर्ण विधेयकहरु पारित गर्ने क्रम तीव्र पारेपनि संसदमा गणपूरक संख्या पुु¥याउनै धौ धौ पर्ने गरेको छ । यसअघि संक्रमणकालीन न्यायसमम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयकमा छलफल गर्ने क्रममा सांसदहरुको संख्या नपुगेपछि बैठक स्थगित भएका थिए । 

आजको बैठकमा पनि ५८ सांसद मात्र रहेको पाइएपछि बैठक १५ मिनेटलाई स्थगित भएको थियो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले गणपुकर संख्या यकिन गर्न माग गर्नुभएको थियो । कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा एक चौथाई अर्थात ६९ सांसद उपस्थित हुनुपर्छ । 

यता सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले नै सांसद र मन्त्रीहरु संसदप्रति गैरजिम्मेवार हुन थालेको बताउका छन् । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै सांसद गजेन्द्रबहादुर महतले सांसदहरुले समेत संसदप्रतिको जवाफदेहिता त्याग्दै गएको र मन्त्रीहरु पनि महत्वपूर्ण प्रस्ताव पारित गर्दा मात्रै उपस्थित हुने गरेको बताउनुभएको छ । यस्तै बैठकका क्रममा शून्य तथा विशेष समयमा उठेका बिषयहरुलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । 

गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताउनुभएको छ । आज धनगढी पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताउनुभएको हो ।

उनले दाबी आ–आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताउनुभयो ।  सीट दाबीबारे पत्रकारको प्रश्नमा प्रचण्डले नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको र माओवादी ६० वरपर र नेकपा एस २५ सीटलाई आधार बनाएर मिलाउन लागिएको बताउनुभयो ।
 
यस्तै अर्को कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसैको खल्तीबाट उम्मेदवार सिफारिस भए मान्य नहुने बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले उम्मेदवार सिफारिस संस्थागत रूपमा हुनुपर्ने बताउनुभएको हो । दाहालले उम्मेदवार सिफारिस यही भदौ २२ गतेभित्र गरिसक्नुपर्ने पनि बताउनुभएको छ । 

यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुंग्याउने कोसिस भइरहेको बताउनुभएको छ । आज काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सीटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुंगाउने कोसिस भइरहेको बताउनुभएको हो ।

सीटको बाँडफाँटको विषयमा अझै केही प्रश्न रहेको नेपालको भनाइ छ । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले ९ लाख जनताको समर्थन हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिकतर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे ।

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले गरे भेटवार्ता

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग भेटघाट गरेको हो । प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । 

भेटमा नेपालमा गोर्खा सैनिक अग्निपथ भर्ती कार्यक्रम सम्वन्धी भने कुनै कुरा नभएको जनाइएको छ । बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भारत सरकारसँग कूटनीतिक र राजनीतिक रूपमै अग्निपथ कार्यक्रमको विषयमा कुराकानी भइरहेकोले आजको  शिष्टाचार भेटवार्तामा कुनै पनि कुरा नउठेको बताउनुभयो । नेपालले भने आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै अहिले नै अग्निपथ कार्यक्रमका बारेमा निर्णय नगर्ने रणनीति लिएको छ । 

निर्वाचनपछि आउने नयाँ सरकारले मात्र यस विषयमा निर्णय गर्ने जनाइएको छ । भारतभित्रै विरोध भएको अग्निपथ भर्तीका सम्बन्धमा नेपालमा पनि बहस भइरहेको छ । गठबन्धन सरकारले यस विषयमा छलफल गरेर मात्र निर्णय गर्नुपर्ने जनाएको छ भने संसद्को सबैभन्दा ठूलो दल एमालेले यसलाई अघि नबढाउन सार्वजनिक रूपमै भनिसकेको छ । नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती कार्यक्रमको प्रक्रिया स्थगित गरिएको थियो ।  

बलात्कारको मुद्दामा पलले पाए सफाइ

काठमाडौँ । जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । तर, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । तर पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन् ।

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस भएको छ । आज बसेको न्यायपरिषद्को बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्ता तथा अध्यापकलाई सिफारिस गरेको हो । गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुनुहुन्छ भने शर्मा जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्छ । त्यसैगरी डीएन पराजुली नेपाल ल क्याम्पसका प्रमुख रहनुभएको  छ ।

न्यायपरिषद्को मंगलबारको बैठकले उनीहरूलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्का सदस्य तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बताउनुभयो । न्यायपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाईले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ । हाल प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने महाअभियोग लागेर निलम्बनमा पर्नुभएको छ ।  

डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो ।  

कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ । डेङ्गु सङ्क्रमणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।   

आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेङ्गु सङ्क्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ । 

अमेरिकी उपसहायकमन्त्री काठमाडौंमा

काठमाडौँ । अमेरिकाकी उपसहायक विदेशमन्त्री एलिजाबेथ होर्स्ट नेपाल भ्रमणमा आउनुभएको छ । अमेरिकी दूतावासले होर्स्ट नेपाल भ्रमणमा आएको जानकारी दिएको छ ।होर्स्ट दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री हुनुहुन्छ । उहाँ आज काठमाडौं आइपुगेको दूतावासले जनाएको छ । उहाँको भ्रमण खासगरी जलवायु परिर्वतनको क्षेत्रको साझेदारीमा केन्द्रित हुने जनाइएको छ ।

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी

काठमाडौँ । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेलवे कम्पनीले तयारी गरेको छ । 

रेलवे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेलवे कम्पनीका इन्जिनियर रवीन्द्र साहले जानकारी दिनुभयो  । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको साहले बताउनुभयो ।

रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने उहाँको भनाइ छ । बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ ।

काठमाडौंका १७ संस्थालाई कर बुझाउन महानगरको दश दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ।महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो । सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पत्र प्रप्त भएको दस दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो।महानगरले खाद्य संस्थान थापाथली, हाइट फिल स्कूल–नयाँबजार, रञ्जना ट्रेड सेन्टर– न्युरोड, साझा भण्डार–भोटाहिटी, राष्ट्रिय नाचघर–जमल, चेम्बर अफ कमर्स–जमल, कर्मचारी सञ्चय कोष–ठमेल, नेपाल विद्युत प्राधिकरण– रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड–सिंहदरबारलाई पत्र लेखेको हो । 

यस्तै, महानगरले नेपाली जामे मस्जिद–बागबजार, कृषि सामग्री संस्थान–टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल–स्वयम्भू, आरबि कम्प्लेक्स–न्युरोड, काठमाडौं प्लाजा–पुतलीसडक, नेपाल सेयर मार्केट–पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज–सामाखुसीलाई पनि पत्र लेखेको छ।यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ ।

 आर्थिक समाचार
 
जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

काठमाडौँ । जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ । एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्ने अनुमति पाएको हो।नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको बताएको छ ।

हाल जजिराको एयरबस ३२० निओले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ । कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन् । 

कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।चाडपर्व नजिकिदैं गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताउनुभयो । जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

मंगलबार दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन आज शेयर बजार परिसूचक नेप्से २१.१६ अंकले घटेको छ । आज २१.१६ अंकले घटेर १९५१.८४ बिन्दुमा झरेर बन्द भएको हो । बजार घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ३.८७ अंकले घटेर ३७९.०८ बिन्दु कायम भएको छ ।

आज कारोबारमा आएका २२७ वटा कम्पनीका ३२ लाख ९ हजार कित्ता शेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजारमा किनबेच भयो ।अघिल्लो कारोबारका दिनको तुलनामा आज कारोबार रकम भने वृद्धि भएको देखिन्छ । अघिल्लो कारोबारका दिन ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

 विदेशका खबर

चीनले रुसी ग्यास युआन रुबलमा तिर्ने

काठमाडौँ । चीनले रुसी ग्यास युआन र रुवलमा तिर्ने भएको छ । युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने रसियाको ऊर्जा कम्पनी गाजप्रोमले आज जनाएको छ । 

समाचार अनुसार रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिको लागि भुक्तान गर्नको लागि तयारी गरिएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । रुसले युरोपमा भने तत्काल ग्याँस आपूर्ति सुचारु नगर्ने स्पष्ट पारेको छ । गत साता केही दिनका लागि भन्दै युरोपमा ग्याँस आपूर्ति गर्ने नोर्डस्ट्रिम वान पाइपलाइन बन्द गरेको रुसले नाकाबन्दी कायम रहेसम्म ग्यास आपूर्ति सुचारु नहुने प्रष्ट पारेको हो । 

भारत र बङ्गलादेशबीच सात वटा सम्झौतामा हस्ताक्षर्

काठमाडौँ । भारत र बङ्गलादेशले आज जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएकी बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो । 

दुई प्रधानमन्त्रीले पावर प्लान्ट, एक रेलवे पुल र थुप्रै रेल लाइन परियोजनाहरू सहित विभिन्न परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन पनि गर्नु भएको छ । भारतीय विदेश सचिव विनय क्वात्राले पत्रकारहरूलाई प्रधानमन्त्रीद्वय मोदी र हसिनाले जल, व्यापार, आर्थिक सम्बन्ध र क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय विषयमा छलफल गरेको बताउँनु भएको  छ । 

 खेल खबर

सावित्रा र अनिता चम्किदा नेपाल विजयी 

काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना भईरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । पहिलो हाफ भारी वर्षाले प्रभावित गरेको थियो । 

तर, खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसअघि ११ औं मिनेटमा हिरा कुमारी भुजेलको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन् । 

त्यसपछि खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन् । भुटान विरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेकी छिन् । दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरिन् । यस जितसँगै समूह ’बी’ को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । 

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।