Live Streaming

अन्नपूर्ण दिनभर : 'राष्ट्रपतिले बोलाइन् पूर्व सुरक्षा अधिकारीहरूलाई छलफलमा, कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने अवस्था'

प्रचण्ड–जनार्दन मनमुटाब मञ्चमै पोखियो 

काठमाडौँ । सत्तारुढ घटक माओवादी केन्द्रको पदाधिकारी चयनमा देखिएको आन्तरिक असन्तुष्टि सार्वजनिक कार्यक्रममै पोखिएको छ । पार्टीको महासचिव पदमा आकांक्षा राखेपनि अध्यक्षको रोजाइमा नपरेपछि असन्तुष्ट रहेका अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यक्रममै पार्टीले आफूलाई दिएको उपमहासचिव पद अस्वीकार गर्दै नेतृत्वको आलोचना गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शर्माबीच मञ्चमै सवाल जवाफ चलेको छ ।  

अध्यक्ष प्रचण्डको उपस्थितिमै शर्माले आलोचना गरेपछि दुवै नेताबीच घोचपेच भएको हो । आज काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा कार्यक्रमका अर्थमन्त्री शर्माले नेतृत्वको आलोचना गर्दै सार्वजनिक रुपमा पहिलोपटक उपमहासचिव पद अस्वीकार गर्नुभयो ।

सो कार्यक्रममा अध्यक्ष प्रमुख अतिथि र शर्मा विशिष्ट अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डभन्दा पहिला मञ्चमा भाषण गर्नु भएका अर्थमन्त्री शर्माले आफू पार्टीको उपमहासचिव नभइ संगठन विभाग प्रमुखको हैसियतले धारणा राख्ने बताउनुभयो । अध्यक्ष प्रचण्डलाई रोकेर भाषण गर्न मञ्चमा पुगेका शर्मालाई विद्यार्थीले ताली बजाएर हुटिङ गर्दा उहाँले ‘नबजाऊ ताली, मलाई तालीदेखि डर लाग्छ, नगर गाली मलाई गालीदेखि रिस उठ्छ’ भन्दै मन्तव्य सुरु गर्नु भएको थियो । 

आफू अध्यक्ष प्रचण्डको कडा आलोचक पनि रहेको बताउँदै सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे आफू नै रहेको शर्माले दाबी गर्नुभयो । यस्तै, शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष प्रचण्डप्रति असन्तुष्टि जनाउनुभयो ।

आफू निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर कमिटी बनाएको पवन कार्की समूहलाई पार्टीले नरम नीति लिएकोमा असन्तुष्टि पोख्दै आलोचनाले नेतृत्वको रक्षा गर्ने तर चाकडी नहुने बताउनुभयो । शर्माले जवाफको अपेक्षा गरेपछि अध्यक्ष प्रचण्डले त्यसको सम्बोधन गर्नुभयो । अध्यक्ष प्रचण्डले शर्माको रक्षा गर्नुका साथै आफैंले हुर्काएका बताउनुभयो । 

अध्यक्ष प्रचण्डले अबको आफ्नो सपना राम्रो उत्तराधिकारी तयार गर्ने रहेको बताउनुभयो । पार्टीलाई एकताबद्ध बनाएर लैजाने उत्तराधिकारी खोजेको बताउँदै उहाँले नयाँ नेताहरुले पार्टी नेतृत्व गर्न र एकताबद्ध भएर लैजानुपर्ने बताउनुभयो ।

माओवादीमा भूमिकाका हिसाबले अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो। महासचिव नै भावी पार्टी नेतृत्वमा पुग्ने हुनाले प्रभावशाली नेताहरुले यो पदमा दाबी गरेका थिए । सुरुदेखि नै महासचिवकका लागि सबैभन्दा तीव्र लबिङ वर्षमान पुन र जनार्दन शर्माको रहेको थियो ।

तर, पुन र शर्माबीचको टक्कर चर्को रुपमा देखिन थालेपछि अध्यक्ष प्रचण्डले बाध्य भएर विकल्प खोज्न बाध्य हुनुभएको थियो । उनीहरुमध्ये एकलाई महासचिव बनाउँदा अर्कोलाई व्यवस्थापन गर्न सहज नहुने निचोडमा पुग्नु भएका अध्यक्ष प्रचण्डले अन्ततः देव गुरुङ महासचिव बनाउने निर्णय गर्नु भएको थियो ।

राष्ट्रियसभाका रिक्त ४ समितिले नेतृत्व पाउँदै

काठमाडौँ । करिब सात महिनादेखि राष्ट्रियसभाका रिक्त चारवटा विषयगत समितिले नेतृत्व पाउँदैछन् । निर्वाचन कार्यतालिकाअनुसार सभापतिका लागि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालको कार्यकक्षमा उम्मेदवारी दर्ता गरिएको छ ।

चारवटा समितिमा चार प्रमुख दलले एक–एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने यसअघि समझदारी बनेअनुसार उम्मेदवारी दिइएको हो । सबै समितिमा एक–एकजनाको उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् ।

जसमा दिगो विकास तथा सुशासन समितिको सभापतिका लागि महेशकुमार महराको प्रस्ताव र जगप्रसाद शर्माको समर्थनमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

यस्तै, विधायन व्यवस्थापन समितिको सभापतिका लागि अनिता देवकोटाको प्रस्तावमा र देवेन्द्र दाहालको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का डा. बेदुराम भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिका लागि मदनकुमारी शाह (गरिमा)को प्रस्तावमा युवराज शर्माको समर्थनमा नेकपा (माओवादी केन्द्र)का मायाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । 
यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिका लागि गोपीबहादुर अछामीको समर्थनमा र दुर्गा गुरुङको समर्थनमा नेकपा एमालेकी दीलकुमारी रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रियसभाका तीनवटा समितिको सभापति फागुनदेखि रिक्त थिए भने पार्वती रावलको २ वर्षको कार्यकाल सकिएर सो समिति पनि रिक्त थियो । राष्ट्रियसभाका समिति सभापतिहरूको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीको व्यवस्था छ । 

नेपाल मिडिया काउन्सिल विधेयक आज समितिमा पठाइयो

काठमाडौँ । पत्रकारितालाई स्वतन्त्र‚ मर्यादित र उत्तरदायी बनाउन सहयोग गर्ने भन्दै प्रस्ताव गरिएको मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले विधेयक समितिमा छलफलका लागि पठाएको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको नेपाल मिडिया काउन्सिल विधेयक २०७६लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्ताव सर्बसम्मतीले स्वीकृत भएको हो । 

गत शुक्रबार संसद्मा प्रस्तुत गरिएपछि नेपाल पत्रकार महासंघ‚ प्रेस युनियनलगायतले मिडिया काउन्सिल विधेयकप्रति विरोध जतनाउँदै आएका छन् । नेपाल मिडिया काउन्सिललाई आफ्नो नियन्त्रणमा राखेर सरकारले विधेयक पास गर्ने सोच बनाएको र काउन्सिललाई निकायभन्दा पनि दलका कार्यकर्ता भर्ती केन्द्र बनाउने गरी विधेयक अघि बढाइएको भन्दै विभिन्न संगठनले विरोध जनाएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पाला राष्ट्रिय सभामा पेस गरिएको यो विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना गर्ने र त्यस्तो अधिकार काउन्सिललाई हुने व्यवस्था राखिएको थियो । तर‚ पत्रकार महासंघ, नागरिक समाज र प्रेसबाट विरोध भएपछि राष्ट्रिय सभाले विधेयक संशोधन गरेको छ । 

चौतर्फी विरोध भएपछि सरकारले नियुक्त गरेका व्यक्तिले पत्रकारको परीक्षा लिएर पत्रकारिता गर्न अनुमति दिने प्रावधान भने हटाएको छ । प्रतिनिसिभाको अर्को बैठक भदौ २५ गते बस्नेछ । 

राष्ट्रपतिले छलफलमा बोलाइन् पूर्व सुरक्षा अधिकारीहरूलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि बोलाउनुभएको छ । राष्ट्रपति कार्यालयबाट भोलि छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताएका छन् । 

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्नुभएको थियो । त्यो नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।

निर्वाचन प्रभावित गर्न कर्मचारीलाई छानिछानी सरुवा गरियो : भट्टराई

काठमाडौँ । सरकारले निर्वाचन घोषणा भइसकेपछि कर्मचारी सरुवा गरिरहेको प्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । एमालेले प्रतिनिधिसभाको आजको बैठकमा त्यसरी गरिएका कर्मचरी सरुवा रोक्न पनि माग गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित गर्नका लागि सरकारले कर्मचारी सरुवा गरिरहेको बताउनुभयो । 

यसअघि स्थानीय तह निर्वाचनमा पनि सरकारले आफ्ना मान्छे विभिन्न पदमा सरुवा गरेको र त्यसले चुनाव प्रभावित भएको भट्टराईको भनाइ थियो । सरकारी कर्मचारीले आस्थाका आधारमा विभेद गरेको पनि आरोप लगाउनुभएको छ । निर्वाचन आयोगको अनुमतिमा रिक्त पदहरूमा कर्मचारी खटाउनुपर्ने तर सरुवा गर्न नहुने एमालेको भनाइ छ । 

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा विश्वप्रकाश चयन

काठमाडौँ । नेपाली कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा चयन हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोक्नुभएको हो ।

शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ । स्थानीय तहको निर्वाचनको घोषणापत्रको जिम्मेवारी भने अर्का महामन्त्री गगन थापाले पाउनुभएको थियो । 

प्रधानमन्त्रीको गुनासो : कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । आज निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताउनुभएको हो ।

उहाँले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताउनुभयो । देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ ।

उहाँले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताउनुभयो । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको गुनासो गर्दै कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 

प्रहरीले संकलन गर्यो लामिछाने पीडितसँग होटलमा गएको सीसी टीभी फुटेज

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको सीसी टिभी फुटेज प्रहरीले संकलन गरेको छ । ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती भदौ ५  मा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११ः५५ बजे पुगेका थिए । उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले बताएका छन । लामिछानेले होटलका सञ्चालकलाई फोन गरेरै कोठा बुक गरेको पनि पाइएको अनुसन्धानमा संलग्न अधिकृत बताएका छन३ । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् ।

तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ छ । 

अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।

जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति प्राप्त गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले जानकारी दिनुभयो । तर बोहोराले पाँचै दिन सिंहलाई हिरासतमा भने नराखिने बताउनुभयो । उहाँले भोलि सिंहको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाने बताउनुभयो ।

यसअघि अपूर्वका परिवार र नेवाः समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि घोषणा गरे आन्दोलनका कार्यक्रम

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताउनुभयो ।

 महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताउनुभएको छ । ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ । 

दसैंका लागि असोज १ देखि बसको टिकट बुकिङ खुला

काठमाडौँ । यातायात व्यवसायीहरूले दसैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला गर्ने भएका छन् । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यातायात व्यवस्था विभागमा बसेको बैठकको निर्णयबारे जानकारी दिनुभयो । यससँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौसाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था विभागले यात्रुहरूलाई आग्रह गरेको छ ।

दसैंको बेलामा यात्रुहरू ठगिने भएकाले त्यसलाई मध्यनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमाा टिकट काट्ने स्टल राखिने पनि बताइएको छ ।

दसैं तथा तिहार लगायत चाडबाडको समयमा काठमाडौं बाहिर जाने यात्रुहरूको संख्या धेरै हुने भएकाले सरकारले यात्रुलाई सजिलो होस् भनेर भदौ अन्तिमबाट सडक मर्मतको काम थाल्ने पनि सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताए ।
 

दर्जन बढी जिल्लामा सिडिओ हेरफेर

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौंको सिडिओ बनाइएको छ भने काठमाडौँका सिडिओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएको छ । 

कास्कीमा सिडिओ रहेका जयनारायण आचार्यलाई ललितपुरमा ल्याइएको छ । यसैगरी, कास्कीको सिडिओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी सिडिओ विजया प्रसाईँ पनि मन्त्रालयमा तानिएकी छन् भने जुम्लामा मुकेशकुमार केसरीलाई पठाइएका छन् । 

यस्तै, दैलेखमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखमा रहेका हरि प्याकुरेललाई बाँकेको सहायक सिडिओ बनाएर पठाइएको छ । बाँकेका सहायक सिडिओ टोपेन्द्र केसीलाई बाराको सिमरा इलाका प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने पाँचथरमा सिडिओ रहेका सुरेश न्यौपानेलाई गृहमन्त्रालय तानेर गणेश गैरेलाई पाँचथरको सिडिओ बनाइएको छ । 

यसैगरी, संखुवाभाका सिडिओ नुरहरी खतिवडालाई सप्तरीको सिडिओ बनाइएको छ भने सप्तरीका सिडिओ जनार्दन गौतमलाई उदयपुर र उदयपुरमा सिडिओ रहेका वीरेन्द्र यादवलाई संखुवासभा सरुवा गरिएको छ । निर्वाचन आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू भईसकेको भन्दै नयाँ नियुक्ति, बढुवा र सरुवा रोकिसकेको अवस्थामा गृहले सिडिओ सरुवा गरेको हो । गृहले आचारसंहिता लागू हुनु अघिको मिति राखेर सरुवाको निर्णय गरेको हुनसक्ने बताइएको छ ।

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले औषतमा दैनिक सात सयले एनओसीका लागि आवेदन दिने गरेको बताए । शुक्रबारदेखि यता दुई हजार १०३ एनओसी जारी भएको छ । 

माध्यामिक तह अंग्रेजी शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ८० शिक्षक पदको लागि १०४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा ३३६ जना सहभागी भएका थिए ।

मधेश प्रदेशको लागि २२ रिक्त पदको लागि ४८ जना सहभागीमध्ये २९ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ६६ रिक्त पदको लागि २३९ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ७५ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ६१ रिक्त पदको लागि २७८ जनाले परीक्षा दिएको मध्येमा ७३ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशको लागि ३८ रिक्त दरबन्दीको लागि १७७ जनाले परीक्षा दिएकोमा ४७ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । कर्णाली प्रदेशको लागि २० शिक्षक पदका लागि ४२ जनाले परीक्षा दिएको मध्ये जम्मा १७ जनाले उत्तीर्ण गरेका छन् । सुदुरपश्चिम प्रदेशमा २७ शिक्षक पदका लागि १२९ जनाले परीक्षा दिएका थिए । ती मध्येमा २८ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

सीटीईभीटी अन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोक

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोकेको छ । 

चिकित्सा शिक्षा ऐनको व्यवस्था अनुसार स्तरोन्नतिमा हुन नसकेका शिक्षण संस्थाहरुमा भर्ना रोकिएको आयोगका अध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिनुभयो । ऐनले फेजआउट गरेका १ सय २२ मध्ये गत फागुनमा ६५ वटा शिक्षणसंस्थालाई आयोगले स्तरोन्नति गर्न अनुमति दिएको थियो ।

ती ६५ शिक्षण संस्थामध्ये आयोगले ४० वटा शिक्षणसंस्था मात्र विद्यार्थी भर्ना गर्न योग्य रहेको जनाएको छ ।
आयोगले सूचना जारी गर्दै २५ वटा शिक्षणसंस्थाले मापदण्ड पूरा नगरेको उल्लेख गरेको छ । ती शिक्षण संस्थाहरुले शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षक, भवन, कक्षाकोठा, अस्पताल, ल्याबलगायतका मापदण्ड पूरा नगरेको, अनुगमनको क्रममा फेला नपरेको आयोगले जनाएको छ ।

आर्थिक खबर

नेप्सेमा दोहोरो अंकको पहिरो

काठमाडौँ । लगातार घटिरहेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट भएको छ । आज बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यो सातामा आज दोस्रो दिन कारोबार रकम १ अर्बबाट तल झरेको हो । 

आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ९१ करोडमा झरेको थियो । तर, हिजो पुनः बढेर १ अर्ब १९ करोड पुगे पनि आज फेरी गिरावट आएको हो । 

आज नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।
 

विदेशका खबर
ट्रम्पको घरमा एफबीआईको छापा

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरबाट अन्य देशका सैन्य र आणविक क्षमतासँग सम्बन्धित गोप्य कागजात फेला परेका छन् । फेडरल व्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)ले छापा मार्ने क्रममा सो कागजात फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडिया रिपोर्टअनुसार उक्त छापामा एफबीआईले अमेरिकाकै गोप्य अपरेशनसँग सम्बन्धित कागजात पनि फेला पारेको छ ।

वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई समेत यी कागजातबारे जानकारी नभएको जनाइएको छ । उक्त कागजातलाई विशेष सुरक्षाका साथ राखिनेछ । विशेष प्रक्रिया पूरा गरेपश्चात मात्र सो कागजात चलाउन पाइने प्रावधान छ ।

ट्रम्पका समर्थकहरुले यस घटनालाई उनलाई चुनाव लड्न नदिन बाइडेन र उनको पार्टीले गरेको षड्यन्त्रको संज्ञा दिएका छन् ।
ट्रम्प आफैंले एफबीआईले आफ्नो घरमा छापा मारेको पुष्टि गरेका हुन् । एफबीआईको उक्त छापा अमेरिकी सरकारी एजेन्सी नेशनल अर्काइभ रेकर्डको मर्मतसम्भारको अनुसन्धानसँग जोडिएको जनाएको छ। ट्रम्पले गत वर्ष ह्वाइट हाउस छाड्दा गोप्य कागजात आफ्नो साथमा लगेको आशंकामा सो छापा मारिएको हो ।

१२ सय करोड बराबरको लागुऔषधसहित दिल्लीमा दुई जना अफगान नागरिक पक्राउ
 

काठमाडौँ । भारतको दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको जनाएको छ । झण्डै १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसैगरी उनीहरूबाट १० किलो हेरोइन समेत बरामद भएको छ । आरोपीहरू नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ परेका हुन् । सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठूलो मात्रा दिल्लीमा ल्याइने गरेको सूचनापछि पक्राउ गरेको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

दुई अफगानी नागरिकलाई पक्राउ गरेपछि लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारबारे थप खुल्ने र यसबारेमा अनुसन्धान भैरहेको खबरमा उल्लेख छ । दिल्ली प्रहरीको स्पेशल सेलले अहिले बरामद गरिएको मेथाम्फेटामाइन इतिहासमै सबैभन्दा धेरै रहेको जनाएको छ ।

खेल खबर
पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुवात  

काठमाडौँ । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो ।

भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाईन् ।

त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३–० को जित दिलाईन् ।  प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा साँझ ५ बजे बंगलादेश र माल्दिभ्सबीचको खेल हुनेछ ।