Live Streaming

अन्नपूण  दिनभर :  सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी, सेना र प्रहरीलाई बालेनको पत्र : बहाल कर बुझाऊ


सीट बाँडफाँट मिलाउन गठबन्धन दलका शीर्ष नेता बालुवाटार जुटे

काठमाडौ । सीट बाँडफाँटमा सहमति जुटाउन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । शिर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसीरहेको हो । अहिलेको बैठकमा सीट बाँडफाँटका लागि कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन पेस गर्दै छ । 

सोही प्रतिवेदनका आधारमा बाँडफाँटमा कार्यदलले मिलाउन नसकेका क्षेत्रबारे छलफल गरेर टुंगोमा पु¥याउने बैठकको उद्देश्य छ । यसअघि आज बिहानैदेखि प्रतिवेदन तयार पार्न कार्यदलको बैठक बसीरहेको थियो । शिर्ष नेताहरुको बैठक दिउँसो १ बजेका लागि तय भएपनि कार्यदलको बैठक लम्विँदा बैठक ढिला गरी सुरु भएको हो । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेलको खाका बनाउन साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेका थिए । 

तर पटक पटक बैठक बसेर सहमति जुटाउन पहल भएपनि सहमति जुटाउन नसकेपछि कार्यदलले असहमतिका विषयलाई पनि समेटर शिर्ष नेतालाई प्रतिवेदन बुझाउन लागेको हो । गठबन्धनमा कांग्रेसले १ सय सिट भन्दा तल नलिने दाबी गर्दै आएको छ । माओवादी केन्द्रले ६० सिटमा दाबी गर्दा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ सिटमा दाबी गरिरहेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।

३२ सिट नपाए जसपाले गठबन्धन गर्दैन : उपेन्द्र

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको हो ।

उहाँले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिनुभयो । सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने बताउनुभयो । 

म निरन्तर संघर्षमा लाग्छु : ‘प्रचण्ड’

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा लागेको बताउनुभएको छ । सहिद सुरेश वाग्लेको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफू संघर्षमै रहेको कारणले बिभिन्न षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । प्रतिक्रियावादीहरुले अहिले निरन्तर आफूमाथि प्रहार गरिरहेको उहाँको तर्क छ । 

नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइन्यूटमा सही गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले सो लडाइँ गठबन्धनबीच अहिले पनि जारी रहेको बताउनुभएको छ । 

चाडवाडको मुखमा नेतृत्वविहीन बन्यो वाणिज्य विभाग

काठमाडौ । सबैभन्दा धेरै कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने चाडपर्वकै समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन बनेको छ । बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम अभावमाथि प्रत्यक्ष निगरानी राख्ने निकायको रुपमा रहेको विभाग नेतृत्वविहिन हुँदा चाडबाडको मुखमा बजार अनुगमनको काम अलपत्र बनेको छ ।

सरकारले दशैं तिहार जस्ता नेपालीका ठूला चाडपर्वको मुखमा विभागका महानिर्देशक लिलाप्रसाद शर्माको सरुवा गराएर विभागलाई नेतृत्व विहिन बनाएको हो । यस्तै विभागको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका हरि पंगेनी पनि उद्योग विभागमा सरुवा हुनुभएको छ । दशैं, तिहार जस्ता ठूला चाडपर्वमा बढी अधिकांश वस्तुको उपभोग धेरै हुने भएकोले यही मौकामा गुणस्तरहिन वस्तुको विक्री वितरण गर्ने, अनावश्यक रुपमा अभाव सिर्जना गर्ने गराउने, मूल्य बढाउने जस्ता गलत कार्य हुने गरेका छन् ।

यस्ता कार्य रोक्नको लागि प्रभावकारी रुपमा बजार अनुगमन गर्ने निकाय नै नेतृत्व विहिन भएकोले उपभोक्ता मारमा पर्न सक्ने देखिएको हो । उपभोक्तालाई ठगिनबाट जोगाउने मूख्य जिम्मेवारी पाएको विभाग नेतृत्वविहीन बन्दा उपभोक्ता ठगिनेक्रम बढेको छ । यस्तै, यही समयमा डेंगुको प्रकोप बढेर बजारमा सिटामोल सहित चीनि लगायत खाद्य बस्तुहरुको अभाव भएको गुनसो आइरहदा नियामक निकाय नै नेतृत्वविहीन बनेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन गर्ने बताउनुभएको छ । आफ्नो पाँच महिने कार्य विवरणबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्ने बताउनुभएको हो ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले भने बजार अनुगमन लगायतका नियमित कामहरु निरन्तर भइररहेको दावी गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै भट्टराईले दशौं तिहार लगायतका चापर्वहरुमा समेत नियमित अनुगमन हुने बताउनुभयो । विभाग मात्रै अनुगमन गर्ने निकाय नभएकाले तिनै तहका सरकार, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुको सक्रियता समेत आवश्यक रहेको उहाँको भनाई छ । 

सेना र प्रहरीलाई बालेनको पत्र – बहाल कर बुझाऊ

काठमाडौ । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीसहित विभिन्न १० सरकारकारी कार्यालयलाई बहाल कर तिर्नका लागि ताकेता गरेको छ । मेयर शाहको निर्देशनमा महानगरको राजस्व विभागले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र लेखेको हो । महानगरले ती कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएको जनाइएको छ । 

बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले भनेको छ । तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ । महानगरले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद्लाई पत्र काटेको हो । 

त्यस्तै काठमाडौं महानगरले पशुपति क्षेत्रका फुटपाथ व्यवसाय पनि हटाउन थालेको छ । महानगरका टोलीले आज सो क्षेत्रमा अवैध रुपमा बनेको संरचना साथै फुटपाथ हटाउन सुरु गरेको हो । आज हटाउन निर्देशन दिनका लागि पुगेको महानगर टोलीसँग व्यवसायीको चर्काचर्की परेको थियो । व्यवसाय गर्न पाउनुपर्ने भन्दै व्यवसायीले विरोध गरेका थिए । आज बिहानैदेखि सो क्षेत्रमा टोली खटाइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले दुई साताअघिदेखि अवैध रुपमा बनेका संरचनाका साथै फुटपाथ व्यवसाय हटाउने अभियान शुरु गरेको थियो ।

कांग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्वराष्ट्रपति यादव

काठमाडौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । आज काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुसिवाय अरु कुनै विकल्प नरहेको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको भनाई राख्नुभयो ।  उहाँले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनुभन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताउनुभएको छ । 

निहारिका प्रकरण : डीएनए टेस्टका लागि अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

काठमाडौ । कुमारी आमा निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । केहि दिन अगाडि उच्च अदालतले निहारिकाले जन्माएकी बच्चा र बलात्कार आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । डीएनए परीक्षणकै लागि श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएको बुझिएको छ । उच्च अदालत जनकपुरकी सूचना अधिकारी नूतन झाले श्रेष्ठ हाजिर भएको पुष्टि गर्नुभयो ।

तर, उच्च सरकारी वकील कार्यालय, जनकपुरका सहन्यायाधिवक्ता यदुनाथ शर्माले श्रेष्ठ अहिलेसम्म यहाँ नआएको बताउनुभयो । महोत्तरीको जलेश्वर घर भएकी निहारिका श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले भने श्रेष्ठलाई सफाई दियो । त्यसपछि निहारिका महिनौंसम्म ज्यानको प्रवाह नगरी आन्दोलन गरिन् । श्रेष्ठ दोषी हो भन्दै निहारिकाले डिएनए परीक्षणको माग राखेकी थिइन् ।

सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । आज काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको हो । एक नाबालिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो । १७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सन्दीप हाल विदेशमा छन् ।

पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ । सन्दीपले नेपाल क्रिकेट संघ क्यानसँग कानुनी सहयोग मागिसकेका छन् । 

आफू निर्दोष रहेको भन्दै नेपाल क्रिकेट संघसँग कानुनी सहयोग मागेका हुन् । राम्रो कानुन व्यवसायीलाई आफ्नो मुद्दा लड्ने वातावरण बनाइदिन आग्रह गर्दै सन्दीपले आफू खेल सकिएपछि मात्रै नेपाल आउने बताएको क्यानका महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिनुभयो । 

कमेडियन अपूर्व क्षितिज रिहा

काठमाडौ । कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

हिँजो मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।  नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

२४ घण्टामा २२७ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २२७ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १ हजार ५१८ पीसीआर परीक्षणमा १३७ र २ हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा पोजिटिभ देखिएको हो । २४ घण्टामा १६८ जनामा निको भएका छन् । सोही अवधिमा १ जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म सक्रिय संक्रमित २ हजार ४७३ रहेका छन् । २४ घण्टामा १ लाख ४३ हजार ५९५ ले खोप लगाएका छन् ।

मलेसियामा मृत्युदण्ड सुनाइएका एक नेपालीको सजाय परिवर्तन, अब १२ वर्ष जेल

काठमाडौ । मलेसियामा हत्या आरोपमा पक्राउ परेका एक नेपालीको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । धनुषाको साविक गोविन्दपुर–२ का सुरजदेव साह तेली कर्तब्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका थिए । इपो उच्च अदालतले सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो ।

सो फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित पुनरावेदन अदालतले सजाय परिवर्तन गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।  पुनरावेदन अदालतले आज गरेको फैसला अनुसार तेलीको कसुरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी १२ वर्ष जेल सजाय कायम गरिएको दूतावासले जनाएको छ । सोही बमोजिम तेली बाँकी सजाय सकिएपछि नेपाल फर्कने दूतावासले उल्लेख गरेको छ ।  

साउदी अरब पुगेका ३५ जना नेपाली अलपत्र

काठमाडौ । रोजगारीका क्रममा साउदी अरब पुगेका ३५ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंमा रहेको टार्गेट एचआर मेनपावरबाट २०२२ जुन २० मा साउदी पुगेका ३५ जना नेपाली ७६ दिनदेखि अलपत्र परेका छन् । पीडित नेपालीका अनुसार नेपालमै सम्झौत गरेको भएपनि साउदी पुगेपछि सम्बन्धित कम्पनीले पुनः सम्झौता गर्न भनेपछि आफुहरु समस्यामा परेका हुन् ।

उनिहरुले मेनपावरले वेवास्ता गरेका छन् । नेपालमा गरेको सम्झौताअनुसार एक हजार तीन सय साउदी रियाल दिने भनेपनि साउदी पुगेपछि पुनः कम्पनीले प्रतिमहिना आठ सय रियाल मात्र दिन लागेको थियो । उनीहरू साउदीको इफादा कम्पनीमा किलिनरको रूपमा काम गर्न साउदी पुगेका थिए ।

आर्थिक खबर
२.१३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौ । आजपनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ । आज कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ । बुधबार ८२ करोडभन्दा माथिको मात्रै कारोबार भएको थियो । 
बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको  छ । जसमा वित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

यता, अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत घटेको छ । नेप्से सामान्य गिरावट आए पनि ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको  १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

विदेशका खबर
मानव विकास पाँच वर्ष पछि धकेलिएको राष्ट्रसङ्घको निश्कर्ष

काठमाडौ । संयुक्त राष्ट्रसङ्घको आज प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ लगायत अकल्पनीय सङ्कटले मानव प्रगतिलाई पाँच वर्ष पछाडि धकेलेको र विश्वव्यापी अनिश्चितताको लहरलाई बढावा दिएको जनाएको हो । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले ३० वर्षअघि स्थापना भएको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मा लगातार दुई वर्ष घटेको उल्लेख गरेको छ ।  मानव विकास सूचकाङ्क दशकौँदेखि निरन्तर उकालो लागिरहेको छ तर सन् २०२० मा ओरालो लाग्न थालेको र सन् २०२१ मा पनि निरन्तर ओरालो लाग्दै गएको प्रतिवेदनमा उल्लेख छ । 

अध्ययन रिपोर्ट अनुसार यो झट्का वास्तवमै विश्वव्यापी रहेको र यसले विश्वका ९० प्रतिशतभन्दा बढी देशलाई प्रभावित गरेको छ । स्विट्जरल्याण्ड, नर्वे र आइसल्याण्ड शीर्ष स्थानमा छन् भने दक्षिण सुडान, चाड र नाइजर अन्त्यमा छन् । खाद्य र ऊर्जा सुरक्षामा रूसले युक्रेनमाथि गरेको आक्रमणको परिणाम यस वर्षको सूचकांकमा गणना नगरिएको भए तापनि सन् २०२२ को परिदृश्य भयावह रहेको यूएनडीपीका प्रमुख अचिम स्टेनरले बताउनुभयो ।

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत

काठमाडौ । युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ । सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताउनुभयो ।

रुचिरा काम्बोजका अनुसार पछिल्लो तीन महिनामा भारतले अफगानिस्तान, म्यानमार, सुडान र यमनलगायतका देशलाई १८ लाख टनभन्दा बढी गहुँ निर्यात गरेको छ । भारतले अन्तर्राष्ट्रिय समुदायले मानवीय सहायताको आह्वानमा सकारात्मक प्रतिक्रिया जारी राख्नेछ । भारतले हालै युक्रेनलाई मानवीय सहायताको बाह्रौं खेप पठाएको छ ।

कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । आज नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो । तीब्र उतार चढावका बीच केही समय एक सय डलर माथि नै रहेको कच्चा तेलको मूल्य २९ अगष्टदेखि भने निरन्तर ओरालो लागेको थियो ।

यस बीचको १० दिनमा १०२ डलर प्रतिब्यारलबाट १४ डलर प्रतिब्यारलले घटेर ८८ डलरमा झरेको छ । कच्चा तेलको मूल्य आरोलो लाग्नुले नेपाल जस्तो मुलुकका लागि हित गर्छ । भारतले अन्तर्राष्ट्रिय बजारबाट किन्ने ब्रेन्टको मूल्य घट्दा नेपालले भारतबाट किन्ने प्रशोधित तेलको मूल्य घट्ने छ । 

खेल खबर
नवौं राष्ट्रिय खेलकुद : एनआरएनको विजयी सुरुआत

काठमाडौ । नवौं राष्ट्रिय खेलकुद २०८९ अन्तर्गतको पुरुष क्रिकेटमा एनआरएनए एकेडेमीले विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।

एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो । वर्षाको कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाईएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाए भने राजु रिजालले ११ रन जोडे । बसन्त खत्री १० रनमा आउट भए ।

एनआरएनएका लागि आशिष पोखरेल र दिपक क्षेत्रीले ३÷३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो । एनआरएनएका लागि सागर पुनले अविजित ४६ रन बनाए । 

कप्तान सुनाम गौतमले २४ रन बनाएका थिए । सुदूरका हेमन्त धामी र शेर मल्लले २-२ विकेट लिए ।  यस जितसँगै एनआरएनएले पहिलो खेलमै २ अंक जोडेको छ । सुदूरले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको छ ।

वर्षाको कारण मुलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको छ । खेल टस समेत नभई रद्द भएको हो । त्यस्तै मुलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ । प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल टी–२० लिग खेल्ने बाँकी दुई टोली घोषणा

काठमाडौ । नेपाल टी–२० लिग खेल्नका लागि बाँकी दुई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोली घोषणा हो । क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको रूपमा सार्वजनिक गरेको छ । फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ ।

जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ । त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्ट राज ज्ञवाली रहेका छन्  । क्यानले यसअघि चार टोलीको नाम सार्वजनिक गरिसकेको थियो । नेपाल टी–२० लिग असोज ८ गतेबाट सञ्चालन हुँदैछ ।