Live Streaming

अन्नपूर्ण दिनभर : बेलायती महारानी एलिजावेथको निधन, आज इन्द्रजात्रा पर्व मनाइँदै

डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोलको अभाव

नेपालमा डेंगु संकरण उच्च बन्न थालेसँगै बजारमा सिटामोलको अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालको डेंगुका संक्रमितको संख्या ७ हजार नाघेको छ । यस्तै ललितपुर, कैलाली र बाँकेमा गरि ४ जनाको मृत्यु भइसकेको छ  । प्रकोपका रूपमा फैलिएको डेङ्गु सङ्क्रमण ७५ वटा जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी ललितपुर, काठमाडौं र मकवानपुुरमा डेंगुका संक्रमितहरु भेटिएका छन् भने काठमाडौं उपत्यकाका तीन जिल्लासहित धादिङ, मकवानपुर, रुपन्देही, तेह्रथुम, सिन्धुली, काभ्रे र गुल्मी बढी प्रभावित भएका छन् । 

यता सरकारले भने प्रकोपले महामारीकै रुप नलिएको जनाएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संजय कुमार ठाकुरले महामारीको रुप नलिएको र स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नभएको बताउनुभयो ।

यस्तै बाहिर आएजस्तो सिटामोलको समेत अभाव नरहेको बताउदै ठाकुुरले कृतिम अभाव सिर्जना गराउनतर्फ नलाग्नसमेत आग्रह गर्नुभएको छ ।

गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ नेपाली कांग्रेस चितवनद्वारा आज आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । 

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले बल्ल–बल्ल पार्टी बलियो हुँदै उल्लेख गर्नुभयो । त्यसै कारण गठबन्धनको विरुद्ध नबोल्न पार्टीपंत्तीलाई आग्रह गर्नुभयो । उहाँले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । 

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले)को एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । 

हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहित वातावरणमा सम्पन्न गरेको र  अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा  सम्पन्न हुने बताउनुभयो । 

नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिने अवस्था आउन सक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताउनुभएको छ । आज पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधान अनुसार एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउदै उहाँले अब फेरि दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले त्यसो नभए भने सो मुुद्दा अदालतमा जाने र अदालतको फैसलापछि अघि बढ्ने वा राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउने बताउनुभयो । 

प्रचण्डले अंगिकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै ७ वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भएपनि त्यति बेला सर्वसम्मत हुन नसकेको बताउनुभयो ।

उहाँले अहिले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार नतोकिने बताउदै प्रधानमन्त्री बारे निर्णय चुनावपछि नै हुने बताउनुभयो । तर अहिले नै प्रधानमन्त्री नहुने देश र जनताका लागि पनि फाइदाजनक नहुने उहाँको तर्क छ । अहिले प्रधानमन्त्रीको विषयमा गठबन्धनमा पनि कुनै चर्चा नभएको उहाँको दावी छ । 

ओली–ठाकुर छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्नुभएको छ । उहाँहरुबीच एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरेका छन् । स्रोतका अनुसार एमालेले लोसपालाई केही सातायता नै सहकार्यबारे आफ्नो तयारी गर्न प्रस्ताव पठाएको थियो । तर ठाकुर अनिर्णित बन्ुभएको थियो । 
मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेल टुंगो लगाउने अन्तिम विन्दूमा छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सिट बाँडफाट निष्कर्षमा पु¥याउन सक्रिय रहे पनि लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव बढाएका छन् ।ती नेताका अनुसार मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति बन्न सक्छ । अनौपचारिक छलफल सकारात्मक मोडमा रहेको दुवै पक्षका नेताहरुले बताएका छन् । 
 घोषणापत्रमा सस्तो लोकप्रियतालाई स्थान हुनेछैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमले स्थान नपाउने बताउनुभएको छ । आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी पाउनुभएका महामन्त्री शर्माले आज १०९ औँ बीपी जन्मजयन्तीको सन्दर्भमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर यस्तो बताउनुभएको हो । 

शर्माले बीपी कोइरालाले २०१५ सालमा लेखेको घोषणापत्र, त्यसयता कांग्रेसले प्रतिवद्धता जनाएका आफ्ना दस्तावेज र उपलब्धिहरुको गहिरो स्मरण गर्दै विगतका कमजोरीको पहिचान र बद्लिएको समयको अपेक्षालाई सम्बोधन गर्ने व्यवहारिक घोषणापत्र तयार गर्ने बताउनुभएको छ । उहाँले कांग्रेसको घोषणापत्रले ऐतिहासिक निरन्तरतालाई अब नविनतामा लैजाने संकल्प गर्ने बताउनभयो । 

सरकारले ल्यायो हेजिङ नियमावली

सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रूत गतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ। विकास निर्माणको तीव्र चाहना तथा लगानीको स्रोतको विस्तार तथा राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले हेजिङ सुविधा उपलब्ध गराउने भएको हो । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘हेजिङ नियमावली, २०७९’ अनुसार एक सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशयुक्त वा अर्धजालशयुक्त विद्युत् परियोजनालाई हेजिङ सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको अर्थसचिव कृष्णहरि पुस्करले जानकारी दिनुभयो । 

यस्तै दुई सय २० किलोभोल्ट वा सोभन्दा बढी भोल्टेज लेभलको ३० किलोमिटरभन्दा लामो विद्युत् प्रसारण लाइनको निर्माण परियोजनाले पनि त्यस्तो सुविधा पाउनेछन्। दश किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माण परियोजना, शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाइओभर, अण्डरपास, सिग्नेचर पुल वा सुरुङमार्ग निर्माण तथा ५० किलोमिटरभन्दा लामो द्रूतमार्ग परियोजनाले हेजिङ सुविधा पाउनेछन । 

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार, दुई अर्बभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र सहरी विकाससम्बन्धी भौतिक पुर्वाधार परियोजना र सरकारले निर्णय गरी तोकेका अन्य परियोजनामा पनि हेजिङ सुविधा उपलब्ध हुनेछ ।

अर्थ मन्त्रालयका अनुसार हेजिङको सुविधा कुनै परियोजनामा गरिने ऋणको सावाँ तथा ब्याज रकमका लागि उपलब्ध हुनेछ। कुनै परियोजनामा गरिने विदेशी ऋण लगानीको हेजिङ गर्ने भएमा हेजिङ गरिने अनुमति ऋण लगानीको अंक परियोजना स्वीकृति वा अनुमतिका लागि व्यावसायिक संस्थामा आवेदन गर्दा नै खुलाउनुपर्नेछ ।

ढुवानी व्यवसायी महासंघलाई आयल निगमले भन्यो

नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । 

महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषण गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने बताएको छ । महासंघको मागको सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समाधानका लागि आवश्यक पहल भइरहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन निगमले अनुरोध गरेको छ ।

महासंघको मागको सम्बन्धमा निगम सञ्चालक समिति पटक–पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा रहेको भन्दै निगमले अति आवश्यकीय पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरणमा अवरोध नगर्न निगमले आग्रह गरेको छ ।

ढुवानी व्यवसायी महासंघको आन्दोलनका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । काठमाडौंको लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उहाँले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका राखेको छ ।

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस पर्वमा आज कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । 

आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्नुका साथै पूजा गर्नु हुनेछ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ ।सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

आज वीपी कोइरालाको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गरेका छन् । कोइरालाको जन्मजयन्तीमा ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा रहेको कोइरालाको प्रतिमामा माल्यार्पण गरिएको छ ।

२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।आफ्नो कार्यकालमा उहाँले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्त्वपूर्ण कार्यक्रम घोषणा गर्नु भएको थियो ।  

२०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु भएको थियो । 

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्किनु भएको थियो । कोइरालाले नेपाली साहित्यमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो

कैलालीमा देउडा हेर्न गएकी किशोरी बलात्कृत

कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । 

आरोपित चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताउनुभयो । काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ । 

ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्याएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । 

बलात्कृत किशोरीले आज बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पीडित बालिकाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक खबर

भारतले चामल निर्यातमा कर लगायो, नेपालमा अभाव हुन सक्ने

विश्वको सबैभन्दा धेरै चामल ढुवानी गर्ने भारतले घरेलु आपूर्ति सुरक्षित गर्न केही निर्यातमा कर लगाएको छ । सो कदमले विश्वव्यापी खाद्य बजारमा थप हड्ताल र भोकमरीको अवस्था निम्तिन सक्ने विश्लेषण हुन थालेको छ । त्यसको सोझो असर भने नेपालमा पर्ने देखिएको छ ।नेपालमा भारतीय बजारबाट करिब ४० अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको छ । भारतले चामल निर्यातमा कर लगाएपछि भारतीय चामलको मूल्य बढ्नेछ । भारतीय निर्णयले नेपालमा चामलको मूल्य बढ्नुका साथै अभाव सिर्जना हुने चिन्ता पनि व्यक्त हुन थालेको छ । 

भारतीय अर्थ मन्त्रालयका अनुसार ब्राउन चामलमा २० प्रतिशत निर्यात शुल्क लाग्नेछ । सेमी मिल्ड र होली मिल्ड चामल, परबोइल्ड र बासमती जात बाहेकमा समान शुल्क हुनेछ ।विश्वव्यापी चामल व्यापारको ४० प्रतिशत हिस्सा ओगटेको भारतको सो निर्णयले भोकमरी र बढ्दो खाद्य संकट तथा बढ्दो मुद्रास्फीतिसँग संघर्ष गरिरहेका देशहरूमा थप दबाब दिनेछ । एसियाले मात्रै विश्वको ९० प्रतिशत धान उत्पादन र खपत गर्छ । भारतले चामलको निर्यात शुल्क बढाउनुभन्दा अघि गहुँ र चिनीमा निर्यात प्रतिबन्ध लगाएको थियो ।

नेपाल वायुसेवा निगमद्वारा न्यारोबडी जहाज मर्मतको ठेक्का आह्वान

नेपाल वायुसेवा निगमले ग्राउण्डेड अवस्थामा रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ । करिब–करिब डेढ महिनापछि न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरिएको हो । निगमले केही दिनअघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)÷मेन्टिनेन्स रिपेयर अर्गनाइजेशनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 

जहाजको भी–१७५८५ सिरियल नम्बरको दायाँपट्टिको इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएको थियो । आठ महिनाअघि यही जहाजको बायाँपट्टिको इन्जिन फेल भएर ग्राउण्डेड भएको थियो । ‘नाइनएन–एकेडब्लु’ कलसाइनको यो न्यारोबडी जहाजको निगमले सात वर्षअघि खरिद गरेको थियो । सात हजारभन्दा बढी साइकल पार गरेको यो इन्जिनले करिब १९ हजार फ्लाइङ आवर पार गरिसकेको निगमले जनाएको छ ।

विदेशका खबर

महारानी एलिजावेथको निधन 

बेलायती महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ ।केही समय यता बिरामी रहनु भएका महारानीको स्कटल्याण्डको बालमोरल दरबारमा निधन भएको बकिङ्घम प्यालेसले विज्ञप्ति मार्फत पुष्टी गरेको छ । सन् १९२६ को अप्रिल २१ जन्मनुभएकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बन्नुभएको थियो । उहाँ ७० वर्ष सात महिना सत्तामा रहनु भयो । 

महारानी एलिजावेथको निधन लगत्तै राजकुमार चाल्र्स बेलायतको राजा बन्नुभएको छ । अब राजा चाल्र्स तृतीयको आदेश अनुसार महारानी एलिजावेथको शव बालमोरल दरबारबाट बकिङ्घम दरबारमा सारिने छ ।दश दिनको राष्ट्रिय शोक र श्रद्धाञ्जली कार्यक्रमपछि एलिजावेथको अन्तिम संस्कार गरिने बीबीसीले जनाएको छ । 

यो अवधिभर बेलायतमा संसद बैठक, सभा सम्मेलन, औपचारिक समारोह, खेल प्रतियोगिता तथा मनोरञ्नका कुनै पनि कार्यक्रम नगिरिने बताइएको छ । महारानी एलिजावेथका श्रीमान फिलिपको गत वर्ष अप्रिलमा निधन भएको थियो । महारानी एलिजावेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बने । 

महारानीको शासनकालको पहिलो प्रधानमन्त्री विस्न्टन चर्चिल हुनुहुन्थ्यो भने अन्तिम प्रधानमन्त्री लिज ट्रस बन्नुभयो ।महारानी एलिजावेथको निधन लगत्तै राजा बन्नुभएका चाल्र्सको औपचारिक गद्दी आरोहण कार्यक्रम भने भोली हुनेछ । 

खेल खबर

साफ यू–१७  भारतलाई हराउँदै नेपाल समूह विजेता

नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।  नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।

खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा नेपालले दुई गोल गर्यो । खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३–० ले हराएको थियो ।  दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।

महिला साफमा आज श्रीलङ्का र भुटान खेल्दै

काठमाण्डौमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन् । बेलुका साढे ५ बजे सुरु हुनेखेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो भने भुटानको दोस्रो खेल रहेको छ ।

भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् ।साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।