Live Streaming

अन्नपूर्ण दिनभर : सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक, महाअभियोग प्रस्ताव के हुन्छ ?

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन नेताहरू छलफलमा जुटेका हुन् । अपरान्हदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलमा रहेका नेताहरूको बैठक बसीरहेको हो ।सिट बाँडफाँटको विषय टुंगो लगाउन निर्णायक बैठक जारी रहेको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । 

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए भने त्यही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए । तर, कार्यदलले दर्जनौं पटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेको छैन । कार्यदलले एकमात्रै दलको दाबी रहेका करिब ९० सिटमा समझदारी जुटाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

एकभन्दा बढी दलको दाबी रहेका निर्वाचन क्षेत्रका विषयमा शीर्ष नेताहरूबीच समझदारी बनेको छैन । त्यसो त, अहिलेसम्म कुन दलले कति सिट लिने भन्नेसमेत टुंगिएको छैन ।गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।

सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले आजको बैठकलाई भने निर्णायक बैठक भनेका छन् । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।

महाअभियोग प्रस्ताव के हुन्छ ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव टुंगोमा नपु¥याई चालु संसदको आयु सकिने देखिएको छ । संसदको आयु सकिएलगत्तै निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन सक्नु हुन्छ वा हुन्न ? भन्ने बहस चल्न थालेको छ । जबरा सर्वोच्च फर्कन पाउनु हुन्छ वा हुन्न ? यस विषयमा विज्ञहरुसमेत विभाजित देखिएका छन् । 

संसदले महाअभियोग सिफारिस समितिमा प्रस्ताव पठाएसँगै अहिले जबराको बयान लिने क्रम चलिरहेको छ । तर, समितिले समेत बयान लिने काम औपचारिकतामा मात्रै सीमित गर्दा समयमै नसकिने देखिएको छ । निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय असोज २ गतेलाई तोकेका कारण असोज १ गतेदेखि प्रतिनिधि सभाको यो कार्यकाल समाप्त हुनेछ । संसद नै नरहेपछि अब महाअभियोग प्रस्ताव के हुने भनेर प्रश्न उठ्न थालेको छ भने संसद सचिवालय यस विषयमा अन्योलमा छ । 

यसैबीच, संविधानविद भीमार्जुन आचार्यले महाअभियोग प्रस्ताव निष्क्रिय हुनु र खारेज हुनु अलगअलग विषय भएको बताउनु भएको छ । उहाँले संसदको आयु सकिएर प्रस्ताव अलपत्र पर्नु भनेको खारेजी हुनु होइन भन्दै यस्तो अवस्थामा प्रस्ताव निष्क्रियमात्र हुने र अर्को संसदले उक्त प्रस्तावबारे कारबाही अगाडि बढाउन सक्ने बताउनुभयो ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै संविधानविद आचार्यले जबराको पदावधि सकिएपछि वा संसदले महाअभियोगमाथि निर्णय गरेपछि मात्रै प्रस्तावको औचित्य समाप्त हुने स्पष्ट पार्नुभयो । जबराको पदावधि कायमै रहेको अवस्थामा अर्को संसदले पनि यो प्रस्तावमाथि कारबाही अगाडि बढाउन सक्ने उहाँको भनाइ छ ।  

ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकता विधेयकलाई तनावको विषय बनाएको आरोप लगाउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले पाखुरा देखाएर, तनाव बढाएर समस्या समाधान नहुने बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने विषय उठाएकोबारे टिप्पणी गर्दै ओलीले ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो?’ भन्ने प्रश्न गर्नुभयो । सत्ता गठबन्धनले बाहिरै बसेर बाहिरै निर्णय गरेर अहंकार देखाएको ओलीको टिप्पणी छ। संसद तर्क, बहस र विधि विधानले चल्ने र त्यसैअनुसार अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

सरकारले हरेक कुरामा निहुँ खोज्ने र प्रतिपक्षलाई आरोप लगाएर, भ्रम फिजाएर भोटको राजनीति गर्न खोजेको ओलीको टिप्पणी छ।जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने कुरामा एमाले सहमत रहेको भन्दै सरकारले अहिलेको विधेयक फिर्ता लिएर नयाँ संशोधन ल्याउनु पर्ने ओलीको भनाई छ । 

कुनै पनि हालतमा गठबन्धन तोड्दैनाैँ : गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि हालतमा गठबन्धन नतोडिने बताउनुभएको छ । कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उहाँको भनाइ छ।कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको भनाई राख्नुभयो ।

तरुण दलका पदाधिकारीहरुले मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका थिए। उनीहरुले कांग्रेस एक्लै लडेर पनि बहुमत ल्याउने दाबी गरेपछि गृहमन्त्री खाँणले उनीहरुलाई यस्तो जवाफ फर्काउनुभएको हो । उहाँले वर्तमान गठबन्धन तोडिँदा एमालेसँग वाम गठबन्धन हुने सम्भावना रहेको आँकलनसमेत गर्नुभयो । उहाँले जसले जे भने पनि कांग्रेस केन्द्रीय समितिले गठबन्धन नतोड्ने स्पष्ट पार्नुभयो । 
 
दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । मन्त्री खाँणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितहरुको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ । 

मन्त्री खाँणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितहरुको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका सहसचिव प्रदीप कोइरालाले जानकारी दिनुभयो । शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पु¥याएको छ । 

पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै १० जना बेपत्ता छन् । पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी मोहन आचार्यले जानकारी दिनुभयो ।पहिरोमा परी ७७ वर्षीय नन्दराम बोहरा, ६८ वर्षीय मोहनराम पार्की, ३२ वर्षीय जानकी ठगुन्ना, ३५ वर्षीय मानमति कार्की र १५ वर्षीय धनुली ठगुन्नाको ज्यान गएको छ ।

बेपत्ता छानबिन संशोधन विधेयक भदौ २९ गते सदनमा पेश हुँदै

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई आगामी प्रतिनिधिसभाको बैठकमा पेश गरिने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकका संशोधनकर्ता, पीडित, सरोकारवाला र मानव अधिकार सम्बन्धी सङ्घ संस्थाका पदाधिकारीसँग राय, सुझाव तथा परामर्श लिएपछि सदनमा पेश गर्ने निर्णय गरेको हो । 

समितिका सभापति कृष्णभक्त पोखरेलले संविधान, अन्तरराष्ट्रिय अभ्यास र मूल्य मान्यता, विद्वानका राय एवं पीडितको आवाज सम्बोधन गर्ने कोणबाट विधेयकलाई समृद्ध तुल्याइने बताउनुभयो । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयकलाई अघि बढाउने सिलसिलामा आएका प्रतिक्रिया र चासोलाई सम्बोधन गरिने विश्वास दिलाउनुभएको छ । 

उहाँले विधेयक’ संसदबाट पारित गर्न ढिला गर्न नहुने पनि बताउनुभएको छ । मन्त्री कोइरालाले राजनीतिक दलहरूबीच पनि सो विधेयकमा फरक मत नरहेकाले यसलाई संसद र संसदीय समितिले टुंगोमा पु¥याउन ढिला गर्नुपर्ने कुनै कारण नरहेको तर्क गर्नुभयो । सभापति पोखरेलले विधेयकलाई समृद्ध तुल्याउने सिलसिलामा समितिलाई आवश्यक पर्दा तत्काल उपस्थित रहन मन्त्री कोइरालाई निर्देशन दिनुभयो । 

बेलायती राजदूतावास पुगेर प्रधानमन्त्री देउवाले लेखे शोक सन्देश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शोक व्यक्त गर्न देउवा आज दूतावास पुग्नुभएको थियो । उहाँले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार दूतावास पुगेर शोक व्यक्त गर्नुभएको थियो । महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते राति निधन भएको हो।

नेपाल र भारतको द्विपक्षीय सम्बन्धमा सुधार आएको छ : राजदूत शर्मा

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा सुधार आएको बताउनुभएको छ । दुबै देशका प्रधानमन्त्रीले एकअर्काे देशमा भ्रमण गरेपछि विभिन्न तहमा छलफलको वातावरण पनि बनेको उहाँको भनाई छ ।

दुई देशका प्रधानमन्त्रीको भ्रमणपछि सरकार–सरकार तहमा मात्रै नभएर कर्मचारी र विद्वत वर्गमा पनि छलफलले निरन्तरता पाएको उहाँको भनाइ छ । नेपाल र भारतबीच अन्य धेरै क्षेत्रमा समझदारी गरेर अगाडि बढ्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।विद्युत् व्यापारका बारेमा पनि दुई देशबीच समझदारी बनेको उहाँले स्पष्ट पार्नुभयो । विगत ४–५ महिनाको अवस्था हेर्दा नेपाल र भारतबीचको सम्बन्धमा निकै सकारात्मक वातावरण बनेको शर्माले बताउनुभयो ।  

दुई वर्षपछि परारष्ट्र सचिवस्तर भेट हुदै 

काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवबीच दुई वर्षपछि औपचारिक वार्ता हुने भएको छ । परराष्ट्रसचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच २८ भदौमा दिल्लीमा औपचारिक वार्ता हुने भएको हो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ नेपालको परराष्ट्रसचिवस्तरबाट हुने भारत भ्रमण र दुई सचिवबीचको औपचारिक वार्ताको समयतालिका सार्वजनिक गरेका हुन् । 
परराष्ट्रसचिव पौड्याल भदौ २८ मा दिल्ली जाने र ३० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।भेटमा पछिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ ।

परराष्ट्र सचिवको भ्रमणका क्रममा विगतका सहमतिको पुनरावलोकनसमेत हुने मन्त्रालयले जनाएको छ । परराष्ट्रसचिव पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको भारत डिभिजन हेर्ने सहसचिव सुधीर भट्टराई, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र उपनियोग प्रमुख रामप्रसाद सुवेदी रहनु हुनेछ । व्यापार, पारवहन, कनेक्टिभिटी, ऊर्जा, पूर्वाधार, लगानी, कृषि, संस्कृति, जनस्तरको सम्बन्ध, सुरक्षालगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरू संशोधन गर्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियनले प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरू संशोधन गरेर विधेयक पारित गर्न माग गरेको छ । जनकपुरमा सम्पन्न युनियन केन्द्रीय समितिको दोस्रो बैठकबाट १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार प्रतिकुल हुने गरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानून, नियमावली नबनाउन माग गरको हो । 

संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममा बाधा पुग्ने तथा प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट काउन्सिल स्वायत्त हुनेमा आशंका देखिएकाले त्यसलाई सच्याउन युनियनले माग गरिएको उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो । 

त्यस्तै, श्रमजीवी पत्रकारहरुको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनले प्रत्याभूत गरेका सबै सेवा सुविधा उपलब्ध गराउन तथा श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाका लागि कल्याणकारीकोष निर्माण गर्न सञ्चार प्रतिष्ठानहरुसँग युनियनले माग गरेको छ । लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा सञ्चारमाध्यमको दर्ता, नवीकरण, सूचीकरण, वर्गीकरण तथा प्रेस पास वितरणको व्यवस्थालाई सरल र सहज बनाउन एवं स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवर्द्धनमा विशेष जोड दिन माग समेत गरेको छ । 

देशभर थप १६३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको पिसिआर परिक्षणमा ११२ र २ हजार २८ एन्टिजेन परीक्षणमा ५१ जनामा संक्रमण देखिएको हो।योसँगै देशभर २४३० जना सक्रिय संक्रमित छन्। सोही अवधीमा १३० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
 
पाइपलाइनले बचायो पाँच अर्ब, सोचे झैँ सफलता : निगम

काठमाडौं । पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने उद्देश्यले संचालनमा ल्याइएको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको तीन वर्ष पूरा हुँदा नेपाल आयल निगमले पाँच अर्ब बचत गरेको छ । अमलेखगञ्जस्थित आयल निगमको प्रादेशिक कार्यालयले पाइपलाइनको तीन वर्ष सफल भएको अवसरमा आयोजना गरेको कार्यक्रममा पाँच अर्ब बचत गरेको बताएको हो । प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले सहज र सुलभ तवरले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने उद्देश्यमा पाइपलाइन सफल देखिएको बताउनुभयो । 

ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाई हुने जस्ता विभिन्न किसिमका समस्या निगमले भोगिरहेको थियो । पाइपलाइनबाट इन्धन ल्याउँदा सुरक्षित हुने, चुहावट र अवरोध नहुने हुँदा सोचे अनुरुपको बचत भएको यादवको तर्क छ ।

निगमले अहिले पाइपलाइनबाट डिजलमात्रै ल्याईरहेको छ । पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजल आयात भएको यादवले जानकारी दिनुभयो । संचालित पाइपलाइनको वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता छ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना अन्तर्गत मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि संचालनमा आएको थियो । 

राजा चाल्र्सको पहिलो सम्बोधन

काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयले राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नुभएको छ । महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपछि बेलायतको राजगद्दीमा आउनु भएका राजा चाल्र्सले राष्ट्रको नाममा पहिलो सम्बोधन गर्नु भएको हो ।

उहाँले महारानी अथार्त आफ्नी प्यारी आमाको निधनमा गहिरो दुखका साथ बोलिरहेको बताउँदै आफ्नी आमा आफू र आफ्नो सबै परिवारका लागि एक प्रेरणा र उदाहरण रहनु भएको उल्लेख गर्नुभएको छ । ‘महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुख छ ।’ 

राजा चाल्र्सले सम्बोधनमा भन्नुभएको छ। जीवनभर सेवा गर्ने महारानीको प्रतिबद्धता आफूले पनि दोहो¥याउन चाहेको उहाँले बताउनुभयो । महारानीले कर्तव्यका लागि बलिदान दिनुभएको बताउँदै राजा चाल्र्सले एक शासकका रुपमा उहाँको समर्पण र प्रतिबद्धता कहिल्यै कम नभएको बताउनु भएको छ । ‘चाहे त्यो परिवर्तनको समयमा होस् या खुशी र उत्सवका समयमा अथवा दुख र हानी भएका समयमा’ सम्बोधनमा उहाँले भन्नुभएको छ । 

माल्दिभ्सलाई ९–० ले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं । साविक विजेता भारत छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई ९–० गोल अन्तरले हराउँदै भारतले अन्तिम चारको यात्रा तय गरेको हो । भारतलाई जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् ।

यस्तै डाङमेई ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । भारतको यो लगातार दोस्रो जित हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो । जितसँगै समूह ’ए’ को भारतले २ खेलमा ६ अंक जोडेको छ ।  भारत शीर्ष स्थानमा उक्लिएको छ । भारतको जितसँगै बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ । 

आजै दिउँसो भएको खेलमा बंगलादेश पाकिस्तानलाई ६–० गोलको अन्तरले हराएको थियो । बंगलादेशको  जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । सबिना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनी सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छिन् । सबिनाले ५ गोल गरिसकेकी छिन् । बंगलादेशको यो लगातार दोस्रो जित हो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो ।

अब समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश भिड्ने छन् । त्यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगाबै बाहिरिएका छन् । दुबै टोली अंक विहीन रहेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

नेपालले आज भुटानको सामना गर्दै

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ ।बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।छनोटको समूह ’बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् । यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।तेस्रो खेलमा नेपालले बिहीबार बहराइनसँग खेल्ने तालिका छ भने अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।