Live Streaming

 अन्नपूर्ण दिनभर : गठबन्धनको छलफल निष्कर्षविहीन, म्यादी प्रहरीमा खुल्यो भर्ना, आजदेखि सोह्र श्राद्ध शुरु


        
चोलेन्द्रमाथिको अभियोग उनकै बयानले पुष्टि गरिरहेको छ : मीन विश्वकर्मा

काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणका क्रममा कुनै अनियमितता नभएको बताउनुुभएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सर्वोच्चको भवन निर्माणमा अनियमिततासम्बन्धी सोधेको प्रश्नमा आज जबराले यस्तो जवाफ दिनुुभएको हो ।

प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश जबरासँग चौथोपटक बयान लिएको हो । संसदले गठन गरेको समितिले आज जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ । 

समिति सदस्यहरुले अदालतमा भएका भ्रष्टाचार, अनियमितताका विषयमा प्रश्न गरेका समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुुभयो । तर, जवाफ दिने क्रममा जबराले आजपनि सहकर्मी न्यायाधीशमाथि लान्छना लगाएको बताउँदै जवराको बयानले अभियाग पुुष्टी गरीरहेको विश्वकर्माले बतानउनुुभयो । बयानका लागि ४३ वटा प्रश्न तयार गरेको समितिले ३५ वटा प्रश्न सोधिसकेको छ । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । प्रतिनिधिसभाको कार्यकाल अब एक हप्तामात्र बाँकी रहँदा समितिले बयान सक्ने नसक्ने अझै अन्योल छ । 

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि समितिको औचित्य सकिने भएकोले महाभियोग स्वतः खारेज हुने एकथरिको मत छ भने अर्कोथरिले चाहीँ महाभियोग कायमै रहने धारणा राखिरहेका छन् । जबराले  भने बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आउनुुभएको छ । गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा पर्नुुभएको हो । 

काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का प्रक्रियामा संलग्नलाई कारबाही गर्नू

काठमाडौ । संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकले आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायतका जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न निर्देशन दिएको हो । 

सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरूलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुुभयो । 

बैठकले रेल पूर्वाधार आयोजना अन्तर्गत जनकपुर–जयनगर र जनकपुर–कुर्था–बर्दिबास–निजगढखण्डको स्थलगत अवलोकन भ्रमण प्रतिवदेन पनि पेस गरी सुझावसहित पारित गरिएको छ । त्यसैगरी रेल सेवा चुस्तदुरुस्त राख्नका लागि आफ्नै वासिङ सेन्टर, वर्कशप र फ्युल स्टेशन स्थापना गर्ने कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ । 

गठबन्धनको छलफल निष्कर्षविहीन, सोमबार पुनः छलफल हुने

काठमाडौ । सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक आजपनि बिना निष्कर्ष टुंगिएको छ ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच आइतबार गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भएको हो ।

त्यसबारे हिँजो  साँझ पनि छलफल भएको थियो । तर, आज बिहानको छलफलसमेत बिना निष्कर्ष टुंगिएको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुुभयो । उहाँका अनुसार भोली बिहान ८ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो । 

गठबन्धनमा कार्यदलले करिब ९० सिटमा साझा समझदारी बनाएपनि बाँकी सिटमा दलहरूबीच विवाद छ । त्यसबारे कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

गठबन्धनमा कांग्रेसले १ सय सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ । 

कांग्रेस गढमा अरूलाई टिकट दिए विद्रोह हुन्छ : कोइराला

काठमाडौ । कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने दोहोर्याउनुु भएको छ । कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आज आयोजित प्रशिक्षण कार्यक्रममा कोइरालाले कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय सबै नेतालाई पालना गर्न आग्रह गर्नुुभयो । 

पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने उहाँको भनाइ थियो । बहुमतसहितको सरकार बनाउन ७०-८० सिट लिएर नहुने कोइरालाले बताउनुुभयो । उहाँले बहुमतको सरकार बनाउन र पार्टीमा विद्रोह हुन नदिन सय सिट कांग्रेसले पाउनुको विकल्प नरहेको भनाई राख्नुुभयो । 

कांग्रेसलाई युवा पार्टी बनाउन अवसरवादीहरूलाई यो निर्वाचनले पाखा लगाउने उहाँले उल्लेख गर्नुुभयो । पार्टी र विचार नबुझेका अवसरवादीहरू पैसाको बलमा अहिले सबै पार्टीमा हालिमुहाली जमाएको कोइरालाको भनाइ थियो ।  

जेलमा रहेका आलमको नाम प्रदेशबाट पनि सिफारिस

काठमाडौ । बम विस्फोट र विस्फोटमा घाइते भएकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा जेलमा रहेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलमको नाम प्रदेश कार्यसमितिले पनि सिफारिस गरेको छ ।रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि क्षेत्रीय समितिबाट सर्वसम्मत सिफारिस भएका आलमको नाम जिल्ला कार्य समितिले भने काटेको थियो । 

प्रदेश कार्य समितिले भने क्षेत्रको सिफारिसलाई सदर गरेर केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार आलमलाई कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेपनि मनोनयन दर्ता भने हुँदैन । ऐनले जेलमा रहेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने व्यवस्था गरेको छ ।

आलम अहिले पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् । उनीमाथि २०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइतेलाई जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ । उनलाई जिउँदै मानिसलाई इँट्टाभटामा हालेको आरोप छ । तर, आलमले भने आफूलाई निर्दोष दाबी गर्दै आएका छन् । उनले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ ।

नेविसंघ र प्रहरीबीच झडप

काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।प्रदर्शनका क्रममा काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ समूह र प्रहरीबीच झडप हुदाँ दुई पक्षबिच ढुंगा हानाहान भएको छ । आज बिहान १० बजे नेविसंघले क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ । प्रतिकारमा प्रहरीले सोही ढुंगा टिपेर क्याम्पसभित्र रहेका नेविसंघको समूह माथि प्रहार गरेको थिया  संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ। लाखौं मानिस नागरिकताविहीन रहेको भन्दै नेविसंघले संसदबाट पारित विधेयक राष्ट्रपतिले संविधानअनुसार पारित गर्नुपर्ने माग गरेको छ ।

अबको बाँकी जीवन आर्थिक क्रान्तिका लागि बिताउँछु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताउनुुभएको छ । आज काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनुुभएको हो । 

उहाँले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने भनाई राख्नुुभयो । कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको उहाँको भनाइ छ। कृषिपछि जलविद्युत्, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुुभयो । 

२९ जना सहसचिवको एकैपटक सरुवा

काठमाडौ । सरकारले चुनाव नजिकिँदै गर्दा कर्मचारीको सरुवालाई निरन्तरता दिइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको हो । निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको छ । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । 

क्रिप्टो कारोबार आरोपी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौ । क्रिप्टो कारोबार आरोपी विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेश उल्ट्याउँदै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले १५ धरौटीमा छाड्न आदेश दिएको हो ।  श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले ४६ करोड रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।   

कोरोनाबाट २ जनाको मृत्यु, १०४ जना नयाँ संक्रमित थपिए 

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । केही दिन कोरोना संक्रमणका कारण मृत्यु नभएकोमा आज एकै दिन दुुई जनाको मृत्युभएको हो । त्यस्तै सोही अवधीमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ८७ जनाको कोरोना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा २३१६ जना सक्रिय संक्रमित रहेका छन् । 

म्यादी प्रहरी भर्ना 

काठमाडौ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि आज दरखास्त आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्ने जनाइएको छ । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघि म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । 

यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकायमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरूलाई पनि भर्नामा प्राथमिकता दिइने प्रहरीले जनाएको छ । म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पूरा गरेका म्यादीलाई भर्ना छनोट प्रक्रियामा पहिलो प्राथमिकतामा राखिने भएको छ ।

आजदेखिसोह्र श्राद्धसुरु

काठमाडौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्षआजदेखि सुरु भएको छ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतम बताउनुहुन्छ ।सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको पनि उहाँले बताउनुभयो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादशैँ सुरु हुन्छ । ठूला पर्व वा चाडपर्व मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । 

आर्थिक खबर

कारोबार करोडमा झ¥यो, नेप्सेमा ११.४७ अंकले गिरावट

काठमाडौ । सेयर बजार प्यानिक अवस्थामा पुगेको छ । अर्बौँको कारोबार हुने बजारमा सङ्कुचन आएर कारोबार रकम करोडमा झरेको छ । सेयर बजार निरन्तर ओरालो लाग्दा खरिदबिक्री रकम झन्झन् घट्दै गएको हो । आज नेप्से सूचक ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा आएको छ ।

करिब ७४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यो खरिदबिक्री रकम न्यून हो । अहिले सेयरको भाउ निकै सस्तो भएको छ । अन्य समूह बाहेक सबै समूहमा गिरावट आएको छ । सेयर बजारबाट लगानीकर्ताले ठुलो रकम गुमाइसकेका छन् । मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ४.५६ अंकले बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । अर्थतन्त्रका केही परिसूचकहरू सुध्रिएको प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरे पनि सेयर बजारमा त्यसको प्रभाव देखिन सकेको छैन ।

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

काठमाडौ । इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।इन्डियन आयल कर्पोरेसन (आइओसी)ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ । 

आइओसीले नेपालका लागि हवाई इन्धन रक्सौल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियो ।रक्सौल डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भैरहवाका लागि सहज होस् भनी लखनउ डिपोबाट इन्धन उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएपछि ढुवानी व्यवसायीहरूले ढुवानी बन्द गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले जानकारी दिएको छ । लखनउबाट लुम्बिनी प्रादेशिक डिपोमा ल्याउने तयारी भए पनि रुट र भाडा सम्झौता हुन सकेको छैन । 
 
विदेशका खबर

महारानीको पार्थिव शरीर लण्डन ल्याइँदै

काठमाडौ । दिवङ्गत हुनुभएकी महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर उहाँको प्रिय बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज लण्डन ल्याइँदै छ । महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’मा उहाँको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । बालमोरल दरबारबाट दुई सय ८० किलोमिटर लामो यात्रापछि महारानीको शव इडिनबरा राजप्रासाद पुर्याइने छ । 

काठमाडौ । शवयात्राको मार्गमा पुष्पहारसहितका बेलाइतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ । आज बिहान बालमोरल दरबारको मुख्यद्वारमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । महारानीका ज्येष्ठ सुपुत्र चाल्र्स तृतीयलाई औपचारिकरूपमा राजा घोषणा गरिएको भोलिपल्ट उहाँको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो । 

शुक्रबार नवनरेश चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गर्नुभएको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साथै उहाँले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा बेलाइतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगतलाई अवगत भएको र त्यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको थियो । 

आज उहाँलाई संयुक्त अधिराज्यका अन्य राष्ट्र स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिँदै छ । मातृवियोगमा रहनुभएका नवनरेश चाल्र्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थाल्नुभएको छ । उहाँले बकिङघम राजाप्रासादमा प्रधानमन्त्री मेरी एलिजाबेथ ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गर्नुभएको छ । सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पु¥याइने छ । 

मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उहाँको शव लण्डन ल्याइनेछ । बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ । असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ ।

शोकाकुल हासउ अफ विन्डसरमा शनिबार खुशीका केही सङ्केत पनि देखिए । राजकुमार विलियम उहाँका भाइ ह्यारीको पत्निहरूसहितको संयुक्त उपस्थितिले राजपरिवारबीचको सम्भावित मेलमिलापलाई बेलाइतवासीले हर्ष र आश्चर्यका साथ प्रतीक्षा गरिरहेका छन् । 
 

इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाका मारिए

काठमाडौ । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ ।इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।  

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षितगरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ  ।  आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् ।  सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ  नष्ट गरेको जनाएको छ । 

अल्मुताइरीले दिए नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए ।

अखिल नेपाल फुटबल संघ–एन्फासँग उनको दुरी पनि बढेको थियो । यहीबिचमा एन्फाले प्रदीप हुमागाईँलाई नेपाली टोलीको निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । हुमागाईँको प्रशिक्षणमा नेपालले केही सातापछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ । अल्मुताइरिको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको थियो । 

बन्द शिविरमा रहेका १० जना खेलाडीलाई व्यक्तिगत टसलमा निकालेपछि अल्मुताइरी विवादको उत्कर्षमा पुगेका थिए । त्यसपछि गठित छानबिन समितिले अल्मुताइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिएको थियो । अल्मुताइरी बन्द शिविरबाट निकालेका १० जना र नियमित कप्तान किरणकुमार चेम्जोङलाई टोलीमा नराखी एसिया कप छनोट खेल्न पुगेका थिए ।

एसिया कप छनोटमा कमजोर प्रदर्शन गरेपछि अल्मुताइरी नेपाल फर्किएका थिएनन् । त्यसपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहँदा अल्मुताइरीले खेलाडीको सूची पठाएका थिए । तर स्पष्टीकरणका विषयमा कुरा उठेपछि अल्मुताइरीले आफूलाई जबरजस्ती हटाए मुद्दा हाल्नेसम्मको चेतावनी दिएका थिए ।

यसैबीच, फुटबल विश्लेषक सञ्जिव मिश्रले मुख्य प्रशिक्षक अल्मुताइरीले विवादका बीच राजीनामा घोषणा गर्नु नेपाली फुटबलमा देखिएको समस्याको निकास भएको टिप्पणी गर्नु भएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै उहाँले विवादमा रही रहनु भन्दा अल्मुताइरीले राजीनामा दिनु उपयुक्त कदम भएको बताउनु भएको हो ।

अल्ताइरीको राजीनामाले नेपालको राष्ट्रिय फुटबल टिमको भविष्यलाई ठूलो संकटमा नपार्ने र अर्को प्रशिक्षक नियुक्तीका लागि बाटो खुला गरेको हुँदा चिन्तित हुनु पर्ने अवस्था नरहेको बताउनुभयो । यसले नकारात्मक असर नपर्ने बताउँदै उहाँले अल्मुताइरीको आगमनले नेपाली फुटबलको प्रवद्र्धन भने भएको टिप्पणी गर्नुभयो । प्रस्तुत छ, फुटबल विश्लेषक मिश्रसँग गरिएको संक्षिप्त कुराकानी ।

नेपाल आउनासाथ सन्दीप पक्राउ पर्ने, अध्यागमनले राख्यो कालो सूचीमा 

काठमाडौ । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो सूचीमा राखेको छ । क्यारेबिएन प्रिमियर लिग (सीपीएल) खेल्न उनी वेष्टइन्डिज पुगेका बेला बलात्कार आरोपमा उनीविरुद्ध काठमाडौं प्रहरीमा उजुरी परेको थियो । नेपाली क्रिकेट टिम केन्या उड्नु अघिल्लो रात उनले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

बलात्कार आरोपपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरिसकेको छ भने सीपीएलले पनि उनलाई रिलिज गरिसकेको छ । सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमतिसमेत दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । 

बलात्कार आरोप लागेपछि उनले आफू निर्दोष रहेको भन्दै आरोपको सामना गर्ने बताएका थिए । उनले आफू नेपाल फर्किने पनि बताएका थिए । तर, उनी कहिले नेपाल आउँछन् भन्ने विषयमा यकिन भने भएको छैन । उनी विमानमाफर्त काठमाडौं आउन सक्ने अनुमानका साथ अध्यागमन विभागले उनलाई कालो सूचीमा राखेको छ । प्रहरी पनि सोहीअनुसार सचेत भएको छ । तर, उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा पक्राउ गरिने प्रहरीले बताउँदै आएको छ ।
 
नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट

काठमाडौ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १० ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो । 

पहिलो जित हात पारेको पुलिसले २ खेलमा ४ अंक बनाएको छ । पुलिस शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली प्रदेशको भने ३ खेलबाट २ अंक रहेको छ । त्यसअघि आजै भएको खेलमा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज प्रदेश नम्बर १ लाई १३ रनले पराजित गर्दै सुदुरपश्चिमले पहिलो जित निकालेको हो । सुदुरपश्चिमले दिएको १ यस ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ३१ रन बनाउन सक्यो । पहिलो जित हात पारेको सुदुरपश्चिमको टोलीले ३ खेलमा ४ अंक बनाएको छ । 

प्रदेश १ को भने ३ खेलबाट २ अंक रहेको छ । यस समूह ’बी’ मा एनआरएनए ५ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
ऋाजका लागी ४ खेल तय भएकोमा दुुई खेल भने २ खेल भने रद्ध भएका छन् । गण्डकी प्रदेश र लुम्बिनी तथा एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेशबीचको खेल रद्द भएको हो । मुलपानी क्रिकेट मैदानमा तय भउको खेल वर्षाको कारण रद्ध भएपछि ४ वटै टिमले एक एक अंक पाएका छन् । 

पाकिस्तान र श्रीलंका भिड्दै 

काठमाडौ । एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर चारमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो ।

पाकिस्तानले भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो । त्यसैले आज पाकिस्तान श्रीलंकासँग अघिल्लो हारको बदला लिने दाउमा रहेको छ । पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन् । जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन् । पछिल्ला पाँच टी–२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन् । पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा पराजित गरेको थियो ।