Live Streaming

अन्नपूर्ण दिनभर : शीर्ष नेतासहितको कार्यदलको बैठक बालुवाटारमा, त्रिविका १३ महाशाखाको याचना

 

सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी

काठमाडौ । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गर्नुभएको हो । आजमात्र काठमाडौं आइपुग्नुभएका ली  काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ६ बुँदे समझदारी भएको हो । 

जसमा बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्नेदेखि दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदान गर्ने सहमति भएको छ । साथै बेल्ट एन्ड रोड इनिसियटिभ्समार्फत् समेत दुई मुलुकहरूबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण तथा इन्टर पार्लियामेन्ट्री युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाका अन्तर्गत सहयोग सुदृढ गर्न दुई देशका प्रतिनिधि सहमत भएका छन् ।

आजै सभामुख सापकोटाले होटल सोल्टीमा अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजको आयोजना गर्नुभएको छ । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्नुहुने चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । नेता लीले यस भ्रमणका क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुने कार्यक्रम छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आगामी बिहीबारबिहान विशेष विमानबाटै दक्षिण कोरिया प्रस्थान गर्नुहुनेछ ।

शीर्ष नेतासहितको कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौ । सत्तारुढ गठबन्धनका शीर्ष नेतासहितको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमाजारी छ । कार्यदलले मात्र विवाद मिलाउन नसकेपछि शीर्ष नेतासहितको बैठक बसिरहेको हो । जारी बैठकमा निर्वाचनमा गठबन्धन बनाएर जाने कसरत गरिरहेका सत्तारुढ पाँच दलका नेताहरु दुई पक्षीय र त्रिपक्षीय छलफलमा जुटेका छन् । एउटै निर्वाचन क्षेत्रमा दोहोरो–तेहेरो दाबी परेका कारण नेताहरुबीच छलफल चलिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले बैठक सहमतिको नजिक पुगेको तर अन्तिम निर्णय भइनसकेको जानकारी दिनुभयो ।

केही दिनदेखि सत्तारुढ दलहरुले भागबन्डा मिलाउने प्रयास गरिरहेका छन् । आज भने अबेरसम्म बैठक बसेर भएपनि टुंगोमा पुग्ने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यसूची सार्वजनिक गरेको छ। जसका कारण पनि छिटोभन्दा छिटो सिट बाँडफाँट टुंगोमा पु¥याउन सत्तारुढ दलहरुमाथि दबाब परेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संलग्न गठबन्धनले मंसिर ४ को निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र तय गर्न नसक्दा कार्यकर्ता पनि अन्योलमा परेका छन् । स्थानीयस्तरबाट धमाधम नाम सिफारिस गरेपछि आफ्नो पार्टीको भागमा पर्ने कि नपर्ने अन्योल देखिएको छ ।

गठबन्धनमा कांग्रेसले १ सय सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । यसैबीच, अन्तरपार्टी छलफलमा नेपाली कांग्रेसले ८३ सिटसम्म चित्त बुझाउनु पर्ने सम्भावना रहेको विषयमा पनि छलफल भएको बुझिएको छ । तर, कांग्रेसकै डा शेखर कोइराला पक्ष ९० सिट नछाड्ने गरी अन्य पार्टीलाई मनाउनु पर्ने पक्षमा रहेको एक नेताले बताए ।

प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने व्याख्या गरेको छ ।असोज २ र ३ गतेसमानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय अगाबै प्रतिनिधिसभाको कार्यकाल सकिने व्याख्या गर्दै आयोगले संघीय संसद सचिवालयलाई पत्र लेखेको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलेसंघीय संसद सचिवालयमा पठाएको पत्रमा हालको प्रतिनिधिसभाको असोज १ गतेसम्म मात्रै कायम रहने व्याख्यात्मक व्यहोरा उल्लेख छ । निर्वाचन आयोग क्षेत्रात्रिकारभित्र प्रतिनिधिसभाको कार्यकाल तोक्ने अधिकार नपरेपनि विगतका अभ्यास र आयोगले प्रकाशित गरेका विज्ञप्ती संघीय संसद सचिवालयमा पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा आज बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा विभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पार्नुभएको हो । नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरू नै खर्चको सीमामा असन्तुष्ट देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहँदा वा नरहँदा फरक हुने देखिएकाले समस्या हुने गरेको पनि धारणा राख्नुभएको छ । त्यस्तै थपलियाले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिनुभयो । 

मिटरव्याजीविरुद्ध २,२८९ उजुरी, कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौ । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाउनुभएको छ । कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ ।

तीमध्ये भदौ २६ गतेसम्म ५९ वटा उजुरी फरफारक भइसकेका छन् भने ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको कार्यदलले जनाएको छ । त्यस्तै ७ वटा उजुरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कार्यदलले गत भदौ ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा प्रदेश १ को मोरङ गरी ७ जिल्लाका मिटरव्याजीसँग छलफल गरेको थियो ।

उजुरीहरूको विश्लेषण गर्दा ४ वा सो भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जना विरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको कार्यदलले जनाएको छ । प्रतिवेदन बुझाएसँगै कार्यदलको कार्यकाल समाप्त भएको छ । तर स्थानीय प्रशासनले उजुरी उपर छानबिन प्रक्रियालाई निरन्तरता दिने गृह मन्त्रालयले जनाएको छ ।

न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।उनीहरूले ¥यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ ।प्रदर्शनमा सहभागी ६० जना सबैलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । 

१४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगे : ओली 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताउनुभएको छ । आज धनुषको जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताउनुभएको हो ।

अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने भन्दै ओलील अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने धारणा राख्नुभयो । एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधारलगायतको विकास हुने उहाँको दाबी छ । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने भन्दै अहिलेको निर्वाचन समान्य निर्वाचन नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताउनुभयो ।  

त्रिविका १३ महाशाखाको याचना : तालाहरु खोलिदिनुस्

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय लगायतका निकायहरुमा लगाइएका तालाहरु यथाशीघ्र खोलेर आर्थिक तथा प्रशासनिक कार्य सुचारु गर्नका लागि सहयोग गर्न आग्रह गरिएको छ ।त्रिवि केन्द्रीय कार्यालयका १३ महाशाखा प्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निरन्तर तालाबन्दीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत नकारात्मक असर पर्दै गईरहेको बताएका छन् ।

त्रिविलाई थप धरासायी हुनबाट रोक्न र इतिहासको पानामा मात्र सीमित हुनबाट जोगाउन विज्ञप्तिमा अपिल गरिएको छ । वार्ताको माध्यमद्वारा समस्याको दिगो समाधान र विश्वविद्यालयलाई सदाका लागि शान्तिक्षेत्रका रुपमा विकास गर्न पहल गरिदिन सरोकारवालाहरुलाई आग्रहसमेत गरिएको छ ।

यता नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिले त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन गरेको छ । नेविसंघका नाममा पछिल्ला वर्षहरुमा नकारात्मक क्रियाकलापहरु भइरहेको भन्दै केन्द्रले एक्सन लिएको हो ।अर्को घोषणा नहुन्जेल नेविसंघको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने, कुनै निर्णय गर्नुपरे व्यक्तिगत लहडबाजीमा नभई आपसी सहमतिमा लिनुपर्ने केन्द्रको निर्णय छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको संसोधित विधानअनुसार ३२ बर्षे हदबन्दीका कारण विघटन गरिएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै शेर्पाले आफूहरुले ३ बुँदे माग राखेर गरिरहेको आन्दोलन भने जारी रहेको बताउनुभएको छ । अर्थशास्त्र विभागको प्रश्नपत्र २ पटक दोहारिँदासमेत प्रतिवेदन सार्वजनिक नगरिएकाले प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारवाही गर्न, व्यवस्थापन शंकायमा ३ पटक प्रश्नपत्र दोहोरिएकाले सो शंकायभन्दा बाहिरको पदाधिकारीको सहभागितामा समिति बनाउन र २ बर्ष बित्दा समेत स्तानक र स्नातकोत्तरको नतिजा प्रकाशन नभएकोमा नतिजा प्रकाशन गर्न माग गर्दै संघ विगत ३ महिनादेखि आन्दोलित छ ।

आफूहरुका माग सम्बोधन भए ५ मिनेटमा ताला खोल्न आफूहरु तयार रहेपनि वार्तामा समेत पदाधिकारीहरुले अन्य आरोप लगाएर मुद्दालाई धुमिल्याउने काम भएको उहाँले अरोप लगाउनुभएको छ ।प्रश्नपत्र दोहोरिएको घटनामा आफ्ना मान्छे पर्ने डरले पदाधिकारीहरुसमेत डराइरहेको उहाँको भनाई छ । 

उपभोक्ता अदालत गठन गर्न परमादेश

काठमाडौ । सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको रिटको पूर्ण पाठमा यस्तो अदालत गठन गर्न सरोकारवालासँग आवश्यक समन्वय र अध्ययन गरी छिटोभन्दा छिटो गर्न भनेको छ । नेपालको संविधानको धारा ४१ ले उपभोक्ताको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भएपछि अदालत गठन नहुदाँ आम उपभोक्ता ठगिएको दावी रिटमा गरिएको थियो। संविधानले ग्यारेन्टी गरेको मौलिक हकलाई सुनिश्चित गर्न संघीय व्यवस्थापिकाले उपभोक्ता संरक्षण ऐन, २०७५ जारी गरेको थियो। सो ऐनको दफा ४१ बमोजिम उपभोक्ता अदालत गठन हुनुपर्ने व्यवस्था गरेको छ ।

तर, अहिलेसम्म पनि उपभोक्ता अदालतको गठन नभएपछि मञ्चले मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतबाट उपभोक्ता अदालत गठन गर्ने सम्बन्धी ४५ पानाको फैसला ऐतिहासिक भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले बताउनुभयो । नेपालको उपभोक्ता आन्दोलनमा मर्का हानी विरुद्ध उपचारको हक स्थापित गर्न थप एक आयम थपिएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतबाट उपभोक्ता अदालत तत्काल स्थापना र संचालन गर्न नेपाल सरकारलाई परमादेश जारी गर्दै अदालत तत्काल स्थापना गर्न सरकारलाई सम्झाएकोले अव फैसला कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयो ।
 
धनगढीको कृष्ण मन्दिरमा डा. केसीको २०औँ सत्याग्रह सुरु

काठमाडौ । कैलालीको धनगढी पुग्नुभएका चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह सुरु गर्नुभएको छ । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह सुरु गर्नुभएको हो । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई भदौ २८ सम्म अल्टिमेटम दिनुभएको थियो । तर, आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताउनुभयो । सत्याग्रहको दौरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताउनुभएको छ भने सो स्थानमा सिसिटिभी जडान आग्रह गर्नुुभएको छ । 

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौ । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् ।नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।आफूहरुले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष शर्माले बताउनुभया ।

उनीसँगै प्रहरीले लोकतान्त्रिक मधेसी संगठनमा आवद्ध इन्द्रजित साफी, एमडी राज र परवेज आलमलाई पनि नियन्त्रणमा लिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा छ । उक्त विधेयक छिटो प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन भएको हो ।

आर्थिक खबर
सेयर बजारमा गिरावट कायमै, नेप्से १३ अंकले घट्यो

काठमाडौ । साताको दोस्रो कारोबारको दिन आज पनि सेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज १३.५४ अंकले घटेर परिसुचक एक हजार नौ सय १२.७४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.३९अंकले घटेको छ । आज कारोबारमा आएका दुई सय २५ कम्पनीको २६ लाख १३ हजार चार सय ५० कित्ता सेयर ८३ करोड १६ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ ।

हिजोको तुलनामा कारोबार रकम भने बढेको छ। हिजोको कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये आज म्युचुअल फन्ड ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूह घटेको छ । अन्य उपसमूह सर्वाधिक १.७० प्रशितले घट्दा हाइड्रोपावर उपसमूह १.४१ प्रतिशत र फाइनान्स १.०८ प्रतिशतले घटेको छ।नेप्से घटे पनि आज युनाइटेड इडी मार्दीको सेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ । नबिल बैंकको सबैभन्दा धेरै चार करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

विदेशका खबर
रुसी फौजद्वारा पूर्वी युक्रेनमा विद्युत आपूर्ति ठप्प

काठमाडौ । युक्रेनी प्रत्याक्रमणको बदला लिन रुसी फौजले पूर्वी युक्रेनमा विद्युत आपूति ठप्प पारिदिएका छन् । पूर्वी युक्रेनमा रुसी फौजले विद्युत आपूर्ति ठप्प पारिदिँदा लाखौँ मानिसहरु अन्धकारमा बस्न बाध्य भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । युक्रेनले हालै सुरु गरेको प्रत्याक्रमणका क्रममा रुसी कब्जामा रहेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका बेला रुसले विद्युत काटिदिएको हो ।

विद्युत आपूर्ति रूपमा काटिनुले खार्किभ र डोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ । खार्किभका मेयर इहोर तेरेखोभले नागरिक पूर्वाधारमा रुसी आक्रमणले उक्त सहरको धेरैजसो भागमा बिजुली र पानी नभएको बताउनुभयो । जोलेन्सीले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताको बदला लिने एउटा ‘घिनलाग्दो र निन्दनीय प्रयास’ को संज्ञा दिनुभएको छ । सो सहरमा दुई वटा मिसाइल हमला भएको बीबीसीले जनाएको छ । 

तेरेखोभ र उक्त राज्यका गर्भनरले सर्वसाधारणलाई शान्त हुन आह्वान गरेका छन् । आकस्मिक सेवाहरूले क्षति मर्मत गर्न र आगो निभाउन काम गरिरहेका बताइएको छ । छिमेकी सुमी क्षेत्रका गभर्नरले एउटै जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताएका छन्  । डिनप्रोपेत्रोभ्स्क र पोल्टाभा क्षेत्रका बासिन्दा पनि विद्युतविहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिजुली कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाउनुभएको छ । 

खेल खबर
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको समूह विजेता बन्दै घरेलु टोली नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलको फराकिलो जित निकाल्दै अपराजित नेपालले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३–० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाईन् ।  भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाएकी हुुन् । नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ ।

साफ यू–१७ च्याम्पियनसिप

काठमाडौ । श्रीलंकामा जारी पुरुष साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अहिले घरेलु टोलीसँग खेलिरहेको छ । नेपाल आज श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न लक्ष्यमा छ । आजको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।