Live Streaming

 अन्नपूर्ण दिनभर : राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण, परेन नागरिकता विधेयक, मिटरब्याज पीडितमाथि धरपकड

 

निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधियो ४३ प्रश्न

काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध लगाइएको आरोप निराधार र कृत्रिम भएको दाबी गर्दै महाअभियोग लगाउनु पर्ने कुनै कारण नरहेको जिकिर गर्नु भएको छ । महाअभियोग सिफारिस समितिमा आज बयान दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

समितिले तयार पारेका ४३ वटा प्रश्नमध्ये बाँकी रहेका ८ वटा प्रश्नको जवाफका क्रममा उहाँले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने २०७८ साल असार २८ गतेको फैसला नै महाअभियोगको जड रहेको जिकिर गर्नुभयो । समिति सभापति रामबहादुर विष्टले अन्तिम प्रश्नको रुपमा सोध्नु भएको ४३ औँ प्रश्नको जवाफमा जबराले महाअभियोग आरोपका सम्बन्धमा आफू निर्दोष रहेको बताउनु भएको हो । उहाँले आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन पनि समितिसमक्ष आग्रह गर्नुभयो ।

आफूमाथि लागेको सबै आरोप सैद्धान्तिक रहेका र प्रधानन्यायाधीशको योग्यतामा भन्दा पनि विश्वसनीयतामा काम गर्न सकेन भन्ने आरोप लागेको उल्लेख गर्दै निरर्थक, आधारहीन आरोप लगाइएको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि परेको मुद्दामा प्रधानन्यायाधीशको नेतृत्वमा रहेको सर्वाेच्च अदालतको संवैधानिक इजलासले गत वर्षको असार २८ गते संसद पुनस्र्थापनाको फैसला गर्दै शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न परमादेश जारी गरेको थियो । जबराले सोही फैसला आफूविरुद्ध महाअभियोगको जड भएको दाबी गर्नु भएको हो ।

जबराले २०४७ सालको राजनीतिक परिवर्तनपछि प्रत्येकपटक प्रधानन्यायाधीशविरुद्ध महाभियोग आउने परम्परा बसेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । महाभियोग संसारमा नै बिरलै आउने अभ्यास भएपनि नेपालामा दोहोरिइरहनु ठिक नभएको उहाँको धारणा थियो । समितिले गत आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो । आज जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेको हो । जबरासँग समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । अब जबरासँग पूरकप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ ।

त्यसका लागि भोलि बिहान ९ बजे बैठक बस्ने र जबरासँग पूरक प्रश्न गर्ने विषयमा तथा उहाँले बयानका क्रममा नाम लिएका व्यक्तिहरुलाई बोलाउने÷नबोलाउने निर्णय गर्ने समिति सभापति विष्टले जानकारी दिनुभयो । प्रतिनिधिसभाका ९८ सांसदले गत फागुन १ मा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रतिनिधिसभाले छलफल गरेर गत साउन २२ मा मात्रै महाभियोग छानबिन समितिमा प्रस्ताव पठाएको थियो । प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ मा सकिँदै छ । 

यसका साथै असोज १ गते अगावै समितिले प्रतिनिधि सभालाई प्रतिवेदन बुझाउन नसके जबरा पुनः सर्वोच्च अदालत फर्किन सक्ने चर्चासमेत भइरहेको छ ।  समिति सभापति रामबहादुर बिष्टले भने समितिले प्रतिवेदन बुझाउन नसकेपनि जबरालाई सर्वोच्च छिर्ने बाटो नहुने बताउनुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै बिष्टले महाभियोग लागेको अवस्थामा सम्बन्धित समितिले दोषी वा निर्दोष करार नगरेसम्म सर्वोच्च फर्किने कल्पना समेत गर्न नसकिने बताउनुभयो । समितिले अहिलेकै संसदमा प्रतिवेदन बुझाउने तयारी भएको बताउदै उहाँले प्रतिवेदन बुझाएपनि फैसला आउन समय लाग्न सक्ने र अन्तर्राष्ट्रिय अभ्यासले पनि अर्को सदनलाई कार्यादेश दिनसक्ने बताउनुभयो । समितिले अब जबराले नाम लिएकाहरुसँग आवश्यकताका आधारमा सोधपुछ हुने र प्रतिवेदन सभामुखसमक्ष बुझाउने उहाँको भनाइ छ ।

महाअभियोगको छलफल गलत सम्प्रेषण भएकोमा आपत्ति, समितिले तोक्यो प्रवक्ता

 काठमाडौ । महाअभियोग सिफारिस समिति समक्ष प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले दिएको बयानलाई कतिपय मिडियाले उल्टो सम्प्रेषण गरेको र समितिकै केही सदस्यले त्यसरी बोलेको भन्दै समितिका सचिवलाई प्रवक्ता तोकिएको छ । आइतबार जबराले दिएको बयानमा सर्वोच्चको भवन बनाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले महत्वपूर्ण सहयोग गरेको कारणमात्र सम्भव भएको बताएका थिए ।

तर, केही सदस्यलाई उदृत गर्दै केही मिडियाले भवन ठेक्कामा ओली र पौडेलको नाम पनि मुछियो भन्ने समाचार प्रसारण गरेपछि समितिमा हंगामा भएको हो । आजको बयानको सुरूमै समितिका सदस्यहरूले सर्वोच्चको भवन निर्माण सम्बन्धमा के भएको हो फेरि भन्नुस् भनेर राणालाई प्रश्न समेत गरेका थिए । राणाले भवन बनाउने सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीले जग्गा उपलब्ध गराएर सहयोग गरे र तत्कालीन अर्थमन्त्रीली बजेट दिएर सहयोग गरेको बताएको तर आफूले भनेको कुरालाई समितिकै केही माननीय सदस्यले मिडियामा गलत सूचना दिएको र ती मिडियाले आफूहरूलाई अनुकूल हुनेगरी समाचार ‘डिस्टोर्ट’ गरेको बताउनुभएको थियो । 

नेपाल र चीनबीच वहुआयामिक सम्बन्ध : प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताउनुभएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ तिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाउनुभयो । सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताउनुभयो । चार दिने नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष ली हिँजोदेखि नै राजनितिक भेटवार्तामा सक्रिय रहनुभएको छ ।

हिँजो नेपाल उत्रिएकै दिन सभामुख अग्नी सापकोसँग भेटवर्ता गर्नुभएको अीले आज पुर्व प्रधानमन्त्रीद्वोय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । 

प्रचण्डसँगको भेटमा नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । लीले एमसीसी र एसपीपीबारे चासो राख्नुभएको हो । त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्नुभएका ली ले वेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनमा जोड दिनुभएको थियो । संसद भवन, बानेश्वरमा भएको भेटमा लीले चीनले उच्चस्तरीय भ्रमणमा नेपाललाई उच्च प्राथमिकता राखेको बताउनुभएको छ ।

नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका उनले दुई देशबीच भएको बीआरआई लगायतका सहमति कार्यान्वयनमा जोड दिनुभएको छ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आगामी बिहीबार बिहान विशेष विमानबाटै दक्षिण कोरिया प्रस्थान गर्नुहुनेछ ।

ओलीको भविष्यवाणी : माधवको पार्टीले थ्रेस होल्ड कटाउँदैन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गर्नुभएको छ । पोखरामा आयोजित नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै ओलीले ३ प्रतिशत मत ल्याएर समाजवादी पार्टी राष्ट्रिय पार्टी नै बन्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले नेकपा माओवादी केन्द्रले भने यस पटकलाई जेनतेन थ्रेस होल्ड पार गरेर राष्ट्रिय पार्टीको इज्जत जोगाउने भनाई राख्नुभयो । 

त्यस्तै ओलीले सत्ता गठबन्धनले आउने चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको दावी गर्नुुभएको छ । पोखरामा लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै अध्यक्ष ओलीले कुन–कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग रहेको बताउनुुभयो । कांग्रेसले अहिलेसम्म आफूले नगराएको चुनावमा भाग नलिने प्रष्टरुपमा भनेको स्मरण गराउँदै ओलीले धाँधली गर्नकै लागि कांग्रेसले सत्तामा बसेर चुनाव गराउने गरेको आरोप लगाउनुुभयो ।

अध्यक्ष ओलीले सरकार र गठबन्धनबाट हुनसक्ने धाँधली तथा बुथ कब्जा एमालेले रोक्नुपर्ने भन्दै सबै पार्टी पंक्तिलाई सचेत रहन आह्वान समेत गर्नुुभयो । अध्यक्ष ओलीले गठबन्धनले अहिले एसपीपी सम्झौता जनता भड्किन्छन् भनेर रोकेपनि चुनावपछि एसपीपीजस्तै राष्ट्रघात गर्ने तयारी रहेको आरोपसमेत लगाउनुभयो ।

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण, परेन नागरिकता विधेयक

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरु आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार तथ्याङ्क सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो । एक साता अघि पठाइएको नागरिकता विधेयक भने प्रमाणीकरण गरिएको छैन । 

मन्त्रिपरिषद्का दर्जन निर्णय

काठमाडौ । सरकारले करिब एक दर्जन निर्णय र नियुक्ति गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विदेश भ्रमण र सहुलियत ऋण लिने स्वकृत गरेको हो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको बताउनुभयो ।

सरकारले महालेखापरीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च सन्तानहरूको २४औँ महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने, बेरुजु फर्छ्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने, महिला संरक्षण तथा उत्थान प्रणाली परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

अमेरिकाको वाशिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने, असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना कार्यक्रममा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको भ्रमण स्वकृति गर्ने निर्णय पनि बैठकले गरेको छ । 
    

मिटरब्याज पीडितमाथि फेरि धरपकड

काठमाडौ । न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका मिटरब्याज पीडितहरुमाथि प्रहरीले आज पनि धरपकड गरेको छ । शान्तिपूर्ण आन्दोलनमा बसेका उनीहरुमाथि धरपकड गर्दै ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुरबाट हिँडेर बल्खुमा आइपुग्दा प्रहरीले उनीहरुलाई रोकेको थियो ।

उनीहरुमध्ये आधाजसो त्यहीँ रोकिए पनि केही माइतीघर पुगेका थिए । ४ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीलाई कारण देखाउँदै धर्नाका लागि माइतीघर आउन लागेका किसानलाई निषेध गर्न हिजोदेखि प्रहरी परिचालन गरिएको छ ।

न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले हिजो पनि बल प्रयोग गरेको थियो । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४२ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु हिजो कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । हिजो प्रहरीले उनीहरुमाथि लाठी चार्ज गर्दां केही प्रदर्शनकारी घाइते भएका थिए ।

चितवनमा गठबन्धनविरुद्ध जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह

काठमाडौ । चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ । चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।

विद्रोही कांग्रेसका नेतृत्वकर्ता जगन्नाथ पौडेलका अनुसार आगामी निर्वाचनमा चितवनको प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी भएको छ । सो समूह निर्वाचन क्षेत्र चितवन–३ मा उम्मेदवारी दिन रणनीति निर्माणको तयारीमा जुटेको छ । आफ्नो संघर्ष सत्ता गठबन्धनविरुद्ध भएको भन्दै पौडेलले आगामी निर्वाचनमा चितवनको सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर कांग्रेस जोगाउने अभियानलाई जारी राख्ने बताउनुभयो ।

मुख्यतः चितवनको निर्वाचन क्षेत्र नम्बर–३ लाई केन्द्रमा राखेर सो समूहले चुनावी अभियान सुरु गर्ने र त्यसलाई विस्तार गर्दै कांग्रेस शुद्धीकरण गर्ने उहाँको भनाइ छ । गत स्थानीय तहको निवार्चनमा पनि कांग्रेसमा विद्रोह गरेर सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेको पौडेलले चितवनको भरतपुरमा पत्रकार सम्मलन गर्दै आगामी निर्वाचनमा पनि उम्मेदवार खडा गर्ने घोषणा गरिसक्नुभएको छ । 

इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीको निर्देशन– पैसाका पछि नलाग्नुस्

काठमाडौ । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिनुभएको छ । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरह रुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले यस्तो निर्देशन दिनुभएको हो । इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गर्नुभयो । 

महाविर पुन १ करोड रूपैयाँ राशीको भवन कीर्ति रत्नबाट सम्मानित

काठमाडौ । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुयाएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो ।

पुनलाई शिक्षा मन्त्री देवेन्द्र पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं बिबी फाउण्डेशनका अध्यक्ष भवन भट्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, स्वामी आनन्द अरूणलगायतले ‘भवन कीर्ति रत्न’ पुरस्कार हस्तान्तरण गर्नुभयो । 

कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेल र उनकी प्रेमिकालाई कैद सजाय

काठमाडौ । कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई ४ वर्ष कैद सजाय भएको छ । उनकी प्रेमिका भनिएकी बैंककै कर्मचारी दिपीका रेग्मीलाई भने ८ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले सोमबार उनीहरुलाई सो सजाय सुनाएको हो ।

त्यसअघि न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । आरोपित बाँकी ६ जनाले भने सफाइ पाएका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन् ।

अनुसन्धानका क्रममा रेग्मीले बैंकको पैसा व्यक्तिगत प्रयोजनमा खर्च गरेको देखिएको थियो । बैंकबाट उनले लिएको पैसामध्ये ३१ लाख ३८ हजार ८६४ रुपैयाँ पूर्वसहायक रथी विष्टको खातामा जम्मा गरेकी थिइन् । अदालतले रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना पनि तोकेको छ । विष्टलाई ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको विशेष अदालतले जनाएको छ । उनीहरुविरुद्ध यसअघि सोही प्रकरणमा बैङ्किङ कसुरमा पनि मुद्दा दायर भएको थियो । पाटन उच्च अदालतले रेग्मीलाई ५ वर्ष कैद, बिगो र बिगो बराबर जरिवाना तथा विष्टलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

बिल बिजकभन्दा बढी औषधि ढुवानी गरेको ट्रक नियन्त्रणमा

काठमाडौ । बिल बिजकभन्दा बढी खुद्रा सामान तथा औषधिहरू ढुवानी गरिरहेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकस्थित सडकखण्डमा ना. ३ ख ७६५६ नम्बरको मालवाहक कन्टेनर ट्रकलाई रोकी जाँच गर्ने क्रममा सोमबार मध्यराति १२ः३० मा वीरगन्ज प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ट्रकमा रहेका औषधिको बिल विजक नहुँदा त्यसको छानबिन गर्नका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुुभयो । वीरगन्ज प्रहरीले आज सो घटनाबारे विज्ञप्ति जारी गर्दै सूचना सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उक्त ट्रक र त्यसमा ढुवानी गरिएका औषधिबारे छानबिन गर्न आजनै ट्रकलाई पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।

आर्थिक खबर
नेप्से २१ अंकले बढ्यो, बोटलर्स नेपालको मूल्यमा सर्किट

काठमाडौ । कारोबारको तेस्रो दिन आज नेप्से परिसुचक बढेको छ । आज नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ सय विन्दु पुगेको नेप्से यसअघि घटेर १८०७ विन्दुसम्म झरेको थियो । फेरि केही बढेर १९ सयको विन्दुमा आएको छ । आजको दिन २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्सुरेन्स परेका छन् । आज बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य १९४ विन्दुले बढेर २ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।

विदेशका खबर
महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरका मानिस बेलायतमा पुग्ने क्रम जारी

काठमाडौ । बेलयाती महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरबाट मानिसहरू बेलायतमा पुग्ने क्रम जारी रहेको छ । विश्वका पाँच सय नेताहरू सहभागी हुने अन्त्येष्टिका लागि हेलिकोप्टर प्रयोगमा समेत रोक लगाईएको छ । अन्तिम संस्कारमा सहभागी हुने सबै नेता र उनीहरूका पत्नीहरूलाई हेलिकोप्टर प्रयोग गर्न नदिइने भएको हो ।

सेष्टेम्बर १९ अर्थात असोज ३ गते सोमबार हुन लागेको अन्त्येष्टिका लागि बेलायत आउने विश्वका नेताहरूको सुरक्षाका लागि सबै प्रबन्ध मिलाइएको छ । समारोहमा सहभागी हुने नेताहरूलाई निर्धारण गरिएको समयमा पुग्न अपील गरिएको छ । महारानीको शव भोली वेष्ट मिन्स्टर ल्याइने भएको छ । साथै स्थानीय समय अनुसार बिहान साढे ६ बजेसम्म वेष्ट मिन्स्टर राखिने भएको छ । अन्त्येष्टिका लागि ३० घण्टा अघिदेखि मानिसहरू लाइनमा बसिसकेका हुने छन् । अन्त्येष्टि अवधिभर मोबाइल फोन अफ गर्नुपर्ने छ । साथै भने कुनै पनि पेय पदार्थ लैजान नपाइने जनाइएको छ ।

थाइल्याण्डकी अभियन्तालाई दुई वर्ष जेल

काठमाडौ । सडक प्रदर्शनका क्रममा रानीको मजाक उडाएको भन्दै थाइल्याण्डको अदालतले एक अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ । रानीको जस्तै पहिरनमा प्रदर्शनमा उत्रिएर मजाक उडाएको भन्दै २५ वर्षीया अभियन्ता सी याङलाई हिँजो दुई वर्ष कैदको फैसला सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०२० को प्रदर्शनमा नियतवश नै याङले रानीको मजाक उडाएको पुष्टि भएको अदालतको फैसलामा भनिएको छ । शाही परिवारका सदस्यको मजाक उडाएको पुष्टि भए थाइल्याण्डमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने कानुन छ ।

थाइल्याण्डमा दुई वर्षयता २ सय १० जना राजनीतिक अधिकारकर्मीहरू शाही परिवारको मजाक उडाएको कसुरमा जेल चलान भएका छन् । दुई वर्षअघिको सडक प्रदर्शनका याङ गुलाबी सिल्क पहिरनमा सजिएकी थिइन् । उनलाई एक पुरूषले छाता ओढाएका  थिए । उनी रेड कार्पेटमा हिँड्दा अरू प्रदर्शनकारी उनको दर्शनका लागि भुइँमा बसेको देखाइएको थियो । सामान्यतः थाइल्याण्डकी रानी त्यस्तो पहिरनमा बाहिर जाने र उनको सम्मानमा अरू भुइँमा बस्ने भएकाले यो दृश्यले नियतवश नै रानीको मजाक उडाएको अदालतको ठहर छ । याङले भने आफू थाइल्याण्डको सांस्कृतिक पहिरनमा सजिएको र रानीको मजाक उडाउने आफ्नो नियत नभएको उनले बयान दिएकी थिइन् ।

खेल खबर
साफ महिला च्याम्पियनसिप : पाकिस्तानलाई ७–०को सान्त्वना जित

काठमाडौ । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले ७–० को सान्त्वना जित निकालेको छ । दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० ले पराजित गर्दै सान्त्वना जित निकालेको हो । उसको जितमा नदीया खान एक्लैले चार गोल गर्दा रमिन फारिद, खाडिजा काज्मी र अनमोल हिराले एक–एक गोल थपे ।

समूह ‘ए’मा रहेका पाकिस्तान र माल्दिभ्स यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् भने भारत र बङ्गलादेश सेमिफाइनमा पुगेका छन् । पाकिस्तान यसअघिका खेलमा भारत र बङ्गलादेशसँग पराजित भइसकेको थियो । यसैबीच, समूह चरण अन्तर्गतको दोस्रो खेलमा अहिले भारत र बंगलादेश खेलिरहेका छन् ।

नेपालको वरीयता यथावत

काठमाडौ । नेपाल टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो ।

नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । यस्तै पाकिस्तान चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।