Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेसमा ४० प्रतिशत टिकटका लागि शेखर समूहको खवरदारी, एमाले अध्यक्ष ओलीको चुनावकेन्द्रित मधेष दौडाह

खबरदारी सभामा शेखर समूहका शीर्ष नेता र टिकट पाउने सम्भावितहरू अनुपस्थित

काठमाडौ । नेपाली काँग्रेसमा शेखर कोइराला समूहले टिकट वितरणमा एकलौटी नगर्न खवरदारी गरेको छ । आज काठमाडौंको एक होटेलमा आयोजित खवरदारी सभाबाट नेताहरुले सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा न्यायोचित टिकट बाँडफाँटका लागि पार्टी सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउनका लागि शेखर पक्षले यो भेलाको आयोजना गर्ने निर्णय गरेको थियो । 

अहिले टिकटको माग गर्दै देशभरका नेता कार्यकर्ता उपस्थित हुने भएकाले भेलामा हुने उपस्थितिले भेलाको उद्देश्य जबरजस्त स्थापित हुने अनुमान गरिएपनि सो समूहको नेतृत्व गर्ने नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका समूहका शीर्ष नेता नै भेलामा उपस्थित हुनुभएको छैन ।

भेलाका दोश्रो तहमा नेताहरु मात्रै उपस्थित हुनुले सो पक्षका टिकट पाउने सम्भावना भएकाहरुले टिकट पाउने सम्भावना कम भएका नेताहरुमार्फत ४० प्रतिशतको सहभागिको खोजेको देखिएको छ । भेलमा तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाहीले शेखर कोइराला, धनराज गुरूङ, गगन थापाले, बद्री पाण्डेहरूले मात्रै टिकट पाएर नहुुने बताउदै आफ्नो समूहका कम्तीमा ४० प्रतिशत नेताले टिकट पाउनुपर्ने बताउनुभयो । 

यस्तै पूर्व सांसद समेत रहनुभएका जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्ने बताउनुभयो । कांग्रेसमा ६०÷४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको बताउदै केसीले आफुहरुले ४० प्रतिशत नपाए चुनावमा सहभागी नहुुने बताउनुभएको छ ।

यस्तै नेता गुरुराज घिमिरेले कांग्रेसभित्र अन्यायविरुद्ध विनम्रताको चरणबाट अब आक्रोशको चरण शुरु भएको भन्दै नेतृत्वले न्याय नगरे तेस्रो चरणमा विद्रोह हुने चेतावनी दिनुभएको छ । नेता घिमिरेले गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालहरूले पनि कांग्रेसको समस्या बुझ्नुपर्ने भन्दै कांग्रेस कार्यकर्तालाई रुवाएर गठबन्धनका उम्मेदवारले चुनाव नजित्ने चेतावनी दिनुभयो । 

पार्टीका केन्द्रीय सदस्य अजयवावू सिवाकोटीले नेता कार्यकर्ताहरुको आक्रोश विद्रोहमा परिणत भए अवस्था नियन्त्रण बाहिर हुनसक्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै सिवाकोटीले बेलैमा आफुहरुका मागहरुप्रति पार्टी नेतृत्वले ध्यान दिन्छ भन्नेमै आशावादी रहेको समेत बताउनुभयो । टिकट पाउने पक्का भएका आफ्नो पक्षका नेताहरुले पनि तल्लो तहका नेताहरुलाई बेवास्ता गरे उनीहरुको पनि धरातल  सकिने सिवाकोटीको भनाई छ । 

ओलीको मधेष दौडाह

काठमाडौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकएिसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेश दौडाहा तीव्र बन्न थालेको छ । गत भदौ २७ गते पार्टी प्रवेश गर्ने कार्यक्रमका लागि जनकपुुर पुग्नुभएका ओली आज फेरी पार्टी प्रवेश कार्यक्रमकै लागि जनकपुर पुग्नुभएको छ । त्यक्रममा जसपाका केहि कार्यकर्ता कालो झन्डा देखाउने प्रयास गरेका थिए ।

तर अध्यक्ष ओली जनकपुरबाट रेल चढेर एमालेद्वारा धनुषाको तिन कोरियामा आयोजित जनसभामा पुग्नुभएको थियो । ओलीले आज लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया र सांसद अमृता अग्रहरी लगायतका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

चुनाव नजिकिएसँगै एमाले र सत्तारुढ गठबन्धनका दलहरुले मधेशकेन्द्रित राजनीतिलाई केन्द्रमा राख्ने गरेका छन् । यस्तै ओलीले सरकारले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेकोले सरकारले चुनावमा धाँधलीको तयारी गरेको आरोप लगाउनुभयो । ओलीले नागरिकता विधेयकमा सत्ता गठबन्धनकै नेताहरुले अड्को थापेको आरोप पनि लगाउनु भएको छ । 

यस्तै सरकारले दुईपटक संसदको दुवै सदनबाट बहुमतले पारित गराएर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेको बेलामा ओलीले गठबन्धनतर्फ आरोप लगाउनुभएको हो । आफू प्रधानमन्त्री भएको बेलामा संविधानअनुसार अध्यादेश ल्याएर नागरिकतासम्बन्धी विधेयक जारी गरेको र जन्मसिद्धको नागरिकका सन्तानलाई नागरिकता दिने प्रक्रिया सुरु गरेपछि गठबन्धनले मुद्दा हालेर रोकेको बताउनुभयो । अध्यक्ष ओलीले अध्यादेश जारीपछि जन्मसिद्धका आधारमा ५÷६ हजारभन्दा धेरैले नागरिकता पाएको दाबीसमेत गर्नुभयो । 

एमालेसँग तालमेलको विधरोध

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरनिकट मानिने एक नेताले सत्ता गठबन्धन वा एमाले जोसुकैसँग चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्न नहुने बताउनुभएको छ । अध्यक्ष ठाकुरनिकट नेता डा सुरेन्द्र झाले यस्तो बताउनुभएको हो । सामाजिक सञ्जाल मार्फत नेत झाले नागरिकता विधेयक विरोधी, संघीयता र समवेशीतालाई अस्वीकार गर्ने एवं मधेशी राष्ट्रियतालाई अस्वीकार गर्नेहरूसँग कुनै प्रकारको चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्न नहुने तर्क गनुृभएको छ । 

यस्तै, मधेस प्रदेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा र मधेशको सम्पूर्ण जिल्लाहरूमा समेत लोसपा नेपालले उमेदवारी दिनु पर्ने उहाँले उल्लेख गर्नुभएको छ।  झाले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको विपक्षमा रहेर संघर्ष गरेकै कारण मधेकेन्द्रीत दलहरू स्थापित भएको पनि बताउनुभएको छ । 

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन, धेरै पछिसम्मलाई हो : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताउनुभएको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गर्नुभएको हो ।

संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताउनुभयो । प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उहाँले बताउनुभयो । प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको प्रचण्डले बताउनुभयो । 

सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या रहेको अध्यक्ष नेपालको भनाई

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताउनुभएको छ । आज रौतहटमा आयोजित कार्यक्रमका लागी सिमरा विमानस्थल पुग्नुभएका पूर्व प्रधानमन्त्री नेपालले दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताउनुभएको हो ।

उहाँले १० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी रहेको र त्यो पनि आज भोलिसम्म सहमति भइहाल्ने बताउनुभयो । अध्यक्ष नेपालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पनि टिप्पणी गर्नुभयो । 

डेंगु जोखिम : मृतकको संख्या २९ पुग्यो, २२९८८ मा संक्रमण

काठमाडौ । देशभर डेंगुको संक्रमण उच्च बिन्दुमा पुगेको छ । हालसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो ।

२०७९ साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ । जसअन्तर्गत् प्रदेश १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु रोकथामका लागि ’लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएको बताएको छ ।

नेपालमा पहिलोपटक २०६१ सालमा डेंगु देखिएको थियो । डेंगु भाइरस ’एडिस’ जातको लामखुट्टेले सार्ने गर्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षात् सुरु भएपछि यो लामखुट्टे अत्यधिक सक्रिय बन्ने चिकित्सकहरुको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले डेंगुको संक्रमण आगामी मंसिर पुससम्म रहने बताउनु भयो । सरुवारोग विशेषज्ञसहितको टोलीले डेंगुको फैलावट र अवस्थाबारे गरेको अध्ययनले हाल पनि डेंगुको संक्रमण उच्च बिन्दुमा पुगेको देखाएको छ ।संक्रमण बढ्दो क्रममा रहे पनि नियन्त्रण्को पहल पर्याप्त नभएको डा. पुन बताउनुहुन्छ । उहाँले संक्रमण रोक्न घरघरबाटै पहल थाल्नुपर्ने पनि बताउनुभयो । 

चाडबाडको बेला हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि निर्णय

काठमाडौ । चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि गठन भएको समितिले विभिन्न निर्णय गरेको छ । आज गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुहरुको अत्यधिक भीड भएको कारण देखाई सवारी साधनहरुको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने निर्णय गरेको छ । यस्तै तीव्र गतिमा सवारी चलाउने प्रवृतिलाई अन्त्य गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुको समन्वयमा राजमार्गहरुमा स्थान पहिचान गरी टाइम कार्ड लागू गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बर लगायतका आवश्यक सूचनाहरु रहेको स्टिकर, दुर्घटना भएमा संकेत गर्ने वस्तु राख्ने र सवारी साधन सेनिटाइज गर्ने व्यवस्था मिलाउने, चालकले अस्वभाविक किसिमले सवारी चलाएमा कम्प्लेन गर्न सम्पर्क फोन नम्बर सार्वजनिक गर्ने र तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री बडू र युरोपियन युनियनका सांसद ख्राबबीच भेटघाट

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपाल भ्रमणमा रहेका युरोपियन युनियनका सांसद म्याक्सिमिलियन ख्राबबीच भेटघाट भएको छ । भेटका क्रममा नेपाल र युरोपियन युनियनको आर्थिक तथा कुटनीतिक सम्बन्ध, नेपालको राजनीतिक तथा आगामी मंसिरमा हुने प्रतिनिधिसभा– प्रदेशसभा निर्वाचन लगायनका विषयमा छलफल भएको छ ।मन्त्री बडूले इयूले नेपालको शान्ति प्रक्रिया र आर्थिक सामाजिक विकासमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी अभिबृद्धिका लागि सांसदको रुपमा पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले नेपालले इयूको सहयोगमा कार्यान्वयन गरिरहेको व्यापार र लगानी कार्यक्रमको नतिजा सन्तोषजनक रहेको र मन्त्रालयले बनाउन लागेको नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनका लागि पनि इयूबाट महत्वपूर्ण सहयोगको अपेक्षा रहेको जानकारी गराउनुभयो । सांसद ख्राबले विगतदेखि नै नेपाल र इयूबीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गराउँदै शान्ति, लोकतन्त्र र विकासका लागि इयूले नेपालसँग सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको आग्रह

काठमाडौ । शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गर्नुभएको छ । आज धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले सडक छेउमा आवतजावतलाई कठिनाइ हुने गरि पार्किङ नगर्न पनि आग्रह गर्नुभयो । मन्त्री चौधरीले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरूको कारण आवतजावतमा कठिनाइ भएको पाइएकाले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताउनुभएको छ ।  

न्युरोड प्रवेश गर्न नदिने 

काठमाडौ । आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ ।चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो ।यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।

यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ ।फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।सवारी चाप कम गरी दुर्घटना न्यनीकरण गर्न यस्तो व्यवस्था गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बस र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, ४९ घाइते

काठमाडौ । कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रु बाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४९ जना घाइते भएका छन् । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक आज दिउँसो ३ बजे एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा महिला रहेको र सनाखत भई नसकेको ट्राफिक प्रहरी निरीक्षक योगेन्द्र तिमिलसिनाले जानकारी दिनुभयो । घाइतेमध्ये २० जनाको स्थानीय बुद्धपोली क्लिनिक र ११ जनाको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश १ : मुख्य न्यायाधिवक्तामा परिवर्तन राई

काठमाडौ । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राईलाई नियुक्त गर्ने भएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले यसअघि नेकपा (एकिकृत समाजवादी)  निकट बुद्धिजिवी परिषद् मोरङ अध्यक्ष रहेका अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो।श्रेष्ठले बिहीबार मुख्य न्यायधिवक्ताबाट  राजीनामा दिएपछि राईलाई नियुक्ति गर्न लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

पार्टीको सहमतिअनुसार मुख्य न्यायाधिवक्तामा रहेर आधा-आधा कार्यभार सम्हाल्ने सहमतिअनुसार आफूले राजीनामा दिएको अधिवक्ता श्रेष्ठले बताउनुभयो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मुख्यमन्त्री कार्यालयबाट परिवर्तन राईको नियुक्तिको सिफारिस आएको थियो। मुख्य न्यायाधिवक्ताको शपथगहण भोली गराइनेछ ।

कर्णालीमा चाडपर्व सुरक्षा योजना 

काठमाडौ । चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णाली प्रदेशमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो ।

यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ ।त्यसैगरी ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागुऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।

झैंझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।यसैबीच सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्गता भएका एवं ज्येष्ठ, नागरिकको सुरक्षाका अधिकार सुनिश्चित गर्न कार्ययोजना बनाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैदीलाई अस्पताल र अदालत पुर्याउन समस्या

काठमाडौ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ मा रहेको खलङ्गा–कारागार–पिपलनेटा सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेको छ । वर्षाका कारण असार अन्तिम हप्तादेखि सो सडक खण्ड अवरुद्ध भएको हो ।सडक अवरुद्ध भइ गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान निकै समस्या भएको कारागार कार्यालयका प्रमुख अकवीर घर्तीले बताउनुभयो । कैदीहरुलाई हिँडाएरै अदालत लैजानु पर्ने अवस्था छ । 

कारागार कार्यालयबाट रुकुम अदालत एक किलोमिटर र जिल्ला अस्पताल करिब तीन किलोमिटरको दूरीमा रहेको छ । हिँडाएरै लामो दूरीसम्म कैदीहरुलाई लैजानुपर्ने भएकाले सुरक्षा चुनौती रहेको प्रहरीहरु बताउँछन् । कार्यालय जाने सडक ठप्प हुँदा कारागार कार्यालयको गाडी जिल्ला प्रशासन कार्यालयमा राख्नु परेको कार्यालयले जनाएको छ ।

वर्षातमा आएको भलको कारण यस सडक खण्डमा चिरा परेको छ । मुसीकोट नगरपालिका–१ को बराहाटाकुरादेखि कारागारसम्मको बाटोमा नाला नहुँदा सडकबाटै पानीको भल बग्ने गरेको छ । खलङ्गा बजारको नाला समेत सोही सडक खण्डमा मिसिएका कारण पैदल हिँड्न गाह्रो भइरहेको स्थानीय रविलाल नेपालीले बताउनुभयो । 

आर्थिक खबर
डलरको भाउ आज थप बढ्यो 

काठमाडौ । अमेरिकी डलरको भाउ आज झन् महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ।हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो । अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ। पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ । 

नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर स्थिर छ ।स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले भारुको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँमा पनि प्रत्यक्ष प्रभाव पर्छ । डलर बलियो हुँदा रेमिट्यान्स, पर्यटन र निर्यातमा फाइदा हुने भए पनि वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा भने नोक्सान हुनेगरेको छ । यस्तै औषधि उपचार, अध्ययन तथा अरु कामको लागि विदेश जानेहरुलाई पनि लागत महँगो पर्ने भएको छ । 

विदेशका खबर
कब्जा गरिएका ठाउँमा रुसले सुरु ग¥यो स्वघोषित जनमत संग्रह

काठमाडौ । रुसी कब्जामा रहेको युक्रेनको भुभागहरुमा रुसले सेना परिचालन गरी घर घरमा पुगेर स्वघोषित जनमत संग्रह लिन सुरु गरेको छ । युद्धपछि रुसको कब्जामा रहेका युक्रेनी ठाउँहरूमा हतियार सहित सेना परिचालन गरेर सो ठाउँलाई रुसमा समाहित गराउन जनमत संग्रह गरिएको युक्रेनको भनाई छ ।

जनमत संघ्रहमा घरघर पुगेका सेनाले सोधिएका प्रश्नमा मौखिक जवाफ लिएर सो कुराको रेकर्ड राखेर फर्किने गरेको इनरहोडरकी एक महिलालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसको स्टेट मिडियाका अनुसार सुरक्षालाई मध्यनजर गर्दै घर घरमा पुगेर जनमत संग्रह गरिएको हो । 

सेप्टेम्बरमा विशेष रूपमा व्यक्तिगत मतदानको आयोजना गरिने छ । त्यसबाहेक अन्य दिनहरूमा, समुदायहरूमा र घर घरमा मतदानको आयोजना गरिने रसियन समाचार एजेन्सी टासले जनाएको छ । यस्तै गरी युक्रेनको दक्षिणी खेरसनमा शहरको बिचमा नै रुसी सैनिकहरूले ब्यालेट बक्स राखेर आम नागरिकको मत सङ्कलन गरिरहेका छन् ।

रुसी सैनिकले पुरै समुदायको लागि एउटै ब्यालेट बक्स प्रयोग गरेको पनि बीबीसले जनाएको छ । यद्यपि जनमत संग्रहको लागि सेना परिचालन गर्नाले यो स्वतन्त्र वा निष्पक्ष प्रक्रिया हो भन्ने मस्कोको दाबीमा शंका उत्पन्न गराइरहेको अवस्था छ । पाँच दिनसम्म चल्ने यो स्वघोषित जनमत संग्रहले रुसले आंशिक वा पूर्ण रूपमा ओगटेका क्षेत्रहरूमा गैरकानूनी रूपमा आफ्नो दाबी गर्न अनुमति दिनेछ । 

रुसको उक्त दाबीले अन्ताराष्ट्रिय मान्यता भने नपाउन सक्नेछ । यद्यपि रूसले युक्रेनलाई आपूर्ति गराइएका पश्चिमी हतियारहरूबाट आफ्नो क्षेत्र आक्रमणमा परेको दाबी गर्न सक्ने सम्भावना बढ्ने भएकाले युद्धले थप जटिल रूप लिन सक्ने बीबीसीले जनाएको छ । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको भूमिमा आफ्नो दाबी गर्न नाटक रचेको प्रतिक्रिया दिनुभएको छ ।  

खेल खबर
यूईएफएविरुद्ध मुद्दा हाल्दै लिभरपुलका समर्थक

काठमाडौ । १७ सयभन्दा बढी लिभरपुलका समर्थकहरूले यूईएफएविरुद्ध मुद्दा हाल्ने भएका छन् । च्याम्पियन्स लिगको फाइनलमा यूईएफएको व्यवस्थापनको कमजोरीका कारण आफूहरूमध्ये धेरै घाइते हुनुका साथै मानसिक पीडा भोगेको भन्दै उनीहरूले मुद्दा दर्ता गर्न लागेको वकिलले जानकारी दिएका हुन् ।

पेरिसमा खेलिएको रियल म्याड्रिड र लिभरपुल बीचको फाइनलको व्यवस्थापनलाई लिएर युरोपियन फुटबलको नियामक निकायको आलोचना भएको थियो । सुरक्षाको कारण देखाउँदै त्यतिबेला फाइनल खेल ३५ मिनेट ढिला गरी सुरु गरिएको थियो । लिभरपुलको लफर्म बिङहमले स्टाडे डे फ्रान्सको ‘त्रासदीपूर्ण घटना’ बारे समर्थकहरूसँग कुराकानी गरेको जनाएको छ ।

बिङहमले पोगस्ट गडहेडसँग मिलेर १ हजार ४५० जनाको संयुक्त मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । लिभरपुलका धेरै समर्थकहरूले लामो समय स्टेडियममा प्रवेश गर्न नपाएको तथा प्रहरीबाट दुर्व्यवहार बेहोर्नुपरेको बताएका छन् ।