Live Streaming

अन्नपूर्ण दिनभर : आगामी निर्वाचनमा एक करोड ७९ लाख मतदाता, कात्तिक १८ अघि आमसभा गर्न नपाईने

आसन्न चुनावका लागि एक करोड ७९ लाख ८८ हजार मतदाता 

काठमाडौँ ।    निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगकाअनुसार यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।यीमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् ।

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् भने मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् । त्यस्तै, वाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् ।देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहति

आसन्न निर्वाचनमा दलहरूले आफैले हस्ताक्षर गरेको आचारसंहिता पत्रको उल्लंघन गरेका छन् । प्रमुख दलका शीर्ष नेतादेखि उम्मेदवारहरूले आचारसंहिता उल्लघंन गर्दै चुनावी प्रचारमा होमिएका हुन् । तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउने प्रावधान रहेपनि दलहरूले आचारसंहिता मिच्दै कोणसभा, जुलुस गर्न थालेका छन् ।

यता निर्वाचन आयोगले आचासंहिताको अनुगमनमा कडाई गरेको छ । आयोगका आयुक्त रामप्रसाद भण्डारीले दल तथा स्वतन्त्र उम्मेदवारहरुले दलहरुले चुनावी प्रचार–प्रसारको सन्दर्भमा ध्यान नदिएको भन्दै मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने स्पष्ट पार्नुभएको छ । आयुक्त भण्डारीले दलरुले कार्तिक १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न नपाउने उल्लेख गर्नुभयो ।

भण्डारीले आचारसंहिता विपरित चुनावी प्रचार–प्रसार गरेमा निर्वाचन आचारसंहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने उहाँले चेतावनी दिनुभएको छ । 

उम्मेदवार र राजनीतिक दलहरूले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्ने भण्डारीले बताउनुभयो । अहिले घरदैलको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी आइरहेको उहाँले जानकारी दिनुभयो । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले कठोर कारबाही गर्ने आयुक्त भण्डारीको चेतावनी छ ।

निर्वाचन आयोगले आचारसंहिता देखाउँदै अहिले घरदैलो मात्रै गर्न पाउने भनेपनि उम्मेदवार र राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसार तीव्र पारेका छन् । कोणसभा, आमसभाका कार्यक्रम पनि तीव्र भएका छन् ।

कतिपय उम्मेदवारहरुले विदेश जानका लागि भिसा बाँड्न थालेकोप्रति समेत आयोगले ध्यान दिएको बताउँदै कठोर निर्णय हुन सक्ने चेतावनी दिनुभएको छ ।

६८ लाखभन्दा बढी मतपत्र छापिसक्यौँ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका लागि ६८ लाख बढी मतपत्र छपाई भइसकेको जनाएको छ। आयोगले आजसम्म थप २४ लाख मतपत्र छपाइ सम्पन्न हुँदा ६८ लाख १० हजार पुगेको जनाएको हो।छपाइ भएका मतपत्रमध्ये प्रदेशसभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फका ३३ लाख २४ हजार रहेको आयोगले जानकारी दिएको छ।

यसैबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएसँगै प्रदेश नं १, मधेश प्रदेश र बागमति प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

योसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ ढुवानी भएको मतपत्रको संख्या २ करोड २२ लाख २५ हजार पुगेको छ। जसमा प्रदेश सभातर्फ १ करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि १ करोड ७ लाख २६ हजार मतपत्र रहेका छन् ।

कांग्रेसले भन्यो– गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको दाबी गर्नुभएको हो । 

गत असारमा निर्माण भएको गठबन्धन सरकारले छोटो समयमा देशलाई अडरमा ल्याएको तथा  कोरोना नियन्त्रण, विदेश नीतिमा सन्तुलन, जनताको विषयलाई प्राथमिकता राखेको दाबी गर्नुभएको हो । 

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गरेर संवैधानिक अंगमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताउनुभयो । महतले गठबन्धनले हरेक नागरिकका आवाजलाई सम्बोधन गर्ने कोसिस गरिरहेको दाबी गर्नुभयो । उहाँले संविधानले दिएको अधिकारलाई पूर्ण रूपमा लागू गरेको पनि बताउनुभएको छ । 

स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगबाट गरिसकेकाले अब आगामी प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको बताउनुभयो । गठबन्धनबाट उम्मेदवारी दिएकाले मतदातालाई सचेत बनाउने लाग्नुपर्ने बताउदै उहाँले गठबन्धनकै कारणले योगदान गरेका नेताहरूलाई पनि उम्मेदवार बनाउन नसकेको स्वीकार गर्नुभएको छ । 

गठबन्धनका बागीलाई माओवादीको अल्टिमेटम

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीभित्रबाट गठबन्धनविरुद्ध बागीलाई उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको छ । पार्टी कार्यालयको मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरेर आज दिनभरसम्म उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिनुुभएको हो । बागी उम्मेदवारी फिर्ता नलिए तिनका प्रस्तावक र समर्थकलाई समेत कारवाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशमानको प्रतिबद्धतापत्र

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । प्रतिबद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर र अण्डरपाससम्म निर्माण गर्ने उल्लेख गर्नुभएको छ ।

युवालाई सीप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमताअनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाउनुभएको छ । उहाँले निर्वाचन क्षेत्रलाई शून्य फोहोर मैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गर्नुभएको छ ।

प्रतिबद्धता पत्रमा उहाँले स्वच्छ पिउने पानी उपलब्ध गराउन हर सम्भव प्रयत्न गर्ने, मेलम्चीको पूरक स्रोत खोजी गर्ने, २१औँ शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती कोरिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गर्नुभएको छ । 

चितवन १ मा कांग्रेसका बागी बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय

काठमाडौँ । चितवन १ मा नेपाली कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको हो ।

बुर्लाकोटीले गठबन्धनको तर्फबाट कांग्रेसका विश्वनाथ पौडेलविरुद्ध उम्मेदवारी दिनुभ्एको थियो । उहाँले देउवाले सम्मानजनक जिम्मेवारी दिने बताएको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय भएसँगै पार्टीका उम्मेदवार पौडेललाई जिताउन लाग्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । 

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलिसार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।

हिजो जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गर्नुभएको थियो । 

मन्त्रीबाट हटेको चार महिना लाग्दा पनि दुई सरकारी गाडी रेणु यादवकै कब्जामा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की नेता तथा पूर्व भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादवले मन्त्री पदबाट हटेको तीन महिना पुगिसक्दा समेत मन्त्रालयबाट लगेका दुईवटा सवारी साधान फिर्ता गर्नुभएको छैन । यादवले मन्त्री हुँदा झण्डावाल गाडीबाहेक अरु दुईवटा सरकारी गाडी लिनुभएको थियो ।

मन्त्री हुँदा लिएको २ वटा गाडी मन्त्रीबाट हटेको लामो समय हुँदासमेत यादवले २ वटै सरकारी गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । पूर्वमन्त्रीले सरकारी गाडीलाई सरकारी कार्यालयमा नै पार्किङ गरेर राख्ने गर्नुंभएको छ । पूर्वमन्त्री यादवले एमजीको प्रदेश ३–०१ ००२ झ ५२३४ नम्बरको गाडी अहिले पनि आफूले नै प्रयोग गरिरहनुभएको छ ।

यो गाडी नयाँ बानेश्वरको यातायात व्यवस्था कार्यालयको पार्किङमा नै राख्ने गरिएको छ । उहाँ २०७८ असोज २२ गते मनत्री नियुक्त हुनुभएको थियो । 

अवरुद्ध सडक खुलाउन सीडीओहरूलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सञ्चालन गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । आज गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर गर्दै २०–२२ दिनभित्र उक्त काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

स्थानीय सरकारहरूसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूले समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । गृहसचिव सिंहले अवरुद्ध भएको विद्युत् र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई ढिलाई नगर्न सचेत गराउनुभयो । 

बाल सुधारगृहबाट ५ किशोर भागेपछि प्रहरीलाई तनाव

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोरहरू मध्यरातमा भागेपछि प्रहरीलाई तनाव थपिएको छ । हिजो राती प्रहरी सुरक्षालाई छक्काउँदै भान्सा गृहमा पस्नेतर्फको झ्यालको डन्डी काटेर उनीहरू भागेका थिए । ५ वर्षअघि निर्माण भएको भैरहवास्थित सो बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ । विभिन्न घटनामा संलग्न आरोप प्रमाणित भएर भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरू रातको करिब ३ बजे भागेको बाल सुधार गृहले जनाएको छ । नवलपरासीका ३ जना रुपन्देहीका र कपिलवस्तुका एक एक जना गरी ५ जना बालकहरू भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन् । बाल सुधारगृह श्रोतका अनुसार भागेकाहरू मध्ये ३ जना जबरजस्ती करणी मुद्दा, एक जना चोरी मुद्दा र एक जना लागू औषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए । भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । 

आर्थिक खबर 
बैंकहरूमा एक सातामा ८ अर्ब थपियो निक्षेप 

काठमाडौँ । वाणिज्य बैंकहरूमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ ।

अघिल्लो साता (असोज १४ देखि २१ सम्म) ८ अर्ब नै निक्षेप घटेको थियो ।समग्रमा असोजको २८ दिनमा ३३ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । कर्जा प्रवाहमा भने स्थिरता देखिएको छ । भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असोजको २८ गतेसम्म आउँदा ३ अर्ब बढेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।

भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँले बढेर आयो

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा ब्रिक्री मूल्यलाई यथावत राखिएको छ । निगमका अनुसार हिजो आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ ।

नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ७४ पैसा, डिजेलमा १५ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा १० रुपैयाँ २५ पैसा बढेर आएको छ । अब पेट्रोलमा एक रुपैयाँ ७४ पैसा प्रतिलिटर घाटा हुने निगमले जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा हुने निगमको भनाइ छ । यद्यपि निगम घाटामा भने छैन ।

अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।अन्तर्राष्ट्रिय बजारमा हाल कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा आपूर्ति सुचारु राख्न निगमलाई अझैपनि चुनौती देखिएको निगमले जनाएको छ । निगमका अनुसार नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम अझै तिर्न बाँकी रहेको छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि सरकारसँग ७ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैकसँग तीन अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आइरहेको जनाएको छ ।

 विदेशका खबर 
रुसी फौजद्वारा युक्रेनको राजधानी किभमा आत्मघाती ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनको राजधानी किभमा रुसी फौजले आत्मघाती ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आन्द्रेई येरमाकले आत्मघाती ड्रोनबाट रुसी फौजले आक्रमण गरेको जनाएका हुन् ।

किभका मेयर भिताली क्लित्स्कोले सहरको सेभ्चेन्किभ्स्की क्षेत्रका आवासीय क्षेत्रलाई लक्षित गरी ‘कामीकाजी’ ड्रोनबाट आक्रमण भएको जनाएका छन् । युक्रेनी रेल सेवाका अधिकारीले आक्रमणबाट किभको मुख्य स्टेशननजिकै क्षति पुगेको जनाएका छन् । आज बिहान साढे ६ बजेको समयमा आक्रमण सुरु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार ८ बजेर १० मिनेटको समयसम्म ५ वटा विष्फोटको आवाज सुनिएको थियो ।सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी फौजको हवाई प्रतिरक्षा बलले ड्रोन खसाल्न प्रयास गरेको देख्न सकिन्छ । भिडियोमा कम्तीमा एउटा ड्रोन खसालिएको देखिएको जनाइएको छ ।

मेयर क्लित्स्कोले चारवटा विष्फोट भएको जनाएपनि प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पाँचदेखि ६ वटा विष्फोटनको आवान सुनिएको थियो ।अधिकारीहरुले मानिसहरुलाई सुरक्षित स्थानमा रहन आह्वान गरेका छन् । आक्रमणबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

पाकिस्तानमा सैनिक कारवाहीमा ७ लडाकुको मृत्यु

काठमाडौँ । पाकिस्तानमा सैनिक कारवाहीमा ७ आतङ्ककारी लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न दुई क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीमा परी सात आतङ्कवादी लडाकु मारिएका अधिकारीले बताएका छन् । आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा आतङ्कवादीको आश्रयस्थलमा सुरक्षाबलले छापा मारेको बताएको छ ।

उक्त कारवाहीका क्रममा छ आतङ्ककारी मारिनुको साथै र अन्य तीन भागेका सिटिडीले जनाएको छ । सीटीडीले आतङ्कवादीको लुक्ने ठाउँबाट हतियार र गोलाबारुद बरामद गरिएको बताएको छ । मारिएका आतङ्ककारीले बलुचिस्तानको राजधानी क्वेटामा संवेदनशील प्रतिष्ठानमा ठूलो आक्रमण गर्ने योजना बनाएका जनाइएको छ ।

यसबाहेक मुलुकको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा गरेको कारवाहीमा अर्का एक आतङ्ककारी मारिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । उक्त क्षेत्रमा आतङ्ककारीहरु सुरक्षाबलविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरुपमा संलग्न रहेका जनाइएको छ ।

खेल खबर 
नवौं राष्ट्रिय : ३८ स्वर्णसहित आर्मीको शीर्षता कायम

काठमाडौँ । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पदक तालिकामा शीर्षता कायम राखेको छ ।हालसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्यसहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा विभागी एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ ।चौथो स्थानमा रहेको बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १० काँस्यसहित ३६ पदक जितेको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेशले हालसम्म ८ स्वर्ण, ५ रजत र १५ काँस्य पदक गरी २८ पदक हात पारेको छ । एनआरएनए ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदकसहित छैटौ स्थानमा रहँदै गण्डकीलाई पछ्याइ रहेको छ ।मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्यसहित ८ पदक प्राप्त गरेको छ ।

प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ काँस्यसहित १० पदक, लुम्बिनीले ६ रजत, ४ काँस्यसहित १० पदक,  कर्णाली प्रदेशले १ काँस्य पदक जितेका छन् ।

एघारौं राष्ट्रिय खेलकुद आयोजनामा मधेश प्रदेशको दाबी

काठमाडौँ । एघारौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा मधेश प्रदेशले दाबी गरेको छ । ४१ वर्षअघि अञ्चल संरचनाको रुपमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरेको मधेश प्रदेशले एघारौं राष्ट्रिय खेलकुदको आयोजनामा दाबी प्रस्तुत गरेको हो ।

गण्डकी प्रदेशमा नवौं संस्करणको प्रतियोगिता सञ्चालन भईरहदा राष्ट्रिय खेलकुदको दशौं संस्करण कर्णाली प्रदेशमा हुने तय छ । प्रत्येक दुई वर्षमा हुने राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले प्रदेशको गौरवको आयोजनाको रुपमा झण्डै डेढ अर्ब बढी बजेटको बहुउद्धेश्य रंगशाला निर्माणको काम द्रुत गतिमा अघि बढाईरहेको छ । 

दुई वर्षको अन्तरमा हुने राष्ट्रिय प्रतियोगिता ८१ सालमा कर्णाली प्रदेशमा हुने गरि झण्डा हस्तान्तरणको तयारी छ । नवौं राष्ट्रियको समापन समारोहमा प्रधानमन्त्रीको उपस्थितीमा सदस्य सचिवले कर्णाली प्रदेशलाई दशौं संस्करणको प्रतियोगिताको आयोजनाको झण्डा हस्तान्तरण गर्ने प्रचलन छ ।  

स्कटल्याण्डसँग हार्यो वेस्ट इन्डिज

काठमाडौँ । स्कटल्याण्डले टी–ट्वान्टी विश्वकप क्रिकेटमा सुखद सुरुआत गरेको छ।अष्ट्रेलियामा जारी आठौं संस्करणअन्तर्गत आज भएको खेलमा पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो ।

स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.३ ओभरमा अलआउट हुदै १ सय १८ रन मात्र बनाउन सक्यो । त्यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।

जितसँगै स्कटल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताअन्तर्गतअहिले दोस्रो खेलमा समूह ‘बी’ का जिम्बाबे र आयरल्याण्ड खेलिरहेका छन् । जारी खेलमा टस हारेर जिम्बावेले ब्याटिङ गरिरहेको छ ।  

अष्ट्रेलियामाथि भारतको जित

काठमाडौँ । घरेलु टोली अष्ट्रेलिया भारतबाट पराजित भएको छ । टी–ट्वान्टी विश्वकपको अभ्यास खेलमा भारतले ६ रनको जित हात पारेको हो ।

भारतले दिएको १ सय ८७ रनको लक्ष्य घरेलु टोलीले २० ओभरमा १० विकेट गुमाएर मात्र १ सय ८० रन बनायो । त्यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।