Live Streaming

अन्नपूर्ण दिनभर : बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४६ मिनेटको अन्तरमा दुई वटा भूकम्प

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ । बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा आज दिउँसो डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको जिप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

डीएसपी भण्डारीका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार भइरहेको छ । 
थप ७ जना घाईते भएको र उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले बताउनुभयो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन ।

५.९ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु तातोपानीनजिक

काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी नजिक तिब्बती क्षेत्रमा केन्द्रविन्दु बनाएर ४६ मिनेटको अन्तरालमा दुई वटा भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले दिउँसो ३ बजेर ७ मिनेटमा तिव्वत क्षेत्रमा केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प जानकारी दिएको छ ।

पहिलो भूकम्प गएको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा सोही क्षेत्र केन्द्र बिन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले बताएको छ । भूकम्पका कारण काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने आइसकेको छैन ।

नारायणकाजीको खुलासा : एमसीसी पारित हुनुअघि ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरुको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताउनुभएको छ ।

आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरुले पहल गरेको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण त्यो सफल नभएको उहाँले गुनासो गर्नुभयो ।

माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले एमसीसी असफल बनाउने हो भने ओलीलाई फेरि प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्डले गरेको खुलासासमेत गर्नुभयो । तर, ओलीले त्यसलाई पनि अस्वीकार गरेको उहाँको भनाइ थियो । 

श्रेष्ठका अनुसार उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु थिए । यस्तै माओवादीबाट अध्यक्ष प्रचण्ड र आफूसहितका केही नेताहरु रहेको उहाँले बताउनुभयो । श्रेष्ठले पछिल्लो समयमा पनि प्रतिनिधिसभा विघटनमा आफूले गल्ती भएको भनेर स्वीकार गरेर आउँदा एमालेसँगै सहकार्य गर्ने पक्षमा आफूहरु रहेको बताउनुभएको छ । 

ओलीको टिप्पणी– कांग्रेससँग भिजन छैन, भाडाको बुद्धिजीविले घोषणापत्र लेख्दैछन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् । झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले २३/२४ वर्ष सरकारको नेतृत्व गर्दासमेत कांग्रेसले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो ।

कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको समेत उहाँको आरोप छ । जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता–कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिनुभयो । उहाँले राप्रपा आफैँ चलेको पार्टी भएकाले चुनावी तालमेल गरेको बताउनुभएको छ । 

एकीकृत समाजवादीद्वारा २५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीलाई राखेर परिचालन समिति गठन गरेको हो । बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सचिवालयमा गंगालाल तुलाधार, विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल, घनप्रसाद गौतम, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोर्णाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेले रहनुभएको छ । सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णयहरु लिने महासचिव भुसालले बताएउनुभयो । 
 

निर्वाचन आयोगले दियो ७ बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ ।

आज एक निर्देशन जारी गर्दै आयोगले लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्त्वबाट चुनावको प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको दुरुपयोग भएको, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँडेको, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि गाडीको प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना प्राप्त भएको जनाएको छ ।

निर्वाचन आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नसबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

प्रत्यक्षतर्फ १६ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौँ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६ जिल्लाको मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १६ जिल्लाको लागि एक करोड ३७ हजार मतपत्र छपाइ सकिएको छ । छापिएकामध्ये प्रतिनिधिसभातर्फ ५० लाख १३ हजार र प्रदेशसभातर्फ ५० लाख २४ हजार मतपत्र रहेका छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुराको मतपत्र छपाइ सकिएको छ ।

प्रदेशसभातर्फ पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सकिएको छ । 

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी हुनेछ ।

पहिलो चरणअन्तर्गत प्रदेश नम्बर १, मधेस र बागमतीका मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभर कुल २ करोड ४ लाख २१ हजार र प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ । आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्रसमेत छापेर हरेक जिल्लामा पठाइसकेको छ । 

निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले सर्लाहीको हरिपुर्वा नगरपालिकालाई विशेष अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताविपरीत अधिवेशन बोलाइएपछि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिइएको आयोगले जनाएको छ ।

नगरसभा सदस्य र केही पार्टीका तर्फबाट प्राप्त उजुरीको आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमतिबेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण स्पष्टीकरणमा स्मरण गराइएको छ ।

आयोगका अनुसार असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरी गणपुरक संख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी कात्तिक २ गतेका बोलाइएको बोलाइएको अधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिइएको हो ।

सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अनुमति 

काठमाडौँ । बलात्कार आरोपित नेपाली राष्ट्रिय क्रिकेट टोलीका निर्वतमान कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । अदालतले आज पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गएको असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । त्यो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियो ।

दोस्रो पटक थपिएको समय पनि सकिएपछि कात्तिक १ गतेका लागि अदालतमा उपसिथत गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण आज अदालतमा उपस्थित गराइएको हो । अदालतले आज पुनः ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गएको सोमवार अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरे अनुसन्धान प्रतिवेदन सहित ल्याउने शर्तमा ४ दिनको म्याद थपिएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनुभयो ।  

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । 

पहिरोमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले जनही २५ हजार दिने

काठमाडौँ । कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूको परिवारलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ ।

असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका परिवारलाई तत्कालका लागि किरिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिरोबाट ज्यान गुमाउने प्रदेशभरका सबै मृतकका परिवारलाई किरिया खर्च बापत रकम दिइनेछ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार पहिरोमा परी कर्णालीमा ३७ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरूको उद्धार र राहत सहयोग गर्ने कार्य पनि भइरहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । उहाँले पहिरोबाट सडकमा पुगेको क्षतिको सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ । 

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि प्रचण्ड पत्नी सीतालाई  ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको जनाइएको छ । प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी रोगबाट दाहाल लामो समयदेखि घरमा आराम गरीरहनुभएको छ । 

सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । 

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

घटना संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् । कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो ।

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ः ३७ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गर्दै कात्तिक १० गते बिहीबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत उत्तम रहेको जानकारी दिनुभएको हो । यमपञ्चक कात्तिक ५ गते शनिबार सुरु हुनेछ ।

कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिले जनाएको छ ।

कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।

यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।

कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबार नेपाल संवत् ११४३ आरम्भ हुँदै छ ।

कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।

यस दिन साइत खोज्नेले बिहान ११ बजेर ३७ मिनेटमा उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि खुवाउन सकिनेछ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । 

यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने महाशाखाले जनाएको छ। 

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

काठमाडौँ । मधेशी आयोगले धर्मपरिवर्तनका नाममा मधेशमा रकम आउने गरेको भन्दै त्यसलाई रोक्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले हालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष ०७८-०७९ को वार्षिक प्रतिवेदनमा धर्मान्तर (धर्म परिवर्तन) र धर्मान्धताका नाममा भित्रिने रकममा गृह मन्त्रालयले निगरानी गर्नुपर्ने सुझाव दिएको हो । आयोगले सनातन हिन्दु संस्कृतिमाथि अतिक्रमण र धर्मान्तरण रोक्न समेत सरकारलाई सुझाएको छ । यस बाहेक आयोगले विभिन्न धर्मावलम्बीका शैक्षिक संस्थालाई सूचीकृत गरेर राज्यको मूलधारमा ल्याउन समेत अनुरोध गरेको छ ।

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारको भनाइ छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गर्नुभयो । अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

आर्थिक खबर
नेप्से परिसूचक १२.८१ अंकले घट्यो 

काठमाडौँ । नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ । यता वित्त उपसमूहको परिसूचक २.५४ प्रतिशत घटेको छ । 

विदेशका खबर
२४ वर्षपछि भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर

काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवार बाहिर गएको छ । काँग्रेसको अध्यक्षमा शशी थरुरलाई भारी मतान्तरले पछाडि पार्दै मल्लिाकार्जुन खड्गे विजयी हुनुभएको छ ।

भारतीय सञ्चार माध्ययमहरुका अनुसार आज सार्वजनिक मत परिणामअनुसार खड्गेले ७ हजार ८९७ मत ल्याउदा थरुरले करिब १ हजार ७२ मत मात्रै प्राप्त गर्नुभयो । निर्वाचनमा कुल ९ हजार ३८५ मत खसेकोमा ४ सय १६ मत रद्द भएको समाचारमा जनाइएको छ । परिणाम सार्वजनिक भएसँगै थरुरले एक विज्ञप्ति जारी गर्दै खड्गेलाई बधाइ दिनुभएको छ । 

सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताउनुभएको थियो ।

राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रो पटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुभएको थियो । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिनुभएको थियो । सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहनुभएको थियो ।

बीचमा छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी दिए पनि सम्हाल्न नसकेपछि उहाँ आफैं अन्तरिम अध्यक्ष बनुभएको थियो । उहाँको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसले सन् २००४ र २००९ को आम निर्वाचन जितेको थियो ।

भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये ५ जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षको दौरानमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।

जलवायु परिवर्तनका कारण विश्वका एक अर्ब बालबालिका उच्च जोखिममा

काठमाडौँ । जलवायु परिवर्तनका कारण विश्वका झण्डै एक अर्ब बालबालिका उच्च जोखिममा रहेको  तथ्याङ्क सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अधिकार समूह किड्स राइट्सले झण्डै ८२ करोड बालबालिका उच्च जोखिममा रहेको चेतावनी दिएको हो ।

किड्स राइट्स इन्डेक्सले युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको समेत जनाएको छ । पानीको कमी र गर्मीको कारण बालबालिका प्रभावित भएका छन् । मलेरिया र डेङ्गुजस्ता रोगहरूले झन्डै ६० करोड बालबालिका वा हरेक चारमध्ये एक जनालाई असर गरेको डच एनजीओ किड्सराइट्सले जनाएको छ ।

रिपोर्टमा आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारका लागि उत्कृष्ट र सिएरालियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराब सूचीमा राखिएको छ । संयुक्त राष्ट्र संघीय निकायले प्रदान गरेको तथ्यांकका आधारमा सो प्रतिवेदन निकालिएको खबरमा उल्लेख छ । सूचांकमा १ सय ८५ देश समावेश छन् । 


अन्नपूर्ण खबरमा

खेल खबरनवौं राष्ट्रिय खेलकुद  : स्वर्णमा आर्मीको शतक

काठमाडौँ । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम टोली त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ । नवौं राष्ट्रिय खेलकुदको छैटौं दिन चलिरहदा आर्मीले स्वर्ण पदकमा शतक बनाएको छ । आर्मीले १०० स्वर्ण पदक जिदै पदक तालिकामा अग्रता कायम गरेको हो ।

आर्मीले ७१ रजत र ४९ कास्यसहित कुल २२० पदक हात पारेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्यपदक सहित १२५ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ काँस्य पदक सहित कुल १३५ पदक हात परेको छ ।

यसैगरी गण्डकी प्रदेशले २२ स्वर्ण, १८ रजत र ३४ कास्य सहित कुल ७४ पदक जित्दा बागमती प्रदेशले १६ स्वर्ण, ३१ रजत र ३९ कास्य पदक सहित ८६ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले ९ स्वर्ण, ७ रजत, ६ कास्य सहित २२ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत २३ कास्य सहित ३५ पदक, प्रदेश १ ले ५ स्वर्ण, १८ रजत र ३२ कास्य पदक सहित ५५ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ७ रजत र २० कास्य सहित ३२ पदक जितेका छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कास्य सहित ३८ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ८ कास्य पदक सहित ११ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
 
 टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस बन्यो च्याम्पियन

काठमाडौँ । नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा नेपाल पुलिस क्लब ६ स्वर्णसहित टीम च्याम्पियन बनेको छ । आज सम्पन्न प्रतियोगितामा पुलिसले ६ स्वर्ण, २ रजत र ४ काँस्यसहित कुल १२ पदक जित्यो । अर्को विभागीय टोली एपीएफ १ स्वर्ण, ४ रजत र १ काँस्यसहित ६ पदक जित्दै दोस्रो स्थानमा रह्यो ।

यस्तै बागमती प्रदेश १ रजत र २ काँस्यसहित तेस्रो भयो । प्रतियोगितामा आर्मी, एनआरएनए र प्रदेश १ ले २–२ काँस्य र गण्डकी प्रदेशले १ काँस्य पदक हात पारेका छन् । आज सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले जितेकी छन् । नवीताले प्रतियोगितामा एलिना महर्जनलाई ३–४ को सेटमा पराजित गरिन् ।

प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका हुन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भइन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले काँस्य जिते । यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक जिते ।

पुलिसका स्यान्टुले एपीएफका रुविन महर्जनलाई ४–१ सेटमा पराजित गरेका थिए । प्रतियोगितामा सहभागी मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पदकविहीन रहेका छन् । 

आयरल्याण्डको पहिलो जित

काठमाडौँ । आयरल्याण्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । आज भएको खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै आयरल्याण्डले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ । स्कटल्याण्डले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ६ बल अगाबै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

आयरल्याण्डका लागि कुर्टिस क्यामफेरले ३२ बलमा ७ चौका र २ छक्काको मद्दतले ७२ रनको अर्धशतकीय पारी खेले । स्कटल्याण्डका लागि ब्राड होएल,मार्क वाट,मिचेल लिग्स र सफियान सरिफले समान १-१ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जितसँगै आयरल्याण्ड २ खेलमा २ अंकका साथ समूह ’बी’ को तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्ड भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आज नै हुने दोस्रो खेलमा समूह ’बी’ का जिम्बाबे र वेस्ट इण्डिज खेल्दै छन् ।